१२ मंसिर २०८१ बुधबार
image/svg+xml
विचार

लोकतन्त्र विरोधी चिन्तन

संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि प्रस्थान विन्दु मानिएको संविधान जारी भएपछिको निर्वाचन भोलि टुंगिदैछ । यसमा नाममात्रको लोकतान्त्रिक गठबन्धन र शक्तिशाली वाम गठबन्धन दुवैको अग्निपरीक्षा हुँदैछ । निर्वाचनमा जसले जिते वा हारे पनि जय÷पराजयलाई अस्वाभाविक नबनाई उत्सवका रूपमा वरण गर्ने संस्कृति यही पहिलो प्रस्थान विन्दुबाट आरम्भ गर्नसके लोकतन्त्रको भविष्य एकप्रकारले सुरक्षित हुनेछ । तर विजयका सम्भावनाहरूको समीक्षा गर्दै गरिएका अनगिन्ती दावी हेर्दा विजय भएका अवस्थाको अहंकार र उन्माद छरपस्ट हुन लागेको अनुभव हुँदैछ । एकातिर राजनीतिमा डनहरूको उत्साहजनक उपस्थिति र धन भएकाहरूको प्राथमिकताले त्याग, तपस्या, बलिदान र निरन्तरतालाई पाखा लगाएका छन् भने अर्कातिर लोकतान्त्रिक संस्कृति र यसका सीमामाथि निर्मम प्रहार हुने गरी प्रकट उन्मादी अहंकारका कारण देशले भोलिका दिनमा अर्को द्वन्द्व सामना गर्नुपर्ने हो कि भन्ने संशय पैदा भएको छ ।
निर्वाचन प्रचारका क्रममा भएका उन्मादी अभिव्यक्ति र फोहोरी चरित्रका शब्दशैलीले कुनै शैक्षिक डिग्री नभए पनि राजनीतिकर्मीले अज्ञात अन्तर्राष्ट्रिय गालीगलौज विश्वविद्यालयको फर्जी डिग्री हातमा बोकेर राजनीतिको मैदानमा उत्रिएका हुन् कि भन्ने भ्रम सिर्जना गरिरहेको छ । उदाहरणका रूपमा बिपी कोइराला अहिलेसम्म बाँचिरहेका भए नेकपा एमालेमा प्रवेश गर्थे भन्ने जस्तो गैरजिम्मेवार र गैरराजनीतिक अभिव्यक्ति फोहोरी चिन्तनको शब्दशैली हो । बिपी नेपाली लोकतन्त्र र समाजवादका भाष्यकार जति हुन् त्यति नै राष्ट्र र राष्ट्रियताबारे नेपालका प्रथम प्रवक्ता पनि हुन् । पृथ्वीनारायण शाहपछि यदि कसैले राष्ट्रका विषयमा स्पष्ट परिभाषा गरेको छ भने त्यो बिपीले नै छ । राष्ट्रको रूपका विषयमा मात्र होइन, राष्ट्रियताका आधार र तŒवबारे बिपीका विचारभन्दा अगाडि गएर कुनै पनि नेपालीले व्याख्या गरेको पाइँदैन ।
बिपी पहिले पूरा माक्र्सवादी भए पनि उनले स्वतन्त्रताको मूल्यसहितको समाजवादलाई नेपालीको आवश्यकताका रूपमा प्रस्तुत गरे । नेपाली कांग्रेसले बिपी कोइरालाकै चिन्तनका आधारमा प्रजातान्त्रिक समाजवाद अवलम्बन गरेको छ । माक्र्सवादले परिकल्पना गरेको वर्ग संघर्ष, त्यसको परिणाम सर्वहारा वर्गको अधिनायकत्व र त्यसपछि हुने विकसित समाजवादको स्वरूपको अधिनायकवादी सूत्रलाई बिपीले अस्वीकार गरेकै कारण उनी प्रजातान्त्रिक समाजवादी हुन पुगेका थिए । अर्को जोक त के छ भने नेकपा एमालेबाट अब बिपी कोइरालाका सपना पूरा गर्न प्रतिबद्ध भएकोे घोषणा भएको छ । नेपाली कांग्रेसले बिपी चिन्तनको बाटो परित्याग गरेको भन्ने तर्क यसमा गरिएको छ । बिपीको जीवन रहेका समयमा होस् कि केही वर्ष पहिलेसम्म, बिपीलाई राष्ट्रघाती देख्ने जति सबै कोही बिपीका उत्तराधिकारी भएका छन् त कोही बिपीका सपना पूरा गर्ने भएका छन् । कमल थापाको दाबी त बिपीको उत्तराधिकारित्व नै राष्ट्रिय प्रजातन्त्र पार्टीले अवलम्बन गरेको भन्ने छ ।
यथार्थमा बिपीको सपना जसले पूरा गरे पनि हुन्छ तर पहिले त्यो व्यक्ति वा पार्टी पूर्ण लोकतान्त्रिक हुनु जरुरी छ । नाममा कम्युनिस्ट पार्टी अनि अन्तर्राष्ट्रिय साम्यवादी झण्डा बोकेर बिपीको सपना पूरा गर्छु भन्नु जगत हँसाइ सिवाय केही होइन । यस्तो कृत्यबाट बिपीका सपना पूरा हुने होइन, भत्काउने काममात्र हुन्छ । राष्ट्रवादको माला जप्दै माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओका तस्बिरमा प्रथम माल्यार्पण गरी आफ्ना सभा सुरु गर्ने पार्टीका मुखियाले एक सच्चा देशभक्त, देशलाई सार्वभौमिक एकता र अखण्डताको पहरेदारी गर्ने चिन्तक र लोकतन्त्रको अविश्रान्त यात्रीका विषयमा यसरी निर्लज्ज टिप्पणी गर्नु आफँैमा बौद्धिक दिवालियापनबाहेक केही होइन । २००७ सालको परिवर्तनदेखि २०३६ को जनमत संग्रहसम्मका राजनीतिक घटना र २०३८ को पञ्चायती निर्वाचन बहिष्कारका सन्दर्भह नकेलाई बिपीले राष्ट्रिय÷अन्तर्राष्ट्रियरूपमा राजनीतिबारे गरेको व्याख्या र व्यवहार बुझ्न कठीन हुन्छ । २०३८ मा निर्दलीय पञ्चायत व्यवस्थाका सुविधा ग्रहण गरी जुनबेला आजका कतिपय क्रान्तिकारी र भ्रान्तिकारी निर्वाचनमा सहभागी भइरहेका थिए त्यस कठीन क्षणमा बिपीले बहिष्कारको नीति लिएर आफ्नो लोकतन्त्रप्रतिको निष्ठा निखार्ने काम गरेका थिए ।
हिजो बिपीलाई धारे हात लगाउँदै सराप्नेहरू आज आएर ‘उहाँजस्तो मानिस जीवित रहेको भए आफ्नो पार्टीमा आउनुहुन्थ्यो’ भनेर सगौरव गुड्डी हाँकिरहेका छन् र ती महान् राष्ट्रवादी र प्रजातन्त्रवादी चिन्तकको अपमान गरिरहेका छन् । बिपीलाई सस्तो जोकको विषय बनाउनु भनेको गालीगलौज नै हो । यद्यपि यस जोकलाई हावामा उडाउँदै प्रसिद्ध लेखक खगेन्द्र संग्रौलाले जनताको बहुदलीय जनवादका भाष्यकार मदन भण्डारी बाँचिरहेका भए केपी ओली वडाध्यक्षको उम्मेदवारबाहेक केही हुने थिएनन्समेत भन्न भ्याएका छन् । ओली एमालेका अध्यक्ष हुन् र उनी सरकारको नेतृत्वमा समेत पुगिसकेका हुन् । उखान, टुक्का, व्यंग्य र हल्काफुल्का कुरा गर्न उनी सिपालु मानिन्छन् । तर उनी के बिर्सिरहेका छन् भने अरुको मानमर्दन गर्न खोज्दा आफ्नो पनि इज्जत जोगिँदैन । आफ्नो इज्जत जोगाएरमात्र अरुका विषयमा टिप्पणी गर्नु उचित हुनेछ ।
    त्यसो त साम्यवादी सत्तामा रुन पनि पाइँदैन भन्नु पनि राजनीतिक जोक नै हो । साम्यवादमा हाँस्न वा रुनलाई कसैको आदेश आवश्यक भएको अहिलेसम्म सुनिएको छैन । निर्वाचन प्रचारका क्रममा साम्यवादमा रुन नपाइने कुरा भनेर नेपाली कांग्रेसका सभापतिले राजनीतिक ठट्टा गरे । उनले यसो भनेर  साम्यवादी दलहरूलाई प्रतिरक्षात्मक बन्न विवश बनाए पनि यो सही होइन । यद्यपि साम्यवादी गठबन्धनले प्रचारका क्रममा दुइटा महŒवपूर्ण संकेत गरेको छ । गठबन्धनले आगामी पचास वर्षसम्म नेपाली जनतामाथि राज गर्ने उद्घोष एउटा गरेको छ भने नेपाली कांग्रेसको यो सरकार अन्तिम हुने घोषणा गरेको छ । यी दुइटा उद्घोषले नेपाली लोकतन्त्रमाथि कालो छायाँ पर्न लागेको प्रतीत हुन्छ । के पचास वर्षसम्म अरु दलले साम्यवादी पार्टीका हातमा सत्ता सुम्पने बाटो खन्ने काम गर्छन् ? कि साम्यवादी एउटा दलबाहेक अरु दललाई निषेध गरेर एकछत्र राज गर्ने योजना बनिरहेको छ ?
वर्तमान सरकार नै नेपाली कांग्रेसको अन्तिम सरकार हुने उद्घोषले आइन्दा नेपालमा अरु राजनीतिक दलको अस्तित्व मेटिने अर्थबोध गराइरहेको छ । लोकतन्त्रमा साना दलको भूमिका जहिले पनि महŒवपूर्ण हुन्छ । साना दललाई निमिट्यान्न पार्ने गरी कानुन बनेको छ । तीन प्रतिशतको सीमारेखाका कारण साना दलको भूमिका निषेध भएको छ । साना दल रहेनन् भने लोकतन्त्रमा खबरदारी गर्ने शक्ति कमजोर भएर जान्छ । ठूला दलको हैकम विकास हुन्छ र उनीहरूको एकाधिकार यहीँबाट सुरु हुन्छ । त्यसमा पनि वाम गठबन्धनले पचास वर्षसम्म एकछत्र राज गर्ने बताएर वा दाबी गरेर नेपाली जनतालाई एकदलीय तानाशाहीको संकेत दिन थालेको छ । नेपालको लोकतान्त्रिक आन्दोलनको मियो नेपाली कांग्रेसको सरकार यो नै अन्तिम भएको उद्घोष हुँदा गम्भीर प्रश्न उठ्छ– के भोलिका दिनमा अरु राजनीतिक दललाई पूर्ण निषेध गर्ने वा प्रतिबन्ध लगाउने सोचमा साम्यवादी दलहरूको गठबन्धन रहेको छ ? माओवादी र एमालेले दुईतिहाई मत पाएको अवस्था वा सामान्य बहुमत पाएको अवस्थामा संविधान संशोधन गरी एक दलबाहेक अरुलाई केही वर्षसम्म निलम्बन गर्ने सोच बनाएका छन् ?
छैनन् भने लोकतन्त्रमा जहिले पनि लोकतान्त्रिक विकल्प रहन्छ र कुनै पनि पार्टीको जीवनलाई अन्तिम बनाउने घोषणा हुदैन । निर्वाचन नहँुदै नेपाली जनतालाई आफ्नो बहुमत आएमा अरु दलको आचित्य र उपस्थिति अन्त्य गर्छु भनेर सुनाउँदा लोकतन्त्रका मर्यादा, सिद्धान्त र मूल्य के हुन् भनेर स्मरण गर्नु जरुरी छ । आवधिक निर्वाचन भनेको एउटै पार्टीले निरन्तर सरकारको नेतृत्व पाइरहनुपर्छ र वा पाइरहने अवस्था हुन्छ भन्ने होइन । बलपूर्वक अर्को पार्टीको बाटो नछेक्दासम्म सरकार निर्माणको विकल्प खुला रहन्छ । अहिले नयाँ शक्ति पार्टी सानो छ । विवेकशील साझा पार्टी पनि सानै छ तर भोलिका दिनमा यी दल ठूला हँुदैनन् र देशको नेतृत्व लिँदैनन् भन्ने छैन । सन् ९० को दशकमा भारतको लोक सभामा एक स्थान मात्रमा उपस्थिति जनाएको भारतीय जनता पार्टी दुई दशक पुग्दानपुग्दै अहिले सबैभन्दा ठूलो पार्टीमात्र छैन, लोक सभामा बहुमतका साथ सत्ता चलाइरहेको छ । यस्ता उदाहरण लोकतान्त्रिक परिपाटी भएका देशमा पर्याप्त पाइन्छ । आफूले बहुमत पाएको खण्डमा अरु दलको अस्तित्व नै निमिट्यान्न पार्ने घोषणका साथ लोकतन्त्रमा निर्वाचन लडिँदैन । अरुको अस्तित्व र हैसियतको सम्मान गर्दै आफ्नो बहुमतका लागि प्रयास हुनुपर्छ । तर नेपालका राजनीतिकर्मीमा सहनशीलता र राजनीतिक संस्कार पटक्कै देखिँदैन । केहीछिन् उपस्थित जनसमुदायलाई हँसाउन र ताली पाउन जे पनि बोलिरहेका हुन्छन् ।
नेपाल भर्खर संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा बामे सर्न लागेको छ । अहिलेदेखि नै राजनीतिक अभ्यास र निजी व्यवहारमा लोकतान्त्रिक संस्कारलाई वरण गर्दै जान सके यो प्रणालीको सुनिश्चितता हुन्छ । अन्यथा यसको भविष्य सुरक्षित हुनु दुर्लभ हुनेछ ।

 

प्रकाशित: २० मंसिर २०७४ ०३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App