२३ श्रावण २०७७ शुक्रबार
विचार

पूर्वराजाको बाजा र धुन

वामपन्थी दलहरू र नेपाली कांग्रेसबीचको दूरीबाट फाइदा उठाउँदै राजा महेन्द्र र वीरेन्द्रले तीन दशकसम्म पञ्चायती व्यवस्थाको नाममा आफ्नो प्रत्यक्ष शासन कायम गरे। त्यसअघि अर्थात सातदेखि सत्र सालसम्मको एक दशकको अवधि पनि राजालाई पार्टीबीचको असमझदारीबाट लाभ भएको थियो । त्यसबेला पार्टीबीच राजनीतिक प्रतिस्पर्धा होइन, सत्ताको छिनाझपटीका कारण उत्पन्न वैमनष्य थियो । त्यही कारण राजाका लागि सम्पूर्ण अधिकार आफ्नै हातमा लिई संसद्समेत भंग गर्न सम्भव भएको थियो । २०५८ साल जेठमा राजा वीरेन्द्रको वंश विनाश भएपछि सिंहासनमा आसीन हुन पुगेका ज्ञानेन्द्रलाई दलबीचको अस्वस्थ्य प्रतिस्पर्धाले यति हौस्यायो कि उनी देखिने र सुनिने राजाको भाष्यका साथ सक्रिय राजनीतिक भूमिकामा ओर्लिए । तर २०६१ माघमा आफ्नै हातमा सारा अधिकार केन्द्रित गर्ने ज्ञानेन्द्र २०६३ वैशाखमा पुगेर तत्कालीन सात दलीय गठबन्धनसामु सम्पूर्ण अधिकार त्याग्न बाध्य भए । त्यसपछि नेपाली राजनीति अनेक घुम्ती पार गर्दै यहाँसम्म आइपुगेको छ । यसबीच दुई–दुईवटा संविधानसभा निर्वाचन सम्पन्न भइसकेका छन् । संविधानसभाबाटै संविधान निर्माणसमेत भएर त्यही संविधानबमोजिम स्थानीय तहको निर्वाचन सफलपूर्वक सम्पन्न भइसकेको छ । प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनको प्रक्रिया सुरु नै भइसकेको छ, उम्मेदवारहरू मैदानमा ओर्लिसकेका छन् । यस परिवेशमा पूर्वराजा ज्ञानेन्द्र शाहले किन भने कि समय आयो, नेतृत्व लिन म तयार छु ।

अहिलेको नेपालको शक्ति समीकरणमा उनले आफ्नो यथार्थ हैसियतलाई बढी आँकेका हुन् वा उनले बाह्य शक्तिको समेत हरियो संकेत पाएका हुन् ? कि उनले एक दशकसम्म पनि गद्दीच्युत भएको सत्य अंगीकार गर्नै सकेका छैनन् ? केही प्रश्न समसामयिक राजनीतिमा चासो राख्ने जोकसैको मनमा उब्जनु स्वाभाविकै हो । सबै जनताको इच्छा भए जिम्मेवारी लिन तयार छु भन्ने शाहको अमूर्त वक्तव्यले निर्वाचनमय भएको देशमा कुनै तरंग उत्पन्न गराएको छैन । कतिलाई लागेको छ, शक्तिको भोक उनले निरन्तर व्यक्त गर्दै आएका छन् । यो कुनै नौलो कुरा होइन ।

चाडवाडको मौका पारेर दिइएको वक्तव्यबाट उनले ६३ सालयताका सम्पूर्ण राजनीतिक प्रक्रिया नकारेको अर्थ ग्रहण गर्न सकिन्छ । उनको वक्तव्यको सबैभन्दा खतरनाक पक्ष यही हो । कसैलाई उनी चुनावी प्रक्रियाबाटै सक्रिय राजनीतिमा आउन चाहेका हुन् कि भन्ने पनि लागेको हुन सक्छ । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताको अघिल्लो दिन उनको फेरि राजनीतिक नेतृत्व हासिल गर्ने इच्छा सार्वजनिक भयो । त्यसैले उनको वक्तव्यलाई यही प्रणालीअन्तर्गत राजनीति गर्ने पूर्वराजाको इच्छाका रूपमा बुझ्न पनि सकिन्छ । मदन भण्डारीले ४६ सालपछिको राजनीतिक परिवेशमा तत्कालीन राजालाई राजनीति गर्ने इच्छा भए श्रीपेच फुकालेर चुनावी मैदानमा आउन ललकारेका थिए । कतिलाई लाग्दैछ, वीरेन्द्रका भाइलाई अब त्यो चुनौती स्वीकार गर्ने अवसर आइलागेको छ । तर उनको इच्छालाई जनताकै तहबाट जनता भएर राजनीति गर्ने आकांक्षाका रूपमा बुझिएको छैन । नेपालमा शक्तिबाट फ्याँकिएका राणा वा भारतमा राजा वा रजौटा निर्वाचनको राजनीतिमा सहभागी हुँदै आएका छन् । उनीहरू राजनीतिको मूलधारमा नयाँ प्रक्रियाबाट समाहित पनि भएका छन् तर पूर्वराजाको वक्तव्यको आशय त्यतिमात्रै हो भन्ने देखिँदैन ।

गणतन्त्र नेपालमा दुई–दुई जना राजनीतिक व्यक्तित्व एकपछि अर्को गर्दै राष्ट्रपतिको पदमा आसिन भइसकेका छन् । आसन्न निर्वाचनपछि देशले तेस्रो राष्ट्रपति पाउँदैछ । निर्वाचित संसद्बाटै प्रधानमन्त्री चयन हुँदै आएको छ । तर यी यावत् प्रक्रियालाई फेरि शून्यमा पु¥याएर आफ्नो नेतृत्व स्थापित गर्ने उनको इच्छा केवल उनको लहडमा अभिव्यक्त भएको होइन । संविधान जारी भएपछिका दिनमा नेपालमाथि नाकाबन्दी लगाउनु गलत थियो भन्ने नयाँ दिल्लीलाई पनि लाग्न थालेको चर्चा हुन थालेको पनि निकै भइसक्यो । वस्तुतः भारतको विगतको नेपाल नीतिका सम्बन्धमा त्यहीँ पुनर्विचार हुन थालेको परिप्रेक्ष्यमा ज्ञानेन्द्र शाहले पुरानै धुन बजाएको बुझ्न सकिन्छ । वाम एकतापश्चात देशी–विदेशी प्रतिक्रिया र हतासबीच उनले फेरि आफ्नो बाजाको धुलो पुछ्नु स्वाभाविकै हो । यही परिप्रेक्ष्यमा उनमा सौदावाजीको नौलो मौका प्राप्त गर्ने लालसा जागृत भएको हुन सक्छ । उनको तत्परतालाई स्थापनाकालदेखि ६२ सालसम्म सधैँ संवैधानिक राजतन्त्रको पक्षपोषण गर्ने नेपाली कांग्रेसको पुरानै सैध्दान्तिक धरातलको स्मरण गर्दै स्वाभाविक ठह¥याउन खोजिएको पनि देखिन्छ । आउँदा दिनमा देशको शक्ति सन्तुलन कसरी कायम हुनेछ त्यही आधारमा ज्ञानेन्द्र शाह वा पुरानो दरवारको स्थान निर्धारण हुनेछ ।

सन् १९५२ मा अपदस्थ इजिप्टका राजा फारुकले चाँडैं नै विश्वमा तासका चार राजाका अतिरिक्त बेलायतका राजामात्र कायम रहने भविष्यवाणी गरेका थिए । तर बेलायतमै हिजोआज सन् २०३० को दशक नै राजतन्त्रको आखिरी समय हुन सक्ने विश्लेषण गरिएको पाइन्छ । इतिहासकारहरूको अध्ययनका आधारमा त्यहाँको लोकप्रिय दैनिक द इन्डिपेन्डेन्टले गत वर्ष महारानीको नब्बेऔं जन्मोत्सवका अवसरमा छापेको एउटा गहन समाचार कथामा अध्येतालाई उधृत गर्दै जनायो– सन् १९५२ देखि निरन्तर गद्दीमा रहेकी एलिजावेथ द्वितीयपछि बेलायती राजतन्त्रको निरन्तरता कठिन हुनेछ । समाचारमा वेलायती राजतन्त्रको उद्देश्य र औचित्य असान्दर्भिक भइसकेको तर्क त्यस्ता विश्लेषकले प्रस्तुत गरेका छन् । बेलायती राजतन्त्रप्रतिको सर्मथन महारानीप्रतिको समर्थन हो, राजसंस्थाप्रतिको होइन भन्ने निष्कर्ष अध्येताहरूको छ । महारानी एलिजावेथको निष्पक्ष भूमिका र राजनीतिप्रतिको निस्प्रिह व्यवहारका कारणमात्र यो सम्भव भएको हो भन्ने गरिन्छ । एकानब्बे वर्षीया महारानी ६५ वर्षदेखि सिंहासनमा छिन् । उनको प्रथम सन्तान चाल्र्स नै ६९ वर्षका भइसके ।

नेपालमा पनि राजा वीरेन्द्र, उनका उत्तराधिकारी दीपेन्द्र र उनको सपरिवारको रहस्यमय हत्यापछि राजतन्त्रको औचित्यमाथि गम्भीर प्रश्न खडा भएको परिप्रेक्ष्यमा गणतन्त्रको उदय भएको हो । बितेका एक दशकमा नेपालको लोकतान्त्रिक गणतन्त्रले अपेक्षाकृत गतिमा सामाजिक रूपान्तरणलाई अघि बढाउने बाटो खोल्न नसकेकै हो । यसबीच दलका नेताहरूको लोकप्रियता ओरालोतर्फ लागेकै हो । तर नेपाली लोकतन्त्र असफल भएर यसको वृत्त बाहिरबाट कुनै स्वघोषित सुवासयुक्त नेतृत्व खोज्नुपर्ने अवस्था आएको छैन ।

नेपाल यतिखेर प्रभावकारीरूपमा स्थायित्वको बाटोतर्फ लाग्दैछ । एकातिर देखिंँदैछ, जति संकट भोग्नु थियो, भोगे नेपालीले । अर्कोतिर दस वर्षे हिंसामा संलग्न हुनेहरूले नै परोक्षरूपमा गल्ती स्वीकारेका छन । समयक्रममा सबैका क्रियाकलापको विहंगम सिंहावलोकन हुनेछ । यसबीच नेपालमा राष्ट्रिय जागरणको अपूर्व लक्षण देखिएका छन् । स्थानीय तहको निर्वाचन मधेसमा पनि सफलमात्र भएको छैन, जातीय वा साम्प्रदायिक सद्भावको नयाँ लहरसमेत प्रारम्भ भइसकेको छ । सात प्रदेशमा अधिकार विकेन्द्रित भएपछि विकास र समृध्दिको नयाँ युगको सुरुवात हुने उत्साहका साथ मतदाता मतदानको घडी पर्खिरहेका छन् । नेपाली नागरिक यही प्रतिस्पर्धात्मक परिवेशमा आफ्नो कुशल नेतृत्वकर्ता खोजिरहेका छन् । पूर्व श्री ५ लाई मात्र होइन, नेपाली राजनीतिमा अधिक चासो दिने बाह्य शक्तिलाई पनि यो कुराको हेक्का राम्रैसँग छ । त्यसैले बाजा बज्नु एउटा कुरा हो, प्रभावकारी ध्वनि तरंग सबै युगमा बाजाले प्रसार गर्न सक्दैनन् ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित: ८ कार्तिक २०७४ १०:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App