नेपालमा उच्च वृद्धिको सम्भावना रहेका र बढी मात्रामा रोजगारी सिर्जना गर्ने क्षेत्र के के छन् भन्नेबारे विश्व बैंकले गहन अध्ययन विश्लेषण गरेर करिव साढे चार वर्षपहिले नोभेम्बर २०१८ मा सार्वजनिक गरिएको रिपोर्टअनुसार मुलुकको विकास रणनीतिमा निजी क्षेत्रको महत्वपूर्ण स्थान रहने उल्लेख छ।
निजी क्षेत्रको सक्रिय सहभागितामा विकास र रोजगारी सिर्जनामा ठूलो टेवा दिन सक्ने दुई उच्च–सम्भाव्यताका क्षेत्र भनेका पर्यटन र कृषि व्यापार रहेको उक्त अध्ययनको निष्कर्ष छ। मुलुकको विकास रणनीतिमा जलविद्युत् शक्तिको महत्वपूर्ण भूमिका हुने र यसको विकासले अति ठूलो मात्रामा नयाँ विदेशी लगानी तथा स्रोत साधन भित्रने भई निर्माण कार्य र सहरीकरणलाई प्रोत्साहित गरे पनि यसले न्यून संख्यामा मात्र रोजगारी सिर्जना गर्ने र ठूलो परिमाणमा विद्युत् निर्यातले मुलुकको निर्यात प्रतिस्पर्धात्मकतालाई कमजोर पार्ने ‘आठ आर’ रोगतर्फ डोया¥उन सक्ने भनी रिपोर्टले औल्याएको छ।
मुलुक विकासको प्रक्षेपण–पथ (ग्रोथ ट्राजेक्टरी) मा ठूलो प्रभाव पार्ने भनी रिपोर्टले पाँचवटा क्षेत्र तोकेकामा पर्यटन एक नम्बरमा परेको छ। अरू चारवटा क्षेत्र कृषि–व्यापार, शिक्षा, स्वास्थ्य र सूचना प्रविधि हुन। पर्यटन क्षेत्रबारे विस्तृत अध्ययन गरेपछि विश्व बैंकको टोलीले एक आश्चर्यजनक तथ्यांक प्रस्तुत गरेको छ।
विश्वभरको औसत तथ्यांकअनुसार अन्य मुलुकमा ११ जना थप विदेशी पर्यटक आउँदा एकजना नागरिकले रोजगारी पाउँछ भने नेपालको हकमा ६ जना मात्र थप विदेशी पर्यटकको आगमनले एकजनाले रोजगारी पाउने रहेछ। भयाबह बेरोजगारीको विद्यमान अवस्थालाई हेर्दा पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्नुपर्ने एक कारण बेरोजगारको समस्या न्यून गर्नु पनि हो भनेर यो तथ्यांकबाट प्रष्ट हुन्छ।
विश्वमा सब भन्दा महँगो हवाई भाडा हुने मुलुकमा नेपाल परिरहेको परिप्रेक्ष्यमा पर्यटन क्षेत्रलाई द्रुत गतिमा विकास गर्न राष्ट्रिय ध्वजाबाहकको महत्वपूर्ण भूमिका हुन्छ । धेरैलाई जानकारी नभएको एक तथ्य के हो भने विश्वको कुनै पनि राष्ट्रले अन्तर्राष्ट्रिय हवाईसेवामा लाग्ने भाडामा नियमन र नियन्त्रण गर्न पाइँदैन। यो अलिखित अन्तर्राष्ट्रिय कानुन जस्तै हो।
नेपालमा हवाई सेवा सञ्चालन गर्दै आएको एक विदेशी एयरलाइन्सले दिल्ली जाने भाडा भन्दा काठमाडौँ आउने भाडा चार गुणासम्म बढी तोकेको छ। यो समस्या समाधान गर्ने एउटै उपाय भनेको नेपाल वायुसेवा निगमको सञ्जाल फिँजाउने हो, गन्तव्य थप्दै जाने हो। विदेशी एयरलाइन्सहरूलाई नेपाल वायुसेवा निगमसँग प्रतिस्पर्धा गर्नैपर्ने अवस्था सिर्जना गरेर काठमाडौँ आउने हवाई भाडा घटाउन उनीहरूलाई बाध्य पार्न सकिन्छ। तसर्थ, जुनसुकै मूल्य चुकाएर भए पनि राष्ट्रिय ध्वजाबाहकलाई तीन दशक पहिलेको जस्तो एक सक्षम, फूर्तिलो र नाफामूलक संस्थामा परिणत गर्नु समग्र पर्यटन उद्योगका लागि अत्यन्त आवश्यक छ।
विडम्बना के भने नेपाल वायुसेवा निगमको चर्चा हुनासाथ झिना मसिना व्यवस्थापकीय कमी-कमजोरीमा बहस चलाएर विमान खरिद गर्दै उत्पादन क्षमता वृध्दि गर्ने जस्तो महत्वपूर्ण विषय ओझेलमा पार्ने गरेको पाइन्छ। निगमका कर्मचारी अन्य ४३ वटा सरकारी संस्था र मन्त्रालयलगायत अन्य सरकारी निकायहरूका कर्मचारीको औसत क्षमता, इमानदारिता र उत्पादकत्व भन्दा कमसल छैन भनेर सजिलै प्रमाणित गर्न सकिने तथ्य हो।
निगमभित्रको आन्तरिक व्यवस्थापनको कामकुरो भन्दा गत ३५ वर्षमा निगमले चारवटा मात्र जेट विमान खरिद गर्ने जस्तो लाजमर्दो विकासको गति के-कति कारणले कस–कसको कमजोरीले भएको हो भनेर विश्लेषण गर्न जरुरी छ।
जम्मा चारवटा जेट विमान चलाएर ७-८ वटा गन्तव्यमा उडान गरेर नाफा नोक्सान बराबर हुने गरी ‘ब्रेकइभन’ विन्दुसम्म पनि पुराउनु भनेको हवाई सेवाको व्यापारमा अत्यन्तै कठिन काम भनेर विश्वभर मानिन्छ। साथै निगमले चारवटा विमान खरिद गर्न लिएको ऋणलाई ‘बोझ’को संज्ञा दिनु भनेको उद्योग व्यापारको आधारभूत सिध्दान्त नबुझेकाहरूको गलत बुझाइ हो। निगमको मालिक सरकारको जमानतमा चारवटा विमान खरिद गरिसकेको हुँदा सरकारका लागि सही विकल्प भनेको पुनः जमानत बसेर निगमलाई थप विमान खरिद गर्न दिएर ‘ब्रेकइभन पोइन्ट’ नाघेर नाफामा ल्याउने हो।
यसबाट विदेशी पर्यटक संख्या पनि बढ्न गई समग्र पर्यटन उद्योगमा ठूलो टेवा पुग्न निश्चित छ। विमान खरिदबाट निगमलाई हुने नाफा भन्दा विदेशी पर्यटक संख्या बढेपछि देशको समग्र अर्थतन्त्रमा हुने लाभको लेखाजोखा सरकारले गर्नै पर्छ। रेमिट्यान्सपछि विदेशी मुद्रा मुलुकमा भित्र्याउने महत्वपूर्ण र दिगो स्रोत भनेको पर्यटन उद्योग नै हो र यो उद्योग फस्टाउन राष्ट्रिय ध्वजाबाहकको उत्थान अपरिहार्य भएको सरकारले मनन गर्नै पर्छ।
(कंसाकार नेवानिका पूर्वमहाप्रवन्धक हुन्)।
प्रकाशित: १ भाद्र २०८० ००:२८ शुक्रबार