डा. केसीका पक्षमा 'जाग, लम्क, चम्क हे नौजवान हो' बोलको राष्ट्रिय भावधाराको गीतमा नाच्दै जुलुसमा हिँडिरहेका युवाहरूको छवि दिमागमा बढ्ता गाढा छ। नसम्झे हुन्छ, एक जना डा. केसीको अन्त्य भए अरूको धन्दा चल्न सम्भव छ। सडकमा त हजारौं गोविन्द केसी आइसकेछन्।
अनामनगरमा फेलापरेका एकजना आफन्तले हामी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसीको समर्थनमा निस्केको जुलुसबाट फर्केको थाहा पाउनासाथ भने, 'यसमा हामीप्रति अलि ज्यादती नै भएको छ।'
न्यूनतम गुणस्तरसमेत कायम नगरिएका शिक्षण संस्थाबाट कसरी उत्पादन हुन्छन् दक्ष जनशक्ति? डा. केसीको विमति यही हो।
उनले कुराको चुरो फुकाउँदै भने, '२०५६ सालमै मैले ३ लाख रुपियाँ लगानी गरेको थिएँ।' 'तपाईंजस्ता सेयरवालालाई समस्या अवश्यै परेको होला,' मैले भनें, 'तर, डा. केसीबाट ज्यादती भएको छैन। बरु स्वास्थ्य सेवा र शिक्षामा भएका बेथिति सम्बोधन गर्न यो कदम अपरिहार्य भएको हो।'
आफन्तलाई चित्त बुझ्ने कुरा भएन। बुझोस् पनि कसरी? नाफा होला भनेर सुरु गरेको काम फत्ते नभई बीचैमा अड्किएपछि लगानीकर्ताका दृष्टिकोणबाट यस्तो सोच्नु स्वाभाविक हो।
हामीसँग धेरैपटक मेडिकल कलेज सञ्चालकरूले यसरी नै कुरा गरेका छन्। साना लगानीकर्ता मात्र होइन, यस क्षेत्रमा अहिले करोडौं लगाएर व्यापार गर्न चाहने समूह शिक्षा र स्वास्थ्य क्षेत्रमा आकर्षित हुनु स्वाभाविक हो। तर, डा. केसीले उठाएका आधारभूत विषयलाई बुझ्ने कोसिस भएन भने उनले ११ वटा आमरण अनशन बसेर गरेको प्रयास खेर जानेछ।
डा. केसीले ११ औं पटक अनशन थाल्ने भन्दा हामीलाई फेरि नगरिदिए हुन्थ्यो भन्ने नलागेको होइन। यस क्षेत्रको समस्या उनले जति कसले बुझेको होला र? त्यति मात्र होइन न आफ्ना लागि कमाइ गर्नु छ, न कुनै पद र प्रतिष्ठा पाउनु छ। निःस्वार्थ भावले उनले पटक–पटक आफ्नो जीवन खतरामा पार्दै आएका छन्।
आखिर केका लागि? यही बजार हो जहाँ 'अाेरल डायरिया' भएको भन्दै 'प्रेस्त्रि्कप्सन' लेख्ने डाक्टरसमेत उत्पादन भएका छन्। भौतिक पूर्वाधार नपुर्याई कलेज खोल्ने हो भने त्यसबाट उत्पादन भएका चिकित्सकलाई मान्छे मार्ने लाइसेन्स दिएको भन्दा फरक स्थिति यो मुलुकमा हुनेछैन। पर्याप्त अभ्यास, शैक्षिक सामग्री, वातावरण नभई खोलिने मेडिकल कलेजबाट उत्पादित चिकित्सक सर्वसाधारणका निम्ति यमराज साबित हुनेछन्।
नेताहरूका निम्ति कुनै समस्या छैन, आवश्यक पर्दा उनीहरू संसारका जुनसुकै मुलुकमा गएर आफ्नो उपचार गराउन सक्षम छन्। सुलभ स्वास्थ्य शिक्षा र सेवा चाहिएकै सर्वसाधारणका निम्ति हो। कतिपय सर्वसाधारण उपचार महँगो हुने ठानेर रोग पालेर बसेका छन्। कैयौं उपचार नगराई सीधै मृत्युको मुखमा पुगेको अवस्था पनि छ।
डा. केसीको निरन्तर प्रयासबाट स्वास्थ्य सेवा ऐन बनाउन सहमति भएपछि पनि लामो समयसम्म छलछाम भइरह्यो। संसद्को महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापतिद्वारा नौ महिनासम्म विधेयक लुकाएर राख्ने काम भयो। अन्तिम घडीमा आएर त्यो विधेयक माथेमा आयोगको भावनाविपरीत पारित गर्न मात्र खोजिएन संसद्भित्र विद्यमान 'कन्फ्िलक्ट अफ इन्ट्रेस्ट' अर्थात् स्वार्थ बाझिने गरी काम भइरहेको समेत प्रकट हुन पुग्यो। आफू सेयरहोल्डर रहेको कलेजलाई फाइदा पुग्ने गरी त्यसमा संशोधन राख्ने कामसमेत उनीहरूबाट भयो। अन्ततः विधेयक पारित भयो, अझै पनि त्यसले केसीका भावना प्रतिबिम्बित गरेको छैन। त्यसैकारण उनले यसपटकको अनशन तोड्न मानिरहेका छैनन्।
डा. केसीको अघिल्लो अनशनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीको जबर्जस्तीलाई सर्वसाधारणसम्म पुर्याउन ठूलो मद्दत गरेको थियो। ६ सय १ सांसदमध्ये ६ जना पनि कार्कीविरुद्ध सडकमा आउन सक्ने अवस्था थिएन। त्यसबेला डा. केसीको बलकै कारण विरोध सम्भव भयो। आन्दोलन भड्किने स्थिति बुझेपछि सम्झौतामा पुग्न सरकारलाई बाध्य पारेको थियो।
सांसद गगन थापा, धनराज गुरुङ, श्याम श्रेष्ठ आदिको पहलमा कार्कीविरुद्धको प्रस्ताव संसद्मा पुर्याउने सफलता प्राप्त भए पनि त्यसलाई अघि बढाउने आँट कसैमा रहेन। पछि अख्तियार प्रमुखले नेताहरूलाई नै सिध्याउने स्थिति देखेपछि मात्र महाभियोगको नाटकीय पटाक्षेप भएको थियो। तैपनि त्यसलाई अघि बढाउने काम भएको थिएन। तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको सशक्त निर्णय क्षमताका कारण मात्र मुलुकलाई बन्धक बनाउन तयार अख्तियार प्रमुख कार्कीको बहिर्गमन सम्भव भएको हो।
काठमाडौं विश्वविद्यालयमा तत्कालीन अख्तियार प्रमुख कार्कीले आफ्नै टोली पठाई मेडिकल शिक्षाको प्रवेश परीक्षा लिने नाटकसमेत गरेका थिए। त्यस बेला यस्ता समाचार लेख्न सक्ने अवस्थासमेत थिएन। काभ्रेस्थित हाम्रा संवाददातालाई त्यहाँको डेटलाइनमा समाचार छाप्नसमेत खतरा भएपछि 'काठमाडौं डेटलाइन' मा समाचार छापिएको थियो। तर, त्यो ज्यादती डा. केसीलाई अनशन बस्नका निम्ति प्रेरित गर्ने अनेकन् विकृतिमध्ये थप अर्को विषय भएको थियो।
डा. केसी यथार्थमै मेडिकल क्षेत्रका 'पहुँचविहीनका स्वास्थ्य सेवा र चेतना' हुन् भन्दा अन्यथा ठान्नु पर्दैन। उनले यस क्षेत्रमा फैलिएका विकृतिबारे जानकारी नगराएका भए अहिलेसम्म धेरै खराब अवस्था आइसक्ने थियो। कलेजमा सिटभन्दा बढी विद्यार्थी भर्ना गर्ने, जथाभाबी सम्बन्धन दिने, अनुगमन नगर्ने, अनुगमन गर्न आएकालाई उत्कृष्ट आतिथ्यमा अल्मल्याउने, खडेबाबा उभ्याउनेजस्ता अनेकन् विकृति यसबीच सार्वजनिक भइसकेका छन्।
मेडिकल कलेज खोलेर न्यूनतम गुणस्तरसमेत कायम नगरी स्वास्थ्य क्षेत्रका निम्ति जनशक्ति उत्पादन गर्ने अहिलेको अभ्यासप्रति डा. केसीको विमति हो। त्यसैकारण उनका मागलाई मुलुकका प्रमुख सञ्चारमाध्यमदेखि प्रबुद्ध नागरिकसम्मले समर्थन गरेका छन्। यसमा स्वार्थ समूहको खेल पनि उत्तिकै चर्को छ। तिनले विशेष गरी राजनीतिक क्षेत्रलाई आफ्नो पकडमा राखेर धन्दा अघि बढाउन खोजेको देखिएको छ। राजनीतिक व्यक्तिलाई नै यसको साझेदार बनाएपछि अघि बढाउन सहज हुने महसुस गरेको देखिएको छ।
'मेडिकल माफिया' भन्ने शब्द नेपाली समाजमा बिस्तारै स्थापित हुँदैछ। भर्खरै लोकतन्त्र आएको मुलुकमा 'माफिया' भन्ने तŒव पनि हुन्छ र भन्ने हामीलाई लाग्थ्यो। शैक्षिक र मेडिकल क्षेत्रका माफियाले राजनीतिक क्षेत्रलाई प्रयोग गरेपछि त्यसको तारो भने नेताहरू हुन थालेका छन्।
डा. केसीको समर्थनमा शनिबार माइतीघर मण्डलादेखि सुरु भई बानेश्वर पुगेको दसौं हजारको जुलुसको मनस्थिति हेर्दा अब बिस्तारै युवापंक्ति वर्तमान शासक वर्गविरुद्ध जान थालेको महसुस भयो। हिजो लोकतन्त्रका निम्ति लडेको अहिलेको सरकार र प्रतिपक्षमा रहेका नेताकै विरुद्धमा सडकमा नारा लाग्न थालिसकेको छ। अहिले सत्ता स्वादमा रमाइरहेकाहरूमा सर्वसाधारणको अनुभूति महसुस नहुन पनि सक्छ।
प्रायः २५ वर्षभन्दामुनिको अहिलेको जनसंख्यालाई विद्यमान राजनीतिक नेतृत्वको इतिहासप्रति कुनै वास्ता छैन। तिनले कति वर्ष जेल बस्नुपर्यो वा कस्तो संघर्ष गरे भन्ने पनि युवापुस्ताका निम्ति सरोकारको विषय बन्न सकेको छैन। वास्तवमा तिनले देखेको आदर्श नमुना भनेका डा. केसी मात्र हुन् जो निःस्वार्थ अहिलेको माफियातन्त्रविरुद्ध लडिरहेका छन्।
हो, यही परिस्थिति रहने हो भने मुलुकको अहिलेको परिस्थिति पनि फेरिने लक्षण देखिन थालेका छन्। जुलुसमा अवकाशप्राप्त केही उच्च पदस्थ प्रहरी र कर्मचारी पनि देखिएका थिए, जो यो मुलुकमा एउटा पद्धति बसोस् भन्ने पक्षमा रहेका छन्। तर, राजनीतिक तहले यसलाई महसुस गर्न छाडिसकेको देखिएको छ। सत्तामा बस्नेहरूले व्यक्तिगत स्वार्थका निम्ति बढ्तै काम गर्न थालेको देखिएको छ।
परिस्थिति फेरि बदलिइसकेको जानकारी हामीले सभामुख ओनसरी घर्तीलाई शुक्रबार डा. केसीको आन्दोलनका विषयमा छलफल गर्दा पनि बताइसकेका छौं। गरिबका निम्ति भनेर आन्दोलन गरेका दलहरू फेरि पनि गरिबका निम्ति बोल्न नसक्ने अवस्थामा पुगेका छन् भने फेरि त्यहाँ अर्को हस्तक्षेपको आवश्यकता हुन्छ नै। अहिलेकै जस्तो संसद्भित्र स्वार्थको झुन्ड रहने हो भने संसदीय व्यवस्था कति टिक्छ र?
लोकतन्त्र प्राप्तिपछिका तीन दशक जताततै बेथितिका निम्ति चिनिने भइसकेको छ। बाटाघाटा विकास निर्माण सम्पूर्ण रूपमा लथालिङ्ग भएको छ। शिक्षा, स्वास्थ्य र राज्यको स्रोत दोहन गर्ने शासक वर्ग देखिएको छ। भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाउनु सामान्यजस्तो भइसकेको छ। राज्यका उच्चस्थानमा पद किनेरै पुग्न सकिने भइसकेको छ।
यो सबै देखिरहेको नयाँ पुस्ताले सहन सक्ने अवस्था देखिएको छैन। डा. केसी २० औं दिनसम्म आमरण अनशनमा रहेर मुलुकमा फेरि अर्को चेतनाको बिगुल फुकेका छन्। नसम्झनू, उनको आमरण अनशन स्वास्थ्य क्षेत्रका निम्ति मात्र सीमित छ। उनको संघर्षले नयाँ पुस्तालाई अन्यायविरुद्ध आन्दोलित हुने सन्देश पनि दिइरहेको छ।
डा. केसीका पक्षमा 'जाग, लम्क, चम्क हे नौजवान हो' बोलको राष्ट्रिय भावधाराको गीतमा नाच्दै जुलुसमा हिँडिरहेका युवाको छवि मेरो दिमागमा बढ्ता गाढा भएको छ। नसम्झे हुन्छ, एकजना डा. केसीको अन्त्य भए अरूको धन्दा चल्न सम्भव हुन्छ। सडकमा त हजारौं गोविन्द केसी आइसकेछन्।
प्रकाशित: २९ श्रावण २०७४ ०३:२५ आइतबार