१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

जलवायु लडाइँको वास्तविकता

जलवायु परिवर्तन भविष्यको समस्या रहेन। यो वर्तमानको समस्या बनिसकेको छ र यसका प्रभाव यत्रतत्र देखिन थालेका छन्। सबैभन्दा चिन्ताको विषय भनेको के हो भने हाल देखिएका विषम मौसमका घटना त मानवताले भविष्यमा बेहोर्नुपर्ने दुःखका पूर्वाभ्यास मात्र हुन। हामीले यही अथवा अर्काे वर्षदेखि अर्थतन्त्रलाई कार्बनशून्य बनाउने दिशामा दु्रततर गतिमा काम गरे पनि यो परिस्थितिको सिर्जना अवश्यंभावी छ।

यो गंभीर टिप्पणीले ‘जलवायु आशावाद’ को महत्वबारे बहस निम्तन सक्छ। निराशावादले हामीलाई हतोत्साही पार्छ। मार्टिन लुटर किंग जुनियरले बालबालिकाको भविष्यका लागि देखेको सपना थियो, दुस्वप्न थिएन।

म सधैँ आशावादको पक्षमा छु। स्वच्छ ऊर्जा रूपान्तरणमा देखिएको तीव्र गति र विकासक्रम खुशीको विषय हो। जलवायु परिवर्तनका कारण पूर्ववत् अवस्थामा फर्कनै नसकिने विन्दुतर्फ हामी अभिमुख भएको अवधारणा विपरीत सामाजिक, राजनीतिक र प्राविधिक पृष्ठपोषणले भविष्यमा जलवायु नीति र उत्सर्जनलाई सही हिसाबले प्रभावित पार्छन् भन्ने धारणा पनि उत्तिकै सशक्त छ।

जलवायु परिवर्तन भविष्यको समस्या रहेन। यो वर्तमानको समस्या बनिसकेको छ र यसका प्रभाव यत्रतत्र देखिन थालेका छन्।

अहिले स्वच्छ ऊर्जाको विकासको गति विगतको भन्दा अत्यन्त तीव्र छ। तैपनि, पृथ्वीको तापमान बढाउन जिम्मेवार मानिएको हरितगृह ग्याँसको उत्सर्जन अझै बढ्दो क्रममा छ। यही कारण विश्व गलत दिशाउन्मुख छ। त्यसैले यी दुई गतिशील प्रक्रिया विपरित दिशाउन्मुख हुँदा चुनौतीलाई कसरी सम्बोधन गर्ने भन्ने विषय महत्वपूर्ण छ।

पहिलो उत्तर, जोखिम र अनिश्चितताको भाषालाई आत्मसात गर्ने विषयसँग सम्बन्धित छ। केही वर्षअघिसम्म जलवायुसम्बन्धी प्रयासको प्रतिरोध गर्नेहरू अनिश्चितताको विषयलाई बढी भजाउने गर्थे। यिनै सन्देहका व्यापारीले मानवजन्य कारणबाट सिर्जित जलवायु परिवर्तनका तथ्यलाई अस्वीकार गरेका थिए भने यसले सिर्जना गर्ने चुनौतीलाई बेवास्ता गर्ने गरेका थिए। ‘अनिश्चतता’ उनीहरूको साथी थियो। तर हामी सबै सर्वसाधारणका लागि यो पहिलो समस्या थियो। यही अज्ञान र अपरिचयले नै जलवायु परिवर्तनलाई वर्तमानको जल्दोबल्दो समस्या बनाएको छ।

पछिल्ला दशकमा जलवायु विज्ञान र अर्थतन्त्रमा भएका विकासले जलवायुजन्य अनिश्चिततालाई आकलन गर्न सजिलो भएको छ। यो प्रक्रिया सजिलो र डरलाग्दो दुवै छ। किनभने यसले साँचो अर्थमा अनिश्चितता कति खतरनाक छ भन्ने छर्लंग पारेको छ।

समग्रमा भन्नुपर्दा, जलवायु गतिविधिको सुस्त गति बढाएर मात्र पुग्दैन, अनिश्चियलाई सन्तुलनमा ल्याउनु सबै भन्दा महत्वपूर्ण पक्ष हो। बाढी, खडेरी, जंगली आगोलगायतका अन्य जलवायु परिवर्तनजन्य विपद्को मूल्य अत्यन्त महँगो छ।

यस विपरीत, समस्या छिमल्ने कार्यलाई जलवायु नीति निर्माताले सफलता मानेका छन्। कहिलेकाहीँ, यसको शाब्दिक अर्थ सबै भन्दा खराब र डरलाग्दो घटनाविरुद्ध बिमा लिनु जस्तो देखिन्छ। उदाहरणका लागि बिमा व्यवस्थाले घरधनीलाई कहाँ बस्ने भनेर निर्णय लिँदा बाढी र जंगली आगोले गरेको नोक्सानीको हिसाब गर्न लगाउँछ। जब, विपद्को जोखिममा रहेका घरधनीको बिमा मूल्य बढ्दै जान्छ, त्यतिबेलाको सख्त बिमा प्रबन्धले सर्वसाधारणलाई जलवायु अनुकूलनका प्रयासलाई आत्मसात गर्न प्रोत्साहित गर्नेछ।

समग्रमा भन्नुपर्दा, जलवायु गतिविधिको सुस्त गति बढाएर मात्र पुग्दैन, अनिश्चियलाई सन्तुलनमा ल्याउनु सबै भन्दा महत्वपूर्ण पक्ष हो। बाढी, खडेरी, जंगली आगोलगायतका अन्य जलवायु परिवर्तनजन्य विपद्को मूल्य अत्यन्त महँगो छ।

यसैगरी, न्यून कार्बन उत्सर्जन गर्ने ऊर्जा स्रोतमा गरिने लगानीलाई उत्थानशीलताको लगानी मान्न सकिन्छ र यसले अनिश्चियलाई न्यून पार्न सघाउ पुर्‍याउने छ। हरेक व्यक्तिले सरदर ‘कार्बन फुटप्रिन्ट’लाई न्यून गर्ने प्रयासलाई महत्व दिनु र पुरस्कृत गर्नुपर्छ। तपाईँले आफ्ना घरका छानामा सोलार प्यानल राख्ने, ब्याट्री स्टोरेज प्रयोग गर्ने अथवा हिट पम्प र इन्डक्सन चुलो जडान गर्ने जस्ता सही कार्यको महत्वपूर्ण प्रतिफल विषम घटना अथवा त्यसो नगरिँदा बेहोर्नुपर्ने कठिनाइका बेला देखिन्छ।

विषम मौसमका बेला राष्ट्रिय ग्रिड अवरुद्ध हुँदा सोलार प्यानल र ब्याट्री स्टोरेजले निरन्तर ऊर्जा र उज्यालो उपलब्ध गराउन सक्छन्। यसैगरी, ग्यास लाइनको आपूर्ति अवरुद्ध हुँदा इन्डक्सन चुलो अथवा हिटपम्प सहयोगी हुन सक्छ।

आगामी दिनमा सोलार र विद्युतीय सामानको मूल्य घट्ने निश्चित छ। तर भूराजनीति र विश्वव्यापी अर्थतन्त्रमा रहेको अनिश्चितताका कारण प्राकृतिक ग्यास र तेलको मूल्य तल–माथि भैरहनेछ। खनिज इन्धनको अत्यधिक निर्भरता तोड्न यसको प्रयोगबाट बाहिरिनु आवश्यक छ।

सर्वसाधारणलाई लागु हुने विषय समग्र अर्थतन्त्रमा उत्तिकै हिसाबले सान्दर्भिक छ। खनिज इन्धनमा कम निर्भर हुनु भनेको अनिश्चयलाई कम गर्नु हो।

हो, स्वच्छ ऊर्जा रूपान्तरणको यात्रामा तामा, लिथियम तथा अन्य महत्वपपूर्ण खनिज पदार्थ जस्ता अस्थिर वस्तुसँग जोडिएको छ। तर यी वस्तु र खनिज इन्धनमा ठूलो भिन्नता छ। हरेक वर्ष अर्बौँ टन खनिज इन्धन प्रयोग र यसबाट हुने कार्बन उत्सर्जनको तुलनामा स्वच्छ ऊर्जा प्रविधिमा प्रयोग हुने लाखौँ टन यी वस्तुहरूको तुलना गर्न मिल्दैन। फेरि हरेक वर्ष स्वच्छ ऊर्जा उत्पादन प्रविधिको मूल्य घट्दो छ।

हो, स्वच्छ ऊर्जा रूपान्तरणको यात्रामा तामा, लिथियम तथा अन्य महत्वपपूर्ण खनिज पदार्थ जस्ता अस्थिर वस्तुसँग जोडिएको छ।

यसले स्वच्छ ऊर्जा विकासको भविष्यप्रति सावधानीपूर्वक आशावादी हुन सकिने देखिन्छ। अझै पनि विभिन्न व्यवधान विद्यमान छन्। खनिज इन्धन उद्यमी यसप्रकारको विकासक्रमलाई सुस्त पार्न प्रयासरत छन्। यसैगरी, अझै पनि जलवायुजन्य विपद् र विनाश अवश्यंभावी छन्। सबै कुरा ठीकठाक हुनुअघि यस्ता संकट निकट भविष्यमा चरम हुने देखिन्छ।

तर, हामीले जलवायु परिवर्तन रोक्न नसकेको अवस्थामा पनि यसले निम्त्याउने अनिश्चिततालाई न्यून गर्न सक्छौँ। सबै भन्दा अप्रिय अवस्था आउनबाट जोगिन अहिले नै जाग्नुपर्ने बेला आएको छ। जलवायु जोखिम वित्तीय जोखिम हो र जलवायु कार्य बिमा नीति हो। यो तथ्य समग्र विश्व र हरेक सर्वसाधारणमा लागु हुन्छ।

(वागनर कोलम्बिया बिज्नेस स्कुलका जलवायु अर्थशास्त्री हुन्। प्रोजेक्ट सिन्डिकेटबाट)

प्रकाशित: ५ श्रावण २०८० ००:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App