१७ फाल्गुन २०८० बिहीबार
विचार

एआईको लोकतन्त्रीकरण

कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकासले आश्चर्य र भय दुवै निम्तिएको छ। कतिपयले एआर्ईलाई परोपकारी उद्धारकर्ता पनि मान्छन्। एआईलाई आश्चर्यजनक अथवा सहयोगी दुवै मान्दाको अवस्थामा पनि यसको फाइदा हरेक सर्वसाधारणलाई कसरी सुनिश्चित गर्ने भन्ने प्रश्न अहं बनेको छ।

यो प्रश्नको उत्तर खोज्न सुरुमा एआई के हो भन्ने सूक्ष्म बुझाइ आवश्यक छ। त्यो भनेको यो विषयमा रहेको अत्यन्त सरल भाष्यलाई बहिष्कार गर्न आवश्यक छ। पहिलो प्रकार्यवाद (फङ्सनालिज्म) हो, जसअन्तर्गत मानिसले प्राविधिक विकास हासिल गर्न आफूलाई अनुकूलित र संबद्र्धित गर्नुपर्छ।

अर्को भाष्य भनेको सनसनीपूर्णता हो जसले एआईलाई अस्तित्वगत खतराका रूपमा चित्रण गर्छ। अर्काे संशयवाद हो जसअन्तर्गत एआईलाई नाफाका लागि प्रयोग भैरहेको भन्ने गरिन्छ। यसैगरी भाग्यवादअन्तर्गत एआईको अपरिहार्य वृद्धिप्रति मन नपर्दासमेत स्वीकृति जनाउनु अर्काे भाष्य हो।

यी सबै परिदृश्यमा भविष्य हाम्रै हातमा छ भन्ने कुरा बेवास्ता गरिएको छ। एआईको क्षमता र प्रभाव बुझ्न ‘बनाउँदै अनि बुझ्दै जाने’ भन्ने ‘भेरम फ्याक्टम प्रिन्सिपल’ सहयोगी र महत्त्वपूर्ण हुन्छ।

अल्पसंख्यकले एआईको रूपान्तरणकारी संभावनालाई आत्मसात नगर्न सक्ने शंका निवारण गर्न यसलाई  लोकतन्त्रीकरण पार्न आवश्यक छ। प्राविधिक विकासमा समतामूलक पहुँच सुनिश्चित गर्न सकेमा एआईले समाजलाई विभाजन गर्नुको सट्टा एकताबद्ध गर्न सहयोग गर्न सक्छ।

यसका संभावित फाइदा अनेकन छन्। सन् १९९० मा जोसेफ स्टिग्लिजले भनेका थिए– २५ वर्षअघि औद्योगिक देशका सबैभन्दा राम्रो विद्यालयमा पढ्ने विद्यार्थीभन्दा हाल इन्टरनेटमा पहँुच भएका जो–कोही विद्यार्थीसँग धेरै ज्ञान छ।’

एआईमा लोकतान्त्रिक पहुँच स्थापना गर्न सकेमा हाम्रा बालबालिकालाई सबैभन्दा तेज दिमागसहित आफ्ना आवश्यकता पूरा गर्न सक्ने बनाउन सकिन्छ। तर यो हासिल गर्न एआईलाई आत्मसात गर्ने विषय र यसले भविष्यमा पार्न सक्ने संभावनाका विषयमा रहेका भाष्यलाई हामीले कसरी आकार दिन्छौँ भन्ने महत्वपूर्ण रहन्छ।

‘एआईले विश्वको भोकमरीलाई समाधान गर्छ’ भन्ने जस्ता ठूला कुरा गर्नुभन्दा हाम्रो ध्यान यसले सर्वसाधारणको दैनिक जीवनमा कसरी अर्थपूर्ण प्रभाव पार्न सक्छ भन्नेमा जान आवश्यक छ।

यो सन्दर्भमा, यो प्रविधिको तीव्र विस्तार हुन सक्ने क्षमता र घट्दो मूल्यका कारण हरेक व्यक्ति र सानाखाले व्यवसायका लागि यो अवसर हुन सक्छ। दुई वर्षअघिसम्म मेटाको ‘ओपिटी–१७५बि’ प्रमुख ओपनसोर्स एआई थियो।

अहिले यो भन्दा ४० गुणा सानो तथा ४० गुणाले सस्तो ‘मिस्ट्रल ७–बी’ एआईको अग्रणी ओपनसोर्स मोडल उपलब्ध छ। यो यसअघिको भत्र्सनाभन्दा धेरै प्रभावकारी छ। अचम्म त के छ भने यो मोडल १८ जना मिलेर निर्माण गरिएको एक सामान्य कम्पनीले बनाएको थियो।

यो त, केबल सुरुवातमात्र हो। इन्टेलका सहसंस्थापकसमेत रहेका मोर्सले विकास गरेको ‘मोर्स सिद्धान्त’ को आफ्नै खाले भर्सन अहिले एआई बनेको छ। जसरी टेलिफोन र टेलिभिजनको विकास र अवलम्बन भएको थियो, अहिले त्यसरी नै एआईको तीव्र प्रयोग हुन थालेको छ।

यो तीव्र विकाससँगै मूल्य घटाउने मात्र होइन, यो प्रविधिको प्रयोगलाई कसरी व्यावहारिक बनाउने र भविष्यमा निम्तिन सक्ने जोखिम कसरी न्यूनीकरण गर्ने भन्नेमा ध्यान जान जरुरी छ।

एआईको उदय दुई धार भएको तरबार जस्तै हो। कसरी प्रयोग गर्ने र कसले नियन्त्रण गर्ने भन्नेमा प्रष्ट हुँदा यो प्रविधि विभेदको स्रोत नभै शक्तिशाली तुल्यकारक हुन सक्छ। यसअघिको प्रविधिगत क्रान्तिझैँ, यो प्रविधिले विद्यमान रोजगारीमा संकटसँगै रोजगारीका नयाँ अवसर पनि ल्याउन सक्छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले हालै सार्वजनिक गरेको प्रतिवेदनले पनि यसलाई औल्याएको छ। प्रविधिगत ज्ञान भएका र नवप्रवर्तनबाट फाइदा लिन सक्नेले एआईबाट अत्यधिक फाइदा लिन सक्ने र यो प्रविधिबाट फाइदा लिन नसक्ने अर्काे वर्ग सिर्जना हुने र यी दुईबीच ठूलो खाडल सिर्जना हुन सक्ने विषयलाई प्रतिवेदनमा उठाइएको छ। तर यो विषयको बुझाइमा यसमा रहेका जटिलता र मानव चातुर्यको शक्ति पनि प्रतिविम्बित गर्न जरुरी छ।

एआई प्रणालीलाई विपन्न क्षेत्रमा अत्यावश्यक सेवा सुनिश्चित गर्ने दिशामा अगाडि बढाउन सकेमा यसका फाइदा सुनिश्चित गर्न सकिन्छ र यसको साझेदारिता बढाउन सकिन्छ। विद्यमान असमानता घटाउन एआई प्रयोग गर्न आवश्यक छ।

सँगसँगै, एआईको प्रयोगले खास सेवाको मूल्य घट्दा उपभोक्तालाई लाभ हुने निश्चित छ। यो लाभलाई अधिकांश मानिससम्म पुरयाउन दुईखाले रणनीति आवश्यक छ। पहिलो रणनीति भनेको यसको स्थानीय प्रयोग हो भने दोस्रो पक्ष भनेको यसले दिने फाइदालाई पुनर्वितरण गर्नु हो। त्यसैले, एआईको पहुँचमा बिस्तार संभव र उत्तिकै आलोचनात्मक विषय हो।

विद्यमान सामाजिक समस्या र चुनौतीलाई सम्बोधन गर्न यो प्रविधिलाई कुन कुन क्षेत्रमा प्रयोग गर्न सकिन्छ भन्ने पहिचान हुन जरुरी छ।

विशेषगरी स्वास्थ्य सेवा, शिक्षा, वातावरण, दिगोपना तथा सुशासनमा यसले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। त्यसैले सही प्राथमिकतासहित प्रविधिगत समाधानलाई आत्मसात गर्ने दिशामा प्रष्टता हुन आवश्यक छ र यसका लागि एकीकृत प्रयास खाँचो छ। विकास निकाय तथा बहुपक्षीय संस्थाहरूको रणनीतिमा एआईको अवधारणा समावेश गर्नुपर्छ।

तर सबैभन्दा पहिला एआईसम्बन्धी विद्यमान बहसलाई ‘आहा !’ भन्नुभन्दा ‘के र कसरी?’ भन्नेमा केन्द्रित गर्नुपर्छ। यो उदीयमान प्रविधिप्रति आकर्षितमात्र नभै यसका फाइदा पहिचान गरेर शिक्षा तथा सामाजिक प्रणालीमा प्रयोग गर्न सकेमा यसले विकसित र विकासोन्मुख दुवै देशलाई फाइदा पुग्नेछ। यसका लागि प्रविधिगत विकास मात्र होइन, नीति निर्माण तथा समुदायमा एआई साक्षरता बढाउने विषयसमेत समेटेर नैतिक फ्रेमवर्क बनाउन आवश्यक छ।

भविष्यमा एआईको जादुमय फाइदालाई आत्मसात गर्ने क्रममा यसको प्रयोग कसरी गर्ने भन्ने पक्ष उत्तिकै विचारणीय छ। हाम्रो वर्तमान रोजाइले भविष्यको सकारात्मक सामाजिक परिवर्तनमा एआईको भूमिका निर्धारित हुनेछ। त्यसैले सुन्दर र समावेशी भविष्यका लागि उदीयमान यो प्रविधिको सही उपयोग हुनुपर्छ।

– बाड्रे विश्व बैंकका पूर्व प्रबन्ध निर्देशक हुन् भने गोरिन्टिन मिस्ट्राल एआईका सहसंस्थापक हुन्।

(प्रोजेक्ट सिन्डिकेट) 

प्रकाशित: १ फाल्गुन २०८० ०६:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App