राष्ट्रिय एकता र मेलमिलाप आजको अपरिहार्य आवश्यकता हो। पञ्चायती कालखण्डमा जताततै वैदेशिक चलखेलको बढोत्तरी अवस्थाबाट पार पाउन तत्कालीन राजाबाट देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीलाई वैरभाव त्यागी देशमो राष्ट्रियता बचाउन हातेमालो गर्न आह्वान गर्नुभएको थियो।
त्यसैताका नेपालमा प्रजातन्त्र पुनस्र्थापनार्थ भारत निर्वासनमा रहनुभएका बिपी कोइराला र गणेशमानले राष्ट्रिय एकता र मेलमिलापको उद्देश्य लिएर २०३३ पुस १६ मा नेपाल फर्कने निधो गर्नुभएको थियो। त्यसबेला भारतमा संकटकाल लागु थियो।
बिपीका निर्णयले भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी छटपटिन थालिन्। नेपालमा राजाले आह्वान गर्नु र बिपीले नेपाल जाने निर्णय गर्नुले अब नेपालमा आफ्नो अधिकार र आफूले गरिरहेको चलखेल नहुन सक्ने आंशका लाग्न थाल्यो।
नेपालमा प्रजातन्त्र बहाली हुनुभन्दा अघिदेखि खास गरी भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले राजा त्रिभुवनलाई खासखुस पारी नेपालमा प्रजातन्त्र बहाली गराउन त्रिपक्षीय सम्झौता गराउने तर नेपाली कांग्रेसका कुनै पनि नेता, तत्कालीन प्रधानमन्त्री अथवा तिनका प्रतिनिधि कसैलाई पनि राजा त्रिभुवनसँग भेटघाट गर्न नदिने रणनीति खेल्न थालेका थिए।
कांग्रेसी नेताहरूले राजासँग एकपल्ट भेटघाट गरौं, हामी सम्झौताको पक्षमै छौं भन्दा पनि भेट्नै दिएनन्। राणा पक्षलाई पनि भेट्न दिएनन्। परीक्षा शून्यमा आयो। नेपाली कांग्रेसले पुनः सशस्त्र संघर्ष गर्ने भए यहाँ बसेर होइन, नेपालमै जानुपर्छ।
यस्तो किसिमको अत्तो थापेर बदनियतवश त्रिपक्षीय सम्झौता गर्नुपरेको थियो। आज त्यही लगाम र चाबुक आफ्नो हातबाट छुट्ला भन्ने डरले २०३३ पुस १४ मा दिउँसो प्रधानमन्त्री इन्दिरा गान्धीको निजी सचिवालयबाट फोन आउँछ।
फोनको केही समयमा नै पिएमका दूत आइपुगे। दूतले ‘नेपालमा तपाईलाई तत्कालै मृत्युदण्ड दिन सक्छन्, नजानूस्’ भन्ने जिज्ञासामा बिपीले भने, ‘हो मलाई थाहा छ। नेपाल जाँदा तत्काल मलाई मारिएला। यहाँ बसिरहँदा स्लोपोइजन खुवाएर बिस्तारै मारिएला। मेरा लागि केही फरक छैन। त्यसैले म आफ्नै देशमा मर्न चाहन्छु।’
दूतले भने, ‘म्याडम प्राइममिनिस्टरको यहाँलाई एउटा विशेष सन्देश छ। त्यो के भने तपाईं किन जानाजान बलिरहेको आगोमा हाम फाल्नुहुन्छ? यहाँले मानिदिएको खण्डमा नेपालको परराष्ट्र र रक्षा दुइटा मन्त्रालय भारतलाई दिनुभयो भने यहाँलाई आजीवन नेपालको राष्ट्रपति अथवा प्रधानमन्त्री बनाउने म्याडमले वचन दिनुभएको छ।’
बिपी यो सुनेपछि जुरुक्क उठ्नुभयो र रिसले चुर हुँदै विशेष दूततर्फ तुरुन्त फर्केर जान भन्नुभयो।
उपर्युक्त कुरा बिपी, गणेशमान, शैलजा आचार्य, रामबाबुप्रसाद प्रसाईं, निलाम्बर पन्थी, खुमबहादुर खड्कासहित राष्ट्रिय एकता र मेलमिलापखातिर नेपाल फर्कनुभन्दा दुई दिन अगाडिका घटना हुन्।
नेपाल सरकारले सदाशयता देखाउँदै मेलमिलापका लागि फर्केकाहरूलाई पुनः जेल चलान गरे। अझ बिपी र गणेशमानलाई यस्ता सातवटा मुद्दामा फसाए। एउटा मात्रै मुद्दा टुंगो लाग्दा पनि फाँसी सजाय हुन्थ्यो।
यी कुरा देश तथा विदेशका मिडियाले विश्वभरि फैलाउन थाले। विश्वका ठुलाठुला राष्ट्राध्यक्ष र राजनेताहरूले बिपीको स्वास्थ्य अवस्था पहिलेभन्दा झन् खराब हुँदै छ भन्ने कुरो थाहा पाए। तसर्थ हामीलाई उनको स्वास्थ्योपचार गर्न अवसर दिनुहोस् भनेर आआफ्नो तरिकाले पत्र लेखे, अन्तर्वार्ता दिएर अनुरोध गर्न थाले। संयोग पनि त्यसै हुन गयो।
बिपी र गणेशमानलाई शीतल निवासमा अलग अलग राखिएको थियो। बिपी विशेष अदालतमा बयान दिएर फर्किरहनुहुँदा शीतल निवास पुगेपछि गाडीबाट ओर्लने क्रममा अचानक भुइँमा लड्नुभयो।
तत्काल त्यहाँ रहेका प्रहरी अफिसरहरूले न्यायाधीश जनकमान श्रेष्ठ, अञ्चलाधीश डा. मृगेन्द्रराज पाण्डे, डा. मधु घिमिरे आदिमा खबर सम्प्रेषण भयो।
राजदरबारमा पनि खबर पुग्यो। पाण्डेले एउटा मेडिकल टिम नै बोलाएर बिपीको स्वास्थ्य परीक्षण गर्न थाले। डाक्टरहरूका अनुसार बिपीको स्वास्थ्य एकदम बिग्रेको छ। जुनसुकै बेला ज्यान जान सक्छ।
खास गरीकन दरबारलाई रिपोटिङ गरे। उता नेता सूर्यप्रसाद उपाध्यायले यो खबर थाहा पाएपछि अमेरिकी, बेलायत, भारत र काठमाडौंस्थित जल्दाबल्दा विदेशी दूतावासमा डा. मधु घिमिरेलाई पठाएर खबर सम्प्रेषण गराउन लगाउनुभयो।
केही समयपछि बेलायतका प्रधानमन्त्री जेम्सले राजा वीरेन्द्रलाई फोन गरेर बिपी बिरामी भएको समाचार आइपुगेको छ। उहाँको स्वास्थ्यबारे हामी चिन्तित छौं भन्नुभएछ। त्यस्तै अमेरिकी राष्ट्रपति जिमी कार्टर, सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष विलीब्रान्टले पनि बिपी कोइरालाको गिर्दो स्वास्थ्यलाई लिएर यथाशीघ्र रिहाइका लािग आग्रह गरेका थिए।
बिपीको स्वास्थ्यलाई चारैतिरको दबाबबाट तिलमिलाएका राजा वीरेन्द्रले राति बिपीलाई बोलाएर ‘तिमी भोलि नै स्वास्थ्योपचारका लागि अमेरिका जानु’ भन्दा बिपीले ‘म भोलि नै त जान सक्दिनँ किनभने मेरो आह्वानमा मर्न, मार्न तयार भएर जेलमा रहेका धेरै साथी छन्। अझ गणेशमानजी नै अलग कोठा भए पनि सँगै शीतल निवासमा रहनुभएको छ। आजमो रात उहाँसँग नै बस्छु’ भन्नुभएछ र पर्सि जाने निधो गर्नुभयो। निर्धारित समयमा अमेरिकाका लागि बिपी कोइराला प्रस्थान गर्नुभयो। उपचारपछि बिपी नेपाल फर्किने तर्खरमा लाग्नुभयो।
अमेरिकामा धेरैजसो राष्ट्रिय स्तरका नेता, पत्रकार तथा शुभचिन्तकले ‘नेपालमा त्यत्रा ठुलाठुला मुद्दाहरू छन्। ज्यान सजाय हुन सक्छ। नेपाल सरकारको भर छैन। नजानुस्’ भनेर अनुरोध गर्न थाले। बिपी भन्नुहुन्छ, ‘नेपालमा मेरा सयौं साथी र राजालाई पनि उपचारपछि म लगत्तै फर्कन्छु भनेर आएको छु। म फर्केर गइनँ भने साथीहरू निराश हुन्छन्। त्यहाँ जे पनि हुन सक्छ।’
बिपी नेपाल फर्कनुभयो। त्रिभुवन विमानस्थलको ग्राउन्डमा पञ्चायतका भुतप्रेतहरू सुनियोजित आदेशअनुसार नाचिरहेका, गालीगलोज नगरेर नारा लगाउँदै जुलुस आइरहेका थिए।
यही कारण देखाउँदै प्रशासनले बिपीको सुरक्षार्थ घेरा दिएर ल्याएको भन्दै विशेष अदालतका न्यायाधीश जनकमान श्रेष्ठका अगाडि सुपुर्दगी गराउन लगे। यस्ता नौटंकी कुनै नौलो थिएन।
गणेशमानजीलाई तिनै भुतप्रेतले हेटौंडा बजार भरी नाङ्गो घुमाउँदा त्यहाँ अञ्चलाधीश, सिसिओ, एसएसपी, डिएसपी, अन्य प्रहरीहरूसमेत मुकदर्शक थिए। कसैलाई जानकारी नै थिएन। अनुत्तरदायी थियो नेपालको प्रशासन। सायद मृत्युशड्ढयामा सुतिसकेका थिए।
नेपालमा राष्ट्रिय मेलमिलापको अपरिहार्यता आज पनि छ। हिजो राजा एक मात्र राजा थिए, रानी पनि एक मात्र थिइन्। आज त्यस्ता राजारानी थुपै्र छन्। आज सिंहदरबारमा जो आए पनि हिजोका राजाभन्दा शक्तिशाली भएर कुर्सीमा आसिन छन्।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन करोडौं घुस खाएका साबिती महानुभावहरू हुकुम परमांगीबाट जेलमुक्त हुन्छन्। बाँकी नेताहरू पनि छुट्ने बाटो खुल्यो किनभने गठबन्धित सरकार छ।
आज पार्टीका नेताहरूको गठबन्धनलाई राष्ट्रिय एकता र राष्ट्रिय मेलमिलापको संज्ञा दिन थालेका छन्। राष्ट्रिय मेलमिलाप र गठबन्धन पर्यायवाची शब्द भन्न मिल्छ, उद्देश्य पनि मिलेर सहकार्य गर्ने भन्ने नै हो। तर अन्तर्यमा आकाश–पातालको फरक छ। २०३३ पुस १६ मा बिपी र गणेशमानहरू कस्तो कालखण्डमा आएका थिए। त्यो पनि हामीले मनन गर्नु आवश्यक छ।
नेपाल फर्कनु अगाडि नै बिपी र गणेशमान पक्राउ परेको खण्डमा कुनै जालझेल गरेर पनि मारिने छन् भन्ने जनश्रुति व्यापक थियो। मन्त्री–प्रधानमन्त्री बन्ने प्रलोभनमा फर्केका थिएनन्। प्रजातन्त्रबिना राजतन्त्र टिक्न सक्दैन, यही मूल मुद्दालाई लिएर राजासँग नै विचार विमर्श गर्छु भनेर प्राणको बाजी लगाएर आएका थिए। तर सरकार भने उहाँहरूलाई केही गरेर पनि मुद्दाबाट हराई एकसूत्रीय फाँसी दिनेमा हात धोएर लागिपरेको थियो।
हुन त यहाँ बर्सेनि पुस १६ लाई राष्ट्रिय एकता र मेलमिलाप दिवसका रूपमा तामझामका साथ मनाउँदै आएका छौं। त्यहाँबाट फर्केपछि चुरोट तानेर धुवाँ फालेझै हाम्रो मनमस्तिष्कबाट अघिका श्रद्धाभाव, मननचिन्तन, हृदयविदारक कुरा सबै बिलायर जान्छन्।
बिपी र गणेशमानजीहरूले गरेका त्याग, कष्ट, बलिदान बिर्सेका छौं। हामी उहाँहरूको चित्रलाई पूजा गछौं तर चरित्रको ख्याल गर्दैनौं। जिउ धोएर अपराध पखालिँदैन। आफ्नो भित्री मन पखाल्नुपर्छ। त्यसका लागि खासगरी नेताहरूमा सादगी जीवन, सादगी चरित्र, सादगी मननचिन्तन पलाओस्।
प्रकाशित: २१ पुस २०८० ०४:२८ शनिबार