२ वैशाख २०८१ आइतबार
विचार

अव्यवस्थित जीवन असफलताको कारक

के तपाईँ कहिल्यै अराजक, अस्तव्यस्त र बेप्रवाह मानिसको कोठामा प्रवेश गर्नुभएको छ? त्यहाँ जानुभएको छ भने कोठा बेहाल देख्नुहुनेछ। लुगाफाटो यत्रतत्र छरिएका, टेबलभरि फोहोर र कागजका टुक्रा, भुइँमा कफीका दाग, हेरिनसक्नु बिस्तारा आदि यस्ता व्यक्ति बस्ने ठाउँको परिचय हो।  

अव्यवस्थित जीवनशैली सफलताको तगारो हो, सफलताविरुद्धको एउटा घातक हतियार हो। कहिलेकाहीँ पढेलेखेका र उच्च योग्यता भएका मानिस पनि अव्यवस्थित जीवनशैलीको सिकार बनेका हुन्छन्। उनीहरू पनि घर÷परिवार र समाजमा व्यावहारिक र व्यावसायिक पक्षहरूमा पछि परेका देखिन्छन्। भनिन्छ, व्यवसाय सञ्चालन गर्ने तौरतरिका मिलेन भने पर्याप्त र छेलोखेलो लगानी गरिए पनि व्यवसाय फस्टाउन सक्दैन। त्यसैगरी आफ्ना छोराछोरीहरूका निम्ति कुनै पनि परिवारले जतिसुकै लगानी किन नगरुन्, व्यवस्थित जीवनका लागि आवश्यक सिप प्रदान गर्न सकिएन भने परिवार नै असफल बन्छ।  

अव्यवस्थित जीवनलाई चुस्त, व्यवस्थित र सङ्गठित बनाउनु आजको आवश्यकता हो। यो सिकाइको पहिलो पाठमध्ये एक हो। यस्तो सिकाइ सैन्य प्रशिक्षण शिविरमा, कुनै आवास वा छात्रावासमा पनि सिकाइन्छ। यिनै सङ्गठित जीवनका आधारले नै मानिसको जीवनको महŒवपूर्ण आधारशीला निर्माण गर्छन्। जब मानिसका दैनिक व्यवहार र गतिविधि सङ्गठित र सिलसिलाबद्ध हुन्छन् तब मात्र भविष्यका लागि उसका योजना स्पष्ट हुँदै जान्छन्। हामीले चाहने तनावयुक्त होइन, तनावमुक्त जीवन हो। सङ्गठित व्यवहारले नै जीवनलाई तनावमुक्त बनाउन स्पष्टरूपले  मार्गनिर्देश गर्छ।  

अव्यवस्थित हुनु मनोवैज्ञानिक विकृति हो?

मनोविद्हरू अव्यवस्थित जीवनलाई अनुत्पादक बानीहरूमा अन्तर्निहित मनोवैज्ञानिक विकृति भन्छन्। यो कहिलेकाहीँ गल्तीहरूको रूपमा मात्र होइन बरू व्यक्तिका आन्तरिक कमजोरीहरूको अराजक बानीका रूपमा विकास भएको हुन्छ। साँच्चै आफ्ना सरसामान र किताब खोज्न र पत्ता लगाउन नसक्ने विद्यार्थी, आफ्नो विषयवस्तुमा प्रष्ट र सिलसिलाबद्ध प्रस्तुति दिन नसक्ने वक्ता वा नेताहरूले गर्ने व्यवहार यसैका उपज मान्न सकिन्छ। उनीहरूले काम बिग्रिसकेपछि मात्र मैले यसो गर्नुपथ्र्यो, मैले त्यसो गर्नुपथ्र्यो भनेर पछुताउने कुरा मात्र गर्नु तर बानी व्यवहारमा कहिल्यै सुधार ल्याउन नसक्नु यस्तै अव्यवस्थित तथा अशृङ्खलित व्यक्तिका जीवनकथाका केही झलक वा तस्बिर हुन्।

वास्तवमा अव्यवस्थित हुने कुराले व्यक्तिगत र व्यावसायिक जीवनलाई मात्र असर पुर्‍याइरहेको हुँदैन, यसले सम्बन्धमा पनि नकारात्मक असर पार्न सक्छ। यस्तो कुराले प्रायःजसो व्यक्तिमा निराशा र चरम द्वन्द्व निम्त्याउँछ। यस्ता व्यक्ति अनावश्यकरूपमा झगडा र गलफती गर्न पनि पछि पर्दैनन्। उदाहरणका लागि कुनै एक जोडीले आफ्ना साझारूपमा गर्नुपर्ने काम र व्यवहारहरू देखाएका छैनन् भने उनीहरू दुवैको जीवन नै अव्यवस्थित रहन्छ। उनीहरूले गर्ने काम पनि अधुरै रहन्छन्। उनीहरूले एकआपसमा व्यक्त गरेका साझा प्रतिबद्धताहरू पनि बिर्सन पुग्छन् र आफ्ना महŒवपूर्ण कागजपत्रहरू प्नि बिर्सेर एकअर्कामाथि अविश्वास र शङ्का व्यक्त गर्न थाल्छन्। कल्पना गर्नुहोस् त, यस्तो व्यवहारले सम्बन्धमा रहेको अर्को व्यक्तिलाई पनि नराम्रो असर पुर्‍याइरहेको हुन्छ। यसले उनीहरूलाई आफूहरूले बहन गर्नुपर्ने अतिरिक्त जिम्मेवारीबाट पनि विमुख गराइरहेको हुन्छ। यस्ता व्यवहार र गतिविधिका कारण उनीहरूका बीचमा पनि आपसी मनमुटाव, असन्तुष्टि र सम्बन्धलाई पनि असन्तुलित बनाइदिन्छ। यसबाहेक यस किसिमको अव्यवस्थित साझेदारीको सम्बन्धले उनीहरूको साझा जिम्मेवारीको मार्ग भत्कन पुग्छ। यो एक किसिमको व्यवहारको अक्षमता हो।  

अव्यवस्थित जीवनका तीन प्रमुख आयाम हुन्छन् जसले व्यक्तिका दैनिक जीवन र उसका सफलताका आधारशीलालाई क्षतविक्षत बनाएका हुन्छन्। यी तीनवटा आयाममा पहिलो व्यक्तिको काम गराइमा देखिने ढिलासुस्ती, दोस्रो निर्णय पक्षघात अथवा सही समयमा सही निर्णय लिने क्षमताको अभाव पर्छ भने तेस्रोमा शारीरिक र मानसिकरूपमा रहने अव्यवस्था तथा एक किसिमको अस्वस्थता पर्छ।  

कामप्रतिको ढिलासुस्ती

ढिलाइ अव्यवस्थित व्यक्तिमा निहित एक साझा मनोवैज्ञानिक चुनौती हो। यसले सबै किसिमका सङ्गठनात्मक प्रयासमा बाधा पुर्‍याउने गर्छ। साथै प्रायः मानिसलाई कार्यसम्पादनमा अनावश्यक ढिलाइ गरिदिन्छ। परिणामस्वरूप कामप्रतिको जिम्मेवारीको चाप थपिँदै जान्छ र तनाव सिर्जना हुन्छ। ढिलाइलाई मानव समाजमा सामान्य घटनाका रूपमा लिने गरेको पाइन्छ तर यो सामान्य घटना वा कमजोरी मात्र होइन। यो त मानव व्यवहार र मनोवैज्ञानिक कारकहरूको एक जटिल अन्तरक्रिया र समस्या हो। यसले कुनै पनि कार्य प्रारम्भ गर्न र प्रारम्भ गरेको कामलाई समयमै पूरा गर्ने कुरामा अवरोध उत्पन्न गराउँछ।  

ढिलाइ समयसँग मात्र जोडिएको कुरा होइन, व्यक्तिको सोच र नियतसँग जोडिएको कुरा पनि हो। यो व्यक्तिका आवेग र आत्मनियमन गर्न नसक्ने कुरासँग पनि जोडिएको हुन्छ। यस्ता व्यक्तिले जहिले पनि तत्काल प्राप्त गर्न सकिने सन्तुष्टिलाई प्राथमिकतामा राख्ने गर्छन्। उनीहरूले दीर्घकालीन लक्ष्य र त्यसबाट प्राप्त गरिने सन्तुष्टिप्रति दूरदृष्टि राख्न सकेका हुँदैनन्। यस्ता कुरामा उनीहरूमा संज्ञानात्मक कमजोरी लुकेको हुन्छ। मानौँ कि कुनै असाइन्मेन्टहरू पूरा गर्न कठिनाइ भएमा उनीहरू सामाजिक सञ्जाल खोतल्न थाल्छन्, यसले उनीहरूलाई तत्कालको आनन्द पनि दिने गर्छ।  

अव्यवस्थितपनले निर्णय पक्षघातलाई मलजल गर्छ

सही समयमा सही निर्णय गर्न नसक्ने अवस्था नै निर्णय पक्षघात हो। निर्णय पक्षघात एक मनोवैज्ञानिक घटना वा समस्या पनि हो। जब व्यक्तिहरू यसको सिकार बन्छन्, उनीहरूले आफ्ना अगाडि देखिएका विकल्पहरूको सही छनोट गर्न सक्दैनन्। मैले छनोट गरेको निर्णय गलत पो हुन्छ कि? मैले निर्णय गरेको कुराले कस्तो परिणाम दिने हो? भन्ने अनिश्चितता र सम्भावित डरले उनीहरूलाई सताएको हुन्छ। आज हाम्रो समाजमा हरेक क्षेत्रमा विकल्पहरू धेरै हुन्छन्। सामान्यभन्दा सामान्य किसिमका विषयहरूदेखि लिएर जीवनका महŒवपूर्ण क्षेत्र र विषयहरूमा यस्ता विकल्प प्रचुर छन्। तिनै विकल्पमध्ये सही समयमा सही विकल्पको छनोट गरी निर्णय गर्न नसकेमा यसले निर्णय पक्षघातलाई बढावा दिन्छ र यसले व्यक्तिलाई अनावश्यक चिन्ता र तनावग्रस्त बनाइदिन्छ। यस्तो भएमा व्यक्तिका प्रगतिका बाटा रोकिन्छन्। व्यक्तिको उत्पादकता र व्यक्तिगत जीवनका सुखद आयामहरू धरासायी बन्छन्।  

शारीरिक अव्यवस्थितपनले मानसिक अव्यवस्था निम्त्याउँछ  

शारीरिक अव्यवस्थितपनले मानसिक वा दिमागी अराजकतालाई पनि प्रतिविम्बित गरिरहेको हुन्छ। यसले गर्दा कुनै काम वा विषयवस्तुमा व्यक्तिको ध्यान केन्द्रित गर्न र कुन काम प्राथमिकताका आधारमा सम्पन्न गर्नुपर्ने हो भनी छुट्याउन चुनौती सिर्जना गर्छ। यसले गर्दा अनावश्यक वस्तुहरूको खोजीमा मन डुल्ने गर्छ र समयको बर्बादी मात्र हुन जान्छ। यसैका कारण तनाव बढ्ने र बिस्तारै आत्मसम्मानको भावना कमजोर बन्दै जान्छ। आज हामीले यस्ता व्यक्तिहरूका कार्यसम्पादनमा देखिने जटिलता र यस विषयमा उनीहरूले गर्ने अनेक बहानाका कुराहरू देख्दै र सुन्दै आइरहेका छौँ।  

शारीरिक र मानसिक किसिमको अव्यवस्थितपनले व्यक्तिको उत्पादन सामथ्र्यमा, कल्याणको भावना र निर्णय क्षमतामा आघात पुर्‍याउँछ। उनीहरूमा निहित अनिर्णय, ढिलाइ एवम् आफ्ना सामान र सम्पत्तिको व्यवस्थापन गर्न नसक्नुका कारण अनेक किसमिका जटिलता र अव्यवस्था जम्मा हुन पुग्छन्। मानौँ, कसैलाई ‘के तपाईँले आफ्नो कार्यालयलाई कसरी पुनव्र्यवस्थित गर्ने भनेर सोच्दै हुनुहुन्छ? भनेर सोधियो भने यही प्रश्नले तपार्इँको दिमाग भारी हुन जान्छ। यसपछि तपाईँको मनमा विभिन्न विकल्प आउन सक्छन्। तपार्इँ आफ्ना व्यक्तिगत काम छाडेर अफिस व्यवस्थित गर्न सक्नुहुन्छ त? यस्ता प्रश्नले तपार्इँलाई घेर्न थाले भने पक्कै तपाईँमा अलमलको अवस्था आउनेछ र तपाईँ आफ्ना प्रयासलाई आधाआधीमै छाड्न थाल्नुहुनेछ। यस किसिमको अव्यवस्थाले दृष्टिदोष गराउन सक्छ र अवरोधहरू सिर्जना गर्न सक्छ। यसले गर्दा तपाईँको दक्षतामा ह्रास ल्याउने र तनाव मात्र बढाउँछ। अव्यवस्थित कोठा, अव्यवस्थित दराज र अव्यवस्थित कार्यस्थलको कुरूप दृश्यले व्यक्तिको ऊर्जा र एकाग्रतालाई कमजोर बनाउने गर्छ।  

त्यसैगरी मानसिक अव्यवस्थता, अव्यवस्थित विचार र विकेन्द्रित भइरहेको ध्यानले व्यक्तिलाई समग्रतामा अव्यवस्थित बनाइरहेको हुन्छ। कहिलेकाहीँ थेग्नै नसक्ने गरी बोकिएको ज्ञान र सूचनाको भारी र असुहाँउदा कार्यहरूले व्यक्तिलाई भावनात्मकरूपमा उथलपुथल मच्चाउने गर्छन्। व्यक्तिको वैचारिक धरातलमा देखिएको यो अव्यवस्थाले निर्णय गर्ने क्षमतालाई पनि कमजोर बनाउँछ। स्पष्टरूपमा निर्णयमा पुग्न बाधा सिर्जना गरिदिन्छ। उनीहरू अरू कसैले दिएका राय सुझावबाट पनि अन्तिम निर्णयमा पुग्न सकेका हुँदैनन्। उनीहरू एक किसिमले आफ्नै पागलपनमा हराइरहेका हुन्छन्, आफ्ना विगतका अनुभवबाट पनि विश्लेषण गर्न असमर्थ हुन्छन्। वास्तवमा शारीरिक र मानसिक अव्यवस्थाबीच यस्तो गहिरो सम्बन्ध हुने गर्छ, जसले हरसमय एकअर्कालाई मलजल गरिरहेका हुन्छन् र व्यक्तिलाई अराजकताको जङ्गलमा पुर्‍याएर छाडिदिएका हुन्छन्। त्यसैले व्यक्तिले यस्तो शारीरिक र मानसिक अराजकतालाई हटाउन विशुद्ध मनले ध्यान केन्द्रित गर्नुपर्छ।  

अव्यवस्थित व्यवहारबाट मुक्ति र सफलताको पुनस्र्थापना

अव्यवस्थित र अराजकताबाट मुक्त नभएसम्म जीवन सुन्दर बन्न सक्दैन, सुमधुर सम्बन्ध विकास हुन सक्दैन। यस्ता मनोवैज्ञानिक अवरोधहरूलाई हटाउन आफैँलाई आत्माबाटै जागरुक बनाउनैपर्छ। व्यावहारिक र व्यवसायिक रणनीतिहरूको माध्यमबाट नै यी जटिलतालाई जित्न सकिन्छ। आफैँमा पूर्ण क्षमताको विकास गर्दै नम्रता र इमानदारिताका साथ आफ्ना कमजोरीलाई हेर्नुपर्छ। आफूलाई स्पष्ट मार्गनिर्देश गर्ने व्यक्तिबाट सहयोग पनि लिनुपर्छ।

आफ्ना कामलाई ससाना व्यवस्थित चरणमा सुव्यवस्थित गर्दै लैजानुपर्छ। काल्पनिकता र तात्कालिकभन्दा जीवनलाई गहिरो लाभ हुने दीर्घकालीन र यथार्थपरक लक्ष्यहरू आत्मसात गर्नुपर्छ। आफूलाई चुस्त र सङ्गठित बनाउन, दैनिक जीवनलाई योेजनाबद्ध र सुसङ्गत बनाउन आधारभूत तहबाटै प्रयासको थालनी गर्नुपर्छ। यसो गर्नाले जीवन सङ्गठित मात्र होइन, समग्रतामा सशक्त बन्दै जान्छ र यही आत्मविश्वासको भावनाले हामीले जीवनमा अझै ठूलो सफलता आर्जन गर्न सक्छौँ। त्यसैले हामी सबैले आजैबाट प्रयास गरौँ– कुनै पनि यात्राको थालनी पहिलो कदमबाटै सुरु हुने गर्छ।

प्रकाशित: १४ चैत्र २०८० ०६:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App