२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

यो मौनताको अर्थ

बाइरोडको बाटोमा

केही दिनयता चौतर्फी मौनताको स्थिति अनुभव भइरहेको छ। बजारमा शून्यता छ। मानिसमा उत्साह कम देखिन थालेको छ। कतै यो आँधी आउनु अघिको सन्नाटा जस्तो त होइन ? एउटा अव्यक्त असुरक्षाभाव जस्तो देखिनु आफैँमा अहिलेको समयका निम्ति खतरनाक अवस्था हो।

यो अवस्थाप्रतिको अनुभूति प्रमुख नेतामा देखिएको छैन। लाग्छ, सबैजना एउटा पानीफोका (बबल) जस्तो स्थितिमा बसेका छन्।राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा ‘शाही कु’ गर्नुअघि यस्तै मौनताको स्थिति थियो। त्यतिबेला नेताहरूलाई राजाको सम्भावित कदमबारे प्रश्न गर्दा कुनै जानकारी हुँदैनथ्यो। अझ उनीहरू राजाबाट त्यस्तो कदम नचालिनेमा ढुक्क थिए।

समय फेरियो।जे हुँदैन भनिएको थियो, त्यही भयो। राजाले सम्पूर्ण राज्यशक्ति आफ्नो हातमा लिएपछि प्रमुख दलहरू ‘भुइँमा न भाँडामा’ को अवस्थामा रहे।अझ तिनलाई समर्थन गर्ने आधार अत्यन्त कमजोर रहेको थियो।

अहिले दलहरूले आफ्नो समर्थनको आधार गुमाएका छन्।यस्तो अवस्था रहे पनि समर्थकहरूको बीचमा ती रमाइरहेका देखिन्छ।आफू निकट व्यक्तिले लोकप्रियता रहेको बताइदिँदा तिनलाई साँच्चिकै हो भन्ने लाग्ने गरेको छ।यथार्थमा आममानिसमा कुनै किसिमको उत्साह नदेखिनु र तिनका विरुद्ध गतिविधि भइरहनु आफैँमा भयलाग्दो अवस्था हो।

देशका विभिन्न स्थानमा एकपछि अर्को घटना गराइँदैछ।अहिलेसम्म जातीय, धार्मिक र सामाजिक सद्भावमा रहेको नेपाली समाज क्रमशः विघटित हुँदै जान थालेको छ।अरूप्रतिको सहन क्षमता क्रमशः कमजोर हुँदैछ।सबैका विश्वास प्रणालीको सम्मानभन्दा आफैँ महत्त्वपूर्ण हुँ भन्ने भावनाले घरजम गर्न थालेको छ। 

प्रमुख दलका नेताले बितेका तीन दशकमा गरेका कमजोरीको शिकार मुलुक हुन लागेको हो। तिनले आफूलाई सुधार गर्दै नयाँ नेतृत्वलाई शक्ति हस्तान्तरण गरेका भए परिस्थिति फेरिन पनि सक्थ्यो।

हालैमात्र धरानमा हुन लागेको  सद्भाव विघटनको घटनाले पक्कै पनि जानिफकारहरूलाई केही सन्देश दिएको हुनुपर्छ।कुनै न कुनै रूपमा नेपाली समाजमा रहेको शान्ति र सद्भाव भड्काउने सुनियोजित प्रयत्न भइरहेका छन्।त्यसमा जानेर/नजानेर प्रयोग हुने र गर्नेहरूको सक्रियता देखिँदैछ।सर्लाहीमा एक/दुई दिनयता देखिएका घटनाक्रमले पनि यस्तै संकेत गर्दैछ।मानिसका भावनालाई उद्वेलित गराउने प्रयास भएका छन्।

यस्ता गतिविधि देशैभरि स–सानो रूपमा थाहा नपाउने गरी भइरहेका छन्। जब देशभरिका यस्ता घटना एक ठाउँमा जोडिन थाल्छन्, त्योबेलामा थामिनसक्नुको अप्ठ्यारो अवस्था आउन सक्छ।नेपाली समाजलाई जोड्ने तत्त्व किन कमजोर पारिँदैछ भन्नेमा कसैको ध्यान पुगेको छैन।जोड्नेभन्दा तोड्ने सक्रिय हुनुको कारण अहिलेको प्रणाली असफल छ भन्ने देखाउनका निम्ति पनि हो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै परिस्थिति क्रमशः कमजोर हुँदै जान थालेको देखिन्छ।नेपाल क्रमशः विभिन्न शक्तिराष्ट्रको खेल मैदान बन्ने र कसैले पनि गम्भीरतापूर्वक नलिने खतरा बढ्दै गएको छ।छिमेकी भारतमा भर्खरै जी–२० मुलुकको सम्मेलन आइतबार सम्पन्न भयो। छिमेकमा भएको त्यत्रो ठूलो आयोजनामा नेपालको ठाउँ कतै देखिएन।भारतसँग ‘विशेष सम्बन्ध’ रहेको भन्ने नेपाललाई वस्ता नगर्ने बरु बंगलादेशलाई पाहुनाको रूपमा बोलाएको देखिएको छ।अफ्रिकन युनियनलाई नयाँ सदस्य बनायो।मौरिससलाई भारतले पटक–पटक पाहुन सूचीमा राखेको छ।छेवैको नेपाल किन बेवास्तामा परिरहेको छ भन्नेमा ध्यान दिन सकिएको छैन।

भर्खरै नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्ले नेपालमा भारतीय प्रभावबारे खुलेर बोलेका छन्।त्यति मात्र होइन, नेपालले भारतलाई बिजुली बेचेको भ्रम भएको र यथार्थमा धेरै आयात गरेको स्थितिसमेत उनले  प्रकट गरेका छन्।यसले नेपालप्रतिको उनको असन्तुष्टि प्रष्टरूपमा प्रकट भएको देखिन्छ।एकातिर, भारतसँग नजिक भयो भनिएको छ, त्यस्तो हुन सकेको पनि छैन।अर्कोतिर, चीनले पनि निकट मान्न  सकेको छैन।

नेपाली समाजलाई जोड्ने तत्त्व किन कमजोर पारिँदैछ भन्नेमा कसैको ध्यान पुगेको छैन।जोड्नेभन्दा तोड्ने सक्रिय हुनुको कारण अहिलेको प्रणाली असफल छ भन्ने देखाउनका निम्ति पनि हो।

अमेरिकासँगको सम्बन्ध पनि उस्तै अप्ठ्यारोमा रहेको देखिन्छ।सबै मुलुकका रणनीतिक आवश्यकताले नेपालको महत्त्व बढेको भए पनि त्यसलाई सदुपयोग गर्ने क्षमता देखिएको छैन।सदुपयोग गर्न सकेको भए सबैले महत्त्व दिएका बेला नेपालले आफूलाई अगाडि बढाउन नसक्ने होइन।नेपालको महत्त्व इतिहासममै यतिबेला सर्वाधिक छ।अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिका कारण सिर्जित चुनौती अवसरका रूपमा पनि स्थापित हुन सक्छ।

यस्तो अवस्थालाई ध्यानमा राखेर अगाडि बढ्न सक्ने क्षमता कतै देखिएको छैन। प्रमुख दलका नेताले बितेका तीन दशकमा गरेका कमजोरीको शिकार मुलुक हुन लागेको हो।तिनले आफूलाई सुधार गर्दै नयाँ नेतृत्वलाई शक्ति हस्तान्तरण गरेका भए परिस्थिति फेरिन पनि सक्थ्यो।तिनका कमजोरीलाई प्रयोग गर्दै देशलाई नै अप्ठ्यारो पर्ने किसिमका घटनाक्रमतर्फ मुलुक अगाडि बढ्न सक्ने खतरा पनि उत्तिकै छ।

लोकतन्त्रको सुन्दर पक्ष भनेको समय–समयमा यसको नेतृत्व सहजै परिवर्तन हुनु हो।एउटै व्यक्ति लामो समयसम्म शासनमा रहँदा त्यसले प्रणालीगत विकृति पनि बढाउन सक्ने रहेछ भन्ने उदाहरण नेपाल हो।धेरैजसो निरंकुश नेता भएका मुलुकमा आर्थिक अनियमितता भएका छन्।नेपालमा आवधिक निर्वाचन भए पनि प्रमुख नेता परिवर्तन हुन सकेनन्।बरु तिनले एकपछि अर्को गल्ती गर्दै गएका छन्।

यस्तो परिस्थितिमा आउन सक्ने सम्भावित खतराबाट जोगिन कुनै तयारी गरिएको छैन।परिस्थिति आफू प्रतिकूल छ भन्ने हेक्का पनि कमैलाई हुने गरेको छ।आफ्नो धरातल बुझ्न नसकेपछि आउने भनेकै संकट मात्र हो।त्यसैले आसन्न संकटतर्फ उन्मुख मुलुकलाई जोगाउने हो भने आफ्ना काममा व्यापक सुधार आवश्यक हुन्छ।

वास्तवमा नेपालमा अहिले जति ठूला समस्या देखिएका छन्, तिनलाई समाधान गर्न पनि त्यत्तिकै सजिलो छ।प्रमुख नेतृत्वले आफैँमाथि समेत निर्मम भएर अगाडि बढ्न आँट गर्ने हो भने सुधार सम्भव छ।केहीअघि बालुवाटार जग्गा काण्ड, नक्कली भुटानी शरणार्थी र सुन तस्करी विरुद्ध देखिएको सक्रियता एकाएक शिथिल भएको छ।कसै न कसैलाई जोगाउनुपर्ने बाध्यतामा परेको वर्तमान राजनीतिक नेतृत्वले साह्रै सक्रिय भएर अगाडि बढ्न सक्ने स्थिति देखिएन ।

बीचैमा भएको प्रहरीहरूको सरुवा, गृह तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठमाथि थोपरिएको दबाब आदिले पनि परिस्थिति भिन्न भएको सन्देश दिइसकेको छ।यसले हाम्रो राजनीतिक नेतृत्वले आर्थिक अनुशासन र आमुल परिवर्तनका निम्ति काम गर्न नसक्ने पुष्टि हुँदै गएको छ।यस्तो परिस्थितिले थोरै भए पनि देखिन थालेका आशामा तुषारापात गरेको छ।

अहिलेको सबै भन्दा ठूलो चिन्ता आमरूपमा पैदा भएको असन्तुष्टिलाई महसुस गर्न नसक्नु हो।यो परिस्थिति बुझेको राजनीतिक नेतृत्वले तदनुकूल आफूलाई परिवर्तन गर्न सक्ने पनि हो।तर, अवस्था त्यस्तो रहेन।यसले झन्झन् परिस्थितिलाई सन्नाटातर्फ लगिरहेको छ।यो मुलुकमा केही हुँदैन भन्ने निष्कर्षतर्फ जानुअघि सुधारको संकेत देखाउन सकिएन भने आँधी अवश्यम्भावी छ।यो मौनताको अर्थ बेलैमा बुझ्नु आवश्यक छ।

प्रकाशित: २६ भाद्र २०८० ०२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App