‘नागरिकसँग नागरिक’ को ब्यानरमा नेपाल यात्रा आफैँमा रोचक अनुभव हुने गरेको छ । राजधानी काठमाडौं खाल्डो छाडेर हिँड्दाका अनुभूति प्रत्येक पटक भिन्न हुने गर्छ । काठमाडौंको धुवाँ, धुलो र धङधङीभन्दा भिन्न राजधानीबाहिरको जनजीवन स्वच्छ, स्वस्थ र संयमी देखिन थालेको छ ।
सर्वप्रथम, उपत्यकाबाट बाहिर निस्किनु आफैँमा एउटा कष्टसाध्य अनुभव हुने गर्छ । मुग्लिङ खण्डको विस्तारका लागि दिउँसो एक बजेदेखि अपराह्न ४ बजेसम्म यातायात बन्द हुने भएकाले सखारै यात्रामा निस्कनुपर्ने हुन्छ । तर राजधानीको कलंकीदेखि नागढुंगासम्मको यात्राको कष्ट अकल्पनीय छ । यो बाटो भएर हजारौं गाडी दैनिक राजधानी भित्र र बाहिर गरिरहे पनि त्यो पीडाले सरोकारवाला निकायलाई छुन सकेको छैन ।
दिउँसै रातपरेजस्तो गरी धुलो उडिरहेको छ । एउटा बस वा ट्रक बिग्रियो भने सयौंको यात्रा चौपट हुन्छ । ती अन्तहीन लाममा लागेका हुन्छन् । यो बुधबार राजधानीबाट बाहिरिने क्रममा हामीले पनि त्यही अनुभव गर्याैं। थानकोटनिर बिग्रिएको एउटा सवारीले सयौंको संख्यामा ठूला मालबाहक ट्रक र गाडी जाममा अड्किएको देखिन्थ्यो । जसोतसो हामीलाई यति छोटो दूरी तय गर्न दुई घण्टा जति लाग्यो ।
विकासको महामारीबाट राजधानी काठमाडौंलाई चाँडै मुक्त नगर्ने हो भने अहिलेसम्म हेपिएका र पछि पारिएका बाहिरका बस्तीहरूले खिस्याउने दिन धेरै टाढा छैनन् ।
एक हिसाबले यसलाई ठूलै उपलब्धि मान्न बाध्य भयौं हामी । राजधानी प्रवेश र प्रस्थानको अत्यावश्यक नाकामाथि यस किसिमको हेलचेक्र्याइँले गन्तव्यमा पुग्न हतारिएकाहरूलाई समस्या हुने नै भयो । त्योभन्दा पनि दुःखद अवस्था त्यस आसपास बसोबास गर्ने व्यक्तिहरूको जीवन कष्टकर भएको छ । समयमै विकास निर्माण सम्पन्न नगरेर राजधानी काठमाडौंलाई एउटा प्रदूषित र फोहोर सहरका रूपमा राख्ने काम भएको निकै वर्ष बितिसकेको छ ।
बाटोको यो अवस्था नारायणगढ नपुगुन्जेल उस्तै छ । यो पंक्ति लेख्ने बेलामा महेन्द्रनगरसमेत पुगेर धनगढी आइपुग्दा करिब साढे नौ सय किलोमिटर सडक दूरी पार भएको छ । नवलपरासी हुँदै भैरहवा पुग्दा बीचको बाटो केही राम्रो पाइयो । तर भैरहवामा सडकको दूरावस्था छ । सडक भत्काएर असरल्ल अवस्थामा छाडिएको छ ।
भैरहवाबाट बुटवल पुगेपछि भने धेरै आशालाग्दो लक्षण देखिएको छ । विस्तारित सडक धेरै व्यवस्थित देखिएका छन् । भित्री सडकलाई समेत व्यवस्थित गरेको देखिएको छ । विकास निर्माणको तीव्रताले गर्दा बुटवल र भैरहवा जोडिएका छन् । जग्गाको भाउ आकासिएको छ । तुलनात्मकरूपमा यहाँका मानिस सन्तुष्ट छन् ।
बुटवलबाट दाङ पुग्दा राजमार्गको अवस्था बीचबीचमा खराब भए पनि भित्र जाने ठाउँमा केही असजिलो छ । दाङ सदरमुकाम घोराहीमा पनि सडक विस्तारको गति यथावत् छ । धेरै ठाउँमा सडक विस्तार भइरहेको छ । कतिपय त्यसैको प्रतीक्षामा छन् ।
दाङबाट राजमार्ग भेटुन्जेलको असजिलोपछि नेपालगन्ज पुग्ने राजमार्गको अवस्था भने राम्रो छ । कोहलपुरबाट जमुनाहासम्म पुग्ने राजमार्गको विस्तारले बाहिरबाट त्यहाँ पुग्नेलाई अत्यन्त आल्हादित तुल्याउँछ । केही वर्षअघिसम्म नेपालगन्ज पुग्नेहरूले त्यहाँको फेरिएको अवस्थाबाट अन्तर्राष्ट्रिय स्तरकै सडक निर्माण भएको महसुस गर्छन् ।
केही वर्षअघि नेपालगन्जमा रहँदा सडक विस्तारका लागि सडक किनाराका अवरोध हटाउने क्रममा तत्कालीन प्रहरी–प्रशासन र स्थानीयले गरेको पहललाई यो पंक्तिकारले अवलोकन गर्ने अवसर पाएको थियो । त्यो बेला सडकको यस्तो अवस्था होला भन्ने कल्पनासमेत थिएन ।
नेपालगन्जको सडक जतातलै खाल्डाले भरिएको, फोहोरै÷फोहोरयुक्त र जताततै खच्चडको लिदीले आक्रान्त सहर देखिन्थ्यो । तर यसपटक खुला र फराकिलो सडकमा अटोरिक्सा गुड्न थालेपछि यहाँका खच्चड र घोडाले कुदाउने टाँगा विस्थापित भएछन् । यो सहर हेर्दाहेर्दै सफा र सुन्दर देखिन थालेछ । तैपनि यहाँका मानिस सन्तुष्ट छैनन् । उनीहरूले छलफलका क्रममा हामीलाई भने– सडकको गुणस्तर छैन ।
सडकलाई गुणस्तरयुक्त नबनाउनुमा स्थानीय बासिन्दाले दलका प्रतिनिधिलाई समेत दोष दिएका छन् । ठेकेदारका आर्थिक प्रलोभनमा परेर यसको गुणस्तरलाई बेवास्ता गरिएको भन्ने तिनको आरोपमा अवश्य पनि सत्यताको अंश छ । साथै यो सडक कति वर्ष टिक्छ, त्यसले पनि यो आरोपको पुष्ट्याइँ गर्ने÷नगर्ने देखिन्छ ।
कुनै बेला अमेरिकाको न्युयोर्क सहर घोडाले चल्ने यातायातका कारण लिदी नै लिदी हुँदा कसरी सफा गर्ने भनी टाउनहल मिटिङ हुँदा कुनै निष्कर्ष निकाल्न नसकी टुंगिएको इतिहास हामी पढ्न पाउँछौं । तर पछि अटोमोबिलको आविष्कासपछि घोडाहरू सडकबाट विस्थापित भए र टाउनहलले निकाल्न नसकेको समाधान प्रविधिले निकाल्यो भन्ने अनुभव छ । नेपालगन्जको हकमा पनि फराकिलो सडकबाट टाँगा हट्नेबित्तिकै न्युयोर्क सहरले जस्तै मुहार फेर्ने अवसर पाएको छ ।
तर हाम्रा विकास खण्डखण्डमा मात्र हुन सकेका छन् । नेपालगन्जको सडक त बनेको छ तर नालीको व्यवस्था राम्ररी हुन सकेको छैन । स्थानीय बासिन्दा अब वर्षात्को मौसम आउनासाथ डुबान र नालीको समस्याले आक्रान्त हुने अवस्थामा पुगिने डरमा अहिल्यै छन् । मूल सडक ठूलो बने पनि पैदल यात्रुका लागि सुविधाजनक पेटीको व्यवस्था गरिएको छैन । यी सबै हिसाबले सडकको विस्तार कहिले हुने ? अझ भित्री सडकहरू कहिले बनिसक्ने, यस्तो विषम परिस्थितिमा स्थानीय छन् ।
नेपालगन्जबाट महेन्द्रनगरसम्मको यात्रा भने अहिले आनन्ददायी छ । सडकको कुनै कुनै खण्डमा सामान्य बिग्रेकोबाहेक समग्रमा अवस्था सुखद छ । अझ धेरै ठाउँका स्थानीय बासिन्दाको गुनासोभन्दा भिन्न मुलुकको पश्चिमी सीमान्त सहर महेन्द्रनगरमा जताततै पिच गरिएका सडक छन् । स्थानीय बासिन्दा अहिले गर्वसाथ भन्न थालेका छन्– केही वर्षमै हामीसँग पिच गर्न बाँकी कुनै सडक हुने छैन ।
यसपटक ठाउँठाउँमा स्थानीय बासिन्दासँगका छलफलमा काठमाडौंको जस्तो फोहोर र कोलाहलपूर्ण अवस्था आफ्नो नभएको महसुस गर्न थालेका छन् । अझ स्थानीय निकाय निर्वाचनको हकमा सफा र सुन्दर सहरमा बस्न थालेका यताका बान्दिाले फोहोरी काठमाडौंमा बस्ने नेतालाई प्रदक्षिणा गरी टिकट लिने प्रवृत्तिप्रति व्यंग्यसमेत गर्न थालेका छन् ।
हुन पनि स्थानीय क्षेत्रमा सडक विस्तार, विकास निर्माणमा सक्रिय हुन थालेका स्थानीय नागरिकले वास्तविक अर्थमा स्थानीय तहको निर्वाचनमार्फत् विकेन्द्रीकरणको अभ्यास गर्न चाहेको देखिएको छ । विकास निर्माणका लागि स्रोतको व्यवस्था हुने भएपछि आफैँ अघि बढ्न सकिन्छ भन्ने उनीहरूलाई लागेको छ । तर स्थानीय तह निर्वाचनमा उम्मेदवारको सिफारिसदेखि चयनसम्मको कामका लागि केन्द्रीय नेता गुहारेको देखेर उनीहरू आश्चर्यचकित छन् ।
राजधानी काठमाडौंभन्दा बाहिरका सहरहरूले आफूलाई उम्दा ठान्न थालेकामात्र होइन, व्यवस्थित पनि देखिन थालेका छन् । सडकको अवस्था राजधानी काठमाडौंभन्दा धेरै अर्थमा भिन्न देखिएको छ । स्थानीय तहको अभ्यास राम्ररी हुन सक्यो र स्रोत परिचालन राम्ररी हुन थाल्यो भने केही वर्षमै काठमाडौंलाई विकास निर्माणका हिसाबले बाहिरका सहरले घेर्ने स्थिति देखिएको छ ।
राजधानी काठमाडौंलाई विकासको महामारीमा पार्नेहरूले एकपटक बाहिरका जिल्लामा देखिएको तत्परताको अवलोकन गर्नुपर्ने देखिएको छ । विकासको महामारीबाट राजधानी काठमाडौंलाई चाँडै मुक्त नगर्ने हो भने अहिलेसम्म हेपिएका र पछि पारिएका बाहिरका बस्तीहरूले खिस्याउने दिन धेरै टाढा छैनन् ।
प्रकाशित: २१ जेष्ठ २०७४ ०३:३३ आइतबार