२५ वर्षअघिको र आजको काठमाडाँै सम्झिँदा आङ नै सिरिंग हुन्छ । कारण, हिजोआज बाटोमा हिँड्दाहिँड्दै मरिरहेका छन् मान्छे । कोही खाल्डोमा खसेर, कोही दिनदहाडै गोली लागेर । सुरक्षाको प्रत्याभूति छैन यहाँ । राजनीतिमा संलग्नहरू आफू अनुकूल कानुन बनाउँछन् । पिछडिएका वर्गबारे चिन्ता कसले गर्ने ? न्यायपालिका पनि बिकेजस्तो छ अब त ।
दैनिक जीवनयापन कठिन र झन्झटिलो छ । लैनचौरमा लामबद्ध हुँदै विदेश उड्न बाध्य छन् युवा शक्ति । तैपनि राजधानीको जाम र धूलो उस्तै छ । अनि उस्तै छ, सार्वजनिक यातायातभित्र नागरिकको दुर्दशा । दलीय झन्डाप्रतिको नागरिकको अथाह मोह बुझिनसक्नु छ । नेताहरू घरघरमा गई भोट माग्दा र चेपारेर निवेदन गर्दा, प्रश्न गर्ने आँट पनि राख्दैनन् । उल्टो घर नै पवित्र भएको अभिव्यक्ति दिन्छन् । आफूले खसाल्ने मतको शक्ति कति छ भनेर अन्दाज पनि छैन । कहिले ‘जन्तु’सरह भएर नुनको सोझो गर्ने प्रयास गर्छन् अनि कहिले ‘जन्ती’सरह भएर आफ्ना नेताहरूको पछि लाग्छन् । ‘जन्तु’ र ‘जन्ती’बाट कहिले र कसरी सचेत ‘जनता’ हुने ?
यसरी हुने
१) चुनावको उद्देश्य थाहा पाउने ः चुनाव लोकतन्त्रको सबल पक्ष र लोकप्रिय प्रजातान्त्रिक पद्धति हो भन्ने बुझ्ने ।
२) मतदानको महŒव बुझ्ने ः देश कसको हातमा जिम्मा लगाउने भन्ने कुराको निर्णय आफ्नै मतले गर्छ भन्ने कुरा बुझी, हल्लाका पछि नलागी, आत्मनिर्णय गरी मतदान गर्ने । हार र जितको सम्भावनाका आधारमा कहिल्यै
पनि निर्णय लिनु हुँदैन ।
३) नागरिक हुनुको दायित्व थाहा पाउने ः अधिकारका लागि आवाज उठाउनुभन्दा पहिले कर्तव्य पनि निर्वाह गर्नुपर्छ । नागरिक भइसकेपछि मुलुकप्रति निर्वाह गर्नुपर्ने केही कर्तव्यमध्ये मतदान पनि एक हो ।
४) सपना देख्ने ः आफ्नो गाउँका समस्या केलाउने र प्राविधिक युगका नागरिकसँग मिलेर सपना पूरा गर्न गच्छेअनुसार पहल गर्ने ।
५) उम्मेदवारको पृष्ठभूमि हेर्ने ः उम्मेदवारको घोषणापत्र राम्रोसँग पढ्ने, त्यसपछि उम्मेदवारको योग्यता, लगनशीलता र क्षमताको विश्लेषण गर्ने । पुरानै नेता हो भने उसले आफ्नो कार्यकालमा गरेका गतिविधि सम्झने, प्रश्न गर्ने ।
६) प्रलोभनमा नफस्ने ः हामीलाई एक–दुई छाक भोज होइन, नेताहरूबाट दिगो शान्ति, सुरक्षा र समृद्धि चाहिएको छ । त्यसैले क्षणिक रमाइलो त्यागेर भए पनि स्थायी आनन्द प्राप्तिको पहिलो कदम चाल्ने । इमान कदापि बेच्नुहुन्न । आज हामीलाई किन्न सक्नेले भोलि बेच्न नसक्ला ?
मतदान नगर्नु भनेको ‘हुन्छ सरकार, तिमीले जे गरे पनि म मौन बस्छु, म सहन तयार छु’ भन्नु हो । मतदान नगरी चुनाव नै बहिष्कार गर्नु, गलत पार्टी र पात्रलाई मत दिनु भनेको आफ्नै खुट्टामा बन्चरोले हाल्नु हो । उत्कृष्ट नेतृत्व छान्न पाउनु नागरिकको अधिकार पनि हो र दायित्व पनि । त्यसैले प्रबल इच्छाशक्ति भएको नेतृत्वलाई मात्र मुलुक जिम्मा लगाउनुपर्छ, बडो होस पुर्याएर । यही बेला हो हामीले होसपूर्वक कदम चाल्ने, नत्र भोलि पछुताउनुपर्ने हुन्छ । ‘होस्, जसले जिते जितोस्’ नभनौँ, बडा होस गरौँ ।
प्रकाशित: २१ कार्तिक २०७४ ०४:३१ मंगलबार