२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
विचार

भारतीय स्वतन्त्रता संग्राममा बिपी

सन्दर्भ: ४१औं बिपी स्मृति दिवस

बनारस हिन्दु विद्यालयको विद्यार्थी जीवन बिपीका लागि राजनीतिक रूपमा सैद्धान्तिक अध्ययन, व्यावहारिक परीक्षण र वैचारिक मन्थनको समयखण्ड रह्यो। कलकत्ता विश्वविद्यालयको कानुनी अध्ययन र एमए तहको अध्ययनको समयमा पनि उनी राजनीतिक सक्रियताबाट विमुख भएनन्। कानुन व्यवसायका लागि एक वर्षजति दार्जिलिङमा बस्दा उनको राजनीतिक सक्रियतामा केही कमी आए पनि अन्ततोगत्वा कानुन व्यवसाय वा जागिरतर्फ उनी आकर्षित भएनन्।

औपचारिक अध्ययनकै बेलादेखि बिपी भारतीय समाजवादी विचारकहरू जयप्रकाश नारायण, राममनोहर लोहिया, आचार्य नरेन्द्रदेव आदि नेताहरूसँगको सम्पर्कमा आइसकेका थिए। ती नेताहरू र विशेषगरी जयप्रकाश नारायणसँगको वार्ता र छलफलपछि उनीहरूकै अग्रसरतामा पटनामा समाजवादी पार्टीको स्थापना भयो। बिपी यसै पार्टीको सदस्यका रूपमा क्रियाशील रहन थाले। यस क्रममा उनलाई कांग्रेस समाजवादी पार्टीअन्तर्गत सम्पूर्ण भारतीय विद्यार्थी आन्दोलनको जिम्मेवारी दिइएको थियो। ‘आखिरमा म विहार समाजवादी पार्टीको सहायक सचिव भएँ र कांग्रेस समाजवादी पार्टीका भारतभरका विद्यार्थी आन्दोलनको जिम्मेवारी पनि मलाई दिइएको थियो,’ बिपी कोइराला एक क्रान्तिकारी व्यक्तित्व पुस्तकमा भनिएको छ।

भारतीय समाजवादी नेताहरूमा कम्युनिस्टहरूका जस्तो वैचारिक असहिष्णुता थिएन। समाजवादी नेताहरू गान्धीको आलोचना स्वस्थ ढंगले गर्थे। बिपी पनि विचारको आलोचना एकतर्फी ढंगमा गरिनुहुन्न भन्ने पक्षमै थिए। बिपीमा गान्धीवादी विचारको प्रभाव रहिरहे पनि त्यही मात्र अकाट्य सत्य हो भन्ने सोच थिएन। मार्क्सवादको पनि अध्ययन गरिसकेका बिपी विभिन्न राजनीतिक सिद्धान्तका विविध पक्षहरूको विश्लेषणात्मक अध्ययन गरी समाजवादी विचारप्रति आकृष्ट भएका थिए।

‘जेलको अस्पतालको एउटा कोठा सफा गरेर राजेन्द्रबाबुका निम्ति दिइयो । अर्को एउटा ठुलो हल खाली गरेर दुइटा बेड राखिएको थियो। त्यसको एउटा बेड मलाई दिए। मलाई केन्द्रीय सरकारको बन्दी भनियो । राजेन्द्र बाबु र म मात्र त्यहाँ केन्द्रीय सरकारका बन्दी थियौं।

विश्व राजनीतिमा द्वितीय विश्वयुद्धको आरम्भ सन् १९३९ मा भयो। द्वितीय विश्वयुद्ध उपनिवेशवादी विश्व शक्तिहरूका बीच रहेको शक्तिसङ्घर्ष र राजनीतिक प्रभाव विस्तारको महत्वाकाङ्क्षाद्वारा अभिप्रेरित थियो। विश्वयुद्धताका भारतीय कम्युनिस्ट पार्टीले अंग्रेजलाई सहयोग पुर्‍याएको थियो। गान्धीको नेतृत्वमा भएको स्वतन्त्रता आन्दोलनमा त्यसको समर्थन थिएन।

त्यसबेलासम्म विश्वकै एक महाशक्तिशाली राष्ट्र बेलायत युद्धमा होमिइसकेको थियो। त्यसै विश्वशक्ति बेलायतको उपनिवेशका रूपमा रहेको भारत आफ्नो स्वाधीनता संग्रामको निर्णायक कालखण्डमा थियो। यस क्रममा भारतमा भारतीय राष्ट्रिय कांग्रेसका अतिरिक्त अरू विभिन्न राजनीतिक दलहरू जन्मिँदै थिए। कांग्रेस समाजवादी पार्टी, भर्खरै (सन् १९३८) स्थापना गरिएको थियो। बिपी यस पार्टीमा आबद्ध भएर किसान, विद्यार्थी एवं औद्योगिक मजदुरहरूसँग सहकार्य गर्दै संगठन विस्तारका काममा सक्रिय रहेका थिए।

यस क्रममा पार्टीले उनलाई दरभङ्गा जुटमिलमा गई मजदुरहरूसँग पनि काम गर्न निर्देशन दिएको थियो। त्यसैताका उनलाई अंग्रेज सरकारले गिरफ्तार ग¥यो। समाजवादी पार्टीमा काम गर्दा त्यसअघि पनि पटकपटक छोटोछोटो समयका लागि बिपी गिरफ्तारीमा परेका थिए।

बिपी समाजवादी पार्टीको प्रारम्भिक कालकै सदस्य थिए। गान्धीकै नेतृत्वमा रहेको भारतीय राष्ट्रिय कांग्रेसकै निकटमा रहे पनि स्वतन्त्र ढंगमा मुलुकको स्वतन्त्रता प्राप्तिका लागि संघर्ष गर्ने समाजवादी पार्टीको नीति थियो। पार्टीका शीर्ष नेताहरूसँग बिपीको सम्पर्क बढ्दै गयो।

 विहारका अरू मुख्य नेताहरू रामानन्द मिश्र, रामवृक्ष वेनिपुरी, अवधेश्वर आदिसँग पनि बिपीको वैचारिक छलफल हुन्थ्यो। एकातिर वैचारिक छलफलले बिपीको राजनीतिक परिपक्वतामा वृद्धि हुँदै गयो, अर्कातिर विद्यार्थी, श्रमिक एवं किसानहरूसँगको सहकार्यले ती वर्गमाझ उनको लोकप्रियता पनि बढ्दै गयो। भारतीय जनस्तरमा बिपीको लोकप्रियता त्यहाँका अन्य नेताभन्दा कम थिएन।  

बिपीका लागि अंग्रेजद्वारा गिरफ्तार गरिनु र छोडिनु निरन्तर भइरह्यो। बिपीले भनेका छन्, ‘म समाजवादी आन्दोलनमा ज्यादै सक्रिय हुन थालें। सन् १९३९ देखि १९४१ सम्मका लडाइँका वर्षमा लामो समयसम्म नभए पनि म धेरैपटक थुनामा परें।’ (विपी कोइराला एक क्रान्तिकारी व्यक्तित्व)

समाजवादी पार्टीको सदस्य भएपछि बिपी राजनीतिमा प्रतिबद्ध भएर लागे। उनलाई अब राजनीतिबाट विमुख वा अलग्गिने सम्भावना थिएन। त्यस पार्टीसँगको संलग्नताले भारतीय राजनीतिका लोकप्रिय नेताहरूसँग उनको दीर्घकालीन वा स्थायी सम्बन्ध स्थापित भयो। उनको भावी राजनीतिक जीवनभरि नै भारतीय नेताहरूसँग प्रायः निकटता रही नै रह्यो। गान्धीजीद्वारा आह्वान गरिएको अहिंसात्मक आन्दोलनका विभिन्न घटनाक्रमसँग बिपीको ‘भारत छोडो’ आन्दोलनपूर्व नै प्रत्यक्ष सहभागिता भइसकेको थियो। उनलाई यो निश्चय भइसकेको थियो कि भारतबाट अंग्रेजलाई नहटाएसम्म नेपालबाट जहानियाँतन्त्र हटाउनेतर्फको संघर्ष सफल हुन सक्दैन। नेपालको भावी जनक्रान्तिको पृष्ठभूमि निर्माण गर्न र त्यसनिम्ति चाहिने रणनीतिक तयारीका निम्ति समाजवादी पार्टीसँगको आबद्धताले बिपीलाई महत्वपूर्ण अनुभव प्रदान गर्‍यो। त्यस क्रममा बिपी अनेकौंपटक जेल परे।

कांग्रेस समाजवादी पार्टीको सदस्यका रूपमा बिपीलाई विहार राज्यका विभिन्न जिल्लाका मजदुरसँग काम गर्न, तिनीहरूलाई स्वतन्त्रता आन्दोलनबारे परिचित गराउन तथा संगठित गर्न पठाइएको थियो। त्यस क्रममा दरभंगा जिल्लास्थित सुगर मिलमा काम गर्दागर्दै बिपीलाई अंग्रेज सरकारले गिरफ्तार गर्‍यो। यसअघि नै उनी भारतमा अनेकौं पटक जेल परिसकेका थिए।

बिपी समाजवादी पार्टीको प्रारम्भिक कालकै सदस्य थिए। गान्धीकै नेतृत्वमा रहेको भारतीय राष्ट्रिय कांग्रेसकै निकटमा रहे पनि स्वतन्त्र ढंगमा मुलुकको स्वतन्त्रता प्राप्तिका लागि संघर्ष गर्ने समाजवादी पार्टीको नीति थियो। पार्टीका शीर्ष नेताहरूसँग बिपीको सम्पर्क बढ्दै गयो।

दरभंगा जेलबाट मुक्त भएका बिपी नेपाल आएका थिए। सन् १९४२, अगस्ट ९ मा ‘भारत छोडो’ आन्दोलन सुरू भइसकेपछि त्यहाँबाट भागेर नेपाल आएका कार्यकर्तालाई पिताजी कृष्णप्रसाद कोइरालाले जनकपुरको आफ्नै राइस मिलमा लुकाएर राखेका थिए। तिनीहरूको व्यवस्थापन गर्न कृष्णप्रसादले बिपीलाई अह्राएका थिए। बिपी त्यसबेला विराटनगरमा थिए। बिपी ‘भारत छोडो’ आन्दोलनमा सक्रिय हुन चाहन्थे, तसर्थ उनी विराटनगरबाट पटनातर्फ लागे। पुग्नेबित्तिकै उनी गिरफ्तारीमा परे। उता, पिताजीलाई अंग्रेजविरोधी कार्यमा संलग्न भएको आरोपमा राणा सरकारले गिरफ्तार गर्‍यो। ‘भारत छोडो’ आन्दोलनका क्रममा पहिले बिपीलाई बाँकेपुर जेल चलान गरियो। त्यही जेलमा स्वतन्त्रता सेनानी डा. राजेन्द्रप्रसादलाई पनि राखिएको थियो। जेलका सम्बन्धमा बिपीले भनेका छन्, ‘त्यस जेलमा डा. राजेन्द्रप्रसाद पनि थुनिएका थिए। जेलको अस्पतालको एउटा कोठालाई सफा गरेर राजेन्द्रबाबुका निम्ति दिइयो र अर्को एउटा ठुलो हल खाली गरेर दुइटा बेड राखिदिएको थियो। त्यसको एउटा बेड मलाई दिएको थियो। ती कोठा राम्रा थिए। मलाई केन्द्रीय सरकारको बन्दी भनियो, राजेन्द्र बाबु र म मात्र त्यहाँ केन्द्रीय सरकारका बन्दी थियौं।’

(आत्मवृत्तान्त) यस भनाइबाट के बुझ्न सकिन्छ भने बिपीको गिरफ्तारी अंग्रेज सरकारको केन्द्रीय प्रशासनबाट नै निर्देशन भएबमोजिम गरिएको थियो। यसबाट उनको लोकप्रियताको अनुमान पनि गर्न सकिन्छ।

त्यस जेलमा उनका मित्रहरू देवेन्द्रप्रसाद सिंह, युगलप्रसाद शर्मा, जगजीवन राम, सत्यनारायण सिंह, रामवृक्ष बेनिपुरी आदि पनि थुनिएका थिए। जेलमा डा. राजेन्द्रप्रसादसँग बिपीको राजनीतिक छलफल, विमर्श निरन्तर हुन्थ्यो। केही समयपछि बिपीलाई हजारीबाग जेलमा सारियो। डा. राजेन्द्रप्रसादलाई पनि त्यसै जेलमा सारिएको थियो।

कांग्रेस समाजवादी पार्टीको सदस्यका रूपमा बिपीलाई विहार राज्यका विभिन्न जिल्लाका मजदुरसँग काम गर्न, तिनीहरूलाई स्वतन्त्रता आन्दोलनबारे परिचित गराउन तथा संगठित गर्न पठाइएको थियो।

हजारीबाग जेलमा बिपीको अरू वरिष्ठ नेताहरू श्रीकृष्ण सिन्हा, अनुग्रह नारायण सिंह आदिसँग पनि निकट सम्पर्क स्थापित भयो। ती सबै स्वतन्त्रता सेनानी थिए। जेलमा बिपीप्रति अरूको उच्च सम्मान थियो। बिपीले जेलमा आफ्नो अध्ययनलाई निरन्तरता दिए। त्यसै हजारीबाग जेलमा रहेका बेलादेखि बिपीलाई अर्बुद (क्यान्सर) जस्तो जटिल रोगले समातेको थियो। जेलमा गरिएको सामान्य उपचारले त्यो निको हुने सम्भावना थिएन। जेलबाट छुटेपछि मात्र क्यान्सरको उपचारका लागि बिपी बम्बई गएका थिए।

हजारीबाग जेलमा बस्दाको संस्मरणमा बिपीले भनेका छन्, ‘जेलमा छँदा मेरो घाँटीले केही दुःख दिन सुरू गरेको थियो। ज्यादै पीडा हुन्थ्यो र रगत पनि आउँथ्यो। जेलका डाक्टरको विचारमा मेरो टन्सिल पाकेको थियो र उनी तिनलाई काटेर फाल्न चाहन्थे। त्यसैले सैनिक निगरानीमा मलाई राँची अस्पताल चलान गरियो। मेरो अप्रेसन भयो र टन्सिल काटेर फालियो, तर पनि मेरो अवस्था सुध्रेन। सन् १९४५ मा म जेलबाट छुटेपछि पटनामा आफ्ना डाक्टरलाई देखाएँ तर उनीहरूले पनि मेरो रोगको निदान गर्न सकेनन्।’ (बिपी कोइराला एक क्रान्तिकारी व्यक्तित्व)

जेलबाट छुटेपछि बिपीको उपचारका लागि डा. राजेन्द्रप्रसादले अस्पतालका निर्देशकलाई पत्र लेखी पठाएकाले बम्बईको अस्पतालमा तत्कालका लागि बिपीको सफल स्वास्थ्योपचार भयो।

‘भारत छोडो’ आन्दोलनमा बिपीको सक्रिय सहभागिता र त्यहाँ बिताएको जेल जीवनले विशेष महत्व राखेको प्रतीत हुन्छ, किनभने यो आन्दोलन, गान्धीजीद्वारा नेतृत्वकृत स्वतन्त्र भारतका लागि भएको अन्तिम र निर्णायक आन्दोलन थियो। यस आन्दोलनले १९४७ मा भारत स्वतन्त्र नहुन्जेलसम्म नै निरन्तरता पायो। यसको परिणाम अंग्रेज सरकार र स्वतन्त्रता सेनानीहरूका बीच अनेकौं वार्ताहरू भए र अन्ततोगत्वा १९४७ मा भारतले स्वराज प्राप्त गर्‍यो। त्यस निर्णायक आन्दोलनमा बिपीको गिरफ्तारी एक स्वतन्त्रता सेनानीकै समतुल्य रह्यो। नेपाललाई जहानियाँतन्त्रबाट मुक्त गरी प्रजातन्त्रको स्थापना गर्न संगठित राजनीतिक दलको आवश्यकता छ भन्ने विचार बिपीले यसैताका गरेका थिए किनभने जेलमुक्त भएर उपचारार्थ बम्बई बसेका बेला उनले राणा प्रधानमन्त्री पद्म शमशेरलाई पत्र लेखी नेपाली जनतालाई प्रजातन्त्र दिएर राजनीति गर्न अपिल पनि गरेका थिए, ‘मैले उनी प्रधानमन्त्री भएपछि उनलाई चिठी पनि लेखेको थिएँ कि अब तपाईंले अधिकार पाउनुभयो, अब प्रजातन्त्र दिन पनि थाल्नुपर्छ, जनताको राजनीति थाल्नुपर्छ।’ (आत्मवृत्तान्त)

बम्बईमा ६ महिनाजति बसेर स्वास्थ्यलाभ गरी बिपी बनारस फर्के र जहानियाँतन्त्रका विरुद्ध जनमत निर्माण गर्दै त्यसनिम्ति एउटा बलियो राजनीतिक संगठन स्थापनार्थ सक्रिय रहे। त्यसक्रममा बिपीले सन् १९४६ अक्टोबर ४ मा पटनाबाट प्रकाशित हुने ‘सर्चलाइट’ पत्रिकामा सर्वप्रथम नेपालमा प्रजातन्त्र स्थापनार्थ एउटा बलियो राजनीतिक संगठनको आवश्यकता भएकाले त्यसका निम्ति नेपाल र भारतमा रहेका सचेत प्रजातन्त्रवादी नेपालीहरूलाई संगठित हुन आह्वान गरेका थिए।

‘भारत छोडो’ आन्दोलनमा बिपीको सक्रिय सहभागिता र त्यहाँ बिताएको जेल जीवनले विशेष महत्व राखेको प्रतीत हुन्छ, किनभने यो आन्दोलन, गान्धीजीद्वारा नेतृत्वकृत स्वतन्त्र भारतका लागि भएको अन्तिम र निर्णायक आन्दोलन थियो।

राणाशासन विरुद्ध बिपीद्वारा लिखित यो नै पहिलो वक्तव्य (आह्वान) थियो। अंग्रेजलाई भारतबाट नहटाएसम्म नेपालमा जहानियाँतन्त्र विरुद्धको संघर्ष अघि बढाउन नसकिने विचार उनले पहिलेदेखि नै गरेकै थिए। त्यसैले आफ्नो वक्तव्यमा बिपीले भारतप्रतिको जिम्मेवारीलाई तत्कालै बिर्सन नसकिने विचारका साथ राणातन्त्र विरुद्धमा बलियो संगठनको आवश्यकताबोध गरी त्यसनिम्ति पहिलोपटक आह्वानपत्र प्रकाशित गराएका थिए, ‘अहिले भारतमा रहेका सम्पूर्ण नेपालीहरू र देशभित्रका समान विचारका नेपालीसमेतको व्यापक दृष्टिकोणको एउटा संगठनको आवश्यकता छ। धेरै नेपालीले यसका निमित्त केही गर्न र यसको ठोस जिम्मेवारी बहन गर्न मलाई भनिरहेका छन्। मैले त्यो जिम्मेवारी लिन कबुल गरेको छु र छिटै नेपालीहरूको सानासाना किसिमको बैठकहरूको आयोजना गर्न लागेको छु। यसका निमित्त भारतमा रहेका र देशभित्रका साथीहरूबाट छिटै उचित सल्लाह र सुझाव प्राप्त भयो भने म ज्यादै आभारी हुनेछु। तपाईंहरूबाट यसबारेको सल्लाह र सुझाव प्राप्त भएपछि बैठकको तिथि र स्थानको निर्धारण गर्न मलाई सजिलो हुनेछ। त्यसकारण संगठन निर्माणमा उत्साह एवं सरोकार राख्ने सबै साथीहरूलाई यथासम्भव छिटै मसित सम्पर्क राख्न आग्रह गर्छु।’ (नेपाली कांग्रेसको इतिहासको प्रारूप, भाग १)

समाजवादी पार्टीको सदस्य भएपछि बिपी राजनीतिमा प्रतिबद्ध भएर लागे। उनलाई अब राजनीतिबाट विमुख वा अलगिने सम्भावना थिएन। त्यस पार्टीसँगको संलग्नताले भारतीय राजनीतिका लोकप्रिय नेताहरूसँग उनको दीर्घकालीन वा स्थायी सम्बन्ध स्थापित भयो।

यसै वक्तव्यको परिणाम सन् १९४७ जनवरी २६/२७ मा भएको कलकत्ता सम्मेलनबाट नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भयो। वर्तमान नेपाली कांग्रेसको संगठनात्मक आधारशीला त्यही थियो। नेपालको राष्ट्रिय राजनीतिमा बिपीको प्रथम पाइला ‘सर्चलाइट’ मा प्रकाशित उक्त आह्वान नै थियो। बिपीले त्यही घडीबाट राजनीतिक विचार यात्राको पनि आरम्भ गरे।

बिपीको वक्तव्य उनको विचारयात्राको प्रथम अभिलेखका रूपमा रहेको पाइन्छ। उनले जीवनयात्राका क्रममा निरन्तर विचारसँग पनि संलाप गरिरहे। विचार र जीवनलाई मन्थन गर्दै जाँदा उनी नेपालकै राजनीतिक इतिहासका सबैभन्दा अग्ला मानिस बन्न सफल भए। बिपी आफ्नो जीवन र राजनीतिक विचारलाई हेतुयुक्त बनाउँदै बाँचे।

राजनीतिक तवरले उनका वैचारिक अनुयायीहरू मात्र नभएर सबै राजनीतिक धारमा आबद्ध नेतृत्व र कार्यकर्ताले बिपीका चिन्तनलाई मनमा राखे राम्रै होला। उनले भनेका छन्, ‘विचार र जीवनमा निरन्तर विवाद, संलाप (कथोपकथन) भइरहनुपर्छ। यसले जीवन त समृद्धशाली हुन्छ हुन्छ, विचार पनि पुष्ट र हेतुयुक्त हुन्छ।’ (जेलजर्नल)

प्रकाशित: ६ श्रावण २०८० ०१:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App