१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

सुध्रेलान् त हाम्रा नेता ?

हालै अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ३५ करोड डलर ठगी गरेको आरोपमा त्यहाँको अदालतले दोषी प्रमाणित गरिदिएछ। स्मरण रहोस्, त्यहाँको सर्वोच्च अदालतमा नौ जना न्यायाधीशमध्ये ट्रम्पले नै नियुक्त गरेका ६ जना न्यायाधीश छन्। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई कारागार चलान गरिएको छ। उन्नत देशहरूमा सबैलाई अपराध कर्म गरेबापत दण्डित गरिन्छ। ठूला पदाधिकारीले अपराध गर्दा अधिक सजाय र जरिवाना गर्ने प्रगतिशील कारबाहीको व्यवस्था गरेको देखिएको छ।

तर नेपालमा भने लोकतन्त्रका लागि दुःख, कष्ट भोगेकाहरूलाई सबै प्रकारका अपराध कर्म गर्न छूट छ। हाम्रो सन्दर्भको लोकतन्त्रमा यो लाग्दोरहेछ कि–लोकतन्त्र ल्याइदिने महान् व्यक्तित्वहरू दण्डित हुनै सक्दैनन्। उनीहरू अन्य नागरिकभन्दा भिन्न हुन् र उनीहरूको देवत्वकरण गर्दा मात्र लोकतन्त्रको संस्थागत विकास हुन्छ। यसलाई नै नेपालको मौलिक लोकतन्त्रका रूपमा वर्तमान शासन प्रणालीले स्वीकार गरेको छ।

पञ्चायती शासनकाल निरंकुश रह्यो, राणाकाल निरंकुश शासनको पर्याय नै थियो। राणाहरूमा सबैभन्दा ठूला तानाशाह जंगबहादुर हुन्, यसमा सबैको मतैक्य हुनेछ। किनकि कोतपर्वमा रक्तपात मचाएर धेरै रोलक्रमवाला राणाको संहार गरेर राजालाई आतंकित बनाइ पञ्जापत्रमार्फत शक्ति आफूमा केन्द्रित गराएर शासन सुरु गरेका हुन्।

यिनै जंगबहादुरलाई बेलायत भ्रमणका लागि आमन्त्रण गरिएछ। उनले भारतका समकक्षीको भन्दा बढी तोपको सलामी दिने भए मात्र आउने सर्त राखेछन, सर्त स्वीकार भएपश्चात मात्र उक्त देशको भ्रमण गरेका रहेछन्। 

उनको तर्क थियो– भारत बेलायतको उपनिवेश हो तर नेपाल स्वतन्त्र देश हो। त्यसैले भारतभन्दा नेपालको मर्यादाक्रम सधैँ उच्च रहन्छ। घूस, भ्रष्टाचार र नाफाखोरीविरुद्ध जंगबहादुर अत्यन्त कडारूपमा प्रस्तुत हुँदारहेछन्। देशलाई संकट परेको अवस्थामा नाफाखोरी गर्नेलाई उनलाई बक्साउनु नपर्ने पाँच जना साक्षी राखेर उनीहरूको रोहवरमा घाँटी छिनाइदिनू भनी हुकुम दिएका रहेछन्। 

राणा शासक देशको सम्पत्ति देशबाहिर लैजाने कर्मलाई अपराध मान्दारहेछन्। त्यसैले देशभित्र मौजा जोडे। सिंहदरबारलगायत थुप्रै दरबार निर्माण गरेछन्। तिनै दरबार अहिले लोकतान्त्रिक सरकारले प्रयोग गरिराखेका छन्।

नेपालका शाह राजाहरू सबैमा देशप्रतिको अगाध माया देखिन्थ्यो। देश विकासका लागि तल्लीन रहन्थे। शिशु लोकतन्त्रको गला घोट्ने आरोप लागी निरंकुश राजाको संज्ञा पाएका राजा महेन्द्रले पूर्व÷पश्चिम राजमार्ग बनाएछन्, तराई, हिमाल र पहाडलाई एकै सूत्रमा आबद्ध गर्न उत्तर दक्षिण हुँदै पाँच विकास क्षेत्र र १४ अञ्चलमा विकास र प्रशासकीय प्रयोजनका लागि विभाजन गरेका हुन्। शाहकै पालामा अरनिको राजमार्गको निर्माण कार्य सम्पन्न भई नेपालको वैदेशिक सम्बन्धका हिसाबले रणनीतिक मार्ग बनेछ। 

तराईका सीमा क्षेत्रमा भुपु सैनिकलाई मौजा दिइ सिमाको रक्षा गर्न लगाएका रहेछन्। राजा वीरेन्द्रले देशलाई अन्तर्राष्ट्रिय चलखेलबाट सुरक्षित राख्ने अभिप्रायले शान्ति क्षेत्रको प्रस्ताव राखेका थिए। प्रायः विश्वभरका सबै देशबाट यसको अनुमोदन हुने अवस्थामा प्रगति भइरहँदा छिमेकी भारतकै विरोधका कारण अघि बढ्न सकेन।  

२०१५ सालमा बिपीको नेतृत्वमा नेपाली कांग्रेसको सरकार बन्यो। अल्प अवधिको शासनमा बिपीले केही काम गरे। भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले भारतको उत्तरी सिमाना हिमाल भएको अभिव्यक्ति संसद्मा औपचारिकरूपमै दिए। बिपीले आफ्ना समकक्षीको अभिव्यक्तिको कडा प्रतिकार लिखितरूपमै गरे। नेहरूले आफ्नो गल्ती स्वीकार गरी नेपालको सार्वभौम सत्ताको सम्मान गरे। 

भारतको इच्छाविपरीत चीनसँग र संयुक्त राज्य अमेरिकाको अत्यन्त नराम्रो सम्बन्ध भएको देश इजरायलसँग दौत्य सम्बन्ध कायमगर्ने सम्झौता गरे। यी निर्णयहरूबाट नेपाल आफ्नाबारे निर्णय लिन स्वतन्त्र रहेको सन्देश विश्वलाई पस्कन सफल भए।

आफ्नै परिवारका सदस्य उनकै स्वकीय सचिवले नेपाली कांग्रेसका एक कार्यकर्तासँग रकम लिई प्रहरी निरीक्षकमा भर्ना गराएको सूचना प्राप्त भएपश्चात यस घटनाको छानबिन आफ्नै प्रकारले गर्दा सत्य साबित हुन आएछ। ती स्वकीय सचिवलाई आफ्नो निवासमा चाडपर्वको बेलामा मात्र आउन पाउने गरी कार्यालयमा आफू प्रधानमन्त्री रहेसम्म प्रवेश निषेध गरेछन्। त्यस समयको लोकप्रिय पत्रिका ‘समीक्षा’लाई आर्थिक सहयोग गरेर तर्क र तथ्यका आधारमा आफ्ना कामकारबाही र शासकीय शैलीबारे खुलेर आलोचना गर्न अनुरोध गरेछन्।

उत्तर र दक्षिण छिमेकीसँग समान हैसियतमा नेपाललाई प्रस्तुत गर्ने, शक्ति सम्पन्न राष्ट्रको आशय गौण आकलन गर्दै स्वतन्त्र हैसियतमा निर्णय लिने, भ्रष्टाचार नियन्त्रण आफ्नै चुलाबाट प्रारम्भ गर्ने, आफ्नै आलोचना पत्रिकाले गर्दा सकारात्मकरूपमा लिई आफूमा सुधार ल्याउने जस्ता आफैँलाई प्रतिकूल हुने क्रियाकलाप गर्दै प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला अघि बढेका थिए।

यस्ता देश र परिस्थिति प्रतिकूल कार्यहरू सम्पादन गरी देशको शिर उच्च राख्ने तर आफूलाई जोखिममा पार्ने निर्णय कोइरालाबाट धेरै भएका छन्। खोजी पस्दा धेरै यथार्थता प्राप्त हुनेछन्। त्यस समय देशको इज्जत र पदीय मर्यादालाई धेरै महत्त्व दिइन्थ्यो।

भारतका प्रधानमन्त्री नेहरूलाई कृष्ण मेननले सल्लाहकार राखी शासन गर्न उपयुक्त हुने राय दिएछन्। नेहरूले सल्लाहकारको नामावली माग्दा सबै उनैका अन्धा समर्थक देखिएपश्चात यस्ता सल्लाहकारबाट आफूलाई सही सल्लाह नमिल्ने निष्कर्षमा पुगी अस्वीकार भएछ। प्रधानमन्त्री कीर्तिनिधि विष्टले सिंहदरबार आगलागी भएपश्चात प्रधानमन्त्री बनिरहन नैतिकताका आधारमा अनुपयुक्त सोची राजीनामा गरेका थिए। नेपालको उत्तरी क्षेत्रमा तैनाथ १८ वटा भारतीय सैन्य क्याम्पमध्ये कालापानी लिम्पियाधुराको एकबाहेक अन्य १७ वटा हटाउने साहसी निर्णय गरेका रहेछन्।

दशरथ रंगशालामा खेल भइराखेको समयमा हावाहुरी चल्दा भागदौड मच्चिएछ। यस घटनामा केही दर्शकको मृत्यु भयो। तत्कालीन खेलकुद मन्त्री केशरबहादुर विष्टले राजीनामा दिए। सिंहदरबारमा आगजनी कीर्तिनिधिले गरेका थिएनन्। खेल मैदानमा हावाहुरी आउनुमा अर्का विष्टको केही गल्ती थिएन। तर हालका हाम्रा लोकतन्त्रवादीहरूका दृष्टिमा यी विष्टहरू पटमूर्ख र तानाशाहका प्रतिमूर्ति हुन्। कहिले सिक्ने उनीहरूका राम्रा कुरा हाम्रा नेताले?

प्रकाशित: ८ चैत्र २०८० ०६:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App