६ वैशाख २०८१ बिहीबार
विचार

यौनको भर्‍याङ मा हो प्रेम ?

भैरहवा विमानस्थल पुग्न ई–रिक्सा चढेकी थिएँ । चालक अब्ररार हुसैनसँग कुराकानी चल्यो । यसै क्रममा मेरो साथीले जिस्काएरै अब्ररारलाई सोधेको थियो, ‘गर्लफ्रेन्ड छ होला नि, होइन भाइ ?’
‘प्रेम अरूसँग छैन साब ! राति–राति हो बूढीसँग मात्र ।’
काठमाडौँ आइसकेपछि पनि मलाई उनको त्यो जवाफ याद आइरह्यो । मैले यसबारे धेरै सोचेँ, आखिर रातिराति हुने कुरा नै हो त प्रेम ? प्रेम ! यस ब्रह्माण्डमा सबैभन्दा धेरै रुचाइएको शब्द । प्रेम शब्द नै पर्याप्त छ, मनलाई आल्लादित तुल्याउन ।  
प्रेम–सम्बन्ध संसारको उत्कृष्ट सम्बन्ध । उत्तिकै सुकोमल र सुन्दर पनि । हामी कल्पना गर्न सक्दैनौँ, प्रेमविनाको जिन्दगी । प्रेमविनाको त्यो उराठ–उदास जिन्दगी खै के जिन्दगी ? प्रेममा धोका ? विरक्तिएर सन्यासी–जोगी–ब्रह्मचारी बन्ने ?  अहँ !
जब प्रेम एकतर्फी हुन्छ, त्यहाँ पूजा हुन्छ । पूजा पनि प्रेमको एउटा रूप हो । भगवान्सँग हाम्रो एकतर्फी प्रेम, त्यो पूजा हो । प्रेमबारे धेरै बकबक नगरुँ म । यसको महिमा हजार जिब्रो भएका शेषनागले पनि सायद वर्णन गरेर सक्दैनन्, म ज्यादा के बोलूँ ! तर अब्ररारसँगको संवादपछि केही नलेखिरहन सकिनँ ।
अब्ररारको बुझाइमा प्रेम भनेकै यौन सम्पर्क हो । उनले जे बुझे, जे गरे त्यही भने, त्यो निर्दाेष सत्याभिव्यक्ति हो । मैले चिनेका धेरैजसो ‘बुद्धिजीवी’ वर्गको व्यवहारसमेत यस्तै देखेकी छु । प्रेम भनेकै यौन सम्बन्धका लागि भ¥याङ हो, उनीहरूका नजरमा । प्रेम गर्छु भनेर नजिकिन्छन्, तर सेक्स त परकै कुरा, किस नै खान नपाएकै कारण बोल्नै छोड्छन्, चिन्नै छोड्छन् । तर उनीहरूको लेखनीमा सिद्धान्त र आदर्शका कुरा भने बडा ठूलाठूला हुन्छन् ।    
एकथरी प्रेम र यौन बिल्कुलै अलगअलग हुन् भन्छन् । अर्काथरी प्रेम र यौन अलग होइनन् भन्छन् । मलाई शब्दमा भन्दा दृश्यमा विश्वास लाग्छ । यौन र प्रेम एउटै सिक्काका दुई पाटा हुन् कि जस्तो लाग्छ । प्रेममा यौन हुनसक्छ भने यौनभित्र प्रेम नहुन पनि सक्छ । अचेल प्रेमलाई यौनसम्म पुग्ने माध्यम बनाइँदै छ ।
सहरमा युवक–युवती, किशोर–किशोरीभन्दा पनि अधबैँसे महिला–पुरुषबीच विवाहेत्तर यौन बढ्ता देख्छु म । स्वास्नी, छोरा–छोरी भएका पुरुषहरूले बाहिर युवती राखेको प्रतक्ष्य देखेकी छु । धनीमानी अधबैँसे महिलाहरू पनि युवकहरूलाई हायर गर्छन्, यौनसम्बन्धका लागि भन्ने सुनेकी छु, देखेकी चाहिँ छैन । दुवैको राजीखुसीमा हो भने कसैको टाउको दुखाइ किन र ? तर, सेक्समा महिला जहिल्यै तल पर्छन् । पुरुष–पति–प्रेमीको एंगलबाट त्यो प्रेम होला, महिला–पत्नी–प्रेमिकाको एंगलबाट त्यो पीडा । मलाई लाग्छ, हाम्रा नब्बे प्रतिशत यौन सम्बन्ध बलात्कार हुन्, स्त्रीको अनुभवमा ।
म त भन्छु, हर किसिमले स्वतन्त्र हुन महिलाहरू आर्थिकरूपमा आत्मनिर्भर बन्न जरुरी छ । जबसम्म हामी पुरुषको दयाधर्मको जिन्दगीबाट माथि उठ्न सक्दैनाँै, तबसम्म कुनै पनि स्वतन्त्रता र आनन्दको स्वाद हामी सजिलै प्राप्त गर्न सक्दैनौँ । परिवार–समाज सम्हाल्ने ठेक्का महिलाहरूको मात्र पनि त होइन । यो थाहा हुदाँहुुदै पनि म किन सक्दिनँ, समाजको बेमेल संरचना बराबरीमा आउनुपर्छ भन्न ? ‘मर्द’की सात वटी ! कति सजिलो छ है ? ‘नामर्द’की सात वटा ? सात के दुइटै भनौँ त यहाँ कत्रा भुइँचालो जान्छ ?
    लगभग छ महिनाअघिको कुरा । बागबजारको एक कफी पसलमा पचास कटेका एक लेखक । उहाँ रुनुभयो मज्जाले, मेरो अगाडि । आफूजस्तै विवाहित महिला प्रेमिकाले आफूलाई धोका दिई भन्दै । यहाँ पनि अलमलमै परिरहे म । यो के हो ? ती लेखकका अनुसार उनकी प्रेमिकाले सुुरुवाती समयमा भनेकी थिइन् रे, ‘मेरो लोग्नेले सक्दैन ।’ अनि लेखक महोदयले भन्नुभयो रे, ‘मेरी स्वास्नीलाई पनि यसमा रुचि नै छैन ।”
यो त यौन मात्र हो नि, होइन ? यौन पूर्तिका लागि निर्मित सम्बन्धलाई प्रेम भन्न मिल्छ त ? पे्रमका लागि यौन कि यौनका लागि प्रेम ? लेखकको यौन परिपूर्तिपछि प्रेम बस्यो होला । प्रेमले उमेर, परिवार भन्दैन पनि । अब्ररार आफ्नी स्वास्नीलाई प्रेम गर्दैनन् भन्ने छैन । यौनलाई नै प्रेम ठान्ने अब्ररार हुुसैनको त्यो प्रेम, प्रेम नै हो । अर्काकी स्वास्नीसँगको सम्बन्ध टुट्यो भनेर रुने लेखकको पनि प्रेम, प्रेम नै हो, कि के हो ?
म अलमलमा छु । प्रेममा तर्क गरेर साध्य छैन । प्रेम र यौन, यीबीचको सम्बन्धको उठान त भयो, बैठान चाहिँ कहिल्यै कसैगरी सम्भव छैन । प्रेममा अनावश्यक जार्गन, क्वोट, थिसिस ? अहँ, जरुरी छैन ।

 

 

प्रकाशित: २८ भाद्र २०७४ ०४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App