३१ वैशाख २०८१ सोमबार
image/svg+xml
विचार

डा. युवराज संग्रौलालाई जवाफ

डा. युवराज संग्रौलाद्वारा मिति २०७३ चैत २९ गतेको नागरिक दैनिकमा लिखित ‘भारतले इतिहासबाट सिक्नुपर्छ' बारे केही लेख्नैपर्ने भयो किनभने उहाँले त्यस लेखमा मविरुद्ध निराधार आरोप लगाउनुभएको छ।

संग्रौलाजी, हाम्रो फ्रे्टरनिटीको व्यक्ति हुनुहुन्छ, अझ मेरो अगाडिको पुस्ताको कानुनवेत्ता हुनुहुन्छ र मैले उहाँबाट धेरै ज्ञानगुनका कुरा सिक्ने अपेक्षा गरेको थिएँ तर त्यस लेखमा उहाँले मप्रति जुन निराधार आरोप लगाउनुभएको छ, त्यसकारण म निराश छुु। अग्रजहरूले केही बोल्दा र लेख्दा धेरै विचार गर्नुपर्छ, अझ उहाँजस्तो विद्यावारिधि गरेको व्यक्ति जसले ल कलेज चलाइरहनुभएको छ र सयाँै विद्यार्थीलाई ज्ञानगुन बाँडिरहनुभएको छ। मैले उहाँजस्तो विद्वान् व्यक्तिलाई भनिरहनुपर्दैन कि कानुन पढेको व्यक्तिले बोलेको र लेखेको कुरा अरु व्यक्तिले नकाट्नेखालको हुनुपर्छ। 

म नेपालभित्र सामाजिक न्याय, समानता र एकताप्रति प्रतिबद्ध रहँदै विभेद निर्मूलीकरणका लागि संस्थागत संघर्ष (अदालतमार्फत) गर्दै आएको छु।

जीवनमा मैले उहाँलाई दुई पटक भेट्ने मौका पाएको छु। त्यो पनि धेरै छोटो समयका लागि। मैले उहाँलाई एक पटक, त्यसबेला भेटेको थिएँ, जुनबेला नेपालका लागि बेलायतका राजदूतले उहाँको ल कलेजमा खाना खान केही व्यक्तिलाई बोलाउनुभएको थियो। हुन त यस लेखमा संग्रौलाजीले पश्चिमाहरूलाई गाली गर्नुभएको छ, नेपालमा विभिन्न कुरा उचाल्ने शक्तिका रूपमा तर मैले भन्नैपर्छ– त्यस भेटमा मलाई आभाष भयो कि उहाँ  पश्चिमासँग नजिक हुनुहुन्छ भनेर। मेरो भेट उहाँसँग दोस्रो पटक डिएफआइडीको छलफलमा भयो जहाँ उहाँले एउटा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो र हामी उहाँका स्रोता थियौँ। योबाहेक मेरो उहाँसँग कहिल्यै भेट भएको छैन। उहाँले आफनो लेखको नवौं अनुच्छेदको तेस्रो पंक्तिमा लेख्नुभएको छ– ‘पश्चिमी संस्थाले नेपाललाई अस्थिर बनाउन मोहरा बनाएका दीपेन्द्र झाजस्ता मानिस गण्डकीपूर्वको मधेस नेपाल थिएन, त्यसैले स्वतन्त्र मधेसको माग उठाइएको हो भनी जर्मनीमा भाषण गर्दैछन्।' जर्मनीमा मैले बोलेको  कार्यक्रममा न उहाँ हुनुहुन्थ्यो न उहाँले भनेजस्तो कुनै विषयले नै प्रवेश पाएको थियो। म सामाजिक न्यायको लागि लड्ने अधिवक्ता हुँ। नेपालको सार्वभौमसत्ता अविभाज्यता जति संग्रौलाजीलाई प्यारो छ, त्यति नै प्यारो मलाई पनि छ। बस्, केवल म उहाँभन्दा फरक समानताको कुरा गर्छु। अधिकारको कुरा गर्नेलाई हुँदै नभएको आरोप लगाएर बदनाम गर्ने प्रयास राम्रो होइन। तर मलाई थाहा छ– यो देशमा सीमान्तकृत समुदायका हरेक बौद्धिक व्यक्ति जो आफ्नो अधिकारप्रति सचेत छ, बदनामीको चरण पार गर्नु नै पर्छ। सफलताको एउटा घेरा पार गरेपछि लाञ्छना लगाउनेको भीड बढ्छ।

के मधेसी हुनु नै मेरो दोष हो? यो देशमा मधेसी पढे/लेखेका र विदेशमा गएर बोल्ने क्षमता राख्नुहुँदैन र? कि संग्रौलाजीले सबै  मधेसीलाई सिके राउत देख्नुभएको हो? म संग्रौलाजीको विचारसँग धेरै कुरामा असहमति राख्छु र उहाँलाई पनि मेरो विचारसँग असहमति राख्ने उत्तिकै अधिकार छ तर असहमति राख्दैमा कसैले कसैका विरुद्ध अनाहक आरोप लगाउनुहुँदैन। आफनो नकारात्मक सोच र हल्लाको आधारमा सार्वजनिक सञ्चारमाध्यममै त्यो कुरा पोखिहाल्नुहुँदैन। सामाजिक प्रतिष्ठा तपाईँलाई जति प्यारो छ, त्यति नै मलाई पनि। गोरो छाला भएका मानिसको प्रतिष्ठा प्यारो र कालो छाला भएकाको कम प्यारो हुँदैन। हरेक मधेसी राष्ट्रिय जीवनको एउटा तहमा पुगेपछि उसलाई बदनाम गरी तेजबोध गर्ने पुराना शासकको मानसिकता अहिले पनि नत्याग्ने हो भने गणतन्त्रको के महत्व रहन्छ र?

डा. युवराज संग्रौलालाई म भन्न चाहन्छु–  मेरो कुनै संस्था छैन। मैले स्थापना गरेको संस्था जम्मा एउटा यातनामा निःशुल्क कानुनी सेवा दिने प्रयोजनमा छ र त्यही एउटा परियोजनाले काम गरिरहेको छ, जहाँ अब म न बोर्डमा छु न त कर्मचारी। म केवल सल्लाहकारको भूमिकामा छु। तपाईंको परिवारको सदस्यले चलाएको सेलर्ड र काठमाडौं स्कुल अफ लमा त कम्तीमा  पाँच सातवटा परियोजना होला, जसमा पश्चिमा देशहरूको सहयोग प्राप्त भइरहेको होला। के त्यसै आधारमा मैले तपार्इँलाई पश्चिमाहरूको मोहराको आरोप लगाउन मिल्छ? पक्कै मिल्दैन। त्यसो भए मलाई पनि म सम्बद्ध संस्थाहरूलाई पश्चिमा देशहरूको सहयोग प्राप्त छ भन्दैमा मप्रति अनावश्यक आरोप लगाउन मिल्दैन। युरोपियन युनियनको ढोका कतापटि्ट फर्केको छ, त्योसमेत मलाई थाहा छैन। युरोपियन युनियनको परियोजना त छाडिदिनूस्, चियासमेत कहिले खाने सौभाग्य प्राप्त भएको छैन। त्यो सौभाग्य पनि तपाईँ जस्तालाई नै होला। म त दस हजार बहस फिका लागि दिनभर अदालतमा मुद्दाको पालो कुरेर बस्ने वकिल हो। फेरि म केमा पनि विश्वास गर्छु भने अहिलेको अन्तरनिर्भर विश्वमा एउटा मुलुकले अर्काको मुलुकमा समाजिक न्यायको विषयमा त चासो राखी नै हाल्छ  किनभने सामाजिक न्याय भएन भने त्यो समाज र राष्ट्र गम्भीर द्वन्द्वमा फस्ने सम्भावना रहन्छ र जसबाट कुनै न कुनै रूपमा विकसित मुलुकलाई पनि असर पर्छ। नेपालमा कुनै पश्चिमा शक्तिले सामाजिक न्यायबारे चासो राख्छ भने म त यसलाई त्यसैरूपमा बुझ्छु र त्यो आपत्तिको विषय पनि नहुनुपर्ने हो। हो, कुनै विषयको नाममा एउटा मुलुकले अर्को मुलुकमाथि हस्तक्षेप गर्छ वा दबाब दिन्छ भने त्यो आपत्तिजनक मानिन्छ र त्यसका लागि तपार्इँ हामी सबै मिलेर विरोध गर्नुपर्छ। 

देशको महान्यायाधिवक्ता भइसकेका व्यक्तिबाट अर्काविरुद्ध आफ्नो व्यक्तिगत रायको पेजमा यसरी बिनाआधार र प्रमाण आरोप लगाउने कुराले तपाईँकै महत्व घटाएको छ। के पश्चिमी संस्थाले मधेसी रहेको गैरसरकारी संस्थालाई मात्र सहयोग गर्छ? मधेसीले चलाउने संस्था कति छन् नेपालमा? ती त औलामा गन्न सकिन्छ तर गैरमधेसीले चलाउने संस्था कति छन् नेपालमा? शायद मधेसी रहेका संस्थालाई गैरमधेसी रहेका संस्थाको तुलनामा धेरै नै न्यून राशि प्राप्त हुन्छ।

तपाईँले भनेजस्तै मैले बोलेको हो भने प्रमाणित गर्नूस्। म जे पनि सजाय भोग्न तयार छु तर कृपया तपाईँजस्तो अग्रज व्यक्तिले यसरी बिनाआधार नलेख्नूस्।  सबै मधेसी सिके राउत हुन भन्ने दृष्टिकोण पाल्ने तपाईँ जस्ता विद्वान्को विचार हाम्रो देशको हितमा छैन। पश्चिमाको मोहरा बन्ने सौभाग्य म जस्ता मधेसीलाई हैन कि तपार्इँ जस्ता विद्वान्लाई प्राप्त छ। म नेपालभित्र सामाजिक न्याय, समानता र एकताप्रति प्रतिबद्ध रहँदै विभेद निर्मूलीकरणका लागि संस्थागत संघर्ष (अदालतमार्फत) गर्दै आएको छु। आउनूस्, यो विषयमा तपाईँसँग  बसेर घण्टौं बहस गर्न तयार छु।

डा. युवराज संग्रौलाजी, तपाईँको जानकारीका लागि भन्न चाहन्छु कि  डा. राममनोहर साहको पुस्तक ‘द मिडिल कन्ट्री' मा न मेरो कुनै लेख छ, न त उहाँले अन्तर्वार्ता लिएको व्यक्तिकाृ लिस्टमा म परेको छु। यसकारण त्यो पुस्तकको परिचय मैले लेखेको हो भन्ने भ्रमका आधारमा तपार्इँले लेखेको लेख गलत तथ्यमा आधारित छ। पुस्तकै नपढिकन यस्तो विचार राखेकामा गल्तीबोध गर्नुहुन्छ भन्ने आशा गरेको छु। अहिले यो पुस्तक बजारमा उपलब्ध छ किनेर पढ्न आग्रह गर्छु। र, मैले परिचय नलेखेको पाउनुभयो भने सार्वजनिकरूपमा क्षमाको अपेक्षा गरेको छु। त्यतिमात्र होइन, तपाईँले बोलाएका बेला तपाईँकै ल कलेजमा आएर यो विषयमा जति पनि बेला खुला चौरमा बहस गर्न तयार छु। नेपालको निर्माणमा मधेसीकेा उत्तिकै योगदान छ। जयप्रकाश मल्लदेखि पुष्पकमल दाहालको पालासम्म हरेक विकासमा हाम्रो खुन पसिना लागेको छ। यो देश कुनै समुदाय वा जातविशेेषको विर्ता होइन। तपाईँको र मेरो बराबरीको हक हो, तपाईँ दिने र म लिने होइन, तपाईँ शासक र म शासित होइन। यस्ता भ्रमबाट मुक्त हुनूस्। तर्क र बहस गरौँ, पछाडिबाट हिर्काएजस्तो लेख लेखेर वा मिडियामार्फत हाम्रो तेजोबध गर्ने रणनीतिलाई यो पुस्ताका मधेसी दरो जवाफ दिने क्षमता राख्छन्। अन्त्यमा यतिमात्र भन्न चाहन्छु–अब हामी मधेसीले नेपाली राष्ट्रियता के हो भनेर सिकाउने बेला आइसकेको छ।

अधिवक्ता

प्रकाशित: ७ वैशाख २०७४ ०३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App