सोमबारको कान्तिपुर दैनिकले एमालेका झण्डै आधा पार्टी सदस्यले सदस्यता नवीकरण नगरेको सनसनीखेज समाचार प्रकाशित गर्यो । समाचारले खंग्रंगै पार्यो । साउनको पहिलो सोमबार, संक्रान्ति, नयाँ आर्थिक वर्षको प्रथम दिन, सामाजिक/सांस्कृतिकरूपमा ऋतु श्रवण गर्ने दिन, इष्टमित्र भेटघाट गर्ने, मीठोमसिनो खाने, खेतीपाती राम्रो होस् भन्ने कामनासाथ ठूलै अन्तरालपछि आएको मलमासको व्यवस्थापनसँगै रोगव्याधि र लुतो फाल्ने दिन बिहान सबेरै देशको सबै भन्दा संगठित पार्टीमा लागेको सुके लुतोले झसंगै बनायो । निरास पा¥यो । अरू ठूला पार्टीका हकमा पनि बहुचर्चित उखान ‘जेठा मामाको त यो गति कान्छा मामाको भांग्राको धोती, अरू मामाको के गति’ भएको सुनिँदैछ !
एमाले मूलधारको प्रमुख पार्टी हो । पछिल्लो समय यसमा दश लाख बढी सदस्य रहेको सुनिन्थ्यो । २००६ सालमा स्थापना भएपछि सातसालको क्रान्तिमा होमिएको यो पार्टी यताउति, खोलो जस्तै दायाँ–बायाँ घुम्दै मूलधारको पार्टी बनेको हो । कुन बाटो, मूल बाटो, राष्ट्रिय प्रजातान्त्रिक क्रान्ति कि नौलो जनवाद, तेस्रो र चौथो महाधिवेशन, मोटो र पातलो मसाल हुँदै कहिले छरिँदै र कहिले बरालिँदै मालेबाट रूपान्तरण हुँदै लोकतन्त्रीकरण हुँदै एमाले बनेको हो । गिरिजाप्रसाद कोइरालाले एमालेको जाग्दो हैसियतलाई ठेगान लगाउन जनतामा परीक्षण नभएको माओवादीलाई उहीसरहको बनाएर पस्कँदा पनि आफ्नो हैसियतलाई जनताबीच अक्षुण्ण राखेको पार्टी हो एमाले । नेपालको स्वाधीनता, सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा, राजनीतिक संयन्त्रमा एमाले चुस्त र दुरुस्त थियो । समाजका गतिला, गर्बिला र जनप्रिय छवि भएका नेताहरू थिए । आफूमा भरपुर संगठित गर्ने कला, कौशल, लगनशील र मौलिकता भएकाले एमाले वाम राजनीतिको अग्रणी हुँदै नेपाली राजनीतिको मूलप्रवाह बनेको हो । एमाले वर्षाको खहरे होइन, सदाबहार हिमनदीझैं बनेको थियो ।
हजारौँ नेता÷कार्यकर्ताहरूको सरल जीवन, उच्च विचारको जीवनशैलीका कारण मलिलो बनेको नेपाली वामपन्थी आन्दोलनलाई गुणात्मकरूपमा मदन भण्डारीले अगाडि बढाउने सफलता पाए । त्यसैकारण सोभियत संघको विघटनपछि विश्व कम्युनिस्ट आन्दोलन धराशायी हुँदा पनि विश्वविख्यात अमेरिकी पत्रिका न्युजविकले लेख्यो– कार्ल माक्र्स लिभ इन नेपाल ! यसले नेपालमा सनसनी नै मच्चायो । मदन भण्डारीले हिंसात्मक क्रियाकलापबाट अगाडि बढेको आन्दोलनलाई शान्तिपूर्ण लोकतान्त्रिक प्रतिस्पर्धी पार्टीमा एमालेलाई रूपान्तरण गराउने सफलता पाए । उनी बाँचेका भए पार्टीको नामलाई पनि संभवत परिवर्तन गरेर समयानूकल पार्ने थिए । तर असामयिक मृत्युले यो अहम् काम बाँकी रह्यो ।
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र बनेपछि एमालेबाट भएका चार गल्तीको प्रभाव यतिखेर यो पार्टी बेहोरिरहेको छ । के के हुन् चार भूल ? २०७४ को निर्वाचनमा संसद्मा झण्डै दुईतिहाइ सांसद भएको नेकपाले सरकार चलाउन नसक्नु पहिलो भूल हो । त्यो बेला जुन अवसर वामपन्थी नेतृत्वले पाएको थियो, त्यो विरलै प्राप्त हुन् अवसर थियो प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारलाई बामदेव गौतम, माधव नेपाल र प्रचण्डले चल्न दिएनन् । कोभिडले थिलथिलो बनायो । तर पनि जनमत एमालेको पक्षमा थियो । सांसदहरू एमालेकै धेरै थिए । हिंसात्मक आन्दोलनबाट शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको माओवादीलाई रूपान्तरण गर्नुपर्ने चुनौती सखारै थियो । संसदीय दलको बैठक गरेर अगाडि बढ्ने संवैधानिक प्रयत्नसम्म हुन दिइएन ।
दोस्रो कारण हो– संसद् पुनस्र्थापना भएपछि एमालेमा फेरि अलमल भयो । त्यो समयमा नयाँ पुस्ताका भन्नेहरू चुके । खासमा उनीहरूले पार्टीलाई नयाँ चरणमा लैजान सक्नुपथ्र्यो । देशव्यापीरूपमा पार्टीलाई अर्को चरणमा रूपान्तरण गर्न सक्ने जनसमर्थनसमेत उनीहरूले पाएका थिए । तर आफूमा भएको शक्ति र समर्थनलाई पहिचान गर्न नै सकेनन् । अलमलमा परे । तेस्रो भूल हो, गत मंसिरमा भएको आमचुनावमा एमाले एक्लै होमिएको थियो, नेकपा तीन टुक्रामा विभाजित भएर माधव नेपाल, प्रचण्ड गएपछि एमालेले कसैसँग गठबन्धन गर्नुहुँदैनथ्यो । पार्टीको महाधिवेशनले एमालेलाई एकढिक्का बनाइसकेको थियो । एमालेको चुनावी माहोलदेखि तर्सिएर नेपाली कांग्रेसका शेरबहादुर देउवा माधव नेपालको समाजवादी, प्रचण्डको माओवादी र उपेन्द्र यादवको जनता समाजवादीसँग गठबन्धन गर्न पुगे । मधेसकेन्द्रित र महामण्डलेसँगको गठबन्धनले एमालेलाई दोस्रो दलमा संकुचित पारिदियो । चौथो भूल हो– मंसिरमा चुनाव परिणाम आएपछि कांग्रेस, माओवादी, माधव नेपाल र उपेन्द्र यादवको समाजवादीबीच भागबन्डा मिलेन । गठबन्धन सरकार बनाउन असफल भएपछि एमालेले नेपाली कांग्रेससँग मिलेर सरकार बनाउनुपथ्र्यो वा कांग्रेसको अल्पमतको सरकार बनाउन दिनुपथ्र्र्यो । एमाले बाहिरै बस्नुपथ्र्यो ।
आफूमा भरपुर संगठित गर्ने कला, कौशल, लगनशील र मौलिकता भएकाले एमाले वाम राजनीतिको अग्रणी हुँदै नेपाली राजनीतिको मूलप्रवाह बनेको हो । एमाले वर्षाको खहरे होइन, सदाबहार हिमनदीझैं बनेको थियो ।
धेरै कम सांसद भएको तेस्रो दल माओवादीलाई अगाडि सारेर एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउने अक्षम्य गल्ती गर्यो । बदलिँदो राजनीतिक÷सामाजिक रूपान्तरणका लागि एमालेले मिलेर वा प्रमुख प्रतिपक्षमा बसेर कांग्रेसलाई सरकार बनाउन दिएर आफ्नो मुठीमा राख्नुपथ्र्यो तर एमालेको खेला प्रत्युत्पादक बन्न पुग्यो, चतुर धूर्त प्रचण्डले कांग्रेसका शेरबहादुरलाई मुठीको माखो बनाए ।
प्राध्यापकको विश्लेषणात्मक निष्कर्षमा संगठनात्मक, राजीतिक परिवर्तनको निम्ति आन्दोलनमा होमिएको (२०१७ देखि २०४६ सालभित्र जन्मिएको, हुर्किएको र देश काल परिस्थिति झेलेको) पुस्ताको आशा, भरोसा र विश्वास एमालेमाथि थियो । यो लिन होइन, दिन मात्र जानेको पुस्ता थियो । तर पटक÷पटकको सत्तारोहणसँगै एमाले नेतृत्वलाई बिचौलिया, ठेकेदार, दलाल, तस्कर, माफियाले ध्वस्त बनायो । त्यसपछि पार्टी संगठन र नेतृत्वको होइन, तस्कर÷दलाल एमालेमाथि हावी हुन पुगे । जसले गर्दा राजनीतिमा आशलाग्दा देखिएका नेताहरू पनि तिनकै हितमा काम गर्न थाले । त्यसले एमालेलाई क्षतविक्षत बनायो । त्यसैको परिणाम हो आधा सदस्यले सदस्यता नवीकरण नगर्नु । त्यसैले मलाई लाग्छ, यसपालि भएको चुनाव सकिएको छ सात महिना मात्र बिते पनि मिसन २०८४ को चर्चा चल्न थालिसकेको छ अर्थात चार वर्षपछि हुने आमचुनावमा प्रतिस्पर्धा गर्न जानुअघि एमालेले उपरोक्त कुरा विश्लेषण गरेर सिर्जना र आलोचनात्मक चेतका साथ देशव्यापी विचारविमर्श गरेर अगाडि बढ्न सक्छ कि सक्दैन ? यो नै एमालेका लागि अन्तिम मौका हुन सक्छ ! पाँचौँ गल्ती गर्न लक्षित भयो भने एमालेलाई इतिहास बन्ने पथबाट उसलाई कसैले पनि जोगाउन सक्ने छैन ।
प्राध्यापकको खह्रो र सपाट विश्लेषण र निष्कर्षले दिएको सन्देश के हो भने जड मानसिकता नेतृत्वमा हावी भएपछि समस्या उत्पन्न हुने गर्छन् । एमालेले आफूलाई रूपान्तरणकारी पार्टी भनिरहने हो भने सर्वप्रथम उसले केमा रूपान्तरण गर्न खोजेको हो ? संगठनमा अनुशासन, आचरण, पार्टी व्यवस्थापन वा आन्तरिक लोकतन्त्रमा रूपान्तरण ? कि नेतृत्वको आशीर्वाद भएपछि हजार अपराधमा पनि अभयदान पाइने अवस्थाबाट रूपान्तरण ? आफू र आफ्ना कार्यकर्तालाई स्पष्ट पार्न सक्नुपर्छ । परिणाम पनि देखिनुपर्छ । नयाँ नेपाल बनाउन खोजेको हो भने भन्न सक्नुपर्छ, के हो नयाँ नेपाल भनेको ? नेपालको भूगोल र जनता फेर्न सकिँदैन भने एमालेले केचैं फेरेर नेपाललाई नयाँ बनाउन खोजेको हो जनताबीच त्यो प्रष्ट पार्नुपर्छ । त्यसभन्दा अघि ऊ आफैँ स्पष्ट हुन जरुरी छ । रूपान्तरण कार्यकर्ताको कि नेतृत्वको गर्न खोजिएको हो ?
रूपान्तरणकारी एमाले र नयाँ नेपाल भट्याएर मात्र केही हुनेवाला छैन । गणनायोग्य र नाप्न सकिने प्रतिफल राखेर काम कुरा अगाडि राखिन्छ भने रूपान्तरण गर्न नसकिने होइन ! नेतृत्वले जवाफ के दिइहाल्न सक्नुपर्छ भने अहिलेको अवस्था के हो ? र, एमाले कुन अवस्थामा पुग्न चाहन्छ ? कतै आमनिर्वाचनमा दोस्रो ठूलो पार्टी भएकाले एमालेले रूपान्तरण खोजेको त होइन ? अथवा दोस्रो पार्टी भएकाले रूपान्तरण खोजेको हो ? कि नेतृत्व जड भएकाले गतिशील बन्नुपर्ने रहेछ भन्ने चेत खुलेर रूपान्तरणको कुरा उठाइएको हो ? के कुरा घाम जत्तिकै स्पष्ट छ भने माधव नेपालले एमालेमा शुद्धीकरण भन्नुको कुनै तुक छैन । न त नेपालबाट प्रचण्डले भ्रष्टाचारको अन्त्य हुन्छ भन्ने कुरा नै जनताले पत्याइरहेका छन् ! कुनैबेलाका सहयोद्धा डा. बाबुरामले स्वीकारेको ३५ अर्ब रुपियाँ भ्रष्टाचारको कठघरामा उभिएर जवाफ नदिइ प्रचण्डको गफको रोटी सेकिनेवाला छैन, पाक्ने त कुरै छैन ।
स्वाभाविक प्रश्न उठ्दैछ, दश लाख एमाले सदस्यमध्ये नवीकरण नगर्ने पाँच लाख सदस्य कहाँ जान्छन् होला ? कि चूपचाप लागेर बस्छन् होला ? साधारण चेत भएको व्यक्तिले पनि जवाफ दिने रहेछ, राजनीतिमा सक्रिय व्यक्ति त्यत्तिकै रहन सक्दैन । नयाँ खुलेका पार्टीतिर क्रियाशील भैहाल्छन् ।
एमाले सदस्यता नवीकरण नगर्नेहरूलाई सत्ता, शक्तिप्रतिको विमोह, अविश्वास अचानक भएको हो कि त्यसका विशेष कारण छन् ? पार्टी गतिशील भएन कि पार्टीले अजेन्डा छाडेर पो हो कि ? पार्टीको उपल्लो तहले न्याय गर्न नसकेर हो कि ? किनभने जनता एकदमै छिटो काम खोजिरहेका छन् । जनताबीच रहेका नेता कार्यकर्तालाई यसले निरास बनाएर पलायन गराएको हो कि ? अथवा, एमालेकै सान्दर्भिकता सकिएर पो हो कि ? पाँच पाँच लाख सदस्यले नवीकरण नगर्नु भनेको डरलाग्दो अवस्था हो । भर्खरै सकिएको ग्रासरुट अभियान लगत्तै यो के भएको हो ? कि अभियान ग्रासरुटमै नपुगी सदरमुकाम रुटबाट फर्किएको पोल छताछुल्ल भएको त होइन ? पाँच लाख सदस्यलाई टाँसेर राख्ने वैचारिक सुपरग्लु कतै एमालेमा सकिएको त होइन ? वैचारिक ग्लुरूपी वास्तविक बुद्धिजीवीको पलायन र नक्कली बुद्धिजीवको हालीमुहाली भएर एमालेका आधा सदस्य बाहिरिएका हुन् ?
कसैले पनि भ्रम नपाले हुन्छ, सधैँ न एउटैको शासन रहन्छ न त एउटै पार्टी सधैँ उत्तिकै जाज्वल्यमान रहन सक्छ । कुनै बखत बेलायतमा टोरीको कस्तो दबदबा थियो ? अहिले असान्दर्भिक भयो । जापानी शासकहरूको कथा यस भन्दा भिन्न छैन । स्वयम् लेनिनले नेतृत्व गरेकोे बोल्सेभिक क्रान्ति सकियो । उनले स्थापना गरेको सोभियत संघ आज इतिहास भैसक्यो । वार्सा प्याक्ट हरायो । नाटो यसै हल्लिइरहेको छ । यसको अर्थ के नलगाइयोस् भने सीमित आयुको जीवलाई धेरै समयसम्म जीवित राख्न सकिन्न । दीर्घजीवी रहन युगानुकूल, समयानुकूल र सिफ्रेस भैरहनुपर्छ । यसनिम्ति हठबाट मुक्त हुनैपर्छ । धेरैलाई समेट्नुपर्छ । आफू मात्र ढलिमली गरेर अरू नअटाउने पार्नुहुँदैन । यतातर्फ पनि पुनर्विचार गर्ने हो कि ?
प्रकाशित: ३ श्रावण २०८० ००:५० बुधबार