२० वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

घातक ‘घोप्टे संस्कृति’

आजको युग प्रविधिको हो। आज समाजका जो कोही पनि यसबाट टाढा रहन सक्दैनन्। त्यसमा पनि मोबाइल प्रविधिको बढ्दो उपयोगले सामाजिक व्यवहारलाई धेरै सहज बनाएको छ साथै यसले मानिसलाई एक्ल्याउँदै पनि गएको छ। यही विषयसँग सम्बन्धित छ-फबिङ।

मोबाइल युगको नयाँ व्यवहारलाई परिभाषित गर्ने सन्दर्भमा अक्सफोर्ड शब्दकोशमा फबिङ शब्द प्रयोग गरिएको पाइन्छ। अङ्गे्रजीमा फबिङसँग सम्बन्धित फोन र स्नुबिङ पनि पर्यायवाची शब्दका रूपमा प्रयोग भएको देखिन्छ।

 फबिङको वास्तविक अर्थ जतिबेला पनि फोनमा झुन्डिरहनु र अन्य व्यक्तिको उपस्थिति र साथलाई बेवास्ता गर्नु हो। वर्तमानमा यस किसिमको प्रवृत्तिले कुनै व्यक्तिको एक्लो व्यवहार र स्वभावलाई मात्रै बुझाउँदैन बरु यो सामाजिक रोग तथा विकृतिको कुरूप अनुहारका रूपमा विकसित हुँदै गएको डरलाग्दो अवस्थालाई पनि सङ्केत गर्छ।

कसैलाई लाग्न सक्छ, मोबाइलको प्रयोग कसरी सामाजिक विकृति हुन सक्छ? यसले समाजमा विकृतिलाई कसरी मलजल गरेको छ? हामी प्रायः मानिसले भनेका सुन्छौँ-‘मैले धेरैपटक तपाईलाई फोन गरेँ तर उठाउनुभएन।’

यस्तो सुन्दा लाग्छ, फोन गर्ने व्यक्ति जुन अवस्थामा छ, उठाउने पनि त्यस्तै अवस्थामा हुनैपर्छ, उसलाई आएको फोन जुनसुकै हालतमा पनि उठाइदेओस्। तर सधैँ फोन गर्ने व्यक्तिले अपेक्षा गरेजस्तै फोन उठाउनेको अवस्था त्यस्तो नहुन सक्छ। फोनलाई व्यक्तिले होइन, मोबाइल फोनले व्यक्तिलाई सञ्चालन गरिरहेको देखिन्छ।

अहिलेको परिस्थिति हेर्दा साँच्चै मोबाइल फोनको प्रयोगले सामाजिक जीवन रूपान्तरण गरेको छ। कसैले पनि आफू कुन अवस्थामा छ, के गर्दैछ, कस्तो सामाजिक परिवेशमा छ, त्यो कुरा नहेरोस्, मात्र फोन प्राप्तकर्ताको अवस्थालाई ध्यान नदिइ फोनको जवाफ दिनैपर्छ भनेजस्तो गर्नु पक्कै पनि शोभनीय र व्यावहारिक हुँदैन।

मान्छे कहाँ हुन्छ, कोसँग कुराकानी र वार्तालाप गरिरहेको हुन्छ, कुनै बैठक वा खाना खाने अवस्थामा हुनसक्छ। यस्ता अवस्थाको वा गोपनीयताको उपेक्षा वा ख्यालै नगरी एकोहोरो लागिरहनु पक्कै राम्रो कुरा होइन।

हाम्रो समाजमा धेरैले यस किसिमको संवेदनशील विषयलाई हल्काफुल्का वा सामान्यीकृतरूपमा लिन सक्छन्। उनीहरूले यस विषयमा कुनै सङ्कोच महसुस नगर्न सक्छन् तर यो विषय सामाजिक परिदृश्यहरूमा देखिएका प्रमुख समस्या र चुनौती बन्न पुगेको छ।

यो चुनौतीलाई उनीहरूले सकेसम्म सामान्य बनाउने हरदम कोसिस गरिरहेका हुन्छन्। वास्तवमा यो हाम्रो समाजमा देखिएको एउटा घातक उदाहरण हो।

सामान्यतया हामी देख्छौँ, युवा समूहमा मिलेर कतै कफी पिउन निस्कँदा वा बस्दा उनीहरूबीच अन्तरङ्ग गफगाफ हुँदैन, दुःखसुखका कुरा पनि हुँदैनन्, आफ्ना विचार आदानप्रदान र भावी योजनाका विषयमा छलफल भएको पनि पाइँदैन।

 यो भन्दा बढी उनीहरूको मोबाइलमा ध्यान हुने गर्छन्। यस किसिमको सामूहिक फबिङले संयोगले हुने भेटघाट र भेलालाई फितलो बनाएको हुन्छ। सँगै थियौँ, सँगै केही समय बिताएका थियौँ भन्ने मात्र बनाउने परिस्थिति आज यही मोबाइल फोनले सिर्जना गरेको छ।

साँच्चै मोबाइल फोन भेटघाट, हार्दिकता र सम्बन्धको साधक होइन, बाधक बनेको छ, सम्बन्धसूत्र होइन घूसपैठकर्ताका रूपमा व्यक्ति–व्यक्ति र ठाउँ–ठाउँमा यसले डेरा जमाएको छ।

साइबर मनोविज्ञान र परिवार

‘साइबर मनोविज्ञान’भन्ने पदावलीको प्रयोग पहिलोपटक १९९० को दशकमा भएको हो। मानिस अनलाइन र प्रत्यक्ष (आमनेसामने) अन्तरक्रियामा फरक–फरक व्यवहार देखाउँछन् भन्ने कुरा यो भन्दा पहिलेबाट नै अन्वेषकले बताउँदै आएका थिए। यस्ता अध्ययनमध्ये केहीले व्यक्तिभित्रका अधिकांश नकारात्मक कुरा अनलाइनका माध्यमबाट बाहिर आउँछन् भन्ने देखाएका छन्।

यी विविध सन्दर्भबाट हेर्दा साइबर मनोविज्ञान आजको सान्दर्भिक र समसामयिक अध्ययनको क्षेत्र बन्न पुगेको छ। शायदै यसै कारणले साइबर मनोविज्ञानका क्षेत्रमा थुप्रै व्यावसायिक अनुसन्धानमूलक संस्था, पत्रपत्रिका दिलोज्यानका साथ लाग्दै आएका छन्।

साइबर मनोविज्ञानका थुपै्र तत्वमध्ये एउटा विषयअन्तर्गत इन्टरनेट प्रयोगले किशोरकिशोरीको मात्र होइन, वयस्क व्यक्तिहरूको मनोवैज्ञानिक कार्यमा पनि प्रत्यक्ष प्रभाव पारेको हुन्छ भन्ने हो। सन् २०१० पछि जन्मेका मानिस जसलाई जेनेरेसन अल्फा वा स्क्रिन–एज जेनेरेसनका रूपमा चिन्ने गरिन्छ।

यो पुस्तालाई सञ्चार र सम्बन्ध, सम्झौता र असहमति, आत्मसम्मानको विकास तथा आफूलाई बुझ्ने प्रक्रियाका रूपमा पनि चिन्ने गरिन्छ। यी सबै कुराको प्रतिफल अनलाइन प्लेटफर्महरू र सामाजिक सञ्जालबाट प्राप्त सूचनाहरूमा अन्तर्निहित हुने गर्छ।

साइबर मनोविज्ञानले भनेअनुसार अनलाइनको बढ्ता प्रयागले व्यक्तिको मस्तिष्कको बौद्धिक पक्ष विकसित र फराकिलो भए पनि उनीहरूको मनोवैज्ञानिक वृद्धि र विकासलाई खुम्च्याउने गर्छ। यसले अहिलेको नयाँ पुस्तालाई सामाजिकरूपमा बहिष्कार गर्ने, एक्लो बनाउने तथा जीवनका प्रतिकूल परिस्थितिसँग जुध्ने क्षमतामा कमी ल्याउने जस्ता समस्या सिर्जना गरेको पाइन्छ।

 परिवारले नै उनीहरूलाई राम्रोसँग चिन्ने र बुझ्ने भएकाले यी समस्याको वास्तविक उपचार परिवारबाटै हुन सक्छ। त्यसैले यी सबै समस्याको समाधानका लागि परिवार उपर्युक्त ठाउँ हो जसले फबिङका कारण व्यक्तिमा  

बढ्दो सामाजिक असन्तुलनलाई नियन्त्रणमा राख्न सक्छ। परिवारले आफ्नो भूमिका निर्वाह गर्न असफल भएमा वा यो कुरा नियन्त्रण गर्न नसकेमा अनेकौँ भावनात्मक आघात बेहोर्नुपर्ने पनि हुन सक्छ।

परिवारिक असमझदारीले क्षति

विभिन्न मनोवैज्ञानिक अवस्था र सीमाले देखाएअनुसार हजारौँ वर्ष पहिलेदेखि वर्तमान अल्फा जेनेरेसनसम्म आइपुग्दा फबिङको कारण पछिल्लो पुस्ता मानसिक अपाङ्गजस्तै बन्न पुगेको छ। यसै कारण चरम व्यक्तिवादी सोच बढ्न गएको छ र व्यक्ति सामाजिक तथा पारिवारिक नैतिक बन्धनबाट मुक्त हुन खोजेको छ। अर्थात् समाज र परिवारमा सँगै भएर पनि ऊ एक्लिँदै गएको छ।

 भावनात्मक रूपमा सँगै रहने, बस्ने कुरालाई मान्छेले विघटित गर्दै गएको छ। पारिवारिक स्वतन्त्रताभन्दा बढी स्वेच्छाचारी बन्दै गएको छ। धम्की, विघटन र मनपरी व्यवहारका यी ठूला पर्खाललाई सावधानी तथा जिम्मेवारीपूर्वक नभत्काएसम्म माथि उल्लिखित समस्या समाधान हुने देखिँदैन। त्यसकारण पारिवारिक सामाजिक सम्बन्धलाई सुरक्षित र स्वच्छ राख्न सबैजना लाग्नुपर्ने बेला आइसकेको छ।

गहिरो पारिवारिक नाताका लागि खतरा

वर्तमान समयमा अभिभावकहरूमा नयाँ नयाँ चुनौती र जिम्मेवारी थपिँदै गएका छन्। चार दशकअगाडिको परिवेश हेर्ने हो भने बालबालिका हुर्काउन सहज थियो, अभिभावकको भूमिका न्यून थियो, जीवन अस्तव्यस्त थिएन। परिवारमा गहिरा र मननयोग्य कुराकानी हुने गर्थे।

पारिवारिक सम्बन्ध र बन्धन कसिलो थियो। जीवनयात्राका कठिनाइ र सङ्घर्ष बालबालिकाले सानै उमेरबाट बोध गर्थे। पारिवारिक सम्बन्धहरू वस्तविकतामा आधारित थिए। कुनै किसिमको भर्चुअल सम्बन्ध, मित्रता वा साइबर घूसपैठहरूको गुन्जायस थिएन। सम्बन्ध सग्लो र सङ्लो थियो। तर आज समय र परिस्थिति फेरिएको छ।

दुई दशकदेखि परिवारले ग्याजेटहरूका माध्यमबाट साइबर घूसपैठहरूको कठोरभन्दा कठोर प्रतिकूलता सामना गर्न परिरहेको छ, घूसपैठकर्ताहरूले अहिलेको पुस्तामा नयाँ नयाँ लत र बानीसँग परिचय गराएका छन्।

आज बच्चा तथा वयस्क प्नि सामाजिक मिडियाका विभिन्न प्लेटफर्मका खेलमा अभ्यस्त बन्न पुगेका छन् र फबिङ एक किसिमको स्वीकार्य पारिवारिक व्यवहारजस्तै भएको छ।

उदाहरणका रूपमा हामीले देखिरहेका छौँ, परिवारका सदस्य एकै ठाउँमा बसेर अर्थपूर्ण कुराकानीमा सहभागी हुनुको सट्टा एकोहोरो फोनमा टाँसिइरहेका हुन्छन्। घोप्टो परिरहेका हुन्छन् अर्थात ‘घोप्टे संस्कृति’मा हराइरहेका हुन्छन्।

 सामूहिक एकता, हार्दिकता र पारिवारिक मायालु भावनाको गाँठो फुस्कँदै गएको छ तथा एकअर्कामाथिको प्रभावलाई खुम्च्याउँदै गएको अवस्थाले गर्दा आज पारिवारिक सम्बन्ध र बन्धन भयाबह र चुनौतीपूर्ण बन्दै गएका छन्।

मिसिगन स्टेट विश्वविद्यालय, अमेरिकाका अनुसन्धानकर्ता ट्राभिस काडिलकले पुराना पुस्ता अर्थात् वयस्क र वृद्ध तथा नयाँ पुस्ताका व्यवहार र दृष्टिकोणका विषयमा गहिरो अध्ययन गरेका थिए।

उनका अनुसार अमेरिकामा बस्ने नयाँ पुस्ता पुरानो पुस्ताभन्दा टाढा, परिवारका अरू सदस्यको सम्पर्कभन्दा बाहिर तथा अरू कसैका कुरा सुन्न नचाहने एकान्तप्रिय जीवनशैली खोजिरहेका छन् भने यी व्यवहारबाट पुराना पुस्ताले नयाँ पुस्ताबाट आफूहरू अपमानित भएको महसुस गरिरहेका छन् भन्ने कुरा बताएका छन्।

त्यो अध्ययनले अझै के भनेको छ भने जब नयाँ पुस्ताले पुरानो पुस्ताबाट आशा गरे विपरीत पारिवारिक फबिङ र सम्बन्ध विघटनका व्यवहार देखाउँछन्, त्यसबेला पारिवारिक सुझबुझ र हार्दिकता निकै तल पुगेको हुन्छ।

यतिबेला भन्नुपर्ने हुन्छ, त्यो पारिवारिक सम्बन्ध पक्कै पनि ठूलो खतरामा परिसकेको हुन्छ। आज सहर बजारको नयाँ वर्तमान पुस्ता एकान्त र कोठे जिन्दगीमा हराउनु यसैको बलियो उदाहरण हो।

के गर्न सकिन्छ?

पहिलो, हामीले परिवारमा ‘म र मेरो’ को सट्टा ‘हामी र हाम्रो’ भन्ने भावना विकास गर्न जरुरी छ। दोस्रो, अब हामी सबैले आफूले गर्ने कामको स्पष्ट समय तालिका बनाउनुपर्छ। त्यसमा पनि प्रष्टरूपले स्क्रिन समय तालिका र योजना बनाउन ढिलो गर्नुहुँदैन।

यिनै कुरा बुझेर पश्चिमा संसारले आफ्ना बालबच्चालाई मोबाइल वा स्क्रिन समयका लागि निश्चित समय वा घण्टा निर्धारण गरिदिएका छन् उनीहरूले आफ्ना बुबाआमाको अनुमतिमा मात्र स्क्रिन समय उपयोग गर्न पाउँछन्।

तेस्रो, मोबाइल फोनलाई भान्सा कोठामा प्रवेश निषेध गर्नुपर्छ र सबैजना सँगै बसेर खाने पारिवारिक अभ्यास थालनी गर्नुपर्छ।

वास्तवमा खाना खाने समय एउटा शुद्ध र पवित्र समय हो। यो एकअर्कालाई बुझ्ने, समझदारी कायम गर्ने र मीठो उपस्थिति जनाउने समय हो। विभिन्न किसिमका पारिवारिक मतभेद हटाई मस्तिष्कमा ताजापन भर्ने स्वस्थ समयका रूपमा यो उपस्थितिलाई उपयोग गर्नुपर्छ।

चौथो, हामी परिवारका सदस्यले हप्ता हप्तामा वा बेलाबेलामा पारिवारिक घुमघामको वातावरण मिलाउनुपर्छ। सँगै घुम्ने, सँगै खाना बनाउने, सँगै बसेर खाने, कुनै पनि किसिमका ग्याजेट नलैजाने तथा केही समय भए पनि प्राकृतिक जीवनशैली अपनाउने लाग्नुपर्छ।

पाँचौँ, परिवारका प्रत्येक सदस्यको उपस्थिति र विचारलाई हृदयदेखि सम्मान गर्दै कसैका सिद्धान्त वा विचार लाद्ने भन्दा आफ्ना आफ्ना व्यक्तिगत अनुभव एकअर्कामा आदानप्रदान गर्नेबानी विकास गर्नुपर्छ।

यस्ता अनुभव र कथाले हामी बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्छन् र यी व्यवहारले सबैमा ‘हामी’ भावना विकास गर्छन्।

प्रकाशित: ११ पुस २०८० ००:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App