६ पुस २०८१ शनिबार
image/svg+xml
विचार

नागरिक शिक्षा

लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलबीच समझदारी, सहयोग र लोकतान्त्रिक आचरणको ठूलो खाँचो पर्छ । एक दलले अर्को दलसँग शान्तिपूर्ण स्वस्थ प्रतिस्पर्धा र लोकतान्त्रिक व्यवहारअनुरूपको आपसी एकता र राष्ट्रिय हितका विषयमा एकबद्धता प्रदर्शन गर्नुका साथै बहुल विचारको सम्मान गर्ने संस्कृति विकास गर्न सकेमा मात्र सामाजिक रूपान्तरणको सम्भावना हुन्छ । लोकतन्त्रमा राजनीतिक दलहरूमा नेतृत्व विकासको खाँचो छ । जुन नेतृत्वले आफ्नो दलमात्र नभएर समग्र राष्ट्रलाई सही दिशामा डो¥याउन सक्छ । यसका लागि राष्ट्रियरूपमा नै मूलनीतिको आवश्यकता पर्छ । यो नीति निर्माणका लागि नागरिक शिक्षालाई मूल स्रोतका रूपमा स्वीकारी राजनीतिक प्रशिक्षणमा कार्यकर्तादेखि नेतासम्मलाई संलग्न गराइनुपर्छ ।
अहिले हाम्रा देशका अधिकांश नेतामा भनाइ र गराइमा एकदमै फरक देखिन्छ । देशका ठूलाबडा नेताले जे भन्छन् त्यही गर्न किन नसक्ने ? अथवा गर्न सक्ने काममात्र गर्छु किन नभन्ने ? नेपालमा सरकारदेखि नेताहरूसमेत आफूले बोलेका कुरा पु¥याउने गरेका छैनन् । नेताहरू बिहान एउटा बोल्छन्, बेलुका अर्कै कुरा गर्छन् । छेपाराले रूप बदलेझैँ हाम्रा प्रायः हरेक नेताले बोली बदलिरहेका छन् ।
असल समाजको अपेक्षा सबैको हुन्छ तर तद्नुरूप गतिविधि र क्रियाकलाप भने कमै भएको पाइन्छ । असल समाज कसरी निर्माण गर्ने सम्बन्धमा बहस र छलफल पनि खासै गरेको पाइँदैन । एक समूहले मानेको असल समाज अर्को समूहका लागि कम असल पनि हुन सक्छ । जे भए तापनि यथार्थ र सत्यको धरातलमा उभिएको आदर्शलाई विचलित भने पार्नुहँुदैन । हाम्रो मान्यताअनुरूप शान्ति, समुन्नति, स्वतन्त्रता र न्याय असल समाजका आधारभूत कुरा हुन । असल समाज निर्माणमा नागरिक शिक्षाको गहनतम भूमिका हुन्छ । जसले प्रजातन्त्र, समानता र मानव अधिकारको अभ्यास गराउँदै यिनलाई पूर्ण बहाली गराउन शक्ति र अधिकारको केन्द्रीकरणबाट स्थानीय स्वायत्त शासनको अवधारणातर्फ उन्मुख गराउँछ ।
नागरिक शिक्षाले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक संस्कृति जस्ता महŒवपूर्ण विषयमा स्थानीय निकायको नै निर्णायक भूमिका हुनुपर्छ भन्ने दृढतापूर्वक बहस गर्दै आएको छ । सामाजिक परिवर्तनलाई व्यवस्थापन गर्न नागरिक शिक्षालाई नयाँ ढंगले अगाडि बढाउनुपर्छ । समाजका गतिशील पक्षबीच समन्वय र सामञ्जस्य नगराइ हँुदैन । समाजमा मेलमिलाप र एकअर्कालाई सहयोग गर्ने भावना अभिवृद्धि गर्ने काम नागरिक शिक्षाबाट नै हुने हो ।
समाजमा सामूहिक भलाइबिना मानिस टिक्न सक्दैन । जसरी पानीबिना माछाको अस्तित्व रहँदैन त्यस्तै समाजबिना मानिसको विकास पनि सम्भव छैन । व्यक्ति आफ्नो स्वार्थमात्र हेरेर सामूहिक भलाइ बिर्सन्छ भने अन्ततः त्यही व्यक्तिको कुभलो हुन पुग्छ । यसरी व्यक्ति र समाजको अन्योन्याश्रित सम्बन्ध छ भनेर नागरिक शिक्षाले सिकाउँछ । हरेक मानिसको आफ्ना चाहना हुन्छन् र आफ्ना चाहना पूरा गर्न खोज्दा अरुको चाहनामा बाधा पु¥याउन हँुदैन । सामूहिक भलाइभित्र व्यक्तिको पनि भलाइ हुन्छ भन्ने कुरा नै ध्रुवसत्य ठहर्छ । समाजको आन्तरिक विविधता वैमनस्यका रूपमा परिणत भए समाज विकासमा ठूलो अवरोध खडा हुन्छ । त्यस समाजमा विद्यमान हत्या, बलत्कार, चोरी, डकैती, लुटपिट, गुन्डागिरी, अवैध धन्दा, चोरी निकासी जस्ता अपराध नियन्त्रण गर्न पनि सक्तैन । यसैले समाजमा सबै व्यक्ति मिलेर आपसी सहयोग र सद्भाव आदान–प्रदान गरी मिलिजुली बस्नुपर्छ भन्ने शिक्षा दिने काम नागरिक शिक्षाले नै सिकाउने हो ।
लोकतान्त्रिक समाजमा प्रत्येक नागरिक सदस्यका रूपमा मान्यता पाएको हुन्छ । सदस्यता पाउनु भनेको नै आफ्नो हक तथा अधिकारप्रति सचेत रहनु हो । यो चेतना समाजका सदस्यहरूको सक्रिय सहभागिताबाट नै प्रस्फुटन हुने हो । समाजका कुनै पनि सदस्यले हरेक कुरा नबुझी नस्वीकार्ने, हरेक विषयमाथि छलफल गरी समालोचनात्मक दृष्टिले विचार राख्ने, चित्त बुझेमा वा ठीक लागेमा मात्र स्वीकार्ने बानी बसाल्ने काम सिकाउने शिक्षा नै नागरिक शिक्षा हो ।

प्रकाशित: २३ कार्तिक २०७४ ०२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App