२१ फाल्गुन २०८० सोमबार
विचार

राजनीतिमा वेदान्त दर्शन

दर्शन

तेनाद्य वत्समिव लोकममुं पुषाण।

तस्मिंश्च सम्यगनिशं परिपोष्यमाणे

नानाफलैः फलति कल्पलतेव भूमिः।।

नीति श्लोकमा उल्लेख छ-राज्यको नेतृत्वले पृथ्वीरूपी गाई दुहुन चाहने हो भने बाच्छारूपी प्रजाको उचित पालनपोषण गर्नु जरुरी छ। कल्पलताले दिनेजस्तै विभिन्न खालको फल चाहने हो भने भूमिको पालनपोषण गर्नुपर्छ। त्यसैले जब प्रजाको उचित पालनपोषण हुन्छ तब राज्यको मुहार फेरिनेछ। हाम्रो अवस्थाको यथार्थता कसले कसलाई पालनपोषण गर्छ, सहजै अनुमान गर्न सकिन्छ।

राजनीतिक अस्थिरता, अस्थिर सरकार र देशमा विकासको परिवर्तन होइन, अलिकति राम्रा र गर्न सक्ने भनाउँदाहरूको राजनीतिक दल परिवर्तन र सत्ता मोहको लोलुपता देख्दा राजनीतिप्रति नै वितृष्णा जाग्नु स्वाभाविक रहेछ। तर राज्यमा विकासको अवसर दिलाउने केन्द्रीकृत मध्यम र सहजकर्ता नै सरकार हुने हुँदा विकासोन्मुख राज्यमा राजनीतिको अरू बढी भूमिका रहने गर्छ।

आफैंमा स्थिर हुन जान्नेले मात्र बाहिरी व्यवस्थालाई स्थिर राख्न सक्ने रहेछ। अन्यथा महत्वाकांक्षाको भिक्षापात्र कहिल्यै पूर्ण हुँदैन। अनुभव, ज्ञान र विद्वताको तब काम आउँछ जब त्यसले व्यावहारिक सहजता र सर्वजन हितायमा काम गर्न सुरु गर्छ।

भनिन्छ आफ्नो अधिकारबारे जान्न र त्यसलाई प्राप्त गर्न, अनुभवलाई पुष्टि गर्न र मद्दत लिन, नयाँ सोच र परिवर्तनलाई निकास दिन, लोकतान्त्रिक अभ्यासलाई व्यावहारिकता दिन र विचार अनि सिद्धान्तलाई वयस्क रूप दिन राजनीतिको सहारा चाहिन्छ। राजनीतिको वैश्विक प्रयोगले यी मान्यता र विश्वासलाई पुष्टि गर्छन् तर नेपालको हकमा भने राजनीति भन्नासाथ बिगार्ने, बन्न नदिने, स्वार्थको खेल भन्ने अनुभूति हुन थालेको छ।

दशकौंको अभ्यासले यो बताउँछ पनि। त्यसैले राजनीतिक चेतनामा पनि वेदान्तको ज्ञान जरुरी छ भन्ने देखिन्छ किनकि आजसम्मको अभ्यास, स्वार्थको खेल, पद लोलुपता, भ्रष्टाचार र अराजकता, आर्थिक र नैतिक संकटले देखाएको परिस्थितिले महसुस गर्न बाध्य बनाएको छ राजनीतिमार्फत राज्यलाई विकासको बाटोमा लैजाने हो भने वेदान्त तहको ज्ञान भएका नेतृत्वको खाँचो छ।

ज्ञानको उपयोग होइन अन्त्यको जरुरी

उपनिषद्का ऋषिहरू बताउनुहुन्छ-ज्ञानको विस्तार वेद हो। वेद, ज्ञान अर्थात् जान्नु र जान्नेवालालाई नै हामी विद्वान् भन्छौं। त्यसैले पनि राजनीतिमार्फत सरकारमा जाने, बुझेका विद्वान्को खोजी र अपेक्षा हुन्छ किनकि अनेक रूपले दलदलमा फसेको राज्यलाई विकासमार्फत उद्धार गरोस् भन्ने जनअपेक्षा रहन्छ। तर जनअपेक्षालाई कदर नगरी आफ्नै स्वार्थ र सेटिङमा लिप्त केही विद्वान्हरूको अनुभवलाई हेर्दा वेदको ज्ञानले पनि भएन, अब वेदान्त अर्थात् जहाँ वेदको पनि अन्त्य हुन्छ र समझ मात्र बाँकी रहन्छ। त्यो ज्ञान भयो भने नागरिकको हितमा काम गर्ने नेतृत्व उदाउँछ कि भन्ने अर्को अपेक्षा जन्मिन थालेको छ।

राज्यको नेतृत्वले पृथ्वीरूपी गाई दुहुन चाहने हो भने बाच्छारूपी प्रजाको उचित पालनपोषण गर्नु जरुरी छ। कल्पलताले दिनेजस्तै विभिन्न खालको फल चाहने हो भने भूमिको पालनपोषण गर्नुपर्छ। त्यसैले जब प्रजाको उचित पालनपोषण हुन्छ तब राज्यको मुहार फेरिनेछ।

वेदान्त अर्थात् ज्ञान नभएको, सिकेको, लिएको र घोकेको ज्ञानले नागरिक तहको विश्वास जित्न कठिन देखियो, मत जित्न सहज भए पनि। ज्ञान नहुनु अज्ञानको अवस्था हो भने ज्ञानभन्दा पार भइसकेको अवस्था ज्ञानातित भनिछ।

लाग्छ ज्ञानभन्दा अज्ञान नै पो ठिक हो कि धेरै ज्ञान र विद्वताले सर्वसाधारणलाई झुक्याउने काम मात्र गरे कि? अज्ञानतालाई निर्मूल गर्ने बहानामा सर्वसाधारणको अज्ञानताको फाइदा उठाइयो कि? ज्ञानले रोजेका र चुनेका नेताले अज्ञानीहरूको मर्म बुझ्न नसकेका हुन् कि? अज्ञान बन्धन हो भने ज्ञान झनै बन्धन देखियो। त्योभन्दा माथिल्लो चेतनाको तह वेदान्तको अवस्थामा पुगेको, स्वविवेकले कर्म गर्ने र राज्य एवम् नागरिकलाई विकासको सकारात्मक ऊर्जा महसुस गराउन सक्ने नेतृत्वको खाँचो देखियो।

बाहिरबाट जानेका र बुझेका विद्वताको भाषण होइन, नागरिक तहको भावना र मर्म बुझ्ने चाहियो। जब रोजाइ नागरिककै मतमार्फत हुने हो भने रोज्नुपर्‍यो, त्यस्तै व्यक्ति जसले बहुजन हितायको काम गर्न सकोस्। चुनावमा उठ्ने उम्मेदवारको मात्र होइन, गुनासोबाट मुक्त हुने हो भने मत दिने मतदाताको पनि विवेकको प्रयोग हुनु जरुरी छ। जहाँ पनि, जुनसुकै विषय र मुद्दा पनि जानेको छु भनेर भाषण ठोक्नेले नै सर्वसाधारणका साधारण मुद्दा उठान गर्न र न्याय दिन नसकेको अवस्था जग जायर भइरहँदा अब ज्ञान होइन, ज्ञानातित वेद पनि होइन, वेदान्तको स्थितिमा पुगेको व्यक्ति मात्र नेतृत्वमा आउन सक्छ। अन्यथा आएर मात्र नहुने रहेछ।

बाहिर र भित्रको भिखारी

एकदिन बिहान सबेरै एक विद्वान्को ढोकामा २ भिखारी भिक्षापात्र लिएर उपस्थित भएका थिए। विद्वान् आँगनको एक कुनामा बसेर शास्त्र पढ्दै थिए। उठेर आए र नजिकबाट नियाले। ओहो ! भिखारीमध्ये एकजना त भगवान् बुद्ध हुनुहुँदो रहेछ। विद्वान्ले झुकेर बुद्धलाई प्रणाम गरे र सोधे-भगवान्, हजुर पनि भिक्षापात्र लिएर? अर्का भिखारीलाई घरका कामदारले भिक्षा दिइसकेका थिए। तिनी आफ्नो बाटो लागे। बुद्धसँग भने विद्वान्ले वार्तालाप गर्न थाले। भगवान् बुद्ध मुसुक्क मुस्कुराउनु भयो र उल्टो प्रश्न गर्नुभयो, ‘महोदय! ती भिखारी र म भिखारीमा केही अन्तर देख्नुहुन्छ ?’ विद्वान्ले भने, ‘अवश्य भगवान्, म हजुरलाई भगवान्कै रूपमा देख्छु।’

बुद्धले फेरि सोध्नुभयो, ‘किन होला त?’ ती विद्वान्ले असहज मान्दै जवाफ दिने कोसिस गरेर भने, ‘भगवान् ! म अज्ञानीले कसरी छुट्टयाउन सक्छु र? तर हजुर भिक्षाका लागि किन हिँड्नु भएको होला? हजुरलाई नपुग्दो के छ र?’

बुद्धले हाँस्दै भन्नुभयो, ‘आज एक साधारण भिखारीजस्तै म पनि तपाईंको द्वारमा भिक्षापात्र फैलाएको छु। मलाई धनको भिख होइन, दया, करुणाको भिखले मेरा सन्यासीलाई ज्ञानकै बोध गराउन हिँडेको छु। उनीहरूको जीवन वरत्र र परत्र पनि सार्थक होस्, त्यो देखाउन चाहन्छु। धन के हो? त्याग के हो? सिकाउन चाहन्छु।

कसैलाई सिकाउनुअघि आफैंले प्रयोग गरेर देखाउनु जरुरी छ। भिक्षामा तपाईं जे दिनुहुन्छ, मलाई फरक पर्दैन। मसँग कुनै लोभ र मोह बाँकी छैन। बाहिरबाट ती अर्का भिखारी र मेरो रूप एवम् उद्देश्य एकै देखिन सक्छ तर भित्रबाट हामी अवश्य फरक छौं। धन, ज्ञान, विद्वता सबै जानिसकेर म भिक्षु भएको छु र मेरा सन्यासीलाई साथ लिएर हिँडेको छु। यसको अर्थ उनीहरूको घर बिगार्न होइन, उनीहरूको जीवनको उद्देश्य देखाइदिनु मेरो कर्तव्य हो।

कसैलाई सिकाउनुअघि आफैंले प्रयोग गरेर देखाउनु जरुरी छ। भिक्षामा तपाईं जे दिनुहुन्छ, मलाई फरक पर्दैन।

आज यो भिक्षापात्रमार्फत मैले माग्दै हिँडेको मात्र छैन, बाँड्दै हिँडेको पनि छु। बाहिर मागेर भित्रको चेतना बाँडेको छु, जुन हरेकको जीवनलाई सार्थक बनाउन अति उपयोगी छ। यो भिक्षापात्रले बाहिरको गरिब तर भित्रको सम्राटलाई इंगित गरेको छ। ज्ञान, वेद, विद्वता सबैले आफ्नो सीमा समातेर बसेका हुन्छन्। सीमा तोडेर र त्यागेर मात्र यो भिक्षापात्र सम्हाल्न सकिन्छ।’

बुद्धका यी कुरा सुनुन्जेल ती विद्वान्का आँखा आफ्नो अज्ञानताको कारण रसाएका थिए। उनी बुद्धको शरण परे, घरभित्र पसे र एउटा भिक्षापात्र बोकेर बुद्धका पछि लागे। बुद्धले उनलाई एकपटक सोचेर मात्र कदम अघि बढाउन अनुरोध गर्नुभयो। तर ती विद्वान्ले भने-भगवान्! अब मलाई मेरो तथाकथित ज्ञानको यात्रा छोडेर परमार्थको यात्रामा कदम बढाउनु नै उत्तम छ। ज्ञानको यात्राले मलाई कहाँ पुर्‍याएको थियो र? त्यही तर्क, अहंकार, लोभलालच र घमण्डमा। अब असली यात्रामा निस्कन्छु म हजुरसँगै। त्यो परमतिरको यात्रा, ऋषिमय यात्रातिर लैजानुहोस् मलाई पनि।

बुद्धका यी कुरा सुनुन्जेल ती विद्वान्का आँखा आफ्नो अज्ञानताको कारण रसाएका थिए। उनी बुद्धको शरण परे, घरभित्र पसे र एउटा भिक्षापात्र बोकेर बुद्धका पछि लागे।

‘म समस्त वेदान्तद्वारा ज्ञानप्राप्त ब्रह्म हुँ’को मर्म अर्थात् त्यागको ज्ञान ती विद्वान्ले भगवान् बुद्धको वाणीबाट प्राप्त गरे।

ज्ञानले सबै कुरा थाहा हुने कुरामा दुईमत रहेन तर स्वयंको बारेमा कहिले र कसरी थाहा पाउने? ज्ञान साधन रहेछ सहजताका लागि। अब साध्यका लागि उपाय के खोज्ने भन्ने बेला भइसक्यो। आफ्नै आँखाले पनि सबै चिज देख्न सकिन्छ तर आफ्नै आँखा देख्न सकिन्न। आफ्नो आँखा देख्न ऐनाको सहारा चाहिन्छ भने भित्रको आँखा देख्ने सहारा, साधना अवश्य जरुरत छ।

भित्रको ब्रह्म जान्ने र अनुभूति गर्न सक्ने वेदान्तको जरुरी छ। शब्द, सिद्धान्त र आश्वासनले अरूलाई झुक्याउन त सजिलो होला तर आफैंलाई, आफ्नो ब्रह्मलाई झुट बोलेको थाहा हुनासाथ पश्चातापको अग्निले जलाउन थाल्छ। आश्चर्य त यसमा छ कि उमेर र बाहिरी अनुभवले पनि यो अवस्था बोध नहुने रहेछ। यसका लागि आन्तरिक साधना र प्रज्ञाको विकास जरुरी रहेछ।

आफ्नै आँखाले पनि सबै चिज देख्न सकिन्छ तर आफ्नै आँखा देख्न सकिन्न। आफ्नो आँखा देख्न ऐनाको सहारा चाहिन्छ भने भित्रको आँखा देख्ने सहारा, साधना अवश्य जरुरत छ।

आफैंमा स्थिर हुन जान्नेले मात्र बाहिरी व्यवस्थालाई स्थिर राख्न सक्ने रहेछ। अन्यथा महत्वाकांक्षाको भिक्षापात्र कहिल्यै पूर्ण हुँदैन। अनुभव, ज्ञान र विद्वताको तब काम आउँछ जब त्यसले व्यावहारिक सहजता र सर्वजन हितायमा काम गर्न सुरु गर्छ। म नाम, रूप, पद मात्र होइन, सच्चिदानन्दस्वरूप ब्रह्म हुँ भन्ने जान्नेले पनि राजनीतिबाट राज्य र नागरिकको सेवा गर्न सक्छ। राजनीति सेवा दिने माध्यम बन्नुपर्छ, मेवा लिने साधन होइन।  

प्रकाशित: ६ जेष्ठ २०८० ०१:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App