१६ चैत्र २०८० शुक्रबार
विचार

फिस्टेको खुट्टा र प्रमुख दलको घोषणापत्र

फिस्टे भन्ने एकप्रकारको चरा हुन्छ, भगेराभन्दा सानो । ऊ (फिस्टे) आफ्नो विरादरीमा आफ्नो हैसियत र क्षमता बिर्सिएर अरुले पत्याउनै नसक्ने गरी डिङ्ग हाँक्ने गर्छ । हो, त्यही जातको चरासँग नेपाली नेताको आत्मश्लाघा जोडेर हेर्ने प्रयत्न गरिएको छ, यो आलेखमा । 

म सानो छँदा साह्रै गफास्टक थिएँ रे, आकाश÷पातालको कुरा गरी अनावश्यक डिङ्ग हाक्ने ! प्रत्येक दिन नयाँ–नयाँ गफ गर्न मसला पनि चाहिन्थ्यो । त्यसैले म सधैँ डिङ्ग हाँक्नका लागि मसलाको खोजी गर्न आफूभन्दा ठूलाको साथ हिँड्ने र केही सिक्ने पनि गर्थेँ । मेरो दिनदिनैको गफ फेरि कसले सुनिदियोस् ? ठूलालाई भने पिटिहाल्थे । त्यसैले सामान्यतः आफ्ना दौतरीसमक्ष फूर्ती गर्थेँ र कहिलेकाहीँ आफ्नै आमा र हजुरआमालाई पनि मुर्ख बनाउँदै गफ हाँक्न पछि पर्दिनथेँ । म त्यस्तालाई डिङ्ग हाँक्थे जसले मेरो कुराको प्रतिकार नगरोस् । त्यसैले आमा, हजुरआमा र सोझासादा दौतरीहरू खोज्ने गरेको हुँ मैले । ठीक त्यसैगरी जसरी हाम्रा नेताहरू हामी सोझासादा नेपाली जनतालाई उल्लु बनाउँछन् । 

एक दिन छेउ न पुच्छरको मेरो कुरा सुन्दासुन्दा बज्यैलाई पनि अति भएछ । अनि भन्नुभयो– मैले तँलाई फिस्टे र लुरेको कथा सुनाएको थिएँ नि, सम्झन्छस् बाबु ! हो, तेरा कुरा पनि त्यही फिस्टेले आकाश उचालेसरहकै हो । ल बस्, खा र पढ्न गइहाल । १० वर्षको मेरो बालसुलभ मनलाई मेरी बज्यैले सुनाएको फिस्टे र लुरेको कथा आज छ दशकपछि नेपालका प्रमुख दलका नेताहरूले घोषणापत्र जारी गर्दाको दृश्य देख्दा त्यसबेलाको सम्झना पुनरावृत्त भएको छ । मलाई लाग्यो, त्यस बेलाको मभन्दा आजका नेता फरक रहेनछन् । ऊ बेला मैले जसरी आफ्नै बज्यैलाई मूर्ख बनाउन डिङ्ग हाँकेथें, ठीक त्यसै गरी आज नेताहरू सोझासादा नेपालीलाई छक्काउन तल्लीन छन् ।

ठूला दलका नेताहरूले पत्रकार सम्मेलन नै गरी प्रस्तुत गरेका घोषणापत्रका प्रतिहरू हातमा परिसकेपछि पनि कुनै पनि पत्रकारले नेताहरूलाई तिनले चार वर्षअघि घोषणा गरेका के के बँुदा कार्यान्वयनमा, ल्याए त ? भनेर सोध्ने दायित्व पूरा गर्ने साहस पनि देखाएनन् ।

माध्यमिक तहको विद्यालयमा अध्ययनरत् छँदा अर्थशास्त्र विषयको अध्यापकले सम्झाएको एउटा प्रसंग सम्झना आयो । उहाँले भन्नुभएको थियो– उत्पादन अथवा विकासका ५ वटा उपादान हुन्छन्– १) जमिन, २) पुँजी, ३) श्रम, ४) प्रविधि र बुध्दि, ५) उद्यमशीलता । यी पाँचै तŒवमध्ये कुनै एकको अभावमा उत्पादन सम्भव हुने छैन । विस्मृतिमा गइसकेको यो ज्ञानलाई ठूला दलका नेताहरूले पुनर्जागृत गरिदिएकामा धन्यवाद दिँदै तिनै नेताहरूको घैँटोमा घाम लगाउन यो जमर्काे गरिएको हो ।  

क) जमिन 

देशको विकास गर्नका लागि हामीसँग पर्याप्त जमिन नभएको होइन तर त्रिपुरेश्वरबाट नागढुंगासम्मको ९ किलोमिटर सडक चौडा गर्न रोक लगाउन दर्जनौँ ‘स्टेअर्डर’ जारी गर्ने नेपालको अदालतले संरक्षण गरेको मौलिक अधिकारको बर्खिलाप गएर तिमीहरूले कसरी हजारौँ माइल रेल मार्ग र सडक मार्ग बनाउने सपना देखेका हौ ? पच्चीसौँ वर्षदेखि काठमाडौँको कोटेश्वरस्थित तीनकुनेमा रहेको पचास रोपनी जति जमिनमा भगवान बुद्धको स्तम्भ बनाउने कामलाई सार्थकता दिन नसक्ने लाक्षी नेताहरूले मोनो रेल, मेट्रो टे«न र १५ हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्छु भन्ने धक्कुलाई कसले पो पत्याउला र खोइ ? 

ख) पुँजी 

एमालेका एकजना कहलिएका वरिष्ठ अर्थशास्त्री महोदयलाई एकजना रेडियो पत्रकारले सोधे– यहाँ त वरिष्ठ वामपन्थी अर्थशास्त्री हुनुहुन्छ । कृपया मलाई बताइदिनुहोस् कि तपाईँहरूको पार्टीले प्रकाशित गरेको घोषणापत्रअनुसारको निर्माणका निम्ति कति खर्च गर्नुपर्ला ? तत्क्षण उनले भने– कम्तीमा पनि एक सय खर्ब । पत्रकारले फेरि सोधे– नेपाल सरकारको ढुकुटीमा सालमा कति आम्दानी हुन्छ ? जवाफमा बुध्दिमान मित्रले भने– यही पाँच–छ खर्ब । फेरि कलमजीवी अन्तर्वार्ताकार सोध्छन्– यतिको आयस्थाले मुलुकको सालबसाली खर्चलाई नै पुग्दैन भनेपछि तपार्इँहरू यो १०० खर्ब कहाँबाट ल्याउनुहुन्छ ? अलि रन्किँदै रातो मुख लगाउँदै अर्थशास्त्री महोदय भन्छन्– ‘सपना देख्न नसक्नेले केही गर्न सक्दैन । जसले सपना देख्छ, उसलाई नै कार्यान्वयन गर्ने कसरी भन्ने थाहा हुन्छ । देशको विकास गर्ने उसले नै हो । तपाईँहरू जेको पनि विरोध गर्नुहुन्छ, त्यसैले त यो देशको विकास भइरहेको छैन । 

पत्रकार भाइले भने– ठीक छ, तपाईँहरूले भनेजस्तै आगामी ५ वर्षभित्र ५ हजार डलर प्रतिव्यक्ति आम्दानी सम्भव छ त ? उनले भने– अब नेपालमा स्थिर सरकार आउनेछ र त्यसले यी सबै कुरा पूरा गर्नेछ । विद्वान् महोदयसँगको अन्तर्वार्ता सकियो । यी उल्लिखित वामपन्थी विद्वान् त प्रतिनिधिपात्र मात्र हुन् । अर्कातर्फका लोकतान्त्रिक गठबन्धन भन्नेले पनि वामपन्थीको जस्तै हावादारी कुरा नगरे तापनि विश्वसनीय तर्क प्रस्तुत गर्न सकेका छैनन् । 

ग) श्रम 

मुलुकको विकासका निम्ति अर्को अनिवार्य तŒव हो श्रम । श्रम भनेको दक्ष र अदक्ष दुईथरीका हुन्छन् । यी दुवै प्रकारका श्रमिकहरू हामीले कहाँबाट ल्याउने ? हाम्रो देशमा भएका सबै अदक्ष युवा खाडी देशमा छन् । दक्ष युवा श्रमिक त हामीकहाँ छैनन् भने पनि हुन्छ । दक्षमध्ये पनि योग्य युवाहरू युरोप, अमेरिका र अस्टे«लियातर्फ पलायन भइसकेका छन् । केही जो नेपालमै छन्, तिनीहरू या सक्षम छैनन् या त अन्यत्रै अनुबन्धित भइसकेका छन् । आज ठूला पार्टीहरूले जुन सपना बाँडेका छन् त्यसको कार्यान्वयनका लागि लाखौँ अदक्ष श्रमिकको आवश्यकता पर्छ । र, हजारौँ हजार योग्य इन्जिनियर चाहिन्छन् । त्यसैगरी सयौंका संख्यामा विश्वस्तरकै व्यवस्थापकको आवश्कता पर्छ । ती सबैको जोहो मिलाउन सक्ने ल्याकत छ, हाल विद्यमान ठूला पार्टीहरूसँग ? भूकम्पले क्षतिग्रस्त आवासीय ग्रामीण घरहरू बनाउने सामान्य डकर्मी, सिकर्मी, प्लम्बर इलेक्ट्रिसियनहरू उपलब्ध नभएको आजको जस्तो नेपालको अवस्थामा आवश्यक श्रमिकहरूको व्यवस्थापन नगरी महŒवाकांक्षी घोषणापत्र जारी गर्नेहरूले जनतालाई गिज्याउन खोजेका त होइन ?

घ) प्रविधि 

आजको युग प्रविधिको युग हो । विश्वले आज जति प्रगति गरेको छ, त्यो आधुनिक प्रविधिकै उपज हो । नेपालका प्रमुख दलहरूसँग त्यस्ता प्रविधि छन् त ? जसले ५–१० वर्षभित्रै मुलुकको प्रतिव्यक्ति आय ५००० अमेरिकी डलर बराबरको बनाउन सकोस् ? यी पार्टीसँग यदि त्यस्तो प्रविधि हुँदो हो त आजसम्म प्रयोग गरिसकेका हुन्थे होला । आखिर २०४६ सालपछि प्राप्त भएको प्रजातन्त्रकालका अकण्टक शासकहरू त यिनै कांग्रेस र कम्युनिस्ट नै हुन् नि ! खोइ त केही भएको ? 

कांग्रेस–वामको २५ वर्षे शासनकालमा वाग्मतीमाथि बनाइएको पुलमाथि जमेको वर्षाको पानी तल खोलामा खसाल्न सक्ने योग्य प्राविधिकसमेत देखिएनन् । माइतीघरबाट तीनकुनेसम्मको २ किमि बाटो बनेको दोस्रो हप्ताबाट भत्कन थाल्दा, त्यही बाटो दिनमा दश पटक हिँड्ने नेताहरूको चेत कहिल्यै खुलेन । धोवी खोलामाथिको ७५ मिटर र वाग्मतीको १५० मिटर लामो पुल वर्षाैँ÷वर्षसम्म बनाउन नसक्ने नेताले काठमाडौं–तराई एक्प्रेस वे, १५ हजार मेघावाट बिजुली, मेट्रो र मोनो रेल, पूर्व–पश्चिम रेल यातायात, सुरुङ मार्ग बनाउने प्रविधि कहाँबाट ल्याउने हुन् कुन्नि ?

ङ) उद्यमशीलता 

वामपन्थी दलको घोषणापत्रमा दुई विरोधाभासपूर्ण र अत्यन्त धूर्त प्रकृतिको कुरा गरिएको छ । एक, समाजवाद र अर्को निजी क्षेत्रको बढावा । उद्यमशीलताको सन्दर्भमा यी दुवै विषय एकसाथ जान सक्ने कुरा होइन । समाजवादभित्र निजी उद्यम र निजी लगानीको अस्तित्व कदापि हुन सक्दैन । होइन कम्युनिज्मभित्र पुँजीवादलाई प्रश्रय दिने हो भने चीनका वर्तमान राष्ट्रपति सि जिङ विचारधारा अंगाल्न प¥यो । यो दुवै परिस्थितिमा लोकतन्त्रको कुनै अस्तित्व हुँदैन । दुवै अवस्थामा कम्युनिज्मबाहेकको अर्को विकल्प रहँदैन । त्यसको मतलव के नेपालका लोकतान्त्रिक भनिने वाम शक्तिहरूले कम्युनिज्ममै जाने अठोट गरेका हुन् ? तसर्थ वाम गठबन्धनले जारी गरेको घोषणापत्र घीउ बेचुवा र तरवार बेचुवाबीचको मत्यैक्यतामात्र हो भन्नमा अन्कनाउनुपर्ने अवस्था छैन । 

यहाँका पत्रकार पनि त्यस्तै । ठूला दलका नेताहरूले पत्रकार सम्मेलन नै गरी प्रस्तुत गरेका घोषणापत्रका प्रतिहरू हातमा परिसकेपछि पनि कुनै पनि पत्रकारले नेताहरूलाई तिनले चार वर्षअघि घोषणा गरेका के के बँुदा कार्यान्वयनमा, ल्याए त ? भनेर सोध्ने दायित्व पूरा गर्ने साहस पनि देखाएनन् । बरु नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले भनेछन्– जुन दलले आफैँले घोषणा गरेको घोषणापत्र कार्यान्वयन गर्दैन, उसलाई राष्ट्रिय पार्टीको मान्यता दिनुहुन्न । हो, रोहितजीको यो कथन सोह्रै आना सत्य हो । 

२०१६ सालमा राजा महेन्द्रले एकपटक प्रधानमन्त्री बिपी कोइरालालाई सोधेछन्– बिपी बाबु, देश विकास गर्ने तपाईँको मार्गचित्र के हो ? बिपीले भन्नुभएछ– सरकार, पन्ध्र वर्षमा मेरो देशका प्रत्येक व्यक्तिलाई आज म आफ्नो जुन आर्थिक हैसियतमा छु, त्यहाँसम्म सबैलाई पु¥याउने मेरो लक्ष्य हो । यो कुरालाई अझ राम्रोसँग बुझ्ने गरी उहाँले भन्नुभयो– मोरङ जिल्लामा मेरो २–४ विगाहा जमिन छ । त्यसको उत्पादनले मैले मेरो घर चलाउने गरेको छु । केही गाई मैले पालेको छु । तिनले दिएको दूधले परिवारको पौष्टिक आवश्यकता पूरा भएको छ । दुई हल गोरु छन् । तिनको सहयोगले उत्पादित अन्नपातको आम्दानीले आवश्यक पर्दा स्वास्थ्योपचार र बालबच्चाको पढाई खर्च पु¥याउँछु । हो, मेरो यही आर्थिक हैसियत बराबर सबै नेपालीको पनि होस् भनेर त्यही उद्देश्य प्राप्तिका निम्ति राजनीति गरिरहेको छु । कस्तो उच्च विचार ! कस्तो व्यावहारिक सोच ! तब न बिपी कोइराला ! अहिलेका नेताहरू त ऊबेला मैले आफ्नै बज्यैलाई मूर्ख बनाउँदा जो मिथ्या आनन्द प्राप्त गर्थेँ त्योभन्दा पनि निम्न कोटीको आत्मश्लाघामा रमाएको देख्दा तिनलाई ‘विचरा’ भन्न मन लाग्छ । त्यसैले आफ्नो क्षमता र हैसियत नबुझी आकाश–पाताल जोड्न डिङ हाँक्ने फिस्टे चरासँग हाम्रा नेताहरूलाई जोड्ने धृष्टता यहाँ गरिएको हो । यसलाई अन्यथा नलिनु नै वेस् । अस्तु ! 

प्रकाशित: ३ मंसिर २०७४ ०४:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App