१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
विचार

अनुसन्धान–केन्द्रित विश्वविद्यालय

अनुसन्धानमा किन लगानी गर्ने भन्ने प्रश्नको उत्तरका लागि केही उत्पादनको अध्ययन गरौं। मुख्यतः चीनमा बन्ने एप्पल फोन संसारका सबै देशमा बेचिन्छ। एप्पलले फोनको अन्वेषणमा लगानी गर्यो। आफ्नो आविष्कारको पेटेन्ट गर्यो। कम्पनी स्तरीय उत्पादन बनाउन सफल भयो। संसारभर फोन लोकप्रिय भयो। फोनको बिक्री आकासियो, मुनाफा बढ्यो। अमेरिकी कम्पनी भएकाले बिक्री मूल्यको ठुलो हिस्सा संयुक्त राज्य अमेरिका पुग्छ। संसारभरबाट रकम पाउने भएकाले एप्पल विश्वकै सर्वाधिक मूल्यवान कम्पनी बन्न सफल भयो। गुगल, माइक्रोसफ्ट, फेसबुकलगायत अमेरिकन कम्पनीका अन्तिम उपभोक्ता संसारभर छन् तर प्रयोगकर्ताबाट संकलित पुँजी अन्त्यमा अमेरिका नै पुग्छ। अमेरिकी कम्पनीले धेरै मुनाफा कमाएपछि सरकारले कर पाउने नै भयो। दशकौंदेखि संसारभर सफलता पाएका अमेरिकी कम्पनीका कारण संयुक्त राज्य अमेरिका लामो समयदेखि विश्वको धनी मुलुकको दर्जा पाउन सफल भयो। नवीन आविष्कार र पेटेन्टपछि कम्पनीमात्र होइन, देश नै कसरी धनी बन्छ भन्ने देखियो।  

त्यस्तै, जापानी कम्पनी टोयोटाले विभिन्न २६ देशमा रहेका आफ्ना कारखानामा उत्पादित विभिन्न मोडलका कार संसारका १ सय ७० देशमा बेच्छ। गाडी बेच्दा पाउने पैसाको एउटा ठुलो हिस्सा अन्ततः जापानमै पुग्छ। कारको अन्वेषणमा टोयोटाले पाएको सफलताको फल जापानले पायो। टोयोटा, होन्डाजस्ता दर्जनौं सफलतम कम्पनीका कारण अन्तराष्ट्रिय अर्थतन्त्रमा जापानको स्थान उपल्लो रह्यो।  

कुनै पनि देश आज किन धनी छ भनी सूक्ष्म अध्ययन गर्दा विगतमा उक्त मुलुकले अन्वेषणमा कति लगानी गर्यो भन्ने कुराले निर्देशित गरेको देखियो। विगतमा अनुसन्धानमा धेरै पैसा खर्च गर्ने देश वर्तमानमा धनी देखिए।  

अमेरिका र चीन संसारका सर्वाधिक धनी देश हुन्। आउँदा दिनमा समेत विश्वको अर्थतन्त्रमा उनीहरूकै बोलबाला हुने देखिन्छ। त्यस्तो प्रक्षेपण गरिनुमा उनीहरूको अनुसन्धानात्मक लगानी गरेको रकम नै हो। अमेरिकाले अन्वेषणमा वार्षिक ५ खर्ब अमेरिकी डलर खर्च गरेको देखिन्छ भने चीनले करिब ४ खर्ब डलर लगानी गरेको पाइन्छ। चीनभन्दा अमेरिकाले अन्वेषणमा बढी रकम खर्चिए पनि उत्पादकत्वका हिसाबमा चीन अगाडि छ। त्यसो हुनुमा औसत जीवन स्तर (लिभिङ स्ट््यान्डर्ड)को विषमताले भूमिका खेलेको देखियो।  

अनुसन्धान खर्चको ठुलो हिस्सा अनुसन्धान कर्ताको तलबभत्तामै जाने भएकाले जीवन स्तर कम भएको मुलुकका अनुसन्धान कम खर्चिलो हुन्छ। चिनियाँको औसत जीविका खर्च अमेरिकीको तुलनामा निकै न्यून भएकाले कम खर्चमा अमेरिकाले गर्नेभन्दा बढी अनुसन्धान गर्न सक्छ चीनले। बौद्धिक सम्पत्तिको कसी मानिने पेटेन्टको संख्या कुनै पनि देशको वैज्ञानिक सफलता नाप्ने एक आधार हो।  

आजको पेटेन्ट भविष्यको व्यापारिक उत्पादनमा रूपान्तरित हुने भएकाले पेटेन्टको संख्याले देशको भविष्यको समुन्नतिबारे भन्छ। संयुक्त राष्ट्र संघ मातहतको वल्र्ड इन्टेलेक्चुयल प्रोपर्टी अर्गनाइजेसनले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२१ मा संसारमा ३४ लाख पेटेन्ट दर्ता भए। त्यसमध्ये झन्डै १६ लाख पेटेन्ट दर्ता गरी चाइना अग्रस्थानमा देखियो भने संयुक्त राज्य अमेरिका दोस्रो स्थानमा रह्यो अनि जापान तेस्रो भयो। सबै पेटेन्टले व्यापारिक सफलता हासिल गर्छ भन्ने छैन। तर, वर्तमानको पेटेन्ट संख्याले भविष्यको व्यापारिक सफलताको आँकलन गर्न मद्दत गर्छ नै।  

औसत जीविका खर्च निकै कम भएकाले नेपालमा अनुसन्धान गर्न सस्तो पर्छ। अमेरिकामा एउटा अनुसन्धानकर्तालाई दिने तलबले काठमाडौंमा त्यत्तिकै वैज्ञानिक दक्षता भएका १० वैज्ञानिकलाई काम लगाउन पुग्छ भन्ने कुरा बिर्सनु हँुदैन। नेपालले अन्वेषणमा खर्चने रकमले अमेरिका–चीनका भन्दा अधिक प्रतिफल दिन सक्छ।  

कुनै पनि देश आज किन धनी छ भनी सूक्ष्म अध्ययन गर्दा विगतमा उक्त मुलुकले अन्वेषणमा कति लगानी गर्यो भन्ने कुराले निर्देशित गरेको देखियो। विगतमा अनुसन्धानमा धेरै पैसा खर्च गर्ने देश वर्तमानमा धनी देखिए।

विश्व बैंकको प्रतिवेदनअनुसार जापान, संयुक्त राज्य अमेरिका, चीनजस्ता विकसित मुलुकले आफ्नो कुल गार्हस्थ उत्पादनको झन्डै ३ देखि ४ प्रतिशत रकम अनुसन्धानमा खर्च गर्छन्। तर, नेपालले भने आफ्नो जिडिपीको केबल ०.३ प्रतिशत मात्र अनुसन्धानमा खर्च गरेको देखिन्छ। सानो आकारको अनुसन्धान बजेटको ठुलो हिस्सा केबल तलब–भत्तामा खर्च हुने भएकाले नेपालमा अन्वेषण गर्न कठिन छ। नेपालको वैज्ञानिक अनुसन्धान बजेट विकसित देशको एउटा स्तरीय प्रयोगशालाको खर्चभन्दा पनि कम देखिन्छ। तथ्यांकले अनुसन्धान नेपाली शासकको प्राथमिकतामा नपरेको देखाउँछ। नेपालीलाई गैरनागरिक बनाएर विदेश पठाइ रकम कुम्ल्याउने खाँण र रायमाझी प्रवृत्तिका नेताको बोलबाला भएको देशको नेतृत्वले कमिसन नआउने अन्वेषणमा लगानी गरेन भनेर के गुनासो गर्नु ?

देशको कुल गार्हस्थ उत्पादन नै सानो भएको नेपालले धेरै रकम आधुनिक वैज्ञानिक अनुसन्धानमा खर्च गरोस् भन्ने माग यथार्थपरक नहोला। तर, विकसित मुलुकले विनियोजन गरेभैंm बजेटको ३÷४ प्रतिशत पैसा अनुसन्धानमा खर्च गर्नुपर्छ भन्ने आवाज गलत हुन सक्दैन। अनि उक्त विषयमा सबै नेपाली वैज्ञानिकले आआफ्नो स्थानबाट आवाज उठाउन जरुरी छ।  

संसारमा आजसम्म भएका अधिकांश वैज्ञानिक अनुसन्धान सरकारी लगानीमार्पmत विश्वविद्यालयमा भएको यथार्थ बिर्सनु हँुदैन। त्यसो हुनुको मुख्य कारण कुनै पनि नाफा कमाउन खोलिएको कम्पनीले असफलताको सम्भाव्यता बोकेको जोखिमपूर्ण अन्वेषणमा लगानी नगर्नु नै हो। नाफा कमाउन खुलेका कम्पनीले जुन उत्पादन बनाउँदा अत्यधिक फाइदा हुन्छ, त्यही वस्तु बनाउछ। गरिब मुलुककेन्द्रित र बिरामीको संख्या थोरै हुने रोगको औषधि बनाउन नाफामूलक फर्मास्युटिकल कम्पनीले लगानी गर्दैन। बरु सरकारले नै लगानी गर्छ भन्ने कुरा बिर्सनु हुँदैन।  

संसारका अधिकांश आविष्कार झन्डै ५ प्रतिशत अनुसन्धान विश्वविद्यालयमा भएको तथ्यांक सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ। आखिर किन अधिकांश अन्वेषण सीमित विश्वविद्यालयका ल्याबमा भए त ? भन्ने प्रश्नको उत्तर पाउन विश्वविद्यालयको वर्गीकरणमा घोत्लन आवश्यक छ।  

विश्वमा विश्वविद्यालयलाई अनुसन्धान गर्ने र किताबी ज्ञान दिने गरी दुई भागमा विभक्त गरिन्छ। विश्वप्रसिद्ध शिक्षण संस्था अक्सफोर्ड, हार्वार्ड, एमआइटी, क्याल्टेकहरू अनुसन्धान विश्वविद्यालय (रिसर्च युनिभर्सिटी) हुन् भने त्रिभुवन विश्वविद्यालय (टियु), अमेरिकाको क्यालिफोर्निया स्टेट युनिभर्सिटी शिक्षण (टिचिङ) विश्वविद्यालय हुन्। अनुसन्धानात्मक विश्वविद्यालयको मुख्य लक्ष्य विविध विषयमा अनुसन्धान गर्नु र सकारात्मक परिणामलाई अन्तर्राष्ट्रिय जर्नल (पत्रिका)मा प्रकाशित गर्नु अनि व्यापारिक हिसाबले खँदिला नतिजालाई प्याटेन्ट गर्नु हो। त्यस्तै शिक्षण विश्वविद्यालयमा मूलतः पढाउने काम गरिन्छ। अनुसन्धान उनीहरूको प्राथमिकतामा पर्दैन। किताबी ज्ञानमार्पmत रुटिन बर्क गर्न सक्ने जनशक्ति उत्पादन गर्ने दायित्व शिक्षण विश्वविद्यालयको हो भने नयाँ उत्खननमार्पmत स्थापित मान्यतालाई नवीन उचाइ दिन सक्ने हैसियत राख्ने जनशक्ति उत्पादन गर्छ अनुसन्धान विश्वविद्यालयले।  

अमेरिका र चीन संसारका सर्वाधिक धनी देश हुन्। आउँदा दिनमा समेत विश्वको अर्थतन्त्रमा उनीहरूकै बोलबाला हुने देखिन्छ। त्यस्तो प्रक्षेपण गरिनुमा उनीहरूको अनु सन्धानात्मक लगानी गरेको रकम नै हो। अमेरिकाले अन्वेषणमा वार्षिक ५ खर्ब अमेरिकी डलर खर्च गरेको देखिन्छ भने चीनले करिब ४ खर्ब डलर लगानी गरेको पाइन्छ।  

झन्डै ५ लाख विद्यार्थीलाई पढाउने त्रिवि विद्यार्थी भर्नाको हिसाबमा विश्वका दश ठुला विश्वविद्यालयमा पर्छ। एसियाकै सर्वाधिक अर्बपति उत्पादन गर्ने युनिभर्सिटी अफ बम्बई र अमेरिकाको क्यालिफोर्निया स्टेट युनिभर्सिटी विद्यार्थी संख्याका आधारमा त्रिभुवन विश्वविद्यालयकै हाराहारीमा छन्। अझ बंगलादेश नेसनल विश्वविद्यालय र इरानको इस्लामिक आजाद युनिभर्सिटीमा टियुभन्दा दोब्बर बढी विद्यार्थी पढ्छन्। विश्वको तथ्यांक हेर्दा शिक्षण विश्वविद्यालयले आंगिक स्वतन्त्रतामार्पmत सहजै ८–१० लाख विद्यार्थी पढाउन सक्ने भन्छ। तसर्थ, त्रिभुवन विश्वविद्यालयले नेपालका सबै विद्यार्थीलाई किताबी ज्ञान केन्द्रित शिक्षा दिन सक्छन्। वर्षांैदेखि शिक्षण विश्वविद्यालयका रूपमा आफ्नो दायित्व निर्वाह गर्दै आएको त्रिविले अनुसन्धान केन्द्रित महाविद्यालयको बोझ बोक्न सक्दैन। तसर्थ, मुलुकलाई केन्द्रमा राख्ने हो भने नेपालका सबै विद्यार्थी पढाउने दायित्व त्रिविलाई सुम्पँदै विषयगत ससाना रिसर्च इन्स्टिच्युट खोल्नु पर्छ। शिक्षणमा केन्द्रित रही सबै प्रदेशलाई भाग पुर्याउने गरी प्रान्तैपिच्छे विश्वविद्यालय खोल्नुको औचित्य देखिँदैन।

दश महाविद्यालय (कलेज) रहेको युनिभर्सिटी अफ क्यालिफोर्निया दर्जनांै नोबल पुरस्कार विजेता वैज्ञानिकले काम गर्ने विश्वकै उत्कृष्ट अनुसन्धान संस्था हो। अमेरिकाका पूर्वमन्त्री जेनिट नेपोलिटानोले बाराक ओबामाको मन्त्रीपरिषद्बाट राजीनामा गरेर युनिभर्सिटी अफ क्यालिफोर्नियाको सभापति बन्नुुले नै उक्त विश्वविद्यालयको शैक्षिक मर्यादाबारे बुझ्न सकिन्छ। त्यसका सम्पूर्ण महाविद्यालय कुनै निश्चित विषयमा अनुसन्धान गर्न स्थापित भए। उदाहरणका लागि बर्कले क्याम्पस विज्ञान केन्द्रित अनुसन्धानका लागि खोलियो भने सान फ्रान्सिस्को महाविद्यालय मेडिकल साइन्स र डेभिस कलेज कृषि अनुसन्धानलाई लक्षित गरी स्थापना गरिए। सबै कलेज आआफ्नो क्षेत्रमा विश्व प्रसिद्ध छन्। अनुसन्धानात्मक विश्वविद्यालय कुनै निश्चित विषयकेन्द्रित हुनुपर्ने सन्देश दृष्टान्त हो युनिभर्सिटी अफ क्यालिफोर्निया।

माथिका उदाहरण हेर्दा विद्यार्थीलाई किताबी ज्ञान दिन तथा निजी कलेजलाई आधिकारिकता मात्र प्रदान गर्न नेपालमा थप विश्वविद्यालय आवश्यक देखिँदैन। तर, अनुसन्धान गर्न तथा कुनै निश्चित विषयका दक्ष जनशक्ति उत्पादन गर्न युनिभर्सिटी अफ क्यालिफोर्निया सिस्टमको खाका पछ्याउँदै विशेष प्रकृतिको विश्वविद्यालय खोल्न भने अत्यन्त आवश्यक देखिन्छ। प्रतिव्यक्ति नोबल प्राइज पाउने वैज्ञानिक उत्पादनको हिसाबले संसारको दोस्रो स्थानमा रहेको क्याल्टेकमा केबल २ हजार विद्यार्थी रहेको यथार्थ स्मरण गर्दै त्रिभुवन विश्वविद्यालयको वर्तमान ढाँचालाई शिक्षण विश्वविद्यालयका रूपमा कायम रहन दिई ससाना विषयगत स्वायत्त विश्वविद्यालय खोली वैज्ञानिक अनुसन्धानमा अगाडि बढ्न आवश्यक छ। अन्वेषणको जगमा निर्माण भएका खँदिला प्याटेन्टले नै मुलुकलाई आर्थिक उचाइमा पुर्याउन सक्ने भएकाले न्यायोचित बजेटसहितका अनुसन्धान विश्वविद्यालय स्थापनामा जोड दिऔं।

प्रकाशित: २ जेष्ठ २०८० ००:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App