१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

दोहोरो चरित्रले गर्दा आलोचना खेप्दै छन् कांग्रेसका महामन्त्रीहरू

कांग्रेस केन्द्रीय समितिको बैठक गत मङ्गलवारदेखि भइरहेको छ। देशको सबैभन्दा पुरानो दल कांग्रेस लोकतान्त्रिक अभ्यास पूर्ण पालनामा आन्तरिक रुपमा असफल हुँदै गए पनि बाहिरी सिँगार पटारमा भने माहिर छ। सायद त्यसैले होला कांग्रेसले आफ्नो केन्द्रीय समिति बैठकलाई पहिलो पटक प्रत्यक्ष प्रसारण गरेर लोकतान्त्रिक अभ्यासमा अब्बल देखाउने प्रयत्न गरिरहेको छ। यसको चौतर्फी स्वागत पनि भइरहेको छ।

पार्टीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएका बैठकका दृश्यले सोमबारसम्म आइपुग्दा एउटा सन्देश भने स्पष्ट दिएका छन्, ‘काँग्रेस भित्र गुट–उपगुट प्रशस्त छन्। आरोप प्रत्यारोप पनि तीनै गुट–उपगुटको सेटिङमा भइरहेको छ।’ यद्यपि पार्टीलाई कुनै पनि मूल्यमा एक ढिक्का बनाएर लैजानुपर्ने मत पनि छ। तर जबसम्म ती गुट–उपगुट तितरबितर हुँदैन वा तीनको सुखद अन्त्य हुँदैन तबसम्म यो मतले सार्थकता पाउँदैन। आरोप र प्रत्यारोप पनि यीनै गुट र उपगुटको सेटिङमा चलिरहन्छ।

गत मङ्गलवारदेखि सोमबार बिहानसम्मका बैठकका छलफल र त्यसमा भाग लिइरहेका केन्द्रीय सदस्य तथा जिल्ला सभापतिहरूको भनाई र बुझाई सुन्दा अधिकांशहरू अझै पनि गुट र उपगुटमा सामेल भएको प्रस्ट देखिन्छ। उनीहरू ती गुट–उपगुटको सेटिङमा एक अर्का गुट र उपगुटका नेतालाई खुइल्याउन प्रत्यन्तरत छन्। विशेष गरी काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई खुइल्याउने समूह निकै सक्रिय देखियो। अझ महामन्त्री शर्माको तुलनामा थापाप्रति केन्द्रीय सदस्यहरूको आक्रोश बढी देखियो। त्यसो त थापा गुटका एकाध केन्द्रीय सदस्यहरू पनि संस्थापनको आलोचनामा सक्रिय थिए।

पार्टी सभापति शेरबहादुर देउवाको बचाउमा केन्द्रीय सदस्यहरू यसरी लाग्लान् भन्ने यकिन संभवत धेरैलाई थिएन। बैठकका अहिलेसम्मका छलफल हेर्दा अधिकांश केन्द्रीय सदस्यले एउटा वाक्य प्रश्नका रूपमा स्पष्ट रूपमा प्रयोग गरेका छन्, त्यो हो ‘पार्टी नेतृत्वलाई खुइल्याउने काम किन भइरहेको छ?’

करिब एक वर्षपछि भएको केन्द्रीय समिति बैठकमा समेत पार्टी सभापति देउवाको बचाउमा उभिएका केन्द्रीय सदस्यहरूको सङ्ख्या देखेर संभवत धेरै कार्यकर्ता र सर्वसाधारण चकित भएको हुनुपर्छ। किनकि पार्टी बाहिरबाट हेर्दा त संस्थापन पक्ष बिस्तारै कमजोर हुँदै गएको भान हुन्थ्यो। अझ युवा पुस्ताका महामन्त्रीद्वयले विभिन्न सभा र कार्यक्रममा गर्ने पार्टी नेतृत्वको आलोचना र कटाक्ष सुन्दा त नेतृत्व पंङगु नै भएको भान हुन्थ्यो। तर पार्टी भित्रको वास्तविकता त अर्कै रहेछ।

त्यसै पनि लोकतान्त्रिक अभ्यास र राजनीतिक इतिहासका माहिर खेलाडी हुन, सभापति देउवा। नबोलेरै पार्टी भित्रका हुन वा बाहिरका आफ्ना विपक्षीलाई ठेगान लगाउन जानेका छन्। उनले संस्थापन इतर पक्ष र विरोधी गुटका आलोचना, टिप्पणी र कटाक्षलाई लोकतान्त्रिक अभ्यासका रूपमा लिइदिए। देउवा धेरै बोलेनन् र त्यसको जवाफ पनि दिएनन्। 

परिणाम आफ्नो पक्षमा ल्याउन देउवा सफल पनि भए। नबोलेरै पनि परिणाम आफ्नो पक्षमा ल्याउन सकिन्छ भन्ने अनुभव उनीसँग छ। संस्थापन इतरलाई मौन सेटिङ रहस्य पनि देखाइदिए उनले।

त्यसो त राजनीतिक खेल जित्न र पदमा पुग्न सधैँ सफल देउवालाई देश र जनतालाई जिताउने खेलमा भने अपेक्षाकृत रूपमा असफल मानिन्छ। तर पनि अहिलेको अवस्थासम्म आइपुग्दा पार्टी भित्रका आफ्ना गुट र समूहलाई इन्ट्याकमा राखेर आफ्नो पक्षमा माहौल बनाइराख्न उनी सफल देखिए। दुई/दुई महिनामा गर्नुपर्ने केन्द्रीय समिति बैठक एक वर्षपछि गर्दा पनि आफ्नै पक्षमा माहौल बनाइरहन उनी सफल भए। यो बैठकले संस्थापन इतरलाई आफ्ना गल्ती र कमजोरी केलाएर सच्चिन राम्रै सुझाव दिएको छ।

यस्तो हुनुको पछाडि कांग्रेसको संस्थापन निकट बाहेकका गुट र उपगुटहरूको अक्षमता नै हो। संस्थापन इतरका समूह र तीनको नेतृत्व गर्नेहरूले १४ औँ महाधिवेशनदेखि नै पार्टी भित्रका विभिन्न लोकतान्त्रिक अभ्यासमा भाग लिइरहेका छन्। उनीहरू पार्टी भित्रका हरेक साङ्गठनिक अभ्यास र प्रतिस्पर्धामा भाग लिइरहेका छन्। बाहिरबाट झट्ट हेर्दा यी सबै चरणमा पार्टी नेतृत्वले अवरोध गर्ने, पार्टी विधान र लोकतान्त्रिक पद्धतिमा अङ्कुश लगाएको देखिदैन्। यदि विधि, विधान र पद्धति विपरीत लोकतान्त्रिक अभ्यासमा अङ्कुश लगाउने प्रयत्न भइरहेको छ भने त्यसको विरुद्धमा सङ्घर्ष गर्नु स्वाभाविक हो।

तर पार्टी भित्रका सबै प्रक्रियामा सामेल हुने, प्रतिस्पर्धा पनि गर्ने र परिणाम पनि स्विकार्ने। अनि फेरी नेतृत्वकै विरुद्धमा गुटबन्दी गर्ने दोहोरो चरित्रले गर्दा नै संस्थापन इतरका केही गुट कमजोर देखिएको हो। विशेष गरी महामन्त्री गगनकुमार थापा समर्थक समूह कमजोर देखिन्छ। अहिलेको केन्द्रीय समिति बैठकमा यही दोहोरो चरित्रले गर्दा महामन्त्रीद्वयले धेरै आलोचना खेप्नु परेको हो। त्यसो त महामन्त्री विश्वप्रकाश शर्मा थापा समूहमा खुलेर लागेको देखिदैन्। उनले आफ्नो छुट्टै समूह बनाएर अघि बढ्ने प्रयत्न गरिरहेका छन्। अझ पछिल्ला दिनहरूमा पार्टी उपसभापति पूर्णबहादुर खड्काको नजिक भइरहेका छन् जबकि उपसभापति खड्का देउवा नेतृत्वको एउटा गुटका नेता हुन।

त्यसैले महामन्त्री शर्मा भन्दा पनि थापा बैठकमा अधिकांश सदस्यको ‘तारो’ भए। संस्थापन इतर र त्यसमा पनि विशेष गरी थापा पक्षले दोहोरो चरित्र त्याग्नु पर्छ। अन्यथा पार्टी भित्रको माहौल आफ्नो पक्षमा पार्न र इतर पक्षका निशानाबाट जोगिन संस्थापन पक्षले पनि आफ्ना गुट–उपगुटलाई सधैँ सक्रिय बनाइराख्छ। आफ्नो स्वार्थपूर्ति र प्राप्तिका लागि दुवै पक्ष वा समूहका गुट र उपगुटमा बसेर नेतृत्वहरूलाई एक आपसमा नजिकिन अवरोध गर्ने काम भइरहन्छ। यसै भित्र बाह्य शक्तिहरू पनि खेलिरहन्छन्। र, पार्टी भित्र सधैँ भाँडभैलो भइरहन्छ। 

यसले संस्थापन इतर पक्षको पनि भलो हुदैन्। इतर पक्षको आलोचना घटने होइन बढ्दै जानेछ। संस्थापन पक्ष पनि पार्टी रूपान्तरण र सङ्गठन विस्तार गर्ने भन्दा पनि आफ्नो र आफ्नाको बचाउमा समय खर्चिन थाल्छ जुन अहिले भइरहेको छ। द्वय चरित्रले गर्दा पार्टी रूपान्तरण गर्ने, सुदृढ सङ्गठन बनाउने र विस्तार गर्ने तथा पाटी भित्र लोकतान्त्रिक संस्कार बसाल्ने काम कहिल्यै हुन सक्दैनन्।

subodh2060@yahoo.com

प्रकाशित: ८ श्रावण २०८० ०९:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App