१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
विचार

जय जनता !

हीनताबोध र लघुताभासले ग्रस्त वर्तमान समाजमा यी र यस्ता केही सुखद ‘आश्चर्य’ मा यदि कसैले हकदाबी गर्छ भने ती शासक हुन सक्तैनन्। ती नेपाली नागरिक हुन् जसले अनेक कष्ट सहेर देशलाई पहिचान र आत्मसम्मान दिलाएका छन्।

हामी नेपालीलाई थाहा हुनुपर्ने एउटा नयाँ खबर छ। त्यो हो– फ्रान्सको पेरिसबाट निस्कने विख्यात म्यागेजिन ‘होलिडे’ ले आफ्नो नयाँ अंक नै ‘काठमाडौं’ माथि समर्पित गरेको छ। विज्ञापनबाहेक १५२ पृष्ठको यो पत्रिकाका सबै पृष्ठ काठमाडौंमाथि नै केन्द्रित छ। पत्रिकाले किन काठमाडौंमाथि नै पूरै (१५२ पृष्ठ) प्रकाशनको निधो गर्‍यो भन्नेबारे सम्पादक मार्क बुजी आफ्नो छोटो लेखको बिट मार्दै लेख्छन्– ‘सत्यभूमिको राजधानी (काठमाडौं)  मा स्वागत छ !’

अधिकांशलाई आशा थियो, २०६२/६३ सालको आन्दोलनपछि नयाँ संविधान आउनेछ र देश विकासको अर्को चरणमा प्रवेश गर्नेछ। ढिलै र कैयन् विवादबीच नै सही, २०७२ सालमा संविधान आयो। संविधानले आन्दोलनबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता उपलब्धिलाई संस्थागत पनि गर्‍यो। तर जनताले खोजेको समृद्धिको यात्रामा देशले गति लिन सकेन।

फलस्वरूप एकातिर आज पनि रोजगारीका लागि एक हजारभन्दा बढी गरिब युवा बिदेसिन बाध्य छन्। मर्न पनि सकिन्छ भन्ने ज्ञात हुँदाहुँदै द्वन्द्वग्रस्त रुसी सेनामा भर्ना हुन अभिशप्त छन्। अर्कातिर मध्यम वर्गका सन्तान अमेरिका र युरोपका विश्वविद्यालयहरूका लागि विदेशी मुद्रा आर्जन गर्ने स्रोत बन्न पुगेका छन्।

वास्तविकता के छ भने देश युवाविहीन बन्न थालेको छ, सपनाविहीन बन्न थालेको छ। ‘नेपालमा के छ र बस्ने ?’ भन्ने प्रश्न स्वयं भाष्यमा परिणत भएको छ। यो भन्न किञ्चित अतिशय हुँदैन कि अहिलेको देशमा कुशासनकाल छ। लोकतन्त्र छ तर भ्रष्टतन्त्रको रजगज छ।

गरिब नेपालीले पठाएको विप्रेषणका भरमा देशको अर्थतन्त्र चलिरहेको छ। योग्य नागरिक सपनाको खेती गर्न माहिर अयोग्य शासक भोग्न विवश छन्। किनकि अपवादबाहेक हाम्रा राजनीतिक नेतृत्व देशलाई सपार्ने होइन, बिगार्ने र केवल आफ्नाहरूको वित्तपोषणमा लिप्त छन्।

वैश्वीकरणको चुनौतीको सामना गर्नु त कता हो कता, सामाजिक न्यायमा आजपर्यन्त वञ्चितीकरणमा परेकाहरूप्रतिको दायित्वबाट समेत पछि हटिरहेका छन्। आफूलाई राजनेता भनाउन लालायित हाम्रा नेताहरू कति रणभुल्लमा छन् भन्ने प्रमाण के हो भने लोकतन्त्रका खातिर लडेका हिजोका सञ्चारमाध्यमूलाई उनीहरू खारेज गर्छन् र भर्चुअल प्लेटफर्म सामाजिक सञ्जालको दुनियाँमा लोकतन्त्रको वकालत गर्छन्।

परिदृश्य यस्तो भए पनि ऐतिहासिक विकासक्रमले हामी नेपालीलाई अवसादमा बाँच्ने छुट कदापि दिँदैन। खासगरी २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालले केही क्षेत्रमा यस्ता प्रगतिसँग साक्षात्कार गरेको छ, जसका आधारमा हामी आत्मविश्वासी मात्र होइन, छिमेकी र विश्वका कतिपय देशका दृष्टिमा समेत उदाहरणीय बनेका छौं।

प्रकृतिले नेपाललाई संसारकै शिर सगरमाथा दिएको छ। भूगोलले दुःखको कारण खोज्ने सिद्घार्थ गौतमजस्ता मनीषीलाई यही माटोमा जन्मिएको भन्न सक्ने हक दिलाएको छ। आर्थिक विकासको परिभाषामा नेपाल ‘अल्प विकसित’ बाट ‘मध्यम आय भएका’ देशतर्फ स्तरोन्नति भए पनि भौगोलिक, जातीय, सांस्कृतिकलगायत जैविक विविधतामा नेपाल विश्वकै धनी देशको सूचीमा पर्छ।

बेतुकको आत्माश्लाघा होइन, विगत सधैं सुन्दर अनि आगत केवल अत्यासलाग्दो देख्ने आभासी सत्य पनि होइन। बरू हामीले के स्मरण गर्नुपर्छ भने हामी नेपालीले अहंकार होइन अभिमान गर्नुपर्ने थुप्रै चिज हामीभित्रै छन्।

जस्तो कि दक्षिण एसियाकै सबैभन्दा जेठो देश नेपाल आजका दिनसम्म सबैभन्दा बढी लोकतान्त्रिक देश पनि हो। खुला समाजका लागि नेपाल दक्षिण एसियाकै लागि ‘सांस्कृतिक राजधानी’ बनेको छ। अन्यत्रबाट देशै छाडेर आउन बाध्य नागरिकका लागि सुरक्षित आश्रयस्थल प्रदान गरेर उच्च मानवता प्रदर्शन गर्ने देशका रूपमा समेत नेपाल नामी छ।

संसारमा बहादुरीका लागि प्रसिद्ध गोर्खाली नेपाली शान्ति स्थापनामा पनि विश्वदूत कहलिएका छन्। समुदायमा आधारित हाम्रा थुप्रै मौलिक अभ्यास विश्वका लागि सिकाइ भएका छन्। महिला, दलित, लैंगिक अल्पसंख्यकको अधिकारका क्षेत्रमा हाम्रा कानुन सीमाबाहिर पनि नजिर बनेका छन्।

पहिले आफ्नै हिमालमा विदेशी आरोहीका भरियामा सीमित हाम्रा आरोहण सहयोगी आज आरोहणकै दलको नेता बनेका छन्, संसारमा ‘शेर्पा’ जसरी पनि काम फत्ते गर्ने साहसीको पर्यायवाची ‘ब्रान्ड’का रूपमा परिचित छ।

वर्षौं अँध्यारोमा बस्न बाध्य देश अहिले उज्यालो मात्र होइन, जलविद्युत् बेच्न सक्ने बनेको छ। नेपालका सिमेन्टले भारतमा महल बन्न थालेका छन्। आँखा उपचारमा नेपालले विश्वमै नाम कमाएको छ।

कला र गलामा नेपालीले दुनियालाई मुग्ध पारेकै छन्। नयाँ पुस्तामा प्रबल गुरुङ, सन्तोष साह, आङछिरिङ शेर्पा त केही प्रतिनिधि मात्र हुन्। सावित्रा भण्डारी अहिले युरोपमा लिग फुटबल खेल्दैछिन्, रोहित चन्दले आफूलाई विदेशी लिगमा सिद्ध गरिसकेका छन्।

देशले टेस्ट खेल्न थाल्ने हो भने हाम्रा बुद्धिबहादुर प्रधान पनि लड्र्सजस्ता मैदानमा अम्पायरिङ गरिरहेका देखिनेछन्। विदेशमा सस्तो श्रमिक मानिएका नेपाली अहिले युरोप, अमेरिकामा स्थानीय निर्वाचन लड्न र जित्न थालेका छन्।

सबैभन्दा ठुलो सान त के भने विदेशका नामी विश्वविद्यालयहरूमा अब नेपाली गुरु भेटिन्छन्, जो विदेशीलाई पिएचडी गराइरहेका छन्। यी र यस्ता अनेक चरित्र र पात्र छन्, जसलाई हामी हाकाहाकी हाम्रो सौम्य शक्ति (सफ्ट पावर) भन्न सक्छौं।

तर, हीनताबोध र लघुताभासले ग्रस्त वर्तमान समाजमा यी र यस्ता केही सुखद ‘आश्चर्य’मा यदि कसैले हकदाबी गर्छ भने ती शासक हुन सक्तैनन्। ती त नेपाली नागरिक हुन् जसले अनेक कष्ट सहेर देशलाई पहिचान र आत्मसम्मान दिलाएका छन्, कियोको ओगुराले लेखे झैं ‘जनता जागेका बेला’ मात्र नेपालमा संसारले नै उदेक मानेका परिवर्तन सम्भव भएका छन्। ती अरू कोही होइनन्, नेपाली जनता नै हुन्, हाम्रै समुदाय हुन्, जसले देश जोगाएका छन्, बचाएका छन्। जसलाई हामी हाकाहाकी हाम्रो सौम्य शक्ति (सफ्ट पावर) भन्न सक्छौं।

यदाकदा कुनै अवस्थिति वा सन्दर्भको फेरो समातेर हामी नागरिक पनि आफ्नो वास्तविक शक्ति पहिल्याउन नसकेर बेलाबखत अनेकौं ‘राष्ट्रवाद’ को आवरणमा सार्वजनिक खपतका लागि गरिने, बोलिने चर्का भ्रमित स्वरसँग स्वर मिलाउन पुग्छौं। तर, सत्य के हो भने त्यो रैथाने लोकतन्त्र नै हो जसको जगमा टेकेर मात्र हामी सामाजिक न्यायसहितको विकासको अर्को बुइँकल उक्लन सक्छौं। सामाजिक सम्बन्धहरूलाई विकट होइन निकट बनाउन सक्छौं।

राजतन्त्र, राणातन्त्र, राजा महेन्द्रको पञ्चायततन्त्र, प्रजातन्त्र, राजा ज्ञानेन्द्रको अहङ्कारतन्त्र हुँदै जनताको अथक संघर्ष र बलिदानले संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको यो देशमा आज फेरि लोकतन्त्र दिवस मनाउने सुअवसर हामीलाई जुरेको छ।

देशलाई अस्थिर, अनैतिक र आसेपासे पुँजीवादबाट मुक्त बनाउने अभिभारा आएको छ। त्यसो गर्न सके मात्रै सही अर्थमा फ्रान्सेली पत्रकार मार्कले देख्न चाहेजस्तै नेपाल सत्यभूमि र काठमाडौं सत्यभूमिको राजधानी बन्ने छ।

हामी सबैमा लोकतन्त्र दिवसको शुभकामना !

प्रकाशित: १२ वैशाख २०८१ ११:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App