८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

वामपन्थविरुद्ध वामपक्ष

प्राचीन आर्यावर्तमा वाम शब्द स्थापित मान्यता र रुढीवादी परम्पराको विरोधीका रूपमा प्रयोग भएको पाइन्छ। एउटा धार्मिक मार्ग वा मत पनि वाम मार्गका रूपमा रहेको छ।

 राजनीतिमा वाम (लेफ्ट) शब्दको प्रयोग सन् १७८९ को फ्रेन्च क्रान्तिका क्रममा भएको स्टेट जनरलको बैठकबाट सुरु भयो। पुरानो शासन (एनसेन्ट रिजिम) र वोर्वोन राजतन्त्रका समर्थक तथा फ्रेन्च क्रान्तिका विरोधीहरू अध्यक्षको दाहिनेपट्टि र राजतन्त्रका विरोधी गणतन्त्र, धर्म निरपेक्षता तथा फ्रेन्च क्रान्तिका समर्थकहरू अध्यक्षको बायाँपट्टि बसेका कारण राजनीतिमा वाम र दक्षिण भनेर प्रयोगमा आयो। तत्पश्चात प्रगतिशीलता र परिवर्तनका पक्षधरहरू वामपक्ष भनिन थाले।

१८ औं शताब्दीको अन्त्यतिर स्थानविशेषको राजनीतिक अवस्थाअनुसार अमेरिकामा अनुदारवादीलाई दक्षिणपन्थी र उदार प्रजातन्त्रवादीलाई वामपन्थी भनियो भने फ्रान्समा गणतन्त्रवादीलाई वामपन्थी भनियो। बेलायतमा युनियनिस्टहरू र जर्मनीमा लिबरलहरू वाम भनिए। १८४८ को कम्युनिस्ट घोषणापत्रपछि पुँजीवादप्रति आलोचनात्मक दृष्टिकोण राख्नेलाई वामपन्थी भन्ने शब्दको व्यापक प्रयोग भयो। त्यसयता परिवर्तन पक्षधर र प्रगतिशील विचार वामपक्ष र पुरातनवादी विचार दक्षिणपन्थका रूपमा प्रचलित छ।

राजनीतिक स्वतन्त्रता, मानव अधिकारको सम्मान, समतामूलक आर्थिक नीति, कल्याणकारी राज्य, धार्मिक स्वतन्त्रता, जातीय उत्पीडनको अन्त्य, सांस्कृतिक विविधताको सम्मानका पक्षधरहरू वामपन्थी भनिन्छन्।

२० औं शताब्दीको अन्तिम दशताब्दीदेखि पर्यावरणको स्वच्छता र संरक्षणको वकालत गर्नेहरू पनि वामपन्थी मानिन्छन्। सारांशमा भन्दा परम्परागत सत्ता र रुढीवादी पक्ष दक्षिणपन्थी र सिर्जनशील परिवर्तनवादीहरू वामपन्थी भनिन्छन्। अहिले विश्वको राजनीतिक मैदानमा वामपन्थी झुकाव (सेन्टर टु लेफ्ट), वाम र उग्रवाम तीन प्रकारका वाम विचार र वामपन्थी छन्।

युरोप र एशियामा वाम

२० औं शताब्दीको नवौँ दशकसम्म कम्युनिस्ट र वाम शब्द प्रायः पर्यायवाची जस्ता थिए। सन् १९१७ अक्टोबर क्रान्ति र लेनिनको माक्र्सवादी प्रयोग संसारभरका शोषित पीडितहरूका लागि आकर्षण बनेको थियो। दोस्रो विश्व युद्धपछि रुसको सुरक्षा छातामुनि पूर्वी युरोपमा कम्युनिस्ट शासन स्थापना भयो भने एशियामा पनि तीव्ररूपमा कम्युनिस्ट विचारधाराले प्रभाव विस्तार गर्‍यो।

माक्र्सको हिंसात्मक क्रान्तिले सर्वहारा वर्गलाई भन्दा प्रतिक्रियावादीलाई फाइदा पुर्‍याउँछ तसर्थ सुधारात्मक तथा विकासवादी सिद्धान्तअनुसार समाजवादमा पुगिन्छ र त्यो दिगो हुन्छ भनी सर्वप्रथम एडवर्ड वर्नस्टाइनले सन् १८९८ मा जर्मनीको सोसल डेमोक्रेटिक पार्टीमा प्रस्ताव गरे। वर्नस्टाइनको प्रस्तावलाई कार्ल काउत्स्की, अगस्त वेवेल, रोजा लक्जेमवर्गहरूले संशोधनवाद भने।

सन् १९२१ मा कार्ल काउत्स्कीले वोल्सेविकको शासन माक्र्सवादी विचारको विपरित केही सीमित व्यक्तिहरूको मात्र शासन रहेको, सर्वहारा वर्गको शासनमा सहभागिता नरहेको साथै जनतन्त्रलाई पनि नष्ट गरेको भनी आलोचना गरे। रोजा लक्जेमवर्गले पनि बोल्सेबिक शासनको आलोचना गरिन् र माक्र्सवादमा लेनिनको व्याख्या तथा प्रयोग गलत रहेको भनिन्।

व्यक्तिगत स्वतन्त्रताको हनन कहिल्यै जनपक्षीय हँुदैन भन्ने रोजाको विचार रह्यो। सन् १९८९ सम्म आउँदा समाजवादको अधिनायकवादी प्रयोग गरेका रुस तथा पूर्वी युरोप र जनतान्त्रिक माध्यमबाट समाजवादी कार्यक्रम लागु गरेका पश्चिम युरोपको भिन्नता स्पष्ट देखियो। पूर्वी युरोपबाट कम्युनिस्ट शासनको पतन भयो। अहिले लेनिन, स्टालिनको बाटो गलत रहेको तथा कार्ल काउत्स्की, वेवेल र रोजाको विचार प्रगतिशील र वामपन्थीय रहेको प्रमाणित भएको छ।

वामपन्थ र वामपक्ष

वाम शब्दले ऐतिहासिकरूपमा प्रगतिशीलता र परिवर्तनको प्रतिनिधित्व गर्छ। सबै परिवर्तन प्रगतिशील र जनतान्त्रिक हुँदैन। त्यसैले वामपन्थीय पनि हुँदैनन्। माक्र्सको विचार लोकतन्त्र विरोधी होइन। माक्र्सले कहीँ पनि लोकतान्त्रिक व्यवस्थाको विरोध गरेका छैनन्। लोकतन्त्रलाई बुर्जुवाहरूले आफ्नो हितमा प्रयोग गरेकालाई उनले विरोध गरे।

सर्वहाराको वर्चश्वको लोकतन्त्रको पक्षमा कम्युनिस्ट घोषणापत्र लेखे। उनले मानव इतिहासको अन्य पक्षलाई बेवास्ता गर्दै आर्थिक मानवको वर्ग संघर्षको मात्र विश्लेषण गरे। यसले विश्व राजनीतिमा हलचल ल्यायो। पुँजीपतिहरूमा डरको भावना विकसित भयो। पुँजीवादीहरूमा सुधारका कार्यक्रम लागु गर्नुपर्ने दबाब सिर्जना भयो।

दोस्रो विश्व युद्धपछि जुन विश्वास, उत्साह र दुःख मुक्तिको आकांक्षाका साथ शोषित, पीडित मजदूर तथा किसानहरूले कम्युनिस्ट पार्टीहरूलाई सत्तामा पुर्‍याए, कम्युनिस्ट सत्ताले जनताको त्यो विश्वास जोगाउन सकेन। सर्वहारा अधिनायकत्वको नाउँमा केही व्यक्तिको तानाशाही चल्यो।

वर्ग समाप्तिको साम्यवादी सपना देखाएको कम्युनिस्ट सत्ताभित्रै सुविधाभोगी नयाँ वर्ग सिर्जना भयो। यसलाई साम्यवादमा पुग्ने समाजवादी चरण भनेर व्याख्या गरियो। कालान्तरमा कम्युनिस्ट पार्टीको सत्ता यथास्थितिवादको पक्षपोषण गर्ने पन्थमा रूपान्तरित भयो। आर्थिक समानताको भावनात्मक नारामा  स्वतन्त्रता हरण हुन पुगे। फलस्वरूप लामो कालखण्डसम्म मानवताले ठूलो मूल्य चुकाउनुपर्‍यो।

कुनै पनि विचार जब परिवर्तन र सुधारको विपक्षमा उभिन्छ त्यो पन्थ बन्छ। पन्थ संकीर्ण हुन्छ, जड हुन्छ। पन्थमा सुधारको सम्भावना क्षीण हुन्छ। कम्युनिस्टले जनतन्त्रलाई ग्रहण नगरी जनताको आवाजलाई थुन्दा कम्युनिज्म जड बन्यो। यसैको कारण कम्युनिस्ट सत्ताको पतन सुरु भयो।

नेपाल सन्दर्भ

२०४८ सालअघि नेपालमा वामपन्थीय विचार अत्यधिक प्रभावी थियो। कम्युनिस्ट पार्टीहरू वामपन्थीय मानिन्थे। नेपाली कांग्रेस पार्टी पनि वाम झुकाव (सेन्टर टु लेफ्ट) पार्टी थियो। २०४८ सालपछि कांग्रेसले आफूलाई मध्यमार्गी पार्टी बनाउँदै लग्यो।

२०७२ सालमा संविधान जारी भएपछि कांग्रेस सत्तामुखी पार्टीमा रूपान्तरित भएको छ। विधानमा समतामूलक समाजको वकालत गर्ने समाजवादको सिद्धान्त रहे तापनि अहिले कांग्रेसमा नीतिगत र सैद्धान्तिक बहस हुँदैन। आ–आफ्नो गुटको पक्ष पोषण गर्दै पार्टी तथा राज्य सत्तामा पकड कायम गर्ने तिकडममा नै कांग्रेसको दिनचर्या बित्ने गरेको छ।

कम्युनिस्टहरूमा माक्र्सवादी विचार मरिसकेको छ। सत्ता नै साध्य भएको छ। यिनीहरूका नेताका सत्ताकांक्षाले अधिकांश कम्युनिस्ट पार्टीहरू भुइँफुट्टा वर्गको कब्जामा गएका छन्।

 कम्युनिस्टका नेताहरू सत्ता र सस्तो लोकप्रियतामा यति लिप्त छन् कि कोही ठोरीमा अयोध्या स्थापित गर्न पुग्छन् भने कोही धार्मिक धाममा गेरुवस्त्रसहित भक्ति प्रदर्शन गर्न पुग्छन्। विचारको क्षयीकरणको यो पराकाष्ठा हो। कम्युनिस्ट नेताहरू शब्दमा नयाँ नयाँ विशेषण लगाइ प्रकल्पना गर्न र विषयवस्तु तथा सैद्धान्तिक विचारलाई अपव्याख्या गर्दै प्रतिरोपण गर्न खप्पिस छन्। हुन त यो स्टालिनवादी कम्युनिस्टहरूको सर्वकालिक र चलाकीपूर्ण छल हो जसलाई जर्ज अर्वेलले ‘एनिमल फर्म’ उपन्यासमा सुन्दरता वर्णन गरेका छन्।

लोकतन्त्रमा वामपक्षको आवश्यकता

लोकतन्त्र न वाम हुन्छ न त दक्षिणपन्थी। लोकतन्त्र प्रक्रिया हो, व्यवहार हो। यसले नागरिकलाई मानव अधिकारलगायतका विशिष्ठ अधिकार प्रदान गर्छ। लोकतन्त्रले दिने यिनै अधिकारको दुरूपयोग गरी कहिले दक्षिणपन्थी अधिनायकवाद त कहिले वामपन्थी अधिनायकवादले टाउको उठाउँछ। त्यसैले लोकतन्त्र सदैव असुरक्षित हुन्छ। 

प्रजातान्त्रिक अभ्यास गरिरहेका र प्रजातन्त्र सुरक्षित मानिएका देशहरूमा हालै भएका घटनाक्रमले पनि लोकतन्त्र सधैं सुरक्षित हुन सक्दैन भन्ने प्रमाणित गरेको छ। त्यसैले प्रजातन्त्रलाई जनताको पक्षमा गतिशील बनाउन र प्रजातन्त्रकै सुरक्षाका लागि राजनीतिमा वामपन्थीय विचार आवश्यक हुन्छ।

वामपक्षले जनतासँग हुल गर्न दिँदैन। अमेरिकामा डेमोक्रेटिक पार्टीलाई उदार तथा त्यहाँको सन्दर्भमा वामपन्थीय मानिन्छ।

इजरायल–हमास युद्धमा गाजामा इजरायलले गरेको सर्वसाधारणको नरसंहारले अनुदारवादीहरूको पकडमा पुगेको अमेरिकाको रिपब्लिकन पार्टी र यसका राष्ट्रपतिका उम्मेदवारहरूलाई कुनै प्रभाव परेको छैन।

उनीहरूको पार्टीभित्र यो बहसको विषय पनि बन्दैन। तर डेमोक्रेटिक पार्टीभित्र यो ठूलो मुद्दाको विषय बनेको छ। फलस्वरूप इजरायललाई साधारण प्यालेस्टिनीहरूको हत्या नगर्न राष्ट्रपति जो बाइडेनले चेतावनी दिनुपर्‍यो।

राष्ट्रिय राजनीतिमा मात्र नभै अन्तर्राष्ट्रिय मुद्दामा समेत वाम विचारले जनताको पक्षमा काम गर्न उत्प्रेरित गर्ने यो एउटा उदाहरणका रूपमा लिन सकिन्छ। प्रणालीलाई निरन्तर जनपक्षीय बनाउन र लोकतन्त्रलाई क्रियाशील बनाउन राजनीतिमा वामपन्थी विचार आवश्यक हुन्छ।

प्रकाशित: १ पुस २०८० ००:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App