८ वैशाख २०८१ शनिबार
विचार

अर्बुदमा व्यक्तीकृत चिकित्सा

कुनै पनि रोगको निदान गर्ने क्रममा व्यक्तिको रक्त परीक्षण गर्ने पद्धति लामो समयदेखि स्थापित छ। रगत जाँचले बिरामीको अवस्था भन्छ अनि डाक्टरले तद्नुरूप इलाज गर्छन्, रोगी स्वस्थ हुन्छ। उदाहरणका लागि रगतमा एवानसीको मात्रा उकासिँदा मधुमेह लागेको हुन्छ अनि सन्चो पार्न रोगीलाई चिनी रोगको ओखती दिइन्छ। तसर्थ रक्त परीक्षण चिकित्सा विज्ञानको मेरुदण्डका रूपमा छ, भविष्यमा पनि रहनेछ। तर क्यान्सर, अटोइम्युन डिजिजलगायत थोरै व्यक्तिलाई मात्र लाग्ने अभागी दुर्लभ रोग (रेएर डिजिजदुर्लभ) को हकमा रक्त परीक्षणले धेरै सूचना दिन सक्दैन। त्यस्तो कठिन घडीमा थप उत्खननको दरकार पर्छ। त्यसबेला आनुवांशिक पदार्थ डिएनए परीक्षण (जिनोम टेस्टिङ) अनि ‘गट माइक्रोबायोम’को जाँच चाहिन्छ। पाचन प्रणालीमा रहने असंख्य सूक्ष्माणुको बनोटलाई गट माइक्रोबायोम भनिन्छ।

डिएनए परीक्षणले सबै रोगको स्रोतबारे जानकारी दिन्छ ठानिँदै आएकामा समान चरित्रका आनुवांशिक पदार्थ भएका व्यक्तिहरूको व्यथाका बीचमा ठूलो विभेद देखिँदा के जिनोम टेस्टिङ पूर्ण छैन त भन्ने प्रश्नको लेखाजोखा आवश्यक हुन्छ। उत्खनन गर्दै जाँदा पछिल्लो दशक नवीन विज्ञानका रूपमा गट माइक्रोबायोम अस्तित्वमा आएको हो। अनुसन्धानहरूले असल पाचन जीवाणुले प्रतिरक्षा प्रणालीको सबलीकरणमार्फत निरोगी बनाउने तथा मानसिक स्वास्थ्यलाई मजबुत बनाएको पाइएको छ। तर के/कस्तो संहिताले असल जीवाणुको घनत्व बढाउँछ भन्ने प्रश्नको जवाफ अनुसन्धानमा संलग्नहरूसँग छैन। अरबौँ एकाइले बनेको आनुवांशिक पदार्थको चिरफार गरी रोगको निदान खोज्न भन्दा कम कठिन छैन खरबौँ सूक्ष्माणुले बनेको माइक्रोबायोमको चुरो पहिल्याई बिरामी बिसेक बनाउने काम। आनुवांशिक बनोट अनि माइक्रोबायोमलाई बसमा ल्याई निरोगी बन्न अझैँ लामो समय कुर्नुपर्ने देखियो।

क्यान्सर, अटोइम्युन डिजिज अनि दुर्लभ रोगले सताउँदा परिवारले आकास खसेको महसुस गर्छन्। रोग लागेपछि सन्चो हुने संभाव्यता झिनो देखी तनावमा हुनु अन्यथा होइन। थोरै व्यक्तिलाई मात्र लाग्ने दुर्लभ रोगमध्येका धेरै लक्षणको इलाज कठिन नदेखिए पनि फर्मास्युटिकल कम्पनीहरू दुर्लभ रोगको ओखती बनाउन तत्पर देखिन्नन्। थोरै जनसंख्यामा लाग्ने रोगको औषधि बनाए पनि मुनाफा कमाउन नसकिने भएकाले त्यसो भएको बुझ्न कठिन छैन। सेरेप्टा फर्मास्युटिकलले दुर्लभ रोग मस्कुलर डिस्ट्रोफीको ओखती एल्भिडोस बनाएपछि त्यसको बजार मूल्य ३२ लाख अमेरिकी डलर तोक्यो। एक त रोगीको संख्या नै कम हुने अनि त्यति महँगो ओखती किन्न सक्ने क्षमता भएका रोगी संसारमा कति होलान् ? तसर्थ नेपाल जस्तो गरिब मुलुकमा दुर्लभ रोग लाग्नु भनेको मृत्यु वरण गर्नु हो भन्दा फरक पर्दैन। अधिकांश ‘अटोइम्युन डिजिज’ दुर्लभ रोगकै श्रेणीमा पर्ने भएकाले ओखती बनाउन दबाइ उत्पादकको चासो नहुनु अस्वाभाविक भएन। अहिले दुर्लभ रोगको ओखती धेरैको पहँुच भन्दा परको विषय भयो। यद्यपि, आउँदा दिनमा अन्वेषणको ढाँचा परिवर्तन भएको खण्डमा परिस्थिति फरक नहोला भन्न सकिन्न।

क्यान्सर र एचआइभी/एड्सलाई धेरै वर्षसम्म मृत्युको घण्टी मानियो। रोग बिसेक पार्न खरबौँ रुपियाँ खर्च भयो, लाखौँ वैज्ञानिकले आफ्नो जीवन अनुसन्धानमा बिताए। तर पनि आयुर्विज्ञानले गतिलो इलाज पाउन सकेन। निको पार्न नसकिए पनि पछिल्लो समय विकास भएका ओखतीले एड्सका रोगीले आर्यघाट गइहाल्नुपर्ने अवस्थाको भने अन्त्य गर्‍यो। एचआइभीका बिरामीले आफ्नोे जीवन पूर्ण जिउन सक्ने भयो। यद्यपि क्यान्सरका रोगीको अवस्थामा धेरै परिवर्तन भएन। दशकौँको अथक प्रयास अनि अन्वेषणका लागि पैसाको खोलो बगाउँदा पनि दर्जनौँ प्रकृतिका क्यान्सरहरूमध्ये एक दुई चरित्रका अर्बुद रोगीलाई मात्र दीर्घ जीवन दिन आयुर्विज्ञान सफल भयो। एकै क्यान्सर लागेका बिरामीमध्ये एकलाई सन्चो पार्ने ओखतीले अर्कोलाई छुँदै नछुने भएपछि अन्वेषणको प्रारूप परिवर्तन गर्न वैज्ञानिक बाध्य भए। पछिल्लो समय क्यान्सर इलाजका लागि प्रिसिजन, पर्सनलाइज्ड र इन्डिभिजुएलाइज्ड मेडिसिनलगायतका विभिन्न उपचारका अवधारणा आए। विभिन्न नाम दिइए पनि उल्लिखित तीनै उपचार विधिको मुख्य मान्यता भनेको क्यान्सर निको पार्न व्यक्तिपिच्छे फरक फरक ओखती चाहिन्छ भन्ने हो।

एउटालाई बिसेक पार्ने ओखतीले अर्को अर्बुद रोगीलाई छुँदै नछोएको देख्दा वैज्ञानिकहरूले प्रचलित उपचार विधि पूर्ण नभएको ठानी थप उत्खननको आवश्यकता देखे। एउटै क्यान्सरबाट पीडित अनि उही समस्याबाट सताइएका समूहको अर्बुद कोस (सेल)को सूक्ष्म परीक्षण गर्दा प्रत्येक रोगीका सेलको चरित्र फरक फरक पाए अन्वेषणकर्ताले। उदाहरणका लागि लङ्ग्सक्यान्सरका रोगीहरूको फोक्सोका कोसहरूको सूक्ष्म बायोलोजिकल परीक्षण गर्दा प्रत्येक बिरामीका सेल पृथक देखिन्छ भन्ने हो। जसरी विभिन्न किसिमका ब्याक्टेरियालाई मार्न एउटै एन्टिबायोटिक्सको सेवनबाट संभव हुँदैन त्यसैगरी विभिन्न किसिमका क्यान्सरका सेलहरू विनास गर्न एउटै एन्टिक्यान्सर ड्रग्स बाट संभव हुँदैन भन्ने निष्कर्षमा पुगे वैज्ञानिकहरू। अनि व्यक्ति नै पिच्छे फरक फरक ओखती चाहिन्छ भन्ने अवधारणा आयो। आखिरमा सबै रोगीलाई फरक फरक तरिकाले इलाज गर्नुपर्ने व्यक्तीकृत उपचार विधि भनेको के हो त ? सहजीकरणका लागि एक क्यान्सर रोगीको यथार्थ प्रस्तुति सान्दर्भिक देखियो।

केही वर्षअघि भर्खर ३ दशक टेकेका अस्ट्रियन नागरिक केभिन स्यान्डरलाई ब्लड क्यान्सर भयो। रोग पत्ता लाग्नेबित्तिकै इलाज सुरु भयो। ओखतीपछि सन्चो हुने अनि केही समयपछि रोग फेरि बिउँतिने। इलाज हुने अनि रोग फेरि देखिने क्रम चल्दै गयो। उपचारको केही चक्रपछि उपलब्ध ओखतीले केभिनलाई छुन छाड्यो। नवीन उपचार विधिको आवश्यक पर्‍यो उनको इलाजका लागि । त्यसैबखत केभिन राजधानी भियनास्थित मेडिकल युनिभर्सिटीका रक्त चिकित्सक (हेमाटोलोजिस्ट) फिलिप स्ट्याबरको समिपमा पुगे। समस्या समाधानका लागि रोगी केभिनलाई एक नवीन क्लिनिकल परीक्षणमा समावेश गर्न डा. स्ट्याबर तयार भए।

सबै क्यान्सरका ओखती परीक्षण गरी कुन दबाइले केभिनको शरीरमा वृद्धि भएका अर्बुद कोस मार्‍यो भन्ने पत्ता लगाउन संभव थिएन। लामो समयसम्म अर्बुद रोगीलाई जीवित राखी उपचार गर्न असंभव हुन्छ। समयको पावन्दीलाई मध्यनजर राख्दै केभिनको शरीरबाट निकालिएको क्यान्सरका कोसलाई विभिन्न टेस्टट्युब राखी अर्बुद रोगको संभाव्यता बोकेको १३० रासायनिक पदार्थसँग परीक्षण गरियो। ल्याब परीक्षित ओखतीमध्ये एक केमिकलले टेस्टट्युब परीक्षणमा अर्बुद कोस विनास गरेको पाइयो। ल्याब परीक्षणको उत्साहपछि केभिनलाई त्यही ओखती दिइयो। नभन्दै उक्त रासायनिक पदार्थले केभिन क्यान्सर मुक्त भए, आफ्नो काममा फर्किए। अघिल्लो महिना एक पत्रकारलाई दिएको अन्तर्वार्तामा केभिनले आफू रोग मुक्त भएको अनि बाँकी जीवनको पूर्ण उपयोग गर्ने बताए।  

पर्सनलाइज्ड मेडिसिनको आवश्यकता किन पर्छ त ? प्रत्येक व्यक्तिमा देखिने क्यान्सर फरक फरक हुने भएकाले केभिनका लागि उपयोगी सिद्ध भएको ओखती अर्को ब्लड क्यान्सरको बिरामीका लागि लाभप्रद् नहुन सक्छ। त्यसैले उल्लिखित विधिलाई अनुशरण गर्दै अर्को रोगीका कोसलाई पुनः ल्याबमा परीक्षण गरी सफल ओखतीको खोजी गर्नुपर्ने हुन्छ। कुनै रोगीलाई परीक्षणमा रहेका कुनै पनि ओखतीले काम नगर्न पनि सक्छ भन्ने कुरा बिर्सनुहुँदैन। चिनी रोगीलाई दिइने ओखती जस्तो सबै रोगीका लागि मिल्ने क्यान्सरको ओखती बनाउन विज्ञानले अहिलेसम्म पूर्ण सफलता पाउन नसकेकाले अर्बुद रोगीको इलाजका लागि व्यक्तीकृत उपचार नै अहिलेको उत्तम विकल्प देखियो। खर्चिलो अनि लामो समय लिने भए पनि जटिल अर्बुद रोगीका लागि पर्सनलाइज्ड उपचारको विकल्प तत्कालका लागि देखिएन।

प्रकाशित: ८ फाल्गुन २०८० ०६:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App