नेपाली कांग्रेसको तेह्राैँ महाधिवेशनबाट तपाईंं पार्टी सभापतिमा निर्वाचित भएपछि मैले तपाईंंसँग एकदिन भेटेरै भनँे– देउवाजी, तपाईंंको सिंगो नेपाली कांग्रेसको सभापति बन्ने इच्छा पूरा भएको छ, दलको नेता पनि चुनिनु भयो । प्रधानमन्त्री पनि सहजै बन्न सक्ने हुनुभएको छ । अब तपाईंंले चाहेको सबै पूरा भयो । तसर्थ अब तपाईं सानो समूहको संरक्षक बन्नपट्टि नलागेर सिङ्गो कांग्रेसको नेता बन्न लाग्नुहोस् । योग्यता र योगदानको आधारमा सबै साथीहरूलाई समानरूपले मूल्याङ्कन गर्न थाल्नुहोस्, म तपाईंलाई पूरापूर सहयोग गर्छु । कांग्रेस एक बनाएर लैजाऔँ । गुटबन्दी र भागबन्डाको अवस्था नै मेटिदिऊँ, सबैको भलो हुन्छ । नत्र भने तपाईंले केही मान्छेलाई मात्र काखी च्याप्दा त्यसभन्दा बाहिर परेकाहरूलाई कसैले संरक्षण दिन पर्यो नि । अनि त्यसपछि गुटबन्दी कसरी मेटिन्छ?
मैले यसै भनेको थिएँ । तर तपाईं तयार हुनुभएन । परिणाम आज के भयो ? कांग्रेसले कांग्रेसलाई हराएर आनन्द मान्ने ठाँउमा पुग्यौँ । राम्रा काम गरेर आफू सुरक्षित रहनुको सट्टा सामदामको आधारमा गुटको किल्ला दह्रो बनाएर आफूलाई सुरक्षित राख्ने नेता र कार्यकर्ताले पार्टीमा आफ्नो भविष्य असुरक्षित र पूर्वाग्रही नेताबाट आफूलाई कहिल्यै न्याय नहुने महसुस गर्नुपर्ने अवस्थाले पार्टी विभाजनको दिशातिर उन्मुख हुनेछ । यो स्थितिबाट पार्टीलाई जोगाउन भरपर्दाे आधार तयार गर्नु ढिलो भइसकेको छ।
सात–सातओटा प्रदेशमध्ये एउटा प्रदेशमा पनि आज कांग्रेसले खुट्टा राख्ने ठाउँ छैन । कस्तो नहारेको कांग्रेस हगि !
गुटको चिन्ता छाडेर मैले दिएको फर्मुलामा काम गरेको भए पदाधिकारी नियुक्ति र विभाग गठन सहजै हुनेथिए । पार्टीका सबै तहमा प्रशिक्षण र संगठनात्मक गतिविधि उहिल्यै अघि बढेका हुने थिए । पार्टी सशक्त हुने थियो । आज पार्टीका सबै निकाय, सबै भ्रातृ शुभेच्छुक संस्था अस्तव्यस्त छन् । तपाईंंले के गर्नुभयो ? एउटा काम तपाईंले गर्नुभो– आफ्नो गुटको भरणपोषण । हो, तपाईंको आफ्नो गुट मजबुत बन्यो होला तर बिचरा कांग्रेस झन्झन् दुर्बल बन्यो । उठ्नै गाह्रो हुने गरी लथालिङ्ग हालतमा, दुःख पाएका निष्ठावान् कार्यकर्ता आम रूपमा उपेक्षित र कुण्ठित । सुदूरपश्चिमदेखि पूर्वसम्म तपाईंको जयजयकार गर्नेबाहेक अरू मर्माहत । भन्दाभन्दै त्यत्रा आयोग, त्यत्रा नियुक्ति नबनेको नबन्यै रहे । कम्युनिस्टको हातमा गए । कांग्रेसीको योगदान, पञ्चायतका कालरात्रिदेखिको बलिदान कता हो कता ! पार्टी सरकारमा गएपछि तत्काल राहतको प्याकेज ल्याएको भए पार्टीको लोकप्रियता बढ्ने थियो तर समय सकिएपछि अन्तमा आएर कामचलाउ भइसकेपछि जनतालाई पस्केको राहत जस पाउँला भन्दा अपजसको भारी बनेको छ । समयमै किन नगरेको ? तपाईंको नेतृत्वमा न पार्टी चल्यो, न सरकार ! पार्टीमा पनि प्रशिक्षण, संगठनात्मक गतिविधि एउटै हुन सकेन । विधान अनुसारका प्रदेश अधिवेशन किन भएनन् ? धनुषा जिल्ला कमिटीविहीन किन बनाइयो?
टिकट वितरणमा भएको मनोमानीले गर्दा योगदान भएका, सक्षम लोकप्रिय साथीहरू उमेदवारीबाट वञ्चित भए जसले गर्दा मैले पटकपटक बैठक छोडेरै हिँड्नुपर्नेसम्मका बाध्यता आइलाग्यो । परिणाम ? जित्ने ठाउँमा हारियो ।
कांग्रेसको पराजय केवल दुई कम्युनिस्टको गठबन्धनका कारण भएको होइन । यो वास्तवमा सहायक कारण हो, मुख्य कारण कांग्रेसको आन्तरिक शक्ति नै अत्यन्त कमजोर हुन पुग्नु हो । संघीयताको प्रारम्भिक अभ्यासमै कांग्रेस केन्द्रबाट मात्र बाहिरिएको होइन, पार्टीले सातमध्ये एउटै प्रदेशमा पनि सत्ता सञ्चालनको जिम्मेवारी पाएन । यसले के पुष्टि गरेको छ भने हरेक कोणबाट हरेक क्षेत्रमा दयनीय अवस्थामा पुगेको छ । स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचनमा यत्ति लज्जाजनक परिणामका लागि पार्टी सभापतिले कुनै नैतिक जिम्मेवारी लिनुपर्दैन भने अब कांग्रेसमा नैतिक शब्दको अर्थान्तर भइसकेको बुझ्नुपर्ने हुन्छ । केन्द्र र सातै प्रदेशमा कांग्रेसको भूमिका प्रतिपक्षको भएको छ । तर प्रतिपक्षका रूपमा पनि, संख्याका हिसाबले, कांग्रेससँग सरकारका गलत निर्णय सच्याउन दबाब दिनुपर्ने भयो भने, बल पुग्नेछैन । त्यस अवस्थामा प्रतिपक्ष निरीह भएर बस्नुपर्ने हुनसक्छ, हुन्छ।
राजदूत नियुक्तिमा मैले समयमै दिएका सुझावलाई तपाईंले घोर उपेक्षा गर्नुभयो । आइजी काण्डमा त्यस्तै गर्नुभो । महाभियोग प्रकरणमा लोकले के भन्ला भन्ने कुरा वास्तै गर्नुभएन । औचित्य नै नभएका व्यक्ति थुपारेर जम्बो मन्त्रिपरिषद् गठनले पनि नागरिक समाजमा चरम वितृष्णा फैलायो।
केन्द्र र सातै प्रदेशमा कांग्रेसको भूमिका प्रतिपक्षको भएको छ । तर प्रतिपक्षका रूपमा पनि, संख्याका हिसाबले कांग्रेससँग सरकारका गलत निर्णय सच्याउन दबाब दिनुपर्ने भयो भने बल पुग्नेछैन । त्यस अवस्थामा प्रतिपक्ष निरीह भएर बस्नुपर्ने हुनसक्छ, हुन्छ ।
सार्वजनिक रूपमै विरोधमा उत्रेर बोलौँ भने चुनावको मुखमा पार्टीलाई झन् अप्ठयारो पर्ला भनेर म चुप बसेँ । यसले धेरै नोक्सानी भएको छ । दोहोरो मर्का बेहोर्नुपरेको छ । पार्टीमा पैसा हाबी भएको कुरा प्रकट रूपमै आइरहेको छ । पैसाको राजनीतिले पार्टीको नैतिक शक्ति क्षीण गराएको छ।
तपाईंका अति विश्वासपात्र अर्थमन्त्रीले मन्त्रालयहरूलाई विकास बजेट र राहत बजेट सबै रोकेर राखे । क्याबिनेटमा भएका मन्त्री पनि एकथरीलाई सौतेलो व्यवहार भएको गुनासो छ । चुनाव प्रचण्ड वा केपीकै नेतृत्वमा भएको भए पनि अहिलेको भन्दा हाम्रो हालत राम्रो हुन्थ्यो । जनताको सहानुभूति र माया हामीमाथि रहन्थ्यो । आज हामीले हार्दा पनि जनताको सहानुभूति र भोट दुवै गुमाएका छौँ।
तपाईंले त्यागको उदाहरण प्रस्तुत गरेको भए तपाईं र पार्टी दुवैको हित हुन्थ्यो । इतिहास निर्माण गर्न सक्नुहुन्थ्यो । तर तपाईंले भोगको गिनिजबुकमा नाम लेखाउन खोज्नुभयो । प्रधानमन्त्रीमा साथीलाई अघि सारेर तपाईं चुनावको महारथि बनेको भए परिणाम यो हालतमा पुग्ने थिएन । सबैले भनेको यो कुरा तपाईंले बेवास्ता गर्नुभो ।
“पार्टी हारेको होइन, उमेदवार हारेका हुन् !” यो कस्तो कुर्तक ? निर्वाचन पार्टीले लड्ने हो, उमेदवार त्यसका प्रतीक हुन् भन्ने कुरा पनि तपाईंलाई हेक्का रहेनछ । सात–सातओटा प्रदेशमध्ये एउटा प्रदेशमा पनि आज कांग्रेसले खुट्टा राख्ने ठाउँ छैन । कस्तो नहारेको कांग्रेस हगि !
तपाईंले ‘शेरबहादुर जिन्दावाद’ भन्न सिकाउनु भयो । कांग्रेस जिन्दावाद भन्न सिकाउनुभएको रहेनछ । त्यसैले अब तपाईं पार्टीप्रति चिन्ता गर्नुहुन्छ भने अब पद ओगट्ने काममा नलाग्नोस् । संसदीय दलको नेता अरू कसैलाई बन्न दिनोस् । आफ्नो स्वार्थका लागि पार्टी र प्रजातन्त्रलाई जोखिममा राख्ने हैन पार्टी, प्रजातन्त्र र राष्ट्रका लागि आफूलाई जोखिममा राख्ने नै निष्ठावान् व्यक्ति हो।
अब के गर्ने ?
पार्टीलाई मूल्याङ्कनको आधारमा सञ्चालन गर्ने, नयाँलाई सम्मान र पुरानालाई अवसर प्रदान गर्ने । अतीतमुखी हैन, भविष्यमुखी कांग्रेस । एउटा पनि नयाँ मानिसलाई कांग्रेसमा आकर्षित गर्ने र पार्टीको संख्या र समर्थक बढाउने काममा कोही लागेको देखिन्न । नेतृत्वले के प्रेरणा दियो ? कांग्रेसका सबै तहमा विशेष पाठ्यक्रमसहित निरन्तर प्रशिक्षण र अन्तक्र्रिया चलिरहन नितान्त आवश्यक छ । पार्टीको महासमिति बोलाएर संघीय लोकतान्त्रिक गणतन्त्र अनुरूप नयाँ विधान पारित गरी त्यो संरचना अनुसार पार्टीको संगठन तलदेखि माथिसम्म तत्काल बनाउन चौधौँ महाधिवेशनमा तुरुन्तै जानुपर्छ।
पार्टीमा सही नेतृत्व विकास गर्न कांग्रेसलाई कांग्रेसकै रूपमा राख्न जो सही क्रियाशील कार्यकर्ता हुन् तिनको सूची तयार गरी तिनीहरूलाई मात्र क्रियाशील सदस्यता फर्म भर्न र नवीकरण गर्न लगाउनु पर्छ । पार्टीका तलदेखि माथिसम्मका सबै सदस्यलाई कामको जिम्मा दिनुपर्छ । काम नगर्नेलाई सचेत गराउनुपर्छ । अनुशासन, क्रियाशीलता एवं पार्टीको नीति र आर्दशप्रति प्रतिबद्धता, कांग्रेस बन्न अनिवार्य सर्त हुन्।
कांग्रेसले भ्रष्टाचारको कडा विरोध गर्ने सामथ्र्य राख्नुपर्छ । सुशासनको खोजीमा जनताको साथ लिएर अघि बढनुपर्छ । कम्युनिस्टको चरित्र नै केन्द्रीकरणको हुन्छ । कांग्रेसले केन्द्रीकरणको विरोध र स्थानीय तह तथा प्रदेश तहमा संविधानले दिएका अधिकार सही सलामत पु¥याउन हर्दम आवाज दिइरहनु पर्नेछ । अनुशासनहीनता र अकर्मण्यताको अन्त गर्नुपर्छ । कांग्रेसजनहरूले जनताको स्वार्थसँग आपूmलाई गाँस्ने र हर सुख–दुःखमा जनतालाई सहयोग गर्न अग्रसर रहनुपर्छ।
विकासमुखी–विपन्नमुखी र जनमुखी संगठन निर्माण गर्ने । कांग्रेसले निमुखालाई न्याय र विपन्नलाई आयको समाजवादी आदर्शका लागि हमेसा प्रयत्नशील र संघर्षशील रहनुपर्छ । कांग्रेस सहरमुखीभन्दा गाउँमुखी हुनुपर्छ । गाउँमै कृषिक्रान्ति, पर्यटनको विस्तार र ऊर्जाशक्तिको विकास गराएर गाउँमै बसौँ बसौँ बनाउन कांग्रेस सदैव प्रयत्नशील रहनुपर्छ । जुन क्षेत्रको नेतृत्व लिने हो नियमित रूपमा त्यहीँ खट्नुपर्छ । गाउँ गाउँमा सहकारी संस्था, वन उपभोक्ता समिति र जल उपयोग र भू–उपयोग समिति, नदी नियन्त्रण समिति, टोल सुधार समिति, सामाजिक सुधार समिति खोलेर समाज र जनताको सेवामा क्रियाशील रहनुपर्छ । अब हाम्रा साथीहरू गाउँमा आम्दानी र रोजगारी बढाउनेतर्फ क्रियाशील रहनुपर्छ । हाम्रो आजको नारा नै ‘‘कर्मशील कांग्रेस’’ हुनुपर्छ।
कम्युनिस्ट एकताको परिणाम नेपाल एकात्मकतावादतिर र सर्वसत्तावादतिर उन्मुख हुँदै जान सक्छ । यो प्रवृत्तिको सामना गर्नु कांग्रेसको मुख्य जिम्मेवारी हो । यस्ता प्रवृत्तिको सामना गर्न, आफूभित्र मात्र तानतुन र जोडघटाउको नेतृत्वबाट सम्भव छैन । स्वच्छ र उच्च नैतिक नेतृत्वको खाँचो पर्छ । उच्च मनोबलविना कम्युनिस्ट शक्तिलाई कडा चुनौती दिन सकिन्न । कांग्रेसजनले बेलैमा यो कुरा बुझनु जरुरी छ ।
(कांग्रेसका वरिष्ठ नेता पौडेलले पार्टी केन्द्रीय समितिमा आइतबार पेस गरेको विचार)
प्रकाशित: १४ फाल्गुन २०७४ ०३:२१ सोमबार