२२ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

धर्मगुरु आत्मानन्दको जन्मदिनमा

नेपाल र नेपालीको माझमा सिद्धपुरुष सिद्धात्मा मुहिगुमअङसिमाङ आत्मानन्द लिङ्देनको जन्म २०११ मंसिर १८ गते  शुक्लपक्ष नवमी तिथि, पुनर्वसु नक्षत्र, कन्यालग्न, कुम्भराशि, भवकरण, सौम्ययोगको शुभमुहूर्त, बृहस्पति, शनि, राहु, केतु उच्चग्रह साथमा शुक्र स्वगृह बसेको पञ्चमग्रह उच्चले देवात्मा, महात्मा, ज्ञानात्मा, दार्शनिक युगपुरुषको ७०औँ शुभ जन्मोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथिका रूपमा आगमन हुने भएको छ।

जन्मभूमि इलाम इभाङ चुक्चिनाम्बाको अगौटेमा पिता पुण्यप्रसाद माता चन्द्रमायाको कोखमा अवतरण हुनुभएका गुरुदेवलाई १६औँ राष्ट्रिय बिभूति महागुरु फाल्गुनन्दको अवतार मानिन्छ।

 नवशिशु जन्मँंदै आमाको दूध नपिएका बच्चालाई गाई, बाख्राको दूध खुवाएर हुर्काएका बालकको माता दोस्रो पोइला गएकीले बजु जोगमायाले स्याहारसुसार गरी पालनपोषण गर्नुभएको जन्मकालीन अवस्था दुःख, दर्द र बर्बरतापूर्ण पाइन्छ।

ज्योतिषनाम समबहादुर नामकरण भए पनि सानु छँदै अर्काको आत्माज्ञान जान्ने, आत्मा मन देख्ने आत्मादर्शी स्वभावका हुनाले बजुले यो नानी आत्मा देख्ने आत्मे आत्मे भन्दाभन्दै आत्मा+आनन्द आत्मानन्द भन्नुभएबाट कालान्तरमा आत्मानन्द प्रख्यात हुनुभयो।

बालकलाई अध्यापन गर्न बिद्यालयमा नाम लेखाइ शिशुकक्षामा पढाउँदा नपढी चूपचाप शान्त बस्ने विद्यार्थीलाई शिक्षकले पढ्प-ढ् भन्दा म पढ्दिन छातीमा हृदय छामेर ब्रह्ममस्तिष्क औँल्याउँदै आफैँ आउछ भन्ने देववाणीका गुरुदेवको बाल्यकालीन शिशु चरित्र दैविकशक्ति र आध्यात्मिक सौन्दर्यता पाइन्छ।

एकान्तपन मन पराउने, शान्त स्वभावका रुचिकर, ध्यान, ज्ञान, जप, तप, शुद्ध आहार, शुद्ध बिहार, शुद्ध विचार, शुद्ध व्यवहारका मौलिकताले भरिपूर्ण नानीकालमै बानी, भिन्न चरित्र चरितार्थ विचित्रको पाइन्छ।

घर वरपर, तल माथि, वन, जंगल, ओढार आदि एकान्त हुँदासाथ ध्यान गर्ने स्वभावका आत्मानन्दको आत्मा परमात्मालीन ब्रह्मलिनको साक्षात्कार संकेत पटकपटक भएको छ। यही निरन्तरताको क्रमिक क्रमले अन्ततोगत्वा २०२७ भदौदेखि माघ महिनातक ६/७ महिना देवमाई, मेक्वामाई, माइ त्रिवेणी संगमस्थल फुल्लुङ्गी मा जुनस्थानमा महागुरु फल्गुनन्दले ज्ञान प्राप्त गर्नुभएको पुण्य भूमिमा ५/६ जना चेलाभुलासाथ तपस्यारत ध्यान गरी परमात्मा परमेश्वर तागेरानिङ्वाभुमाङको दर्शन आत्मा साक्षत्कार गर्नुभएपछि त्रिकालज्ञ सिद्धात्मा मुहिगुमअङसिमाङ देवअङशी देवपुरुष घोषणा हुनुभएको १४ दियो, १४ कलश, १४ जलघडा राखी स्वागत गरी मन्दिरमा प्रवेश गराइएको ऐतिहासिक वर्णन जीवनमा उल्लेख छ।

नवशिशु बाल्यकालमा समाधिज्ञान प्राप्त गर्नुभएको र सार्वजनिक रूपमा चेलाहरू साथमा प्रमाणिक गर्नुभएको समेत २/२ पटक समाधिस्त ज्ञानगुरु देवात्मा युगपुरुषको शुभ विवाह  २०३२ साल माघ २२ गते माङसेबुङ–५ उत्तरे निवासी पवित्राहाङका साथमा देवविवाह सम्पन्न भइ ६ भाइ छोरा, ६ बहिनी छोरी एक दर्जनका मातापिता हुनुभएका सांसारिक जीवन, गृहब्रह्मचर्य भई विश्वभरका किराँत धर्मावलम्बीहरू र मानव मात्रलाई ‘विश्वशान्ति तथा मानव एकता’ को उद्घोष गर्नुहुने गुरुदेव किराँत धर्मदर्शनमा येहाङ, लेप्मुहाङ, कान्देनहाङ, मावोहाङ, सिरिजंगा, फाल्गुनन्दपछिको सातौँ अवतारका रूपमा पुजनीय हुनुहुन्छ।

भूत, वर्तमान र भविष्यका द्रष्टाले विश्व ब्रह्माण्ड र किराँत धर्म दर्शनको शास्त्रीय देववाणी माङइङघङ २०४९ साल माघ ३ र ४ गते इलाम माङ्सेबुङको भालुटारमा २/२ दिन भविष्यवाणी गरी सार्वजनिक आधिकारिकरूपमा देववाणी गर्नुभएको टेपरेकर्ड र पुस्तक प्रकाशन भएको छ।

देववाणी मञ्च सज्जाइएको देवासनमा १००८ बत्ती बालिएको देवशृङ्गारमा आसनबाट घण्टौँ घण्टा देववाणी गर्नुहुने गुरुदेवले पृथ्वीको समेत आयु तोक्नुभएको अमरवाणी घटना ऐतिहासिकरूपमा स्मरणीय छ जुन स्थलमा आत्मानन्द सालिक स्थापित गरिएको छ।

ब्रह्माज्ञानी, आत्मादर्शी, त्रिकालदर्शी–आत्मानन्दको आत्मज्ञान ब्रह्मकुमारी राजयोगको माउन्टेन टापु भारतमा आगमन सवारी गराइ आत्माविज्ञानले वैज्ञानिक परीक्षण गरियो भने किराँत कुलवंशमा पनि ऋषि–महाऋषि त्रिकालज्ञ युगपुरुषहरू माङअवतार भएको प्रमाणिक गराएमा धार्मिक–आध्यात्मिक वाङ्मयमा विशाल ज्ञानको भूकम्प जाने थियो। भौतिक जमानामा अध्यात्मिक तथा भौतिक युगमा आध्यात्मिक हमला हुन्थ्यो भन्ने मेरो बुझाइ छ।

गुरुदेवको आज्ञाले किराँत धर्मको सुसंगठन एवं विस्तार गर्न ‘किराँत धर्म तथा साहित्य उत्थान संघ’ कर्मकाण्ड बिस्तार गर्न ‘किराँत चोत्लुङ मुहिगुमअङसी माङगेन्ना सेवा’ दुई संस्था र ‘महागुरु फाल्गुनन्द स्मृति प्रतिष्ठान’ धार्मिक संघ/संस्थाहरू विश्वका २०–२५ मुलुकमा संगठित विस्तारित र व्यवस्थित छन्।

अमेरिका, अस्ट्रेलिया, केनडा, युकेदेखि संसारभर किराँत धर्म मन्दिर, महागुरु फाल्गुनन्द सालिकहरू स्थापित छन् २०५७ कात्तिक २५ गते काठमाडौँ अन्तर्राष्ट्रिय भवन बिआइसिसी हल नयाँ बानेश्वरमा प्रथम किराँत धर्म अन्तर्राष्ट्रिय महासम्मेलन र २०६७ चैत २५ गते रत्नपार्क खुलामञ्चमा दोस्रो महासम्मेलन भइसकेको अवस्थामा अब तृतीय महासम्मेलन अमेरिका–अस्ट्रेलियामा हुने योजना बन्दैछ।

राज्यको चौथो दर्जामा स्थापित किराँत धर्मका धर्मगुरु आत्मानन्दको जन्मोत्सवको अवसरलाई जन्मोत्सव सँगसँगै ‘किराँत पर्व उधौली चाड’ पनि मानिने भएकाले ‘धर्मगुरु जन्मोत्सव तथा उधौँली किराँत पर्व’ मनाउन अमेरिकाबाट सुकमान सुहाङको नेतृत्वमा  ०० जना किराँत धर्मावलम्बी नेपाल आइसकेको  खबर छ।

-लेखक किराँत धर्म तथा साहित्य उत्थान संघका संस्थापक तथा मुन्धुमविद् हुन्।

प्रकाशित: १८ मंसिर २०८० ००:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App