“शिक्षित बनौँ, संगठित होऔँ, संघर्ष गरौँ” भन्ने धारणाका साथ दलित अधिकार आन्दोलन, भूमि अधिकार आन्दोलनको नेतृत्व गर्ने साहसिक नेता बलदेव राम २०७४ साउन १७ गते सदाका लागि यो संरसारबाट विलय भए। जन्मिनु र मर्नु प्रकृतिको नियम नै हो। तर सबैले छोड्न नसक्ने छाप उनले छोडेर गएका छन्। उनको भौतिक शरीर यो धर्तीमा नरहे पनि विचार र संघर्षको इतिहास मानव जीवन रहेसम्म रही नै रहनेछ। अर्को संयोग, भीमदत्त पन्त सहिद भएकै दिन (साउन १७ गते) कृषि मजदुरका नेता बलदेव रामको पनि देहावसान भएको छ। यो दिन किसान र सीमान्तीकृत समुदायले सम्भि्करहने दिन हो।
बलदेव राम तराईको दलित समुदायमा जन्मेको मान्छे। जन्मकै आधारमा पीडा सहनु र संघर्षको बोझ लिनु उनका लागि पनि स्वाभाविक थियो। तर उनले पीडा सहनेभन्दा संघर्षको बोझ स्वीकार गर्ने कुरालाई प्राथमिकतामा राखी सिनो बहिष्कार आन्दोलनको नेतृत्व गरे। यसको सफलताले नै उनलाई सामाजिक आन्दोलनमा स्थापित गरायो। सामाजिक मुद्दा उठाएरै उनी राजनीतिक तहमा पनि सम्बन्ध बढाउन र राज्यको उच्च स्थानमा जान सफल भए। २०६५ सालमा हरिबोल गजुरेलको अध्यक्षतामा गठित उच्च स्तरीय वैज्ञानिक भूमिसुधार आयोगको सदस्य भए। जुन विशिष्ठ श्रेणीको जिम्मेवारी थियो।
बलदेव रामले व्यक्तिगत स्वार्थका लागि आफ्नो विचार त्यागेनन्। यो उनको अर्को महानता थियो। राष्ट्रिय भूमि अधिकार मञ्चको अध्यक्ष भएपछि उनको कार्यक्षेत्र र मुद्दा पनि विस्तार भयो। सिनो बहिष्कार, जातीय छुवाछूतको अन्त्य र श्रमशोषणविरुद्धको मागसँगै हलिया, कमैया, भूमिहीन, सुकुमवासी, प्राकृतिक प्रकोप लगायतका समस्या पनि उनको नेतृत्वमा उठान भए। भूमि अधिकारसँग सम्बन्धित महत्वपूर्ण सफलताका लागि उनको कार्यकाल नै स्मरणीय छ। राजनीतिक नेतृत्वलाई प्रभाव पार्ने गरी ठूला जनप्रदर्शन र सीमान्तीकृत समुदायको मुद्दा सम्बोधन हुने गरी नीतिगत परिवर्तन पनि उनको कार्यकालमा भएका छन्। त्यस अवस्थामा उनले व्यक्तिगत स्वार्थ चाहेको भए, उनीसामु थुप्रै अवसर थिए। तर उनले त्यसो गर्न चाहेनन्। उनी महिला, दलित, मजदुर, किसान तथा वञ्चितीकरणमा पारिएको समुदायका पक्षमा लडिरहे।
सामाजिक पहिचान, राजनीतिक सम्बन्ध, देशविदेशको अनुभवसमेत भएका बलदेव रामको अर्को विशेषता थियो, सरल जीवनशैली। उनी जुनसुकै ठाउँमा जाँदा पनि खाली खुट्टा हिँड्थे। धोती र कुर्ता लगाउँथे। काँधमा सधैँ सानो सुतीको झोला र त्यसमा किताब हुन्थे। उच्चस्तरीय वैज्ञानिक भूमिसुधार आयोगको सदस्य हुँदा सरकारले उनलाई गाडी दिएको थियो। कामको सिलसिलामा बढी नै दौडधुप गर्नुपर्ने भएकाले गाडीको उपयोग गरे। तर मन्त्रालय जाँदा होस् या आयोगका अन्य ठूला कार्यक्रममा, उनी खाली खुट्टा जान्थे। यसो गर्नुको कारण आर्थिक अभाव थिएन। उनको आदर्श थियो। उनी जुुन समुदायमा जन्मे र हुर्के। त्यही समुदायको शैलीमा बाँचे, जीवनभर।
दलित समुदायले पढ्न हुँदैन भन्ने समयमा पनि बलदेव रामले लेखपढ गर्न सिकेका थिए। औपचारिक शिक्षामा कुनै तह नभए पनि ज्ञान र तर्कका आधारमा बलदेवराम विद्वान् थिए। उनको झोलामा हिन्दी र नेपाली भाषाका किताब हुन्थे। कानुनी किताब पनि बोक्थे। उनले गर्ने तर्क सामाजिक परिवेश, कानुनी प्रक्रिया र शास्त्रीय मान्यतामा आधारित हुन्थ्ो। जसले गर्दा उनले बहसमा हार खानु परेन। शिक्षाप्रतिको लगाव पनि उनको जीवनबाट अर्को सिक्नुपर्ने अर्को पक्ष हो। बिहान ४ बजेर उठेर पढ्थे। साँझ पनि खानापछि ११ बजेसम्म पढ्थे। अरूलाई पनि पढ्न प्रेरित गर्नु। हिन्दी र नेपाली भाषामा शास्त्रीय श्लोकहरू कण्ठ थिए।
साहसी र मेहनती स्वभाव अर्को गुण हो, बलदेव रामको। उनी सामाजिक आन्दोलनका नेता मात्र होइनन्, मेहनती किसान पनि हुन्। घरमा भएका बेला खेतमा काम गर्ने, खाना पनि खेतमै खाने। समयमा खेतीपाती गरेर उत्पादन राम्रो लिने उनको बानी थियो। यस्तो मेहनत गरी उनले आर्थिक अवस्था र परिवारिक अवस्था पनि राम्रोसँग चलाए। छोराछोरी सबैलाई उच्च शिक्षा पढाएका छन्, उनले।
संगठन विस्तार र विभिन्न आन्दोलनमा पनि उनी निकै खट्थे। २०६७ सालमा ग्ा्रामीण क्षेत्रका एक हजार महिला काठमाडौँ आएर खुलामञ्चमा अनिश्चितकालीन धर्नामा बसे। त्यसको नेतृत्व राष्ट्रिय भूमि अधिकार मञ्चले गरेको थियो। अध्यक्ष बलदेव राम थिए। त्यतिबेला उनको हात भाँचिएको थियो। त्यो अवस्थामा पनि उनले थकाइ नमारी आन्दोलनको नेतृत्व गरे। संगठन विस्तारका क्रममा पूर्वपश्चिम यात्रा गरिरहने बलदेव रामले कहिल्यै थकाइ लागेको, भोक लागेको, बसाइँ नराम्रो भएको भनेनन्। आउने परिस्थितिलाई पचाएर अगाडि बढ्ने उनको स्वभाव थियो।
शीर्ष तहको नेतृत्वलाई भेट्न र काम लिनमा पनि बलदेव राम सफल थिए। यसो हुनुको कारण उनको राजनीतिक परिवर्तनका आन्दोलनमा पनि उत्तिकै सहभागिता थियो। २०१७ सालपछिको राजनीतिक परिवेशमा दलका नेताहरूलाई पञ्चायती शासकबाट बचाउनेदेखि भूमिगत अवस्थामा खानपानको व्यवस्थामा सहयोग पुर्याउने काम बलदेव रामले गरेका थिए। आफ्नो लगानी र सिकाइको आधारमा पनि होला, बलदेव राम सामाजिक आन्दोलनको नेतृत्व गरेर आगाडि बढे पनि राजनीतिक दलहरूप्रति उनको सकारात्मक धारणा रहन्थ्यो। अन्तिम निर्णय गर्ने शक्ति राजनीतिक दलमै छ भन्ने गर्थे, उनी।
प्रकाशित: २३ श्रावण २०७४ ०३:४१ सोमबार