२९ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

भक्त र भक्ति

गुरुब्र्रह्मा, गुरुर्विष्णु, गुरुर्देवो महेश्वरः।

गुरु साक्षात् परम ब्रह्मा, तस्मै श्री गुरुवे नमः।।

अर्थात गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु र गुरु नै भगवान् शंकर हुन्। गुरु साक्षात् परम् ब्रह्मा हुन्। यस्ता गुरुलाई म प्रणाम गर्छु।

सबैभन्दा पहिलो सृष्टिको प्रथम र परम गुरु भगवान विष्णुलाई नमन छ। भगवान विष्णुले नै सबै भन्दा पहिला वेदव्यास लाई चार वेदको ज्ञान दिनुभएको थियो।

गुरु पूर्णिमा पर्व प्रत्येक वर्ष असार पूर्णिमाको दिन मनाइन्छ। सोही मितिमा वेदव्यासको जन्म भएको थियो। त्यसैले गुरु पूर्णिमालाई व्यासपूर्णिमा पनि भनिन्छ। वेदव्यासले १८ पुराणको रचना गर्नुभएको र उपनिषद्लाई शृंखलाबद्ध गरेर ब्रह्मसूत्रको रचना पनि गर्नुभएको थियो।

गुरु पूर्णिमा चाड विशेषरूपमा समस्त गुरूप्रति श्रद्धा सुमन हो। सम्पूर्ण विश्वका हिन्दुका लागि विशेष दिन हो। पौराणिक कालदेखि नै गुरुको महत्व देवता भन्दा माथि राखेको छ। गुरुले शिष्यलाई नीति–अनीति, अध्यात्मसूत्र र कर्मको विज्ञानको ज्ञान दिन्छन्।

गुरु शब्दको आध्यात्मिक अर्थ हुन्छ– जसले हामीलाई अन्धकारबाट प्रकाशको यात्रा गराउँछ। अन्धकार भन्नाले अज्ञान र प्रकाश भन्नाले ज्ञान। प्राचीनकालदेखि भनिएको छ गुरुबिना ज्ञान हँुदैन। गुरु जस्तै मानव जीवनमा ज्ञानको पनि धेरै महत्व छ। पश्चिमका एक विचारकले यहाँसम्म भनेछ कि ‘ज्ञान नै शक्ति हो’। हुन त जीवनमा धेरैवटा गुरु भेंटिन्छन् जसले हामीलाई बेला–बेलामा मार्गदर्शन गर्छन्। गुरु दत्तात्रेय भन्नुहुन्थ्यो– मेरा २४ जना गुरु छन्। उहाँले आफनो जीवनमा धेरै व्यक्तिसित ज्ञान प्राप्त गर्नुभयो। उहाँले कमिलालाई पनि गुरु मान्नुभएको थियो।

मानव जीवनमा गुरुको धेरै महत्व छ। जसरी भनिन्छ कि आमा मानवको पहिलो गुरु हुन्छ। बुबा दोस्रो गुरु, सांसारिक शिक्षा दिने तेस्रो गुरु हुन्छ। आध्यात्मिक ज्ञान दिने चौथो गुरु हुन्छ। वैज्ञानिकरूपमा यो कुरा सावित भइसकेको छ कि पूर्णिमा र अमावस्याको दिन प्रत्यक्ष र अप्रत्यक्षरूपले पृथ्वीमा धेरै प्रकारका घटना हुन्छन्। जसरी पृथ्वीको ७१ प्रतिशत भागमा पानी छ र उनान्तीस प्रतिशत मात्र जमिन छ। त्यस्तै मानव शरीरमा पनि असी प्रतिशत पानी हुन्छ। चन्द्रमाको प्रकाशले गर्दा समुद्रमा लहरको प्रभाव घट–बढ हुन्छ। त्यस्तै मानव मन र मस्तिष्कमाथि पनि यसको प्रभाव पर्छ। आध्यात्मिक जगत्को एउटा अनुसन्धानअनुसार पूर्णिमाको दिन धेरै व्यक्तिलाई आत्मज्ञान उपलब्ध भएको देखिन्छ। यसै कारणले गुरु र गुरु पूर्णिमाको महत्व प्राचीनकालदेखि आइरहेको छ।

गुरुहरूबाट दिइने ज्ञान

कृतज्ञता– हामीलाई जहिले पनि समाज, प्रकृति, परिवार र अरू सम्बन्धबाट सहयोग वा असहयोगका रूपमा जे पनि प्राप्त हुन्छ, त्यसप्रति कृतज्ञताको भाव राख्नुपर्छ। तर सबैले कृतज्ञताको भाव राख्न सक्दैनन्। यसका लागि उच्च समझ आवश्यक हुन्छ। प्राचीनकालको यस ज्ञानलाई आधुनिक मनोवैज्ञानिकले पनि स्वीकार गरेका छन्।

दया– हामी सबै बेलाबेलामा अर्कासित दयाको कामना राख्छौँ। ठ्याक्कै त्यस्तै अर्काले पनि दयाको कामना राख्छ। यस कारण हामीमा दयाको भाव विकसित गर्नुपर्छ। गुरुहरूका अनुसार सजीव मात्र होइन, निर्जीवमाथि पनि दयाको भाव राख्नुपर्छ।

क्षमा– जानी नजानी हामी आफ्नो जीवनमा धेरै गल्ती गरिरहन्छौँ। सारा गल्तीको हिसाबकिताब वा चिन्तन–मनन गरिराख्यो भने जीवन तनावपूर्ण र अशान्तिपूर्ण भइहाल्छ। क्षमा दियो भने चित्त सफा र भाव शुद्ध हुन्छ। धेरै मानिसलाई यो लाग्छ कि क्षमा अर्काका लागि हो। तर यस्तो होइन। क्षमाबाट आत्मकल्याण हुन्छ।

सहनशीलता– दैनिक जीवनमा धेरै कुरा अनुकूल र धेरै कुरा प्रतिकुल भइरहन्छ। चित्त नबुझेको कुरा, घटना वा परिणामले हामीलाई दुःख दिन्छ। यो दुःखबाट मुक्तिका लागि हामीलले सहनशीलताको सहयोग लिनुपर्छ। बदला लिने भाव त्याग गरेपछि हामीभित्र सहनशीलताको भावना विकास हुन्छ।

सरलता– प्राचीनकालको उखान छ– सिम्पल लिभिङ, हाइ थिन्किङ। अर्थात रहन–सहन सरल र सहज राख्ने र विचार र सोचाइ उच्च राख्ने। मान्छेले ठ्याक्कै यसको उल्टो गर्छ। रहन–सहनलाई असजिलोपूर्ण गर्छ तथा विचारलाई तल ल्याउँछ। जसरी हामीलाई अर्काको सरलताले प्रभावित गर्छ, त्यस्तै अरूलाई पनि हाम्रो सरलताले प्रभावित गर्छ।  

नैतिकता– एउटा भनाइ छ, धन नष्ट भयो भने खास चिन्ताको कुरा होइन किनकि फेरि हामी आर्जन गर्न सक्छौँ। स्वास्थ्य गएपछि अलि चिन्ताको कुरा हुन्छ किनकि यसलाई ठीक गर्नका लागि समय र धन लाग्छ, साथै दुःख पनि हुन्छ। तर नैतिकता गयो भने सबै कुरा गएको जस्तै बुझ्नूस्। किनकि नैतिकता गयो भने केही पनि बाकी रहँदैन।

परोपकार– संसारमा कोही पनि पूर्ण छैन। कसैबिना कसैको काम खराब हँुदैन तर सबैसित सबैको काम चल्छ। हामी भन्दा कमजोर र असहाय व्यक्तिलाई सहयोग गर्नु परम धर्म हो। सबै धर्ममा परोपकारका लागि विशेष ध्यान दिइएको छ। यस कारण आफ्नो क्षमताका अनुसार हामीले परोपकार गरिराख्नुपर्छ। किनकि यस कारणले समाज कल्याण र आत्मसन्तुष्टि पनि हुन्छ।

सनातन संस्कृतिमा गुरुको धेरै नै महत्व छ। यति मात्र हैन, गुरुलाई भगवान भन्दा माथि राखेको छ। यसैलाई सन्त कवीरदास भन्नुहुन्छ –

गुरु गोविंद दोऊ खडे, काके लागू पाय।

बलिहारी गुरु आपने, जिन गोविंद दियो बताय।।

सन्त कवीरदासको भनाइ छ– हाम्रो अगाडि गुरु र भगवान दुवैजना आउनुभो भने सबै भन्दा पहिला गुरुलाई प्रणाम गर्नुपर्छ, त्यसपछि बल्ल भगवानलाई किनकि भगवानलाई चिन्ने ज्ञान गुरुबाटै प्राप्त भएको हुन्छ। यस कारण गुरु भगवान भन्दा पनि श्रेष्ठ हुन्छन्।

पश्चिमका मनोवैज्ञानिक अब्राहम मैस्लोले मान्छेको चाहना र आवश्यकतालाई पाँच आयाममा विवेचना गरेका छन्– शारीरिक आवश्यकता, सुरक्षाको आवश्यकता, प्यार र मधुर सम्बन्धको आवश्यकता, आत्मसम्मानको आवश्यकता र आत्मबोधको आवश्यकता।

पूर्वको संस्कृतिमा यी ५ वटा चाहना र आवश्यकताबाहेक एउटा अर्को चाहना पनि छ। त्यो हो– मुक्तिको चाहना। यसलाई मोक्ष पनि भनिन्छ। पश्चिममा ज्ञानीहरूले मोक्ष वा मुक्तिको चर्चा गरेका छैनन्। पूर्वमा भक्तिको आधार नै मोक्ष हो। गुरुहरू धर्म, अर्थ, काम र मोक्षको ज्ञान हामीलाई दिनुहुन्छ। भन्नाले धर्म अनुकूल अर्थ अर्जन गर्ने, धर्मअनुसार नै अर्थको उपयोग गर्ने र धर्मअनुसार नै कामको उपयोग गर्ने। यस प्रकार प्रथम तीन कुरामा सन्तुलन राखे भने मात्र मोक्ष प्राप्ति हुन सक्छ।(प्रणेता– माइन्ड मैनेजमेन्ट मुभमेन्ट)

प्रकाशित: १९ असार २०८० ००:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App