६ पुस २०८१ शनिबार
image/svg+xml
विचार

नयाँ शक्तिको परीक्षण

नेपालको समकालीन राजनीतिमा डा.बाबुराम भट्टराई चिन्तन, अध्ययन, सोच र राजनीतिक विश्लेषणमा अग्रस्थानको व्यक्तित्व भएकामा कसैको दुईमत हुन सक्तैन । आफू आबद्ध पार्टीलाई जनयुद्ध, शान्ति प्रक्रिया र केही असहमतिसहित संविधान निर्माणको पूर्णतासम्मको यात्रामा उहाँले गर्नुभएको सकारात्मक योगदान अब धेरै चर्चा गर्नुपर्दैन । जीवनको आधा समय नेपालको वामपन्थी र विशेषतः कम्युनिस्ट आन्दोलन र परिवर्तनको पक्षमा समर्पित हुँदै आउनुभएको उहाँको राजनीतिक यात्रा र उचाइको कद धेरै नै माथि छ ।

 नयाँ विचार, नयाँ संगठन र नयाँ राजनैतिक कार्यक्रमसहित रंगशालामा नयाँ शक्ति पार्टी घोषणा हुँदा नेपालको राजनैतिक वृत्तमा नयाँ परिदृश्य देखापरेकै हो । तर, क्रमशः पार्टीभित्र विचार निर्माणको बहस, संगठन निर्माणको अभियान, राजनीतिक हस्तक्षेपको कार्यदिशामा फिक्कापन देखापर्दै गयो । मुख्यतः विचार निर्माणकै विषयमा अन्योल सिर्जना भयो । यद्यपि डा.भट्टराईले माओवादी पार्टीमा आबद्ध रहँदाकै अवस्थामा माक्र्सवादबारे आफ्नो पछिल्लो निष्कर्ष आजको माक्र्सवादबारे ‘रातो झिल्को’मा तथा नयाँ शक्तिको आवश्यकताबारे ‘नेपाल’ साप्ताहिकमा लेख्नुभएको थियो ।

उहाँको दाबी छ, माक्र्सवाद पक्रने वा छोड्ने विषय होइन । माक्र्सवादको विकास गर्ने हो भन्दा उहाँ माक्र्सवादकै घेराभित्र हुनुहुन्छ भन्ने लाग्छ । तर अर्कोतर्फ माक्र्सवादको द्वन्द्ववादी नियमबाहेक अरू महत्वपूर्ण विषय सर्वहारा वर्गको अधिनायकत्व, वर्ग संघर्ष, राज्य उत्पत्ति र विलय, विनिमयको सिद्धान्तबारे छलफल र प्रवेश नै नगर्ने, राज्य नियन्त्रित समाजवाद र स्टालिनवादी राज्य संरचनाविरुद्धको उहाँको मतले उहाँ माक्र्सवादी घेराभन्दा बाहिर नपुगेको आभास हुन्छ । उहाँ थप जोड दिनुहुन्छ, वर्तमान विश्व परिवेशमा पूरै राज्यनियन्त्रित समाजवाद र उदार पुँजीवाद, यी दुवै प्रणाली विफल भइसकेका छन् । यीबीचबाट राज्यप्रणालीको नयाँ अवधारणा विकास गर्ने जुन वैकल्पिक राजनीति उहाँले चलाउन खोज्नुभएको छ, यो विषय अत्यन्तै जटिल छ ।

कार्ल माक्र्सको वैज्ञानिक समाजवादी अवधारणाको तीव्र विकासले विश्व पँुजीवादी र समाजवादी वैचारिक ध्रुवमा विभाजित हुन पुग्यो । माक्र्सवाद विश्वमा फरकफरक देशहरूमा फरकफरक रूपमा प्रयोग भयो । माक्र्सवादका प्रयोगकर्ताहरू विफल भएका हुन् । माक्र्सवाद अद्यापि विफल भएको छैन । नेपाली महान् नेता विश्वेश्वरप्रसाद कोइरालाको समाजवादी अवधारणा यसैमा आधारित छ । सबै माक्र्सवादीहरू कम्युनिस्ट नहुन सक्छन् । तर सबै कम्युनिस्टहरू माक्र्सवादी नै हुन् । फरक यति मात्र हो, माक्र्सवादलाई आदर्शको रूपमा लिनेहरूले परिवर्तन गर्न सक्तैनन् । तर त्यसलाई प्रयोग र विकास गर्नेहरूले सच्चा अर्थमा माक्र्सवादलाई बुझिरहेका हुन्छन् । त्यसैले माक्र्स भन्नुहुन्छ, संसारको परिभाषा र व्याख्या गर्ने होइन, परिवर्तन गर्ने हो ।

छिमेकी मुलुक चीन र भारतको स्वतन्त्रताको इतिहाससँग नेपालको स्वतन्त्रताको इतिहास फरक छ । त्यसैले नेपालले अरु मुलुकको नक्कल गरेर होइन, नेपालकै विशिष्टता हेरेर आन्दोलन अघि बढाउनुपर्ने थियो । गणतन्त्रको स्थापना र नयाँ संविधान जारीयताका दिन झन्झन् अन्योलपूर्ण देखिन्छ । मुलुकलाई ठीक ढंगले अगाडि बढाउने कुनै योजना र कार्यदिशा कुनै राजनैतिक पार्टीसँग छैन ।

यस्तो परिवेशमा मुलुकलाई ठीक बाटोमा अगाडि बढाउने नयाँ वैकल्पिक राजनीतिक शक्तिका रूपमा नयाँ शक्ति पार्टी, नेपालको जन्म भयो । तर यसको वैचारिक कार्यदिशा त्यति जम्न सकेन । राणा विरोधी आन्दोलनदेखि संस्थागत हुँदै आएको लगभग ७० वर्षको इतिहास बोकेको नेपाली कांग्रेस पार्टी र २००६ सालयता निर्मम संघर्षको बाटोमा अविरल संघर्षरत कम्युनिस्ट पार्टीले जनताको तहमा जुन हदसम्म जरा गाडेको छ, एक वर्षे बिरुवारूपी नयाँ शक्तिले उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था नै रहँदैन । उनीहरूको हाराहारीमा निर्वाचन जित्ने परिकल्पना गर्नु आफैँमा अस्वाभाविक र स्वीकार गर्न नसक्ने विषय हुन् ।

तर नयाँ शक्ति पार्टीमा यो गम्भीर विषयवस्तु भएन । पार्टीले नेपालको कुन तप्काको प्रतिनिधित्व गर्छ ? सरकार र सत्तामा कुन वर्गको विषयलाई उठान र हस्तक्षेप गर्छ ? त्यस विन्दुबाट यस पार्टीको वैचारिक कार्यदिशा निर्माण हुनुपर्ने थियो । राजनैतिक कार्यदिशा र एजेन्डामा सहमत हुनेहरू पार्टीमा संयुक्त मोर्चा निर्माण हुने थियो । तर पुँजीवादी र समाजवादी दुवै अवधारणाका असल पक्षलाई आत्मसात् गर्ने पार्टीका रूपमा जनतालाई परिचय गराउँदा, वैचारिक रूपमै निकै अप्ठयारा झेल्न नयाँ शक्तिलाई हम्मेहम्मेको भएको छ ।

नयाँ शक्ति पार्टी नयाँ परिवेशमा जन्मेको पार्टी हो । राष्ट्रिय भेला भएको लगभग १४ महिनामा विचारमा एकरूपता आउनुपर्ने थियो । नेपालमा नयाँ शक्ति को हुन सक्छ ? यो बहसको विषय हो । नेपालमा उत्पीडित गरिब र परिवर्तनका पक्षधरहरू मात्र नयाँ शक्ति हुन सक्छन् । यथास्थितिवादी शक्ति र अनुदारवादी शक्तिहरू नयाँ हुनै सक्तैनन् । श्रमिक जनताका विरोधीहरू, नयाँ भएर पलाउनै सक्तैनन् । त्यसैले यथास्थितिवादी र अनुदारवादी शक्तिहरूलाई नयाँ शक्ति मान्न सकिन्न । नयाँ भनेको रूप, रंग र ओहोदा होइन । परिवर्तनकारी शक्तिहरू मात्र नयाँ हुन सक्छन् । माक्र्सवादका घोर विरोधीहरू नेपालमा मात्र हैन, विश्वमै नयाँ हुन सक्तैनन् ।

नयाँ बन्न खोज्नेहरू पहिले आफ्नो गलत चिन्तनलाई परित्याग गरी परिवर्तनको पक्षमा उभिन जरुरी छ, यथास्थितिवादीहरूसँग सम्बन्ध जोड्ने होइन, विच्छेद गर्ने हो । मुलुकलाई समाजवादको नयाँ र वैज्ञानिक प्रयोगमा अगाडि बढाउनुपर्छ । माक्र्सवादी दर्शनबिनाको नयाँ शक्तिको कुनै औचित्य छैन ।

                (लेखक, नयाँ शक्ति पार्टीका केन्द्रीय कार्यकारी सदस्य हुन्)

 

               

प्रकाशित: ३२ श्रावण २०७४ ०२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App