११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

निर्वाचनमा दृष्टि

उत्तरको छिमेकी मित्रराष्ट्र चीन नेपालमा स्थानीय तहको चुनाव होस्, जारी संविधानको कार्यान्वयन होस् र देश आर्थिक रुमपा समृद्ध होस् भन्ने चाहन्छ। दक्षिणको छिमेकी मित्रराष्ट्र भारत मुखले जतिसुकै मधुमय कुरा गरे पनि अन्तरहृदयले चुनाव नहोस् र २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र केन्द्रीय तहको निर्वान नभएर संवैधानिक संकट उत्पन्न होस् र यही धमिलो पानीमा माछा मार्ने अवसर प्राप्त होस् भन्ने चाहन्छ।

जब मधेसी जनता नै चुनाव चाहन्छन् भने २–४ जनाको स्याल हुइँया काम लाग्ने छैन। सरकारले तिघ्रा कमाएन भने चुनाव हुन्छ र हुनैपर्छ।

उत्तर र दक्षिणको नेपाल प्रतिको यस प्रकारको भिन्न–भिन्न विचार दृष्टिकोणका बीच रहेको नेपालको भूगोल र राजनीतिक संवेदनशीलताप्रति गम्भीर हुँदै दुवै देशको सहयोग र समर्थनमा नेपाललाई दुवैका बीच गतिशील पुलको रुपमा विकास गरी समृद्धिको दिशामा अघि बढाउन कम चुनौती छैन। यसका लागि दल र दलका नेताको बुद्धिमत्ता, चातुर्य, कूटनीतिक कुशलताका साथ समदूरी र समनिकटताको असंलग्न पञ्चशीलको सिद्धान्त अवलम्बन गर्नु वाञ्छनीय हुन्छ। उत्तरको आड र दक्षिणका जनतासँगको सांस्कृतिक सम्बन्ध र दुवै देशका जनताका बीचको मैत्रीपूर्ण सम्बन्ध परापूर्व कालदेखि अविच्छिन्न हुँदै आएको छ। त्यहाँ सरकार जुनसुकै पार्टीको भए पनि उसको परराष्ट्र नीति र त्यसअन्तर्गत नेपाल प्रतिको दृष्टिकोणमा खासै भिन्नता छैन। नेपाललाई र दक्षिण एसियाका अन्य देशलाई हेर्ने र व्यवहार गर्ने जे–जस्ता नकारात्मक सकारात्मक दृष्टिकोण भए पनि जनता–जनताबीच प्रगाढ मित्रता छ, कुनै वैरभाव छैन। भारतीय जनतासँगको यस मित्रतालाई अझ गाढा बनाउन सकियो भने सरकारको हस्तक्षेपकारी व्यवहारमाथि अंकुश लगाउन सहयोग पुग्नेछ।

यतिबेला ९० प्रतिशत सभासद्द्वारा पारित संघीय गणतान्त्रिक संविधानको कार्यान्वयन १० प्रतिशतको  विरोधका कारणले अनिर्णयको बन्दी बनेको छ। यसका पछाडि हिमाल, पहाड, तराई, मधेसको क्षेत्रीयता, खस–आर्य, तिब्बती, भोट बर्मेली र मैदानी आर्यमूलका नेपालीबीच भावनात्मक भिन्नता र मधेसी जनताको इच्छाविपरीत अरु कसैको स्वार्थ र इशारामा परिचालित नेताको बुई चढ्ने बानीका कारणले यस्तो स्थिति पैदा भएको छ।

पहाडी खस–आर्यको मधेसलाई हेर्ने दृष्टिकोणमा देखिँदैआएको संकीर्णताले परचक्रीबाट भावनात्मक रुपमा भड्काउने काम भएको छ। लोकतन्त्रको बखान गर्ने तर ९० प्रतिशतले पारित गरेको संविधान अस्वीकार गर्ने गैरलोकतान्त्रिक व्यवहार गर्दै विध्वंसात्मक गतिविधि गर्ने जुन राजनीतिक अपसंस्कृति देखिएको छ, त्यसले नेपालको राष्ट्रियता यतिबेला जटिल मोडमा खडा भएको छ। मधेसवादीको माग दीर्घकालीन र रणनीतिक उद्देश्यद्वारा निर्देशित छ। यसको अन्तर्वस्तुमा गम्भीरतम षड्यन्त्र लुकेको छ। सीमाङ्कन, नागरिकता, भाषा र जनसंख्या यी कुनै पनि मागका पछाडि  गम्भीर रहस्य छ। अहिले ५ नं. प्रदेशमा सीमाङ्कन हेरफेरको कुरा उठेको छ। यसको मुख्य उद्देश्य लुम्बिनी हो। यो सुरुवात हो र यो माग पूरा गरेपछि मेची–महाकाली सबैतिर क्रमशः पहाडलाई तराई–मधेसबाट अलग गराउने आन्दोलन हुनेछ। र, मधेसलाई छुट्टै राज्य बनाएर अरु कसैको स्वार्थ सिद्ध गर्ने षडयन्त्र बुनिदैछ। यसका साथै देशभित्र बोलिने मैथिली, भोजपुरी, अवधि, थारु, मगर, गुरुङ आदि भाषाको नामै नलिने र हिन्दी भाषाको माग गर्नुका पछाडि पनि त्यस्तै गम्भीर षड्यन्त्र लुकेको छ। अङ्गीकृत नागरिकता लिएको नागरिक सर्वोच्च पदमा जान पाउनु पर्छ भन्ने माग पनि मधेसी जनताको हितमा छैन। यी कुनै पनि माग नेपाल र नेपालीको हितमा छैनन् र खास गरेर मधेसी–नेपाली जनताकै हितमा छैनन्। सरकारले संविधानमा दुई तिहाइले पारित गरे पनि अर्को माग थपिनेछ र संविधानलाई फेरि अनिर्णयको बन्दी बनाइनेछ। मधेसलाई अलग राज्य बनाउने र  उसलाई उक्साएर नेपाललाई सिक्किम बनाउने उद्देश्य पूरा नहुँदासम्म यो क्रम जारी रहनेछ। विडम्बना! नेपाली दोर्जेहरुमा देशभक्तिको अभाव छ। परचक्रीका सामु लम्पसार पर्ने कतिपय महाशयहरु छन् र १० प्रतिशतले ९० प्रतिशतलाई झुक्याउँदै छन्। यसमा नेकपा एमालेको अडान प्रशंसनीय छ।

वैशाख ३१ गते स्थानीय तहको चुनाव हुनै पर्छ र जस्तोसुकै चुनौती खडा भए पनि त्यसको सामना गर्नै पर्छ। जनताले चुनाव चाहिरहेका छन्। मधेसका जनता पनि चुनाव चाहन्छन्। जनताको चाहनालाई कुल्चने अधिकार कसैको छैन। २–४ जना नेताले चुनाव वहिष्कार गर्दैमा रोकिनेवाला छैन। वहिष्कार गर्नेहरु आफैँ वहिष्कृत हुनेछन्। जब–जब देशमा राष्ट्रिय संकट पैदा हुन्छ, अग्रगामी राजनीतिक शक्ति र आम नेपाली जनता एकजुट भएर त्यसको सामना गर्ने गरेको गौरवपूर्ण नेपाली इतिहास छ। नेपालमा केही मधेस केन्द्रित दलका नेतालाई हतियार बनाएर नाकाबन्दीको नाटक मञ्चन भयो, त्यसले नेपाली जनतामा आक्रोश बढ्यो र त्यो प्रत्युत्पाक बन्न गयो। नेपाली जनताले सरकारको हैन, अरु कसैको पुत्ला जलाए। नेपाली जनताले एकजुट भएर त्यसको सामना गरे। ऊ आफैँ पछि हट्न बाध्य भयो। यही कारण हो कि ६ दशकदेखि नेपाली दोर्जे जन्माएर नेपाललाई सिक्किम बनाउन खोजे पनि असफल भइरहेको छ। यसको कारण उत्तरको आड र नेपाली जनताको देशभक्तिपूर्ण भावना हो। त्यसकारण दक्षिणले चुनाव नचाहोस्, तर चुनाव भएरै छोड्छ। हिमाल, पहाड र तराई मधेसका जनता चुनाव रोक्न खोज्नेका विरुद्ध एकजुट हुनेछन् र जुनसुकै हस्तक्षेपको सामना गर्न शिरमा कफन बाँधेर मैदानमा उत्रने छन्। नेपाली वीर–वीरंगनाको रगत तातो र रातो छ। हिमाल, पहाड र तराई मधेसका जनताका शरीरमा नेपाली रगत बगेको छ। उनका मुटुको धड्कन समान छ। नेपाली माटोको माया छ। हिमाल, पहाड र तराई मधेसका जनता मातृभूमिको रक्षाका लागि मैदानमा ओर्लने हो भने कुनै माइकालालको दाल गल्नेवाला छैन। जब मधेसी जनता चुनाव चाहन्छन् भने २–४ जनाको स्याल हुइँयामा लाग्ने छैनन्। हस्तक्षेपको पहिलो मार मधेसका जनतालाई पर्छ। नाकाबन्दीको बेला मधेसकै जनताले बढी मार खेपेका छन्। सीमावर्ती भारतीय जनताले पनि कष्ट झेलेका छन्। जनता–जनता बीचको सम्बन्ध प्रगाढ छ र यी यस्ता कुनै पनि अप्रिय अवाञ्छनीय हेला, होचोको विपक्षमा छन्। सरकारले तिघ्रा कमाएन भने चुनाव हुन्छ र हुनैपर्छ।

प्रकाशित: २८ चैत्र २०७३ ०३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App