जब कहीँ परिचयको क्रम चल्छ, आफ्नो नाम बताइसकेपछि म असमञ्जसमा पर्छु– मेरो घर कहाँ हो? सामान्यतः परिचय गर्दा अरु केही नभए पनि एउटा व्यक्तिको थर र घर बताउने चलन हुन्छ। जहाँ पनि र जहिले पनि व्यक्तिको प्रमुख पहिचान त्यही नै देखिन्छ अनि मात्र बाँकी परिचयका कुराहरु अगाडि बढ्छन्। यो क्रममा भने मेरो फरक अनुभूति छ । म अलि सानै छँदा गाउँघरमा कुरा गरेको सुन्थेँ– आइमाईको आफ्नो घर पनि हुँदैन र थर पनि हुँदैन तर सायद मलाई अलिअलि राजनैतिक चेतनाको विकासले होला, यो कुरा पटक्कै चित्त बुझ्दैन थियो । यसो भनेर सबै छोरीहरुलाई, महिलालाई होच्याएको महसुस हुन्थ्यो र म सधैँ यस्ता कुराको प्रतिकार गर्थें ।
समय बित्दै जाँदा मलाई झन्–झन् यो कुराले घोचिरहन थाल्यो र आजभोलि त म आफैँलाई प्रश्न गर्न थालेकी छु– साँच्ची, मेरो घर कहाँ हो ? म जहाँ जन्मेँ–हुर्कें, मेरो बालापन र किशोरावस्था जहाँ बित्यो मेरो घर त्यहाँ हो ? या मेरो विवाह भएर जहाँ भित्रिएँ, मेरा पतिको घर जहाँ थियो, मेरो घर त्यहाँ हो ? कि मेरो जीवनको सबैभन्दा धेरै समय जहाँ बिताएँ, मैले आर्थिक, सामाजिक, राजनैतिक भूमिकासहित पहिचान बनाएँ, काम गरेँ, मेरो घर त्यहाँ हो ?
म बुझ्ने र थाहा पाउने हुँदादेखि आजसम्म आफैसँग मेरालागि यो एउटा अनुत्तरित जिज्ञासा बनिरह्यो । खासगरी देशमा लोकतन्त्र र अझ गणतन्त्र आइसकेपछि यस्ता सवाल बलिया हुँदै आएका छन् । कोही पनि व्यक्तिको योगदान, भूमिका, योग्यता र क्षमताभन्दा पनि उसको भाषा, जात, लिङ्ग, क्षेत्रीयता, रङ र भूगोलले पहिचान र अवसरको निर्धारण गर्न थालेपछि म र म जस्ताका मनभित्र यस्ता अनेकौँ जिज्ञासाहरुको ओइरो लाग्न थालेको छ ।
म आफैँलाई लाग्छ– म जन्मेको, हुर्केको, मेरो बालापन बितेको, अध्ययन गरेको र सांगठनिक जीवनको आरम्भसँगै म भनेर आफ्नो नामको पहिचान सुरुवात भएको ठाउँ अर्कै छ, तत्पश्चात् मेरो विवाह भएर बुहारीका रुपमा भित्रिएको पतिको घर अन्तै छ । र, पतिकै थर ठेगानाबाट मेरो नागरिकतासमेत बनेको छ तर विवाह भएलगत्तैदेखि आजसम्म लगातार रहँदै आएको, पहिचानका लागि संघर्ष गरेको, आफ्नो अध्ययनलाई निरन्तरता दिएको, अप्ठ्यारो परिस्थितिमा पनि संगठन निर्माणमा जुटेको, हरेक आन्दोलन र अभियानमामा सहभागी भएको, जीवनका सम्पूर्ण ऊर्जाशील समय बिताएको, जीविकोपार्जनका लागि काम गरेको र आफ्नै मेहनतले पहिचान निर्माण गरेको ठाउँ काठमाडौँ हो । यसरी हेर्दा मैले मेरो घर र पहिचान कहाँ मान्ने ? अनि बेलाबेलामा लागिरहन्छ– आखिर मेरो पहिचान कहाँ छ ? मेरो घर कहाँ हो ?
कोही व्यक्ति पेशा र अन्य जिम्मेवारीको सन्दर्भमा देशका विभिन्न ठाँउमा रहेर दशकौँ बिताएको हुन सक्छ। उसको पहिचान कहाँ हुने ? भौतिक पूर्वाधारको विकाससँगै नयाँ–नयाँ अवसर र रोजगारीको खोजीमा बसाईंसराइ हुँदैआएको छ । हिमालबाट पहाड, पहाडबाट मधेस, त्यहाँबाट सदरमुकामका सहरहरु र राजधानी । अनि अझ टाढा अर्कै देशसम्म । तर जहाँ पुगे पनि नेपालीकोे पहिलो पहिचान नेपाली नै हो। देशको कुनै एउटा भूगोल, पूर्व–पश्चिम, पहाड–मधेसबाट हैन, नेपाली हुनमा गर्व हुन्छ । कुनै पनि जात, थर या घरबाट हैन, ऊ आफ्नो राष्ट्र र राष्ट्रियताबाट चिनिन्छ ।
सामान्यतः कम उमेरमा विवाह भएका महिलाले नागरिकता प्राप्तिका लागि पतिको नाम, थर र ठेगाना राख्नुपर्ने आवश्यकतासँगै पहिचानसमेत पतिसँगै समाहित हुने हुन्छ । अर्को त विवाहपश्चात् पतिबाट पाउनुपर्ने हकअधिकार प्राप्तिका लागि पनि पतिको नाम, थर र घरमा आफ्नो पनि थर र पहिचान समाहित गर्नुपर्ने बाध्यताले महिलाको आफ्नो थर र पहिचान हराउने गरेको छ । सायद त्यसैले होला हाम्रो समाजमा महिलाको आफ्नो घर र थर हुँदैन भन्ने चलन छ ।
समयक्रमसँगै उत्पादन प्रणाली, जीविकोपार्जनको स्रोत र बद्लिँदो जीवनशैलीले क्रमशः यो सामन्ती पितृसत्तात्मक प्रचलनलाई बदल्दै आएको छ । महिलाको जन्मसिद्ध हकलाई स्थापित गर्दै महिलाले आफ्नो पहिचान निर्धारण गर्न थालेका छन् । महिलाको पहिचानलाई उत्पादन र आर्थिक पहुँचले पनि फरक पारेको अवस्था छ । अधिकांश अघिल्लो पुस्ताका पुरुषले घरव्यवहार चलाउन आयआर्जन गर्ने, राजनैतिक–सामाजिक काम गर्ने र महिलाहरुले पूर्णतः घरभित्र सीमित भएर भात भान्सा, घर, गोठ, बालबच्चा र परपाहुनाको हेरविचारमा आफूलाई समर्पित गरेर रहेको अवस्था थियो । जसले गर्दा महिलाको आफ्नो छुट्टै पहिचान र पारिवारिक निर्णयमा कुनै भूमिका नरहेको अवस्था थियो ।
अहिले क्रमशः खासगरी ९० को दशकपछाडि प्रजातन्त्रको उभारसँगै महिला जागरण, सशक्तीकरण, शिक्षामा पहुँच र अवसरको खोजीले यो अवस्था फेरिँदैछ । बितेका केही दशकयता महिलाहरुमा आएको सचेतना र जागरुकताले महिलाको स्वाभिमान, आत्मसम्मान र हैसियतलाई पनि क्रमशः उठाउँदैआएको छ । महिलाहरुमा आफू पनि सधैँ आर्थिक परनिर्भर हुनुहुन्न, उत्पादनमा सहभागी हुनुपर्छ, स्वआर्जनमा लाग्नुपर्छ भन्ने मानसिकताको विकासले एउटा सकारात्मक फड्को मारेको छ ।
सहर बजार र पढेलेखेका महिला मात्र हैन, गाउँघरमा पनि औपचारिक शिक्षाको अवसर नै नपाएका महिलाहरुमा समेत यो चेतना र जागरण आएको छ । गाउँदेखि सहरसम्म विभिन्न सरोकारवाला समूहमा संगठित भएर महिलाहरु अनेक चेतनामूलक कार्यक्रमका माध्यमले आफ्नो सीप, योग्यता, क्षमता र वातावरण अनुसारको अवसरलाई उपयोग गर्दै आयआर्जन र उत्पादनमा सहभागी हुन थालेका छन् ।
स्थानीय तहकै आयआर्जन कार्यक्रम, स्वरोजगारदेखि विभिन्न अवसर लिँदै परिवारको आर्थिक सवलीकरणका लागि महिलाहरु वैदेशिक रोजगारीमा जानेसमेत लहर चलेको छ । यसरी अब महिलाले पनि सानोतिनो पेवा–पात जम्मा गर्ने र रहर लागेको खर्च गर्ने मात्र नभई परिवारको पूर्ण जिम्मेवारी वहन गर्दै आफ्नै आर्जनले बालबच्चा पढाउने, घर खर्च चलाउने, घरजग्गा जोड्नेसमेत गर्न थालेका छन् । त्यसैले पहिलेजस्तो महिलाको आफ्नो घर र पहिचान हुँदैन भन्ने भनाइ अब बिस्तारै अमान्य हुँदैगएको छ।
महिलाको जिम्मेवारीको दायरा फराकिलो हुँदै त गयो, पुरुषको जिम्मेवारी भने अझ खुम्चदै गयोे । सनातनदेखि महिलाले गर्दै आएका घरव्यवहारका काम– चुलोचौको, घरका वृद्धवृद्धाको हेरविचार, बालबच्चाको हेरविचार, परपाहुना, घरको रेखदेख लगायतका सम्र्पूण पारिवारिक जिम्मेवारी नितान्त महिलाले नै भ्याउँदै, विभिन्न सामाजिक, राजनैतिक गतिविधिमा समेत सहभागी हुँदै जिम्मेवारी वहन गर्नुपर्ने बाध्यता र चुनौती महिलामाथि नै थपिदैछ । अहिले स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको छ । स्थानीय तहको जनप्रतिनिधिमा ५० प्रतिशत महिलाको उपस्थिति हुनुपर्ने कुरा ऐनमा व्यवस्था भएको छ । यो व्यवस्थालाई कार्यान्वयन गर्न सबै राजनैतिक पार्टी र सचेत नागरिकले महिलाले निर्वाह गरिरहेका यस किसिमको दोहोरो, तेहोरो, चौहोरो भूमिका र जिम्मेवारीलाई महसुस गर्ने बेला आएको छ । महिलाहरु सधैँ अनुत्पादक र अपरिभाषित श्रममा मात्र समय खर्चेर घरभित्रै मात्र अल्झिरहने हो भने घरबाहिर निस्केर सामाजिक राजनैतिक जिम्मेवारीको अवसर, उपयोग र वहन गर्न र आफूलाई सक्षम साबित गर्न कठिन हुन्छ । त्यसैले अहिले आधुनिक समाजको विकाससँगै आत्मसम्मान र पहिचानको आवश्यकताले हिजोका भन्दा आजका महिलाले थप चुनौती र अवरोधहरु झेल्नु परिरहेको छ ।
यस्तो अवस्थामा लोकतन्त्र र गणतन्त्रको आगमनले मात्र सामाजिक सांस्कृतिक रुपान्तरण असम्भव रहेछ। जबसम्म समाजमा पूर्णतः लैंगिक समतामूलक सोचको विकास हुँदैन, सामाजिक सांस्कृतिक रुपमा पितृसत्तात्मक सोचको अन्त्य भएर पारिवारिक जिम्मेवारीलाई महिलाको मात्र जिम्मेवारी हो भन्ने मानसिकताको अन्त्य भएर परिवारको साझा जिम्मेवारीको रुपमा स्वीकार गर्ने वातावरण बन्दैन, लेखपढ, रोजगार, राजनीतिक–सामाजिक कुनै पनि क्षेत्रमा महिलाको अर्थपूर्ण र गुणात्मक सहभागिता र भूमिका हुन गाह्रै हुन्छ । अनि त्यतिञ्जेलसम्म महिलाको आफ्नो थर र आफ्नो घरका निम्ति आत्मसम्मान, स्वाभिमान र पहिचानको लडाईं चलिनैरहन्छ ।
प्रकाशित: २५ फाल्गुन २०७३ ०२:३४ बुधबार