६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
विचार

चीनविरूद्ध पश्चिमा अतिरञ्जना

छिमेकी मित्र राष्ट्र चीनको राजनीतिमा हरेक वर्ष वसन्त पर्वको समाप्तिसँगै हुने दुई सदन, राष्ट्रिय जनकांग्रेस र चिनियाँ जनसल्लाहकार सभाको बैठकलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विशेष चासोका साथ लिने गरिन्छ।

सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापनायता चिनियाँ इतिहासका धेरै महत्त्वपूर्ण निर्णय तिनै दुई सभाले गरेका हुनाले पनि ती अधिवेशनप्रति स्वभावतः चीनभित्र र बाहिर विशेष चासो हुने गर्छ। यो वर्ष मार्च महिनाको पहिलो साताबाट यी दुवै सभाको वार्षिक अधिवेशन सुरु भएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत विश्व अर्थतन्त्रको सूक्ष्म लेखाजोखा गरिरहेका पश्चिमा संगठनहरूले यो वर्ष चीनको आर्थिक वृद्धि दर घट्ने प्रक्षेपण गरिरहेका र अर्थतन्त्रका विभिन्न क्षेत्रमा आएका शिथिलतासँगै जन्मेको संशयको परिस्थितिमा चिनियाँ व्यवस्थापिकाले कस्तो नीति ल्याउला भन्ने चासो सर्वत्र थियो। विश्वको दोस्रो ठूलो आर्थिक शक्ति चीनको सर्वोच्च व्यवस्थापिकाले यस सन्दर्भमा लिने निर्णयको प्रभाव चीनभित्र मात्र सीमित नभई संसारभर पर्नु स्वाभाविक हो।

१४ औं राष्ट्रिय जनकांग्रेसमा चीन सरकारले सन् २०२४ को आर्थिक वृद्धि दर  प्रतिशत कायम गर्ने लक्ष्य राखेको छ। मुद्रा कोषले भने सन् २०२४ मा चीनको आर्थिक वृद्धि दर ४.६ प्रतिशत प्रक्षेपण गर्दै चिनियाँ अर्थतन्त्र ओरालो लाग्ने विश्लेषण गरेको छ। चीनको अर्थतन्त्र ओरालो लागेको भन्दै तातो पानीले घर जलाउने पश्चिमा शैलीको प्रचारबाजीको जवाफमा चीनले भने आर्थिक वृद्धि दर लक्ष्य विगत वर्ष जस्तै कायम राखेको देखिन्छ।

पश्चिमा थिंकट्यांकहरूले पछिल्ला वर्षहरूमा चीनको आर्थिक विकास अब उत्कर्षमा पुगिसकेको र उपरान्त क्रमशः ओरालो लाग्ने भन्दै प्रचारबाजी गरिरहेका छन्। यसअघि पनि अन्ततः चीन पनि सोभियत संघ जस्तै आर्थिकरूपमा विफल हुने प्रचार गर्ने गरेका थिए।

 चीनको आर्थिक विकासको यात्रामा अवरोध पु¥याउने त्यस्ता प्रयासले लछारपाटो लगाउन नसकेपछि अहिले उनीहरूले नयाँ रणनीति अपनाएको देखिन्छ। उनीहरूसँग चीनको आर्थिक प्रगतिलाई स्वीकार्नुको कुनै विकल्प छैन। तथापि अब यो प्रगति आगामी दिनमा धेरै नटिक्ने भन्दै उनीहरूले चीनलाई अर्को कोणबाट कमजोर बनाउने रणनीति अपनाएका छन्।

दशकभन्दा लामो समयसम्म चीनको आर्थिक दर लगातार वृद्धि भएको तथ्य कसैले अस्वीकार गर्न सक्दैन। चीनको यो आकर्षक आर्थिक वृद्धिको कारण संसारभरका बहुराष्ट्रिय कम्पनीहरू चिनियाँ बजारप्रति आकर्षित हुँदा चिनियाँ बजार थप गतिशील र उत्पादनमूलक बनेको छ। फलतः चीन आज विश्व अर्थतन्त्रको इन्जिन कहलिएको छ।

तर एकध्रुवीय विश्व व्यवस्थाको पक्षपाती अमेरिका नेतृत्वको पश्चिमा शक्ति भने चीनको आर्थिक विकासले आफ्नो प्रभुत्व खतरामा पर्ने आकलन गरी चिनियाँ अर्थतन्त्रको प्रगति रोक्न प्रयासमा लागेका छन्। ती थिंकट्याकहरूले आजको चीनको आर्थिक विकासलाई सन् १९७० दशकको जापानी आर्थिक उन्नतिसँग तुलना गर्दै चिनियाँ अर्थतन्त्र पनि त्यही बाटोमा हिँड्ने विश्लेषण गरेका छन्। उनीहरूले चीनको अर्थतन्त्र चुचुरोमा पुगिसकेको र अब झर्ने (चाइनापिक) प्रचार गरेर चीनमा विदेशी लगानी घटाउने र चिनियाँ अर्थतन्त्रप्रति संशय जन्माउने प्रयास गरिरहेका छन्। त्यसको प्रतिरोधमा यो वर्षको दुई सदन बैठकले प्राथमिकताका साथ आर्थिक सुधारका थप नीति पारित गरेका छन्।

ती थिंकट्यांकहरूले हिजोको जापान र आजको चीनबीच तात्त्विक अन्तर भएको वास्तविकतालाई लुकाउन खोजिरहेका छन्। उनीहरूले आर्थिक तथ्यांकलाई बंग्याएर चीनमा उपभोक्ताको क्रयशक्ति कमजोर भएको, लगानी क्षमता न्यून भएको, सेयर बजारको प्रस्तुति कमजोर भएको र वैदेशिक लगानी बाहिरिइरहेको अतिरञ्जित तस्बिर देखाउन खोजिरहेका छन्।

अहिलेको अन्तर्राष्ट्रिय परिस्थिति र चीनकै अर्थतन्त्रका केही क्षेत्रमा देखापरेका शिथिलताका कारण घोषित आर्थिक वृद्धि दर प्राप्त गर्न सहज नहुने चिनियाँ नेतृत्वले स्वीकारे पनि चीन र संसारभरकै आर्थिक स्थायित्वका लागि पनि चीनले त्यो लक्ष्य हासिल गर्नुपर्ने चीन सरकारको आशय जनकांग्रेसमा देखिएको छ।

चिनियाँ अर्थशास्त्रीहरूले पनि लगानीमा आधारित तीव्र गतिको वृद्धि र न्यून लागतको उत्पादनका कारण अर्थतन्त्रमा केही असन्तुलन आउन सक्ने र त्यसले लक्षित वृद्धि दरमा केही तगारा तेर्सिन सक्ने बताएका छन्। तथापि चीन सरकारले यस्ता समस्या सुल्झाउन ल्याएका ठोस नीतिले अघिल्ला वर्षहरूमा जस्तै आफ्नो लक्ष्य हासिल हुनेमा चिनियाँ नेतृत्व ढुक्क देखिन्छ।

अर्थतन्त्रमा संरचनागत सुधारका निम्ति चीनले अब वस्तु उत्पादनमा आधारित अर्थतन्त्रबाट उच्च मूल्यका सेवामा आफ्नो लगानी बढाउने निष्कर्ष निकालेको छ। फलतः दुई सदनका बैठकमा यस वर्ष कृत्रिम बौद्धिकता (एआइ) मा आधारित उच्चप्रविधि र सेवा तथा जलवायुमैत्री प्रविधिको विकासमा जोड दिइएको छ।

चिनियाँ आर्थिक विश्लेषकहरू अहिले तीन नयाँ निर्यात विशेषता (थ्री न्यु च्याम्पियन्स) ले चीनको अर्थतन्त्रलाई आगामी दिनमा अपेक्षित लक्ष्य हासिल गर्न सफल बनााउने तथ्यांक प्रस्तुत गरिरहेका छन्। उनीहरूको भनाइमा चीन अहिले प्रकाशबाट विद्युत्त् निकाल्न सकिने प्रविधि (फोटोभोल्टेक), नयाँ ऊर्जा सवारी साधन र लिथियम व्याटीमा विश्वभर नेतृत्व गरिरहेको छ। यसले चीनको अर्थतन्त्र परम्परागत वस्तु उत्पादनमा मात्र सीमित छैन, बरु अत्याधुनिक प्रविधिमा आधारित वस्तु उत्पादनमा पनि फड्को मारिरहेको देखाएको छ।

चिनियाँ अर्थतन्त्रको जग कमजोर नभएको अर्को आधार चीनले अहिले कृत्रिम बौद्धिकता, जलवायु परिवर्तन प्रतिरोधी, सञ्चार प्रविधिको अनुसन्धानमा गरिरहेको लगानीले पनि संकेत गरिरहेको छ। चीनले बर्सेनि ती क्षेत्रमा लगातार लगानी वृद्धि गरिरहेको छ।

चीनले आफ्नो कुल गार्हस्थ्य उत्पादनको २.६४ प्रतिशत खोज अनुसन्धान (आर एन्ड डी) मा लगानी गरेको छ। अघिल्लो वर्षको तुलनामा अहिले यो क्षेत्रमा बजेट ८.१ प्रतिशतले बढाएको छ।

दुई सदन बैठकको पूर्वसन्ध्यामा चिनियाँ अर्थतन्त्रमाथि भएको बहसमा महत्त्वका साथ उठाइएको एउटा विषय सहरीकरणको मुद्दा हो। सहरीकरणले मानिसको उपभोगको परिधि फराकिलो बनाउनुका साथै क्रयशक्ति पनि विस्तार गर्छ।

सहरीकरणको बहसमार्फत चीनले आफ्नो आन्तरिक बजार अझ फराकिलो र सबल बनाउने नीतिमा पनि जोड दिइरहेको देखाएको छ। पूर्वबाट फैलिएको चिनियाँ विकासको उज्यालो अहिले क्रमशः पश्चिम चीनतिर फैलिरहेको छ।

निरपेक्ष गरिबीबाट प्राप्त मुक्तिले उत्साहित चीन आफ्ना जनतालाई कसरी धेरै खर्च र बढी उपभोग गर्न सक्ने बनाउने बहसमा केन्द्रित देखिएको छ। यसका निम्ति चीन सरकारले सार्वजनिक पूर्वाधारमा ठूलो धनराशी खर्च गरिरहेको छ। त्यस्ता सार्वजनिक पूर्वाधारले मानिसको आर्थिक गतिविधि र क्षमता विस्तार भइरहेको छ।

सन् २०२३ मा चीनले गरेको कुल विद्युत् खपत (९.२ ट्रिलियन किलोबाट आवर) अमेरिकाको तुलनामा २.३ गुणाले बढी थियो। त्यस्तै त्यो साल चीनले कुल तीन करोड एक लाख वटा सवारी साधन बिक्री गरेको थियो। यो संख्या अमेरिकामा भएको सवारी साधन बिक्रीको तुलनामा झण्डै दोब्बर हो। चीनले खपत गरेको कच्चा स्पात अमेरिकाको तुलनामा १२.६ गुणाले बढी थियो। विश्वको सबभन्दा पहिलो अर्थतन्त्र र दोस्रो अर्थतन्त्रबीचको यो तुलनाले चिनियाँ अर्थतन्त्र केही थिंकट्यांक र सञ्चारमाध्यमले प्रचार गरे जस्तो उधो गति लागेको देखिँदैन।

बरु चीन सबै क्षेत्रमा सुधारको ढोका सधैँ खुला राख्दै विश्व अर्थतन्त्रकै इन्जिन बन्न आत्मविश्वासका साथ अघि बढिरहेको छ। चीनमा जनवादी गणतन्त्र स्थापना भएको ७५औँ वर्षमा भएको यसपालिका दुई सदन बैठकमार्फत चीनले समृद्धि र विकासको आगामी बाटोको नक्सा अझ प्रष्टसँग संसारसामु राखेको छ।

१४ औं पञ्चवर्षीय योजना कार्यान्वयनका लागि निकै महत्त्व राख्ने यो वर्षको व्यवस्थापिका बैठकबाट चीनले संसारको आर्थिक इन्जिन बन्ने आफ्नो यात्रा अनेकन अवरोध र तगारा छिचोल्दै अघि बढ्ने बलियो विश्वास देखाएको छ।

यसपालिको बैठकले नांग्लो ठटाएर हात्ती तर्साउने केही शक्तिको प्रयासलाई बलियो जवाफ दिएको छ। आर्थिक तथ्यांकको जोड/घटाउभन्दा धेरै महत्त्वपूर्ण राजनीतिक नेतृत्वको आत्मविश्वास, राज्य संयन्त्रको गतिशीलता र जनताको विश्वासले आर्थिक विकास र परिवर्तनमा ठूलो भूमिका खेल्ने गर्छ। चीनको सन्दर्भमा पनि अंकको अतिरञ्जित खेलमा निकालिएका केही निष्कर्षभन्दा बढी महत्त्वपूर्ण चिनियाँ जनताको सपना साकार बनाउने इच्छाशक्तिले आगामी यात्राको दिशा निर्धारण हुने देखिन्छ। 

प्रकाशित: २९ फाल्गुन २०८० ०६:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App