१७ फाल्गुन २०८० बिहीबार
विचार

लोकतन्त्रका तगारा

‘प्रजातन्त्र मुर्खहरूको शासन हो-आजभन्दा दुई हजार तीन सय वर्षअगाडि ग्रिक दार्शनिक अरस्तुको भनाइ हो यो। त्यो समयमा प्रजातन्त्र, सरकार निर्माण र सरकारले लिने निर्णयमा सीमित थियो। त्यसयता प्रजातन्त्रमा धेरै परिष्कार आएको छ। प्रजातन्त्र शब्द सरकार निर्माणका लागि गरिने वयस्क मताधिकारमा मात्र सीमित छैन। प्रजातन्त्रलाई परिष्कृत बनाउन धेरै विशेषता अनिवार्य गरिएको छ। ती विशेषताको अभावमा प्रजातन्त्र केबल बहुमत तन्त्र मात्र बन्न जान्छ।

दुई हजार वर्षअघि मानिसको ज्ञान सीमित थियो। शिक्षाको पहँुच कम थियो। आज मानिसले धेरै ज्ञान आर्जन गरेको छ। अनेक आविष्कार भएका छन्। अनुसन्धानको दायरा विस्तृत भएको छ। मानिसको हातमा नै तत्कालका सूचना उपलब्ध छन्। यति हुँदाहुँदै पनि अरस्तुको भनाइलाई थोरै संशोधन गर्दै ‘प्रजातन्त्र मुर्खहरूबाट शासित हुने प्रणाली हो’ भन्ने भ्रम तत्कालका केही प्रवृत्तिबाट देखिन्छ।

भारतको विधानसभा चुनावको प्रचारको क्रममा राजस्थानको बायतुमा १७ नोभेम्बरमा भारतीय जनता पार्टीद्वारा आयोजित चुनावी सभामा प्रधानमन्त्री मोदीको भाषणको एउटा अंश फोर पिएम न्युज नेटवर्कले प्रसारित गर्‍यो। त्यसमा मोदीको भनाइ छ-‘कमल के निसान पर ऐसे बटन दबाओ ताकी उनकी सजा पक्की हो जाए जैसे उनको फांसी दे रहे हो न ऐसे बटन दबाओ।’ यसअघिका कुनै पनि भारतीय प्रधानमन्त्रीको यस्तो असभ्य र हिंसात्मक बयान आएको सुनिएको थिएन।

पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जो पुनः राष्ट्रपति निर्वाचनको तयारी गर्दैछन्, राष्ट्रपति जो बाइडेनलाई क्रुक्ड (बेइमान, टेढो) डिरेन्जड (बहुलाहा) भन्छन्। उनीमाथि मुद्दा चलाउने अभियोजनकर्तालाई ठग, हत्यारा, डाँकु तथा बहुलाहा भन्छन्।

सन् २०१६ र २०२० मा पनि ट्रम्पले हिलारी र बाइडेनलाई यस्तै असभ्य शब्द प्रयोग गर्थे। ट्रम्प पूर्वका कुनै पनि राष्ट्रपति तथा राष्ट्रपतिका उम्मेदवारले यस्ता असभ्य शब्द प्रयोग गरेको सुनिएको थिएन।

अक्टोबरको अन्तिम सप्ताहमा परिवर्तनशील (स्विङ) जनमत भएका अमेरिकाका पाँच राज्यमा गरिएको सर्वेक्षणको नतिजाप्रति व्यंग्य गर्दै गार्डियनका डेभिड स्मिथ नोभेम्बर ७ मा लेख्छन्-बादसाह नाङ्गै छ तर आज चुनाव हुने हो भने उसैले जित्छ।

यो ग्रान्ड ओल्ड पार्टी भनिने रिपब्लिकन पार्टीका लागि मात्र नभइ प्रजातान्त्रिक विश्वको नेतृत्व गर्छु भन्ने अमेरिकाका लागि लज्जाजनक छ। एकातर्फ अमेरिका रुसको आक्रमणबाट युक्रेनको सार्वभौमिक स्वतन्त्रता र प्रजातन्त्रको रक्षाका लागि जति समय लागे पनि सहयोग गर्ने वचनबद्धता प्रकट गर्छ।

अर्कोतर्फ आफ्नै देशमा माग रिपब्लिकनहरूले अमेरिकन न्याय प्रणाली र निर्वाचन पद्धतिमाथि लगातार गरिरहेको आक्रमणबाट अमेरिकी प्रजातन्त्रको रक्षा गर्न समर्थ हुन्छ कि हुँदैन एकिन साथ भन्न सक्ने अवस्था छैन।

राष्ट्रपति जो बाइडेनको बार्धक्यको अगाडि उनका उपलब्धिहरूले उचित सम्मान पाउन सकेका छैनन्। स्मिथकै शब्दमा बाइडेनको पूर्वाधार ऐनको कारण उल्लेख्य रोजगारी सिर्जना भएका छन्।

राजनेता फ्रेङ्कलिन डी रुजवेल्ट र लिन्डन वी जोन्सनपछि बाइडेन नै पहिलो डेमोक्रेटिक राष्ट्रपति हुन् जसले ऐतिहासिक विधायकीय कार्य गर्न सफल भएका छन्।

ट्रम्पको समयमा छिन्नभिन्न भएको युरोपसँगको सम्बन्ध बलियो बनाएका छन्। पुटिनको विरोधमा प्रजातान्त्रिक विश्वलाई एकजुट गराई नेतृत्व गरेका छन्। तर उनको अमेरिकी जनस्वीकृति ३७ प्रतिशत मात्र छ र तत्काल चुनाव भएमा ग्यालोपको सर्वेक्षणअनुसार ट्रम्पभन्दा पाँच पोइन्टले पछाडि छन्। यो अमेरिकाको संकुचित र विकृत राजनीतिको नाङ्गो तस्बिर हो।

सबै मानिसले आफूलाई स्वतन्त्रताप्रेमी प्रजातन्त्रवादी भनिन रुचाउँछन्। सच्चा प्रजातन्त्रवादी हुन त्यति सजिलो छैन। कुनै व्यक्ति संयमित छैन, सहनशील छैन, आक्रामक छ, उत्तेजित हुन्छ वा उत्तेजना फैलाउनमा विश्वास गर्छ र बदलाको भावना राख्छ भने त्यो मानिस प्रजातन्त्रवादी हुन सक्तैन। नियम पालना गर्नु, प्रक्रियालाई स्वीकार गर्नु, आलोचना ग्रहण गर्नु, आलोचकप्रति असहिष्णु नहुनु प्रजातन्त्रवादीको गुण हो।

विडम्बना, अमेरिकी राष्ट्रपतिका उम्मेदवार ट्रम्पले भेटेरान दिवसको दिन समर्थकहरूलाई सम्बोधन गर्दा आफ्ना विरोधीहरूलाई राष्ट्रका परजीवी कीराहरू भन्दै यिनीहरूलाई जरैदेखि समाप्त गर्नुपर्दछ भने।

हरेक कार्यक्रममा आफ्ना विरोधीलाई तथा आफूमाथि लागेका मुद्दामा फरक मत राख्ने आफ्ना पूर्वसहयोगीहरूलाई आफू निर्वाचित भएमा बदला लिने बताइरहेका छन्। यता भारतका मोदी आफ्ना आलोचक कांग्रेसका नेतालाई ‘मुर्खहरूका सरदार’ भन्छन्।

यी दुवैका वाणीमा स्वेच्छाचारी निरंकुशता देखिन्छ। यिनीहरू आफ्नै पार्टीभित्र पनि स्वाभिमानी नेता/कार्यकर्ता रुचाउँदैनन्। स्वाभिमानी विवेकशीललाई पाखा लगाइ अनुचरहरूसँग रमाउने यी अराजकतावादीहरूको विशेषता हो।

सन् २०१६ को राष्ट्रपति चुनावको समयमा ट्रम्पले भनेका थिए– मैले न्युयोर्कको फिफ्थ एभेन्यु बीचमा उभिएर बन्दूकले एउटा मानिस मारेँ भने पनि मेरो एउटै मत घट्दैन। यस्ता अन्धभक्त अनुचरहरूको निर्माण स्वेच्छाचारी चरित्र भएको व्यक्तिले मात्र गर्छ। लोकतन्त्रमा विश्वास गर्ने नेताले तार्किक जनमत निर्माण गर्छ।

यो अमेरिका र भारतको समस्या भनेर आँखा चिम्लनु गम्भीर गल्ति हुन जान्छ। आज यी देशमा जे भइरहेको छ त्यसले सारा विश्वलाई प्रभाव पार्छ। पूर्वअमेरिकी श्रममन्त्री तथा अर्थशास्त्री रवर्ट राइस भन्छन्–पुँजीवाद त्यति बेलामात्र प्रजातन्त्रको अनुकूल हुन्छ जबसम्म प्रजातन्त्रले यसलाई नेतृत्व गर्छ र सामान्यजनको हितमा प्रयोग हुन्छ। तर जब प्रजातन्त्रलाई नै पुँजीवादले नेतृत्व गर्न लाग्छ तब त्यो नव फासीवाद बन्छ।

अर्बपति पिटर थायी भन्छन् कि म प्रजातन्त्र र स्वतन्त्रताको अनकूलन हुन्छ भन्नेमा विश्वास गर्दिन। उनले २०२२ को निर्वाचनमा मात्र रिपब्लिकनहरूलाई तीन करोड ५० लाख डलरभन्दा बढी सहयोग गरेका छन्। यस्ता अत्यधिक दर्जन बढी अर्बपतिहरू ट्रम्पका चन्दादाता हुन्। भारतमा अबौँपति अडानी, अम्बानी मोदीका दाता हुन्। उग्र राष्ट्रवाद र धार्मिक अतिवाद यिनीहरूका राजनीतिक नारा हुन्।

बिर्सन हुँदैन कि द्वितीय विश्व युद्ध हिटलरको उग्रराष्ट्रवादको परिणाम हो। युक्रेन युद्ध पुटिनको उग्र राष्ट्रवादको परिणाम हो। मध्यपूर्वको हालको युद्ध नेतान्याहुको अतिवादको परिणाम हो। त्यसैले भारत र अमेरिकामा उग्र राष्ट्रवादी निरंकुश विचारले प्रभाव बढाउनु विश्वशान्तिकै लागि  चिन्ताको विषय हो।

किन यस्तो भइरहेको छ? सन्तुलित विचार, सभ्य भाषा, मर्यादित वाणीको बदला अतिवाद, असभ्य र मर्यादाहीन विचार र वाणीले किन समाजलाई नराम्रोसँग प्रभाव पारेको छ र पार्दैछ? हाम्रै देशमा पनि संस्थाभन्दा व्यक्ति प्रभावी हुने प्रियतावाद र त्यसभित्र लुकेको दक्षिणपन्थी अराजकतावादले विस्तारै समाजलाई विकृत बनाउन लागेको देखिँदैछ।

के यो स्थापित पार्टीहरूको अकर्मण्यता र कुशासनले उत्पन्न गरेको प्रतिक्रिया मात्रै हो कि यसका अन्य कारण पनि छन्? एउटै कारण भनेर ठोकुवा गरेर भन्न सक्ने स्थिति नभए तापनि हाम्रो देशको सन्दर्भमा जनमतलाई हलुकारूपमा लिने र समूह बनाइ पार्टी कब्जा गरी क्लेप्टोक्रेसी चलाएका नेताहरू यसका लागि बढी जिम्मेवार छन्। तर समग्रमा हेर्ने हो भने विश्वमा अहिले जताततै दक्षिणपन्थी प्रियतावादको उदय भइरहेको छ।

हालै नेदरल्यान्ड्समा इस्लाम विरोधी दक्षिणपन्थी फ्रिडम पार्टीका गिर्ट वाइल्डरले अप्रत्याशित मत ल्याइ संसद्को ठूलो दल बने। अर्जेन्टिनामा ‘बेलायतबाट फकल्यान्ड टापु फर्काउँछु’ भन्दै लिबरटेरियन पार्टीका जेभियर मिलेइ राष्ट्रपति निर्वाचित भए। उनी असभ्य र आक्रामक भाषा प्रयोग गर्न कुख्यात छन्। आफ्ना आलोचक पत्रकार लाई ‘डङ्की’ भन्छन्।

जनतालाई ‘म भेडाको नेतृत्व गर्दिन, जागेको सिंहको नेतृत्व गर्छु’ भन्छन्। इटली, हंगेरी, टर्कीमा दक्षिणपन्थी सत्तामा नै छन्। स्पेन र स्लोभाकियामा आगामी २०२४ मा हुने चुनावमा दक्षिणपन्थी हाबी हुने सम्भावना देखिँदैछ।

प्रजातन्त्र प्रेम, भ्रातृत्व, संवाद र सम्झौतामा मुखरित हुने प्रणाली हो। घृणा, हिंसा, विभेदले प्रजातन्त्रलाई कमजोर बनाउँछ। नकारात्मक विचार बढी प्रवाहित भए पनि सामाजिक सञ्जाललाई बन्द गर्न मिल्दैन। यो स्वतन्त्रता विरोधी कुरा हो। यसलाई नियमन गर्न सकिन्छ।

 लोकतन्त्रवादीहरूले जनमतलाई सुरक्षित महसुस गराउन आर्थिक, सामाजिक, धार्मिक विभेद र असमानतालाई कम गरी स्वस्थ सूचना पुर्‍याउनु पनि जरुरी छ। राजनीतिक पार्टी र पार्टीको नेतृत्व लोकतन्त्र, सुशासन र आर्थिक विकासका लागि संवेदनशील बनी नागरिकलाई आश्वस्त तुल्याउनु आवश्यक छ।

प्रकाशित: १८ मंसिर २०८० ००:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App