नीतिहरूमा सर्वश्रेष्ठ ‘राजनीति’ भनेको राज्य गर्ने नीति हो । त्यो नीति जसको अनुशरण गरेर राज्य गर्नेले जनतालाई सुख शान्ति दिन्छ, अनुशासित बनाउँछ, समृद्धशाली तुल्याउँछ र देशलाई सर्वत्र स्वाभिमानी बनाउँछ । तर यही महान् शब्दको सर्वत्र यति दुरुपयोग भएको छ कि यो शब्दसित त अब ‘गन्ध’ जोडिन थालेको छ । जनमानसमा यस्तो धारणा बनिसकेको छ कि राजनीति गर्न कोही जान्छ भने उसको व्यक्तित्वमा नै प्रश्न खडा हुनसक्छ । अहिलेकै नेपालको राजनीतिक अवस्था हेर्दा त लाग्छ, अझ तल झर्ने ठाउँ नै छैन । तर यो सत्य हैन किनकि हाम्रा राजनीतिकर्मी यति खप्पिस छन् कि यिनले अझै तल झर्न सकिने वातावरण नबनाउलान् भन्न सकिन्न । अस्थिर राजनीतिक खेलको इन्जिनको इन्धन त राज्य गर्नेहरूको स्वार्थ, पैसा र पदलोलुपता नै हो र यिनको अन्त कहिले हुँदैन यहाँ किनकि त्यागी उच्चकोटीका नेताको खडेरी छ ।
गैरजिम्मेवार, असैद्धान्तिक र भ्रष्ट आचरण सर्वत्र राजनीतिमा देखिएका बेला भक्तपुरका सुप्रिम कमान्डरले चुनाव नलड्ने घोषणा गरेपछि भने यसले ठूलै तरंग सिर्जना गरेको छ ।
एकैछिन विगत फर्कौँ । कुनै दल आफ्नो संस्थापनको सिद्धान्तमा हिँडेका छैनन् । आफ्ना दार्शनिक सिद्धान्त लत्याएर स्वार्थमा फुटेका छन् । फेरि केही समयपछि तत्कालको स्वार्थका लागि जोडिन गएका छन् र जोडेको भाँडा चुहिएजस्तै सैद्धान्तिक प्रतिबद्धता चुहाएका छन् । सिद्धान्तका भाँडो खोक्रो बनाएका छन् । नेता र तिनका दलको यो गैरनैतिक, गैरराजनीतिक दार्शनिक सिद्धान्तका यस्ता चलखेलले जनतामा घृणा उत्पन्न हुनु स्वाभाविक हो । यो घृणा उत्पन्न हुनु पनि अति आवश्यक छ किनकि चुनाव तत्काल आउँदैछ र यिनै कुरा विचारेर मात्र जनताले भोट हाल्लान् जस्तो लाग्छ किन पनि भने जनता परिपक्व भइसकेका छन् । कुनै नेता या दलले आश्वासन दिँदैमा भड्किने या किनिने छैनन् । मत बिक्रीमा राख्ने छैनन् ।
सबै पार्टीका नेता पद ओगट्नेमा मात्र सीमित छन् । एउटै पार्टी भित्रभित्रै दुई÷चार फ्याकमा विभाजित छन् । एकअर्कालाई गिराउने पक्षमा देखिन्छन् । यिनमा सिट बाँड्दा या पद दिँदा यति प्रतिशतको हिसाब लाग्छ । फुटेर जोडिएकाको लुछाचुँडले त झनै कमजोर हुने नै भए । प्रतिद्वन्द्वी रहँदा एकले अर्को नेतालाई लगाएको भ्रष्टाचारको आरोप र गाली जनमनमा गडिसकेको छ । यिनीहरू नै अंकमाल गरेर के देखाउन खोजेका हुन् ? के जनतालाई अभैm भेडा बाख्रा नै ठानेका हुन् त यिनले ? यस्ताबाट राष्ट्रले के पाउला ? कतै नयाँ संविधानअन्तर्गत हुँदै गरेको चुनावले पनि यस्तालाई मालिक र जनता नोकर नै बनाउने हो त ? यो निर्वाचनपछि पनि गुन्डागर्दी र माफिया हामीमाथि हावी हुने हो त ? चुनावमा नेताले यस्तैको सहयोग लिएपछि यस्तो अवस्था नआउला भन्न के बेर ? हाम्रा नदीनाला, ढुङ्गा–बालुवा, वनजंगल, जडीबुटी र चुरे जस्ता सम्पत्ति सबै बिक्री हुने त होइन ? चुलिएको महँगी र सर्वव्यापी सरकारी अड्डाका भ्रष्टाचार अभैm झांगिने त होइन ? स्थानीय चुनावपछिको अवस्था हेर्दा त खासै आशाजनक देखिएको छैन । चुनावअगाडिका प्रतिबद्धता बिर्सिसकेका देखिन्छ अहिलेसम्मका गतिविधि हेर्दा ।
यस्तो गैरजिम्मेवार, असैद्धान्तिक र भ्रष्ट आचरण सर्वत्र राजनीतिमा देखिएका बेला, जताततै स्वार्थ र लोभले राजनीति डुबेको छ । यति नै बेला भक्तपुरका सुप्रिम कमान्डर नै भन्न मिल्ने तर त्यहाँका जनताका सच्चा अर्थमा सेवक भनेर चिनिने व्यक्तिले यसपालि चुनाव नलड्ने घोषणा गरेपछि भने यसले ठूलै तरंग सिर्जना गरेको छ । सुनिश्चित आफ्नो जितलाई उनले पार्टीको युवा पिँढी सुदृढ बनाउने हेतुले त्यागे । स्वार्थबाट अलग्गिएर पार्टीलाई नै बलियो र स्वच्छ राख्नुपर्छ भनेर त्यसतर्पm लागे । आज अन्य कुन पार्टीको कुन नेताले यस्तो त्याग देखाएका छन् ? २०४६ सालपछि तत्कालीन जनआन्दोलनका सुप्रिम कमान्डर गणेशमानलाई प्रधानमन्त्री भइदिन राजा वीरेन्द्रले गरेका आग्रह उनले त्यागेका थिए । तर ३० वर्षअघिको त्यो घटनापछि यहाँ राजनीतिक कुचक्रहरू चालिए । यस्तो राजनीतिक अन्धकार छाएका बेला भक्तपुरमा एउटा उच्च राजनीतिक सिद्धान्त, नैतिकता र त्यागको उदाहरणको उदय भएको छ ।
यस्तो त्याग देखाउने व्यक्ति हुन् नारायणमान बिजुच्छे ‘रोहित’ । वर्तमान फोहोरी राजनीतिमा यो अचम्मलाग्दो विषय भए पनि उनको स्वभाव हेर्दा भने यो अपेक्षित थियो पनि । जसको निर्णय अन्य नेताहरूलाई पनि दबाब सिर्जना गर्न काफी देखिन्छ । रोहित संख्यात्मकरूपले सानो पार्टीका नेता भए पनि उनी ठूला काम गर्ने नेता हुन् । फोहोरी र गए÷गुज्रेको भक्तपुर सहरलाई उनले जसरी आज उदाहरणीय पर्यटकीय थलो बनाएका छन्, त्यसबाट नै प्रस्ट हुन्छ कि ठूला कुरा गर्ने नेताभन्दा काम गर्ने रोहित निकै उच्च कदका हुन् ।
मैले रोहितलाई २०३० सालतिर चिनेको हुँ । वीर अस्पतालमा काम गर्दा हप्ताको एक पटक मंगलबार भक्तपुर अस्पतालमा सेवा दिन सरकारले खटाएको थियो । त्यसबेला भक्तपुर अस्पतालमा डा. अशोकानन्द मिश्र नामक उदाहरणीय व्यक्ति मेडिकल अफिसर थिए । उनको श्रद्धा वामपन्थी विचार र चेगुवेभाराप्रति थियो । त्यसैले होला उनी रोहितका मित्र थिए । यिनै डाक्टरमार्फत रोहितसँग मेरो परिचय भएको थियो जुन सम्बन्ध अहिलेसम्म राम्रो छ । मैले चिनेका रोहित सिद्धान्तवादी, मन्त्री हुने चाहना पटक्कै नभएको र जनसेवामा मात्र रुचि राख्ने व्यक्ति हुन् ।
उनको पार्टीले हरेक वर्ष तिहारताका एउटा चियापान जमघट गथ्र्यो भक्तपुरमा । मलाई पनि निम्ता हुन्थ्यो । एकपटक म मञ्चमा थिएँ तर रोहित भने तल दर्शकमाझ थिए । यो साद्गीपन र कुनै उच्च पदमा जाने चाहना नभएको उनको व्यक्तित्वलाई लिएर सम्बोधनमा भनेथेँ– ‘रोहितजी अब तल नबसेर माथि नै आउनुपर्छ मुलुकका लागि ।’ आसय थियो कि उनी मन्त्री बनेर मुलुकमा विकास गर्न लाग्नुपर्छ । सोही भेलामा सहभागी खगेन्द्र संग्रौलाले एक लेखमार्फत मेरो कुरा काट्दै ‘रोहितजीले तलै बसेको बेस हुन्छ’ भनेर लेख्दै तलै बस्ने उनको सोचको प्रशंसासमेत गरेका थिए ।
रोहित कति संवेदनशील र दूरदर्शी छन् भन्ने अर्को सम्झना पनि ताजै छ– २०४६ सालको आन्दोलनलगत्तै मधेसी नेताहरूले खुल्लामञ्चमा हिन्दीमा भाषण गरे । त्यहाँ पञ्चका गुन्डाले पत्थरबाजी र ढुङ्गा प्रहार गरे । धेरै मेधसी नेता÷कार्यकर्ता घाइते भए । म त्यसबेला वीर अस्पतालमै कार्यरत थिएँ र तिनको उपचारमा संलग्न भएँ । यो घटनाले नेपालमा पहाड र मधेसबीच साम्प्रदायिक मनमुटाव आउला भन्ने डरले भोलिपल्टै समय मिलाएर त्यसबेलाका मधेसका सर्वश्रेष्ठ नेता गजेन्द्रनारायण सिंह भेट्न कालीमाटीमा उनी बसेका शंकर केडियाको घरमा पुगेँ । सर्वोच्च न्यायालयमा काम गर्ने वकिल पिताम्बर सिलवाललाई लिएर गएँ । गजेन्द्रबाबुसित मेरो प्रार्थना थियो कि यस घटनालाई साम्प्रदायिक नजरले नहेरियोस् र यो घटना पञ्चले गराएका हुन् भनेर लिइयोस् जुन सत्य पनि थियो । सिंह पूरै सहमत भए र भने– ‘डाक्टरसाब भोलि हामी मधेसीको जुलुस लिएर सिंहदरबारतर्पm जाँदैछौँ प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाउन । तपाईँले अन्य दललाई पनि खबर गर्नुहोस् र यो जुलुसमा साथ दिनूस् भनिदिनुहोस् ।’ मैले त्यसबेलाको आन्दोलन गर्ने सबै ठूला पार्टीका साथै रोहितलाई पनि खबर गरेँ । तर दुर्भाग्य, जुलुसमा त्यसबेलाका दुई ठूला पार्टी आइदिएनन् । आयो त खाली नेमकिपा मधेसलाई समर्थन दिन ।
यो घटनाले देशको अखण्डता र शान्तिप्रति रोहितको दूरदर्शिता र प्रतिबद्धता झल्काउँछ । आज जुन समस्या मधेसमा आइपरेको छ, त्यो त्यसबेलाका अन्य ठूला–ठूला नेताले त्यो प्रारम्भिक घटनालाई मामुलीतवरमा लिएर बेवास्ता गरेकाले आएको हो । रोहितले मात्र समस्याको गहिराइ त्यसबेला बुझेको जस्तो लाग्छ मलाई । अन्य पार्टी र नेताले त्यसबेला आफ्नो पूरै बलले मधेसीमाथि भएको अन्यायको विरोधमा त्यो जुलुसमा भाग लिएको भए या विरोध गरिदिएको भए अहिलेको यो समस्याको वृक्ष नै हुर्कन पाउँदैनथ्यो होला । त्यसैले पार्टी ठूलो हुँदैमा या नेता सधैँ सञ्चारमाध्यममा चर्चित हुँदैमा मुलुकको हित हुँदोरहेनछ ।
सधैँ टेलिभिजनमा छाइरहने अहिलेका ठूला नेताले भाषणमाथि भाषण र आश्वासनमाथि आश्वासन दिएको सुन्दा र देख्दा के भान हुन्छ भने यिनले समस्या अध्ययन नै नगरी खोक्रो बोलिराखेका छन् । उनले जनताको आवाज सुनेर आफूलाई सच्चाएको पनि देखिन्न । यहाँ यही सिलसिलामा रोहितबारे भनुँ– हालै कुनै एक अनुचित घटनालाई नेमकिपाले समर्थन गरेको भनेर पत्रिकामा आयो । लगत्तै एक कार्यक्रममा मैले ‘नेमकिपाले ठूलो गल्ती ग¥यो र यस्तो कुरा रोहितको पार्टीले गर्छ भन्ने म सोच्न पनि सक्दिन’ भनेँ । त्यो कुरा रोहितसमक्ष कसैले पु¥याएछ । मलाई तुरुन्तै नेमकिपाका सांसद प्रेम सुवालले फोन गरेर भेट्ने कुरा गरे । पछि देख्छु त, सुवालसँगै रोहित पनि आएका रहेछन् । छक्क परेँ । दुवैजनाले त्यो विवादित घटना नभएको प्रमाणसहित मलाई चित्त बुझ्नेगरी बुझाए । उनीहरू जनताको एकल आवाजलाई पनि कति महŒव दिँदारहेछन् भन्ने यसबाट प्रस्टिन्छ । लोकतन्त्रमा यसो हुनुपर्छ भन्ने थाहा थियो तर त्यसको सही कार्यान्वयन यहाँ देखियो । साधारणतः नागरिक समाजले सही सल्लाह दिन खोज्दा कति नेता हामीबाट तर्सेर भाग्छन् र भेट्नै दिन्नन् किनकि उनीहरू आफ्ना कर्तुतबारे हामीलाई सफाइ दिनै सक्दैनन् तर यहाँ एउटा घटनाबारे साधारण मञ्चबाट एउटा व्यक्तिले बोलेको कुरालाई पनि यत्रो महŒव दिएर पार्टीकै सर्वोच्च नेता भेट्नै आउँछन् र चित्त बुझाएर फर्कन्छन् । यस्ता नेता भएपछि भक्तपुर किन नबनोस् ? अरु केहीमात्र पनि यस्तै नेता भए के मुलुक बन्दैनथ्यो र ?
रोहितका धेरै अवगुण पनि होलान् जुन मलाई थाहा नभएको । तर उनले राष्ट्रका लागि गरेर देखाएका काम, उनले देखाएका राजनीतिक सैद्धान्तिक कदमको मात्रै चर्चा यहाँ गर्न खोजिएको हो । उनलाई पूरै चिरफार गर्न खोजिएको हैन । त्यसैले हामी प्रार्थना गरौँ कि मुलुकका सबै नेताले केही मात्रामा भए पनि नारायणमान बिजुक्छे ‘रोहित’ जस्तै हुन र गर्न सिकून् । उनको त्याग, सिद्धान्त र कार्यशैली अध्ययन गरुन् र प्रेरणा लिउन् । दत्तात्रेयका धेरै गुरु थिए र त्यसैले सबैसित सही शिक्षा लिएर उनी महान् सन्त भए । हाम्रा नेताहरूले पनि राम्रो शिक्षा जताबाट होस् लिएर जनताको सेवामा लागे मुलुकले अरु बढी दुःख भोग्न नपर्ने थियो कि ? र, अनिमात्र सर्वश्रेष्ठ राज्य गर्ने नीतिले दर्शाएको ‘सर्वेभवन्तु सुखिनः’ को अनुभव गर्न र भोग्न पाउने थियो कि ? ‘राजनीति’ को सही अर्थ तबमात्र सार्थक हुने थियो ।
प्रकाशित: २७ कार्तिक २०७४ ०३:४९ सोमबार