१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

किन पाउँदैनन् किसानले मूल्य?

नागरिक दैनिक जेठ ७, २०८० मा प्रकाशित ‘पाँच रूपैयाँमा बेच्न मनले मानेन’ शीर्षकमा दाङ घोराही उपमहानगरपालिका १७ का किसान बाबुराम चौधरीले एक बिघा जमिनमा लगाएको बन्दागोभीको मूल्य प्रतिकिलो पाँच रूपैयाँ मात्र भएकाले मारमा परेको कुरा प्रकाशित भएको पाएँ। नेपालमा तराईका २१ जिल्लामा करिब २२ हजार हेक्टर क्षेत्रफलमा काउली बन्दागोभी लगाउने ९०,००० भन्दा बढी किसानहरूको प्रतिनिधित्व गर्ने बाबुराम प्रतिनिधि पात्र हुन्।

किसानको औसत उत्पादन लागत हेर्ने हो भने बन्दागोभी उत्पादन लागत ८–१२ रूपैयाँ प्रतिकेजी र काउलीको उत्पादन लागत १२–१८ रूपैयाँ प्रतिकेजी पर्न जान्छ। यो समयमा बन्दगोभी बिक्री गर्ने किसानलाई लागत मूल्यभन्दा कम मूल्यमा बेच्नुपर्ने बाध्यता छ।

किसानले आफ्नो उत्पादनले उचित मूल्य नपाउनुका धेरै कारण छन्, जसमध्ये उत्पादन लागत बढी हुनु, तरकारी मूल्य शृंखलामा धेरै बिचौलियाहरूको संलग्नता रहनु, किसानहरू संगठित नहुनु, बजारको मागअनुसार उत्पादन नहुनु र कृषिबजार पूर्वाधारको विकास÷विस्तार नहुनु प्रमुख कारण हुन्। यसमध्ये सबैभन्दा मुख्य कारण बजारको मागअनुसार कृषि उत्पादन हुन नसक्नु नै हो। जब बजारको आवश्यकता (माग) भन्दा वस्तु तथा सेवाको आपूर्ति (उत्पादन) बढी हुन्छ तब मूल्य कम हुँदै जान्छ।

नागरिक दैनिक जेठ ७, २०८० मा प्रकाशित ‘पाँच रूपैयाँमा बेच्न मनले मानेन’ शीर्षकमा दाङ घोराही उपमहानगरपालिका १७ का किसान बाबुराम चौधरीले एक बिघा जमिनमा लगाएको बन्दागोभीको मूल्य प्रतिकिलो पाँच रूपैयाँ मात्र भएकाले मारमा परेको कुरा प्रकाशित भएको पाएँ।

कालीमाटी फलफूल तथा तरकारी होलसेल बजारमा बन्दागोभी (लोकल) को विगत १० वर्ष यताको (२०७० वैशाखदेखि २०८० जेष्ठसम्म) को मूल्य प्रवृत्ति देखाइएको छ। यसबाट के प्रस्ट हुन्छ भने बन्दागोभीको मूल्यमा मौसमअनुसार उतारचढाव आउँछ। बन्दागोभी बढीमा २०६ रूपैयाँ प्रतिकिलो (असोज २१, २०७९) र सबैभन्दा कम ९ रूपैयाँ प्रतिकिलो (फागुन १५,२०७१) मा कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्कले देखाउँछ।

तरकारीको मूल्य मौसमअनुसार घटबढ भइरहन्छ। कुनै निश्चित समयमा उच्च र कुनै समयमा न्यून रहन्छ। बन्दागोभीको हकमा हेर्दा फागुनदेखि जेठसम्म न्यूनतम (औसतमा १० रूपैयाँ प्रतिकिलो) र असारदेखि कात्तिकसम्म उच्चतम (औसतमा ५० रूपैयाँ प्रतिकिलोभन्दा माथि) हुने गरेको तथ्यांकले देखाउँछ।

तरकारी मूल्यमा उतारचढाव

नेपालमा तरकारीको मूल्य छिमेकी मुलुक भारतको तरकारी बजारले निर्धारण गरेको हुन्छ। भारतमा धेरै तरकारी उत्पादन हुँदा नेपालमा मूल्य घट्छ। नेपालमा खपत हुने तरकारीमध्ये झन्डै ७५ प्रतिशत भारत तथा अन्य मुलुकबाट आयात हुने गर्छ। नेपालको तराई क्षेत्रमा काउली÷बन्दागोभी उत्पादन गर्न उपयुक्त समय हिउँद (बाली लगाउने समय ः कात्तिक–पुस, उत्पादन लिने समय: माघ–वैशाख) हो भने भारतमा प्रायः जसो हिउँदमै काउली÷बन्दागोभी बढी उत्पादन हुने गर्छ। जसको प्रत्यक्ष प्रभाव नेपाली तरकारी बजारमा पर्छ, यसले हिउँदमा तराईमा लगाइने काउली÷बन्दागोभीको मूल्य सधैं न्यून रहन्छ।

नेपालमा तरकारीको मूल्य छिमेकी मुलुक भारतको तरकारी बजारले निर्धारण गरेको हुन्छ।

एकपटक भारत (दिल्ली) अजादपुर तरकारी होलसेल बजारको पनि बन्दगोभीको मूल्य प्रवृत्ति हेरौं: 

विगत २० वर्ष (सन् २००४ देखि सन् २०२३ सम्म) मा तरकारीको औसत मासिक मूल्य विश्लेषण गर्दा बन्दागोभीको मूल्य चैत्र–जेठ महिनामा न्यूनतम (६ रूपैयाँ प्रतिकेजी) र साउन–कात्तिक महिनामा अधिकतम (२० रूपैयाँ प्रतिकेजी) मा कारोबार भएको देखिन्छ। नेपाली (काठमाडौं) बजारमा बन्दगोभीको मूल्य प्रवृत्ति भारत (दिल्ली) को मूल्य प्रवृत्तिसँग प्रत्यक्ष मेल खान्छ। जुन कुरा काउली बन्दागोभी मात्र नभई सबै किसिमका तरकारीको हकमा लागु हुन्छ। तसर्थ यसबाट के कुरा प्रस्ट हुन्छ भने नेपाली तरकारी बजारको मूल्य भारतको तरकारी बजार मूल्यले तय गर्छ।

कृषि मन्त्रालय, भारत सरकार

हिउँदमा भारतमा बन्दा काउलीको उत्पादन धेरै हुनाले मूल्य कम हुन्छ भने वर्षा मौसम धेरै गर्मी हुने तथा अत्यधिक पानी पर्ने भएकोले बन्दा काउली उत्पादनका लागि उपयुक्त मौसम मानिँदैन। यस समयमा केही पहाडी राज्य जस्तै: उत्तराखण्ड, जम्मु कास्मिर, हिमाञ्चल, पश्चिम बंगाल, असम, हरियाणा, सिक्किम, अरूणाञ्चल, मेघालयलगायतका प्रदेशमा मात्र बन्दा काउली उत्पादन हुने गर्छ र त्यहाँको मात्र उत्पादनले बजार माग पूरा नहुने हुँदा मूल्य उच्च हुन्छ। जसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पर्छ।

नेपाली किसानले कसरी लाभ लिने?

भारतमा माग बढी हुने तर उत्पादन सीमित मात्रामा हुने समयलाई हामीले अवसरका रूपमा लिन सकिन्छ किनभने उक्त समयमा नेपालका पहाडी भेगका प्रायः सबै २१ वटै जिल्लामा तरकारी खेती गर्न सकिने जलावायु छ र भारतमा कम उत्पादन हुने समयमा यहाँ प्रशस्त तरकारी उत्पादन गर्न सकिन्छ। यसरी तुलनात्मक लाभको यस क्षेत्रलाई पहिचान गरी सदुपयोग गर्न सकियो भने पक्कै पनि भारतीय कृषि उपजसँग प्रतिस्पर्धा गर्न सकिन्छ।नेपालको पहाडी जिल्लामा असारदेखि कात्तिकसम्म बन्दा काउलीजस्ता तरकारी उत्पादन गर्नउपयुक्त मानिन्छ।

भारतमा माग बढी हुने तर उत्पादन सीमित मात्रामा हुने समयलाई हामीले अवसरका रूपमा लिन सकिन्छ किनभने उक्त समयमा नेपालका पहाडी भेगका प्रायः सबै २१ वटै जिल्लामा तरकारी खेती गर्न सकिने जलावायु छ र भारतमा कम उत्पादन हुने समयमा यहाँ प्रशस्त तरकारी उत्पादन गर्न सकिन्छ।

वैशाखदेखि असारसम्म बेर्ना लगाउने हो भने भदौदेखि कार्तिकसम्म उत्पादन लिन सकिन्छ र बजारमा राम्रो मूल्य पाउन सकिन्छ। यस समयमा बन्दा काउलीको लागि उपयुक्त तापक्रम र वर्षा हुने हुँदा सिँचाइको पनि समस्या हुँदैन र प्रशस्त उत्पादन गरी राम्रो मूल्यमा बिक्री गर्न सकिन्छ। नेपाली र भारतीय बजारमा काउली बन्दाको मूल्य सबैभन्दा बढी हुने समय पनि यही हो। तसर्थ यो समयमा तरकारी उत्पादन गर्न सके बजारको समस्या नहुने र किसानले उचित मूल्य पाउँछन्। बजारमा माग धेरै हुने हुनाले यो समयमा किसानकै बारीमा गएर व्यापारीले तरकारी संकलन गर्छन्।

यो समयमा भारतमा उत्पादन कम हुने हँुदा तरकरीको मूल्य उच्च रहन्छ र नेपालमा प्रशस्त उत्पादन गर्न सकेमा सजिलै हामीले भारतीय बजारमा हाम्रो उत्पादनलाई निर्यात गर्न सकिन्छ। नेपालका केही जिल्ला (धनकुटा, इलाम, सल्यान, डडेल्धुरा)बाट वर्षायाममा तरकारी भारत निर्यात हुने गरेको छ।

दाङका बाबुराम चौधरीलगायत तराईका किसानहरूले भने काउली/बन्दा मंसिर/पुससम्म उत्पादन गर्न सक्ने हो भने राम्रो मूल्य पाउने देखिन्छ। त्यसपछि तुरुन्त लहरे जातका तरकारी बाली जस्तै (लौका, करेला, घिरौला, काक्रा, फर्सी) लगाउन सक्छन्। लहरे जातका तरकारीको मूल्य फागुनदेखि चैत्र १५ सम्म उच्च (१०० रूपैयाँ प्रतिकिलोभन्दा माथि ), चैत्र १५ देखि वैशाख १५ सम्म मध्यम (६०–१०० रूपैयाँ प्रतिकिलो) र त्यसपछि भने ५० रूपैयाँ हुँदै ओरालो लाग्छ।

दाङका बाबुराम चौधरीलगायत तराईका किसानहरूले भने काउली/बन्दा मंसिर/पुससम्म उत्पादन गर्न सक्ने हो भने राम्रो मूल्य पाउने देखिन्छ।

यसर्थ समस्या मात्र होइन, हामीले सम्भावनालाई पहिचान गर्न सक्नुपर्छ। एकै मौसममा हिमाल, पहाड र तराईमा फरक फरक तरकारी उत्पादन गरी देशको माग पूरा गर्ने मात्र होइन, अन्य देशमा उत्पादन हुन नसक्ने समयमा पनि तरकारी उत्पादन गरी निर्यात गर्नसक्ने अवसर छ र यसलाई हामीले सदुपयोग गर्नुपर्छ।

(लेखक कृषिविज्ञका रूपमा जर्मनीमा कार्यरत छन्।)

प्रकाशित: १९ जेष्ठ २०८० ००:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App