१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

चुनावी तालमेलको रौनक

‘राजनीतिमा जे जस्तो पनि सम्भव हुन्छ ?’ सामान्य जस्तो लाग्ने यो प्रश्नको उत्तर दिन सहज छैन । किनभने राजनीति राजनीति जस्तो चल्दैन, चलाइँदैन । राजनीतिका सिद्धान्त र दर्शन मुलुकको सामाजिक, राजनीतिक, भूराजनीतिक अवस्थितिअनुसार अनुमोदन हुनुपर्छ, अर्थात् जनताले स्वीकारेको हुनुपर्छ । त्यसबेला भने जे पनि सम्भव हुन्छ, तिनै असम्भवलाई सम्भव बनाउने खेलो हुँदै छ यसबेला ।
हामी संघीय अर्थात् प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा होमिएका छौँ । आगामी मंसिर १० र २१ गते हुने चुनावलाई लिएर राजनीतिक दलहरूमात्र होइन, यहाँ हाम्रा संवैधानिक निकायसमेत राजनीतिमा ओर्लिएको अवस्था देखिँदै छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बेग्लाबेग्लै मतपत्र छाप्ने कि निर्वाचन आयोगले तयार गरेको एउटै मतपत्रबाट काम चलाउने अघिल्लो साता चर्चामा रहेका मामलालाई मसिनोसँग केलायो भने धेरै कुरा छर्लंग हुन्छ ।
राजनीति गर्नेहरूका कुरा एकछिन पन्छाऔँ । संवैधानिक निकायहरूको मतमतान्तर पनि सतहमा आयो । अहिले त्यो मामला सल्टिसकेको छ, आयोग फरक फरक मतपत्रबाट जनताको अभिमत लिने तयारीमा जुटिसकेको छ । त्यसैले साम्य भएको यो मामलामा एउटै मात्र प्रसंगको चर्चा गरौैँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पत्रकार सम्मेलन गरेर मतपत्रका कारण चुनावको मिति पछाडि धकेल्ने प्रयासमा सरकार रहेको आरोपमात्र लगाएन, त्यस्तो अवस्था आएमा संसद् ब्यूँताउने घोषणा गरे । संसद् ब्यूँताउन सभामुख ओनसरी घर्तीले भूमिका खेल्ने कुरा पनि उनले बताए । पुष्पकमलको विचारमा विधिवत् अन्त्य भएको संसद् पनि ब्यूँताउन सकिन्छ, उनलाई आवश्यक प¥यो भने । संविधान बनाउने मुख्य अभिभारा पूरा गरेर अन्त्य भएको संसद ब्यूँत्याउने कुरा राजनीतिका कोरा गफमा बाहेक सम्भव देखिँदैन ।
सम्भवतः राजनीतिमा असम्भव केही हुँदैन, राजनीति गर्नेहरूले यस्तै सोच्छन्, यस्तै भन्छन्  पनि । तर नेताका कुरालाई जनता अहिलेको सन्दर्भमा मतदाताले आँकलन गर्दै होलान्, जुन आसन्न चुनावमा प्रकट हुनेछ । संविधान निर्माणपछि आमजनताले सायद सोचेका थिए, अब मुलुक प्रगतिपथमा लम्कन्छ, राजनीतिक स्थायित्व हुन्छ । तर त्यस्तो होइन रहेछ । प्रमुख राजनीतिक दलहरू अहिले लोकतान्त्रिक र वामपन्थी कित्तामा उभिएका छन् र एकले अर्कोमाथि आरोपको खेती गरिरहेका छन् ।
विकासको मूल फुटाउने र लोकतान्त्रिक राजनीतिक व्यवस्थाको वकालत गर्ने कांग्रेसको सबैभन्दा बढी चिन्ता वामपन्थी गठबन्धन निर्माण हुनुसँग रहेछ । आफ्नो घोषणापत्रमा वामपन्थी गठबन्धनप्रतिका आरोप छन् । कांग्रेसले लगाएका आरोपहरूको खण्डीकरण–स्पष्टीकरण दिने चेष्टा गर्नेछ, वामपन्थी गठबन्धनले । त्यसबेला कांग्रेसले लगाएका आरोपजस्तै एमाले, माओवादी मिलेर अहिलेको संविधानमा व्यवस्थित राजनीतिक प्रणाली परिवर्तन गर्ने उद्घोष आउने सम्भावना छ । यदि त्यस्तो अवस्था आयो भने संविधानप्रति धोका हो ।
निश्चय पनि वामपन्थी गठबन्धनको मुख्य ध्येय चुनावपछिको सत्ता राजनीति हुनुपर्छ । प्रचारमा एकीकरणका बृहत् योजना पस्किएको भए पनि व्यवहारमा कसले कहाँबाट चुनाव लड्ने त्यो सौदाबाजी साठी र चालिस प्रतिशतका आँकडामा छ र दुवै दल आआफ्नै चुनाव चिह्नबाट चुनावी मैदानमा उत्रनेछन् । साठी र चालिस प्रतिशतको सैद्धान्तिक विभाजनमा एमाले उदारमना देखिएको छ । खास गरेर एमालाई गैरवामपन्थी राजनीतिक दलका रूपमा लिनेहरूको संख्या ठूलो छ नेपाली समाजमा । क्याडेर बेस भए पनि लोकतान्त्रिक अभ्यासका कारण कांग्रेसलाई भोट हाल्न नसक्ने ठूलो जमात एमाालेलाई साथ र समर्थन गर्दै आएको हो । उसको अहिलेको गठबन्धनका कारण त्यस्तो जमातको मोह भंग भएको हुनसक्छ । स्थानीय चुनावको गणितको गणना गर्दै वामपन्थी गठबन्धनले जताततै विजयी हुने आँकलन प्रसारित भइरहेको अवस्था छ । स्थानीय तहको चुनावको गणित जस्ताको त्यस्तै प्रतिनिधिसभा र प्रदेश सभामा प्रतिविम्बित हुने होइन । सबैभन्दा महत्वपूर्ण कुरा दुवै दल एकीकरणको विन्दुसम्म पुगेको अवस्थामा मुलुक वामपन्थी बाटोबाट अगाडि बढ्नेछ । त्यो यात्रामा एमालेका कुन कुन नेता कसरी किनारा लाग्ने हुन् र माक्र्सवादी एमालेमा माओवादी रुझान कत्तिको र कसरी हाबी हुने हो ? माओवादी अध्यक्षका विगतका अभ्यास र राजनीतिक पृष्ठभूमिलाई केलाउने हो भने वामपन्थी गठबन्धनबाट ठूलो राजनीतिक घाटा खेप्दै छ एमाले ।
यो चुनावी तालमेल मात्र हो भने यो गठबन्धनबाट एमालेले आफू एक्लै चुनावमा उठेभन्दा धेरै पाउनेवाला छैन । उता माओवादीका उम्मेदवारहरू भने एमाले मतदाताको मतबाट राम्रै परिणाम हात पार्नेवाला छन् । टुटफुटबाट कमजोर बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल कहिले कांग्रेस, कहिले एमाले चहार्दाचहार्दै बलिया बनेका छन् । एमालेको अहिलेको वामपन्थी रचना कांग्रेसलाई तह लगाउन उपयोगी हुनसक्छ तर त्यस्तो सूत्रले एमाले आफैँ कमजोर बन्ने र माओवादीलाई उकास्ने सम्भावना भने यसमा छ । माओवादीबारे कांग्रेस घोषणपत्रमा लेखिएको कुरा एमालेका लागि पनि काम लाग्न सक्छ । कांग्रेसले भनेको छ, ‘कहिले एमालेसँग सरकार बनाउन र कहिले कांग्रेससँग सरकारमै बसी प्रतिपक्षसँग गठबन्धन गर्ने गम्भीर वैचारिक विचलन र भरोसा गर्न नसकिने पार्टीको रूप बन्दै आएको छ ।’ काग्रेससँग सत्ता साझेदारी गर्दै स्थानीय चुनावमा राम्रो हैसियत कमाएको माओवादी केन्द्रका अध्यक्ष दाहालले पुत्रीलाई चितवन महानगरको साँचो सुम्पन्न सफल भए । यसमा कांग्रेसले हदैसम्मको गैरलोकतान्त्रिक आचरण देखाएको थियो । अहिले कांग्रेस माओवादीबाट नराम्ररी झस्किएको छ ।
अहिले दाहाल चितवन–३ बाट चुनावी मैदानमा छन् र उनको प्रत्यासीमा कांग्रेसको समर्थनप्राप्त राप्रपाका नेता विक्रम पाण्डे छन् । माओवादी जगजगीका बेला सुरक्षित हुनसकेका निर्माण व्यवसायी पाण्डे माओवादी, माक्र्सवादी, समाजवादी, राजावादी सबै खाले भोट चोर्न सिपालु मानिन्छन् । पछिल्लो संविधानसभा निर्वाचनमा उनी चितवन –५ बाट विजयी भएका थिए भने –४ बाट कांग्रेसका सुशील कोइराला निर्वाचित भएका थिए । चितवनका –४ र –५ मिलेर अहिलेको –३ नम्बर क्षेत्र बनेको हो । पुष्पकमलको राजनीति अब एमाले कार्यकर्ताको हातमा छ । हेरौँ, वाम गठबन्धनले केसम्म गर्छ !

प्रकाशित: १६ कार्तिक २०७४ ०४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App