२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
विचार

महिलालाई प्रोत्साहन

खेलकुदमा महिलाले राष्ट्रको गौरव बढाइराखेका छन्। नेपालले अहिलेसम्म पाएकोमा सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय पदक सविता राजभण्डारीले दिलाएकी हुन्। सविता राजभण्डारीले १९९८ को बैंकक एसियन गेममा रजत पदक जितेकी थिइन्। नेपालले एसियाडमा यसभन्दा अगाडि रजक पदक जितेको थिएन। त्यसबाहेक सिउल एसियन गेममा १९८६ मा टेक्वान्डो र बक्सिङ खेलमा पुरुष खेलाडीले चार चार वटा कांस्य पदक जितेका थिए।

१९९० को बेइजिङ एसियन गेममा बक्सिङका चित्रबहादुर गुरुङले १ कांस्य पदक जितेका थिए। इ.सं. १९९४ हिरोसिमा एसियन गेममा तेक्वाण्डोका मान वहादुर शाही र करातेका सीता राइले एक एक कांस्य पदक जितेका थिए।  इ.सं. २००२ को बुसाङ एसियन गेम्ममा टेक्वान्डोले ३ वटा कांस्यपदक जित्यो र २००६ दोहा एसियन गेम्समा टेक्वान्डोले नै ३ वटा कांस्य पदक जितेको थियो। यसरी हेर्दा तेक्वान्डोकी सविता राजभण्डारीले प्राप्त गरेको रजत पदक नै नेपालको सबभन्दा ठूलो अन्तर्राष्ट्रिय पदक देखिन आउँछ। साहस, धैर्य, अनुशासन, नियमबद्धता नै हो खेलकुद। यिनमा पुरुषभन्दा महिला नै अगाडि देखिन्छन्।

समाजका तमाम बाधा र विरोधसँग संघर्ष गर्दै महिला खेलाडीले हजारौं दर्शकका अगाडि फुटबल खेले। उनीहरूले फुटबल खेल्दा धेरै आरोप लाञ्छना, खिल्ली सहे। अन्ततः महिला फुटबल समाजमा प्रतिष्ठित भयो। अझ सागमा रजत पदक जितेपछि त उनीहरू राष्ट्रिय स्तरमै सम्मानित भए। सम्पूर्ण नेपाली नारीको इज्जत बढ्यो।

फुटबलमात्र होइन क्रिकेटमा पनि नेपाली महिला खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा रजत पदक जितेर मुलुकको गरिमा बढाए। अन्तर्राष्ट्रिय प्रतियोगितामा राजकुमारी पाण्डे, मेनुका रावत, विमला रानामगरआदिले म्याराथुन दौड पूरा गरेर सौर्य प्रदर्शन गरे। बक्सिङमा पनि नेपाली महिला खेलाडीले एसिया स्तरकै पदक जितेका छन्। यसैगरी अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपाली महिला खेलाडीले पदक जितेका छन्।

दक्षिण एसियाली खेलमा पनि नेपालका महिला खेलाडीले स्वर्ण, रजत, र काश्य पदक जितेका थिए। तर दक्षिण एसियाली खेलको चैथो संस्करणसम्म आइपुग्दा महिला खेलाडीले कुनैपनि स्वर्ण पदक जितेनन्। पाँचौ संस्करणमा पुगेपछि सुटिङकी अनिता श्रेष्ठले सागमा पहिलो स्वर्ण पदक जितेकी थिइन्। त्यसैगरी सोही सागमा टेबलटेनिस महिला इभेन्टसमा गीता छेत्री, सिजरिन शाह, पूजा थापा र निलम तुलाधरको जोडीले दोस्रो स्वर्ण पदक जतेको थियो।

तर छैटौं र सातौं सागमा महिला खेलाडीले स्वर्ण पदक जित्न सकेनन्। नेपालमा आयोजना भएको आठौं सागमा नेपालले एकैचोटी ३१ वटा स्वर्ण पदक जितेको थियो। ती ३१ मध्ये १४ स्वर्ण पदक महिला खेलाडीले जितेर रेकर्ड नै कायम गरेका थिए। तिनान ७ वटा टेक्वान्दोमा, ६ वटा कराँतेमा १ पौडीमा जितिएको थियो। नवौं सागमा ७ स्वर्णपदक मध्ये तीन महिलाले नै जिते। (संगिना बैद्य, रुपा स्याङदेन र रेणुका रानामगर - तेक्वान्डो)  र दशौं सागमा नेपालले कुल सातवटा स्वर्ण पदक जितेकोमा तीनवटा सुलोचना सिजख्वा-कराँते, मनिता शाही-तेक्वान्डो, र बिना लामा खड्का-उसुले जितेका थिए।

यसैगरी ११ ‍औं सागमा ८ वटा स्वर्णपदक मध्ये २ वटा उसुकी विनिता महर्जन र तेक्वान्डोकी आयसा शाक्यले जितेका थिए। महिला खेलाडीले रजत र कांस्य पदक पनि प्रशस्त जितेका छन्।

महिलापनि पुरुष जत्तिकै समर्थ हुन्छन् भन्ने खेलकुदबाट सिक्नुपर्छ। खेलकुदमा अनुशासन, नियम हुन्छ। अनुसासन र नियमले जीवनलाई सफल बनाउँछ। महिला खेलाडी अनुशासित हुन्छन्। उनीहरू अनुशासित भएका कारण सफल भइरहेका छन्। तर हाम्रो सजाजमा अझसम्मपनि खुलेर महिलालाई खेलकुदमा उत्रिन प्रोत्साहन दिइदैन। खेलकुदप्रति नकारात्मक धारणा छ। राज्यले खेलाडी महिलामाथि उचित न्याय गर्न सकेको छैन। समाजमा नकारात्मक धारणा प्रबल हुँदासम्म महिलाहरू खुलेर खेलकुदमा लाग्न सक्दैनन्।

महिला पुरुषसरहै सफल हुनुपर्छ। उनीहरू आँटिला साहसिला, क्षमतावान् हुन्छन् भन्ने ज्ञान दिलाउन स्कुल, कलेज, विश्वविद्यालय, गाउँ , नगरमा स्वतन्त्ररूपले खेलकुदमा लाग्ने वातारण सिर्जना गर्नुपर्छ। उनीहरूलाई पुरुषसरह खेलकुदमा सरिक हुन वाधक परम्परागत नकारात्मक धारण उन्मूलन गर्नुपर्छ। महिला खेलकुदमा नियमित सरिक भए शारीरिक तन्दुरुस्तीको पनि ख्याल राख्छन्। जनसंख्या नियन्त्रणमा पनि महत्वपूर्ण योगदान पुग्न सक्छ। अनुशासित जीवन बिताएर पूरै समाजलाई परिवर्तन गर्न सक्छन्। अतः महिलालाई खेलकुदमा प्रोत्साहन गर्ने नीति निर्माण र कार्यान्वयन गरेर न्याय गरौं।

प्रकाशित: ४ वैशाख २०६७ २३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App