१ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

नयाँ पुस्ताको परीक्षा

स्थानीय चुनाव हुनेमा शंका पैदा भए पनि चुनाव घोषणाले राजनीतिमा हिम्मतिला पाइला सारिरहेका नयाँ पुस्तामा आशा छाएको छ । राजनीतिक रिक्तताका कारण अनिर्वाचित अधिकांश पुराना पुस्ताका नेता/कार्यकर्ता, कर्मचारी र ठेकेदारको सिन्डिकेटले चलेको राज्यको तल्लो राजनीतिक एकाइमा नयाँ पुस्ताको प्रवेशको सम्भावना उत्तिकै छ । चुनाव हुनसके खडेरीले मरभूमितुल्य जमिन वर्षौंंपछि वर्षाले भिजेजस्तै हुनेछ स्थानीय निकाय । सकारात्मक सम्भावनाका ढोका उघारिनेछन् । तल्लो तहमा विकास र समयानुकूल परिवर्तनको चाहना प्रकट भएपछि केन्द्रमाथि परिणाममुखी नीति तय गर्ने दबाब पर्न सक्छ । तल्लो तहको भावना र चाहना सुनेर योजना बनाउने र कार्यान्वयन गर्ने बाध्यतात्मक अवस्था आउँछ ।

अर्कोतर्फ, राजनीतिक नेतृत्व विकासमा चल्दै आएको टीके प्रवृत्तिमाथि धक्का पर्छ । वैधानिक राजनीतिक निकायमा युवापुस्ताले बढीभन्दा बढी स्थान लिएर देशलाई सार्थक परिणाम दिने अवसर निर्माण हुन्छ । स्थानीय तहमा समावेशी सहभागिता कार्यान्वयनको अवसर बन्छ । अवसरबाट वञ्चित पारिएका क्षमतावान् नयाँ पुस्ताले भूमिका निर्वाह गर्न सक्ने माहोल बन्न पुग्छ । त्यसका लागि युवाहरूले हिम्मत देखाउन सक्नुपर्छ । कसैको निगाहामा नभई क्षमताले अवसर पाउनुपर्ने मान्यता स्थापित गर्न साहसी कदम चाल्नुपर्छ । पुरानो पुस्ताको निगाहाको भर पर्ने कि क्षमताको कदर हुने पद्धति निर्माणमा जुट्ने ? आधुनिक प्रविधिमा पहुँच बनाएको चेतनशील नयाँ पुस्ताका सामु परीक्षाको घडी आएको छ ।

केन्द्रीय तथ्यांक विभागले सन् २०१४ मा नेपाली युथ इन फिगर्समा उल्लेख गरेअनुसार नेपाल सरकारले युवाको परिभाषामा राखेको १६ देखि ४० वर्ष उमेर समूहको संख्या कुल जनसंख्याको ४०.३७ प्रतिशत छ । कुनै पनि देशमा यति ठूलो प्रतिशत युवा संख्या एक युगमा एक पटकमात्र हुन्छ । देशमा रेमिट्यान्स भित्राउनदेखि उत्पादन वृद्धिमा यिनै उमेर समूहले भूमिका खेलिरहेछन् । युवाहरू रेमिट्यान्स भित्राउन मात्रका लागि होइनन् । देशको राजनीतिक बागडोर हाँक्ने चालक पनि हुनुपर्छ । यसका लागि मौका आएको छ चुकाउनुहुन्न । युवाहरूको उत्साहजनक जनसंख्या र देशमा उत्कृष्ट राजनीतिक दृष्टिकोण र कामकारबाहीको आवश्यकतालाई मध्यनजर गर्ने हो भने राजनीतिमा युवाको उल्लेख्य उपस्थिति अपरिहार्य छ । युवाहरूले राजनीतिमा बलियो स्थान सुनिश्चित गर्ने सम्भावनाको सुवर्ण अवसर छ । सुझबुझ र एकताभाव देखाएर बढ्न सके युवाहरूले लामो समय पद ओगटेर बसेका पाका नेताहरूलाई समयको आवश्यकताअनुसार धक्का दिन सक्छन् । युवाहरूले ‘हामी हौं’ भन्ने भावनाका साथ प्रभावकारी भूमिका प्रदर्शन गर्न सके स्थानीय निकायमा युवाहरूलाई उम्मेदवार बनाउन दलहरू बाध्य हुन सक्छन् । देश र जनताले चाहेको नयाँ अनुहारमात्र होइन, नयाँ सोच, जोस, जाँगर र काम गर्ने क्षमताको पुस्ता हो । त्यो क्षमता नेपालका नयाँ पुस्तामा छ । युवाहरूले आफूलाई त्यसका लागि सक्षम ठानेर मात्र हुँदैन, व्यवहारबाट प्रमाणित गर्न सक्नुपर्छ ।

कठिन प्रतीक्षा

स्थानीय चुनाव लामो प्रतीक्षापछि घोषणा गरिएको छ । त्यसबीच युवाहरू धेरै राजनीतिक अवसर गुमाउन बाध्य भए । स्थानीय तहमा युवाको भिजन र जोस खर्चने अवसर गुम्यो । अर्कोतर्फ, युवा पुस्ता स्थानीय चुनाव नहुँदाको प्रत्यक्ष व्यक्तिगत क्षति भोग्ने पुस्ता हो । १९ वर्षमा स्थानीय चुनाव नदेखी बालिग भएका किशोरको ठूलो संख्या छ । किशोरावस्थामा राजनीतिमा प्रवेश गरेकाहरू स्थानीय चुनावको अनुभव नबटुली युवावस्थाको उत्तराद्र्धमा पुगिसके । राज्यको राजनीतिक संरचनाको वैधानिक तल्लो निकायमा जनप्रनिनिधि बनेर काम गरेको अनुभवहीनताको खड्को नयाँ पुस्तामा टड्कारो छ । राजनीतिक अवसर पाएका कतिपय नयाँ पुस्ताका नेताहरू टुप्पाबाट पलाएका जस्ता भएका छन् । तल्लो निकायका जनताको भावना नबुझी नीति निर्माण लाद्न खोज्दा आलोचितमात्र नभई असफल हुने गरेका छन् । यसले पनि स्थानीय निकायमा राजनीतिक गतिविधि र अनुभवको महत्व बुझ्न सकिन्छ । अब स्थानीय चुनाव भएमा तल्लो तहमा नयाँ पुस्ताले लोकतान्त्रिक अभ्यास गर्नेछ । राजनीतिक गतिविधि बढ्नाले युवाहरूमा दिगो विकास र शान्तितर्फ अग्रसरता बढ्छ ।

स्थानीय निकायमा जनप्रतिनिधि हुँदा स्थानीय निकाय बलियो हुनाका साथै राज्यको तल्लो एकाइसम्म विकास निर्माणले गति लिएको इतिहास छ । तल्लो एकाइसम्म लोकतान्त्रिक अभ्यास हुँदा सिंहदरबारसम्म लोकतान्त्रिक प्रणाली बलियो हुँदै गएको थियो । त्यसैले होला दरबार र सशस्त्र माओवादीको तारो स्थानीय निकायमा एकसाथ भयो । दरबारले स्थानीय चुनाव हुनै नदिने गतिविधि ग¥यो । माओवादीले स्थानीय तहका जनप्रतिनिधिलाई छानीछानी भौतिक आक्रमण गरेको थियो । बहुदलीय व्यवस्था र लोकतान्त्रिक प्रणालीको मेरुदण्ड बनेको स्थानीय निकायमाथिको प्रहारले देशलाई विकास र जनचेतनाको दृष्टिले धेरै पछि धकेल्यो । दलहरूले सिन्डिकेटबाट चलाएर स्थानीय निकायमा राजनीतिक गतिविधि बढाउनुलाई प्राथमिकतामा राखेनन् । उनीहरूले ऐतिहासिक जनआन्दोलन सफल गरेर दुई पटक संविधानसभाको चुनावमात्र गरेनन् गणतन्त्र घोषणा र संविधानसभाबाट संविधान जारी गर्न सके । त्यत्रो उपलब्धि हासिल गर्न सक्नेले स्थानीय चुनावलाई एक दशक बित्दासमेत प्राथमिकतामा पारेनन् । केन्द्रमा हालीमुहाली भएर सहमतिका नाममा सिन्डिकेटको गलत पद्धति विकास गरे । आजसम्म गरिएका यस्ता गल्तीमा पूर्णविराम लाग्ने अवस्था निर्माण गर्न पनि चुनाव अपरिहार्य छ ।

नेता र चुनावमा शंका

एक दशकपछि प्रमुख दलहरूमा स्थानीय चुनाव गर्नुपर्छ भन्ने हेक्का आएको होइन । संविधानको कार्यान्वयनका लागि स्थानीय चुनाव अनिवार्य सर्त भएकाले बाध्यात्मक अवस्था आएको हो । तैपनि, स्थानीय चुनावको घोषणा सत्ताका लागि फाल्न लगाइएको पासा त होइन ? यी शंका छँदैछ । चुनावका लागि सत्ता गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री प्रचण्डमाथि दबाब परेको छर्लङ्ग छ । नत्र, प्रचण्ड केही समय पछाडि धकेल्ने सोचमा थिए । देउवाले प्रचण्डलाई वैशाख ३१ गते चुनाव गर्न नसकेर सत्ता छाड्न बाध्य पार्न लागेका त होइनन् ? यी शंका नभएको होइन । नेपाली राजनीतिमा हरेक निर्णय विधि र विधानलाई केलाएर गहिरो अध्ययनको निचोड पछि गरिँदैन । त्याग र तपस्याको राजनीतिको इतिहास लेखिएको छ तर लेख्न साहस गर्नेहरू छैनन् । स्वार्थको राजनीतिले ढपक्क ढाकेको नेताहरूको मानसपटलमा त्यागको भावना नहुञ्जेल आवधिक चुनावमा समेत शंका गर्नुपर्ने अवस्था रहिरहन्छ । त्यसमाथि राजनीतिक निर्णयहरू दलविशेषमात्र नभई नेताविशेषको राजनीतिक भविष्यको जोखाना गरेर गरिन्छ । त्यसमाथि पनि विज्ञहरूको सुझावभन्दा ज्योतिषहरूको भविष्यवाणीलाई पत्याउने नेताहरू नीति निर्माण तहमा हावी छन् । नेताहरूको जस्तो सोच, बुझाइ र व्यवहार छ राजनीतिमा त्यस्तै परिणामहरू देखापरिरहेछ । त्यसको मूल्य देश र जनताले भोग्नुपरिरहेछ । निचोडमा भन्नुपर्दा वर्तमान राजनीतिका शीर्ष नेतृत्वदेखि तिनको उत्तराधिकारी दाबी गर्नेहरूसमेतबाट देशको सुन्दर भविष्य कल्पना गर्नु गलत ठहर्छ । तिनले स्थापित गरेको राजनीतिक मान्यता भनेको हाम्रालाई अवसर दिने राम्रालाई लखेट्ने, निष्ठाको राजनीति गर्नेलाई निरुत्साहित पार्ने, नेतृत्व विकासमा सकभर नातावाद नभए एस म्यानलाई च्याप्ने र नयाँ पुस्तालाई निर्णय तहमा पु¥याउन भन्दा दास समान बनाउने नै हो ।

संघर्षको मार्ग

अन्त्यमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनका पिताले युवावस्थामा भनेको वाक्य ‘संसार खतरनाक छ लड्नका लागि सधैँ तयार होऊ’ नेपाली राजनीतिमा सान्दर्भिक छ । नेपाली राजनीतिमा खतरनाक मानिस हालीमुहाली भए । लोकतन्त्रका नाममा मनपरीतन्त्रलाई बढावा दिए । यतिसम्म कि आवधिक चुनावसमेत यताउता पारेर आफ्नो स्वार्थअनुरूप तल–माथि गरे । यस्ता नेताबाट सजिलै नेतृत्व हस्तान्तरण हुन्छ भन्ने भ्रममा कुनै पनि युवा नेता नपरे हुन्छ । नेतृत्वका लागि नयाँ पुस्ताले कठिन संघर्ष गर्नुपर्छ । नत्र, बुढ्योली चढिसक्दासमेत युवा नेताको परिचय झुण्ड्याएर हिँड्न बाध्य हुनुपर्ने अवस्था आउनसक्छ । स्थानीय चुनाव नयाँ पुस्ताको अगाडि बढ्ने अवसर हो । यसमा पनि पुरानो पुस्ताले ठाउँ लिन खोजे कठिन राजनीतिक संघर्षका लागि तयार हुनुपर्छ । पुरानो पुस्ताले मार्गदर्शनको भूमिका निर्वाह गर्न चाहेमा स्वागत र सम्मान गर्नुपर्छ । १९ वर्षपछि हुन लागेको चुनावमा समेत पदलोलुपता देखाउँछन् भने नयाँ पुस्ता टुलुटुलु हेरे बस्नुहुँदैन । अवसर मागेर पाइँदैन, संघर्ष गर्नुपर्छ भन्ने हेक्का नयाँ पुस्ताको मानसपटलमा पर्नुपर्छ । 

 

 

 

 

प्रकाशित: २३ फाल्गुन २०७३ ०३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App