६ वैशाख २०८१ बिहीबार
विचार

नेपाल-भारतका साझा कुरा

गत साताका सुरुका दुई–तीन दिन नेपाल–भारत सामाजिक, सांस्कृतिक तथा मानवीय सम्पर्क विषयमा केन्द्रित मन्थन र चिन्तनमा बित्यो। काठमाडौँभन्दा अलि न्यानो वातावरणमा प्राध्यापक, प्राज्ञिक अन्वेषक, कूटनीतिक, प्रशासक, धार्मिक व्यक्तित्व, पत्रकार, राजनीतिकर्मी, सामाजिक कार्यकर्ता, विद्यार्थीलगायत दुई सयजति भारतीय र नेपाली नागरिकले भाग लिएको दिल्लीस्थित इन्डियन काउन्सिल फर कल्चरल रिलेसन्स् (आईसीसीआर)को आजाद भवनमा भएको दुई दिने अन्तर्राष्ट्रिय गोष्ठीको प्रसंग हो यो। भारत र नेपालका स्थानीय संस्कृति र परम्परा एवं कूटनीति विषयका विज्ञ तथा सम्बन्धित जिज्ञासुको प्राज्ञिक वा नीतिगत विमर्श केन्द्रित थियो गोष्ठी। फेबु्रअरी ६ देखि ८ सम्म चलेको गोष्ठीको आयोजना इन्डियन काउन्सिल फर इन्टरन्यासनल रिलेसन्स् (सीआईआर) को सहयोग र क्रियाशील संलग्नतामा पोलिसी रिसर्च एकेडेमी र इन्डियन काउन्सिल फर इन्टरन्यासनल कोअपरेसनको संयुक्त आयोजना हो।

'ग्रेटर नेपाल'को मुद्दाले नेपाल–भारत सम्बन्धमा केही मात्रामा 'बार्गेनिङ' बुँदाको काम त गर्ला, तर यस्ता असम्भव लक्ष्य बोकेका अभियानले साझा र विशाल सांस्कृतिक एकताको बाटोमा अप्ठेरा र अनावश्यक सतर्कताको नीति बढाएको देखिन्छ।

गोष्ठीमा भारतको विदेश मन्त्रालय र उत्तरपूर्व क्षेत्र हेर्ने राज्यमन्त्री जनरल डा. विजयकुमार सिं तथा आईसीसीआरका अध्यक्ष तथा भारतका प्रतिष्ठित प्राध्यापक लोकेशचन्द्रले क्रमशः उद्घाटन र समापनसत्रको प्रमुख आतिथ्य गरेका थिए। भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय र नेपालका लागि भारतका राजदूतका रणजीत रेले सम्बोधन गरेका थिए। भारतका पूर्वसांसद तथा प्रतिष्ठित स्तम्भकारद्वय तरुण विजय तथा बलवीर पुञ्ज, यो पंक्तिकार, राजदूत वीरेन्द्र गुप्ता, पूर्वराजदूत तथा परराष्ट्र सचिव केभी राजन र पूर्वराजदूत तथा परराष्ट्र सचिव (भूपत्रय) शशांक तथा नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. वेणीमाधव ढकालले विभिन्न सत्रको सभापतित्व गरेका थिए। विषयगत ५ सत्र 'नेपाल–इन्डिया रेलिजियस एन्ड कल्चरल रिलेसन्स', 'प्रिजर्भिङ सोसियो कल्चरल इथोज् एन्ड ट्रेडिसन्स', 'इन्डिया–नेपाल पिल्गि्रमेज टुरिज्म,' 'च्यालेन्जेज फेस्ड बाइ ट्राइवल एन्ड अदर कम्युनिटिज इन द कन्टेक्स्ट अफ्  प्लुरालिज्म' र 'रोल अफ् सिभिल सोसाइटी अर्गनाइजेसन्स एन्ड ओमेन फर प्रिजर्भेसन एन्ड प्रमोसन अफ् सोसल हार्मोनी' विषयका थिए।

नेपालको परिवर्तित आन्तरिक राजनीतिको अव्यवस्थित र भद्रगोल अवस्थाका कारण सामान्यतः यहाँको विदेश नीति, त्यसमाथि पनि उत्तर–दक्षिणका छिमेकीसँगको सम्बन्धप्रतिको नीतिसमेत दिशाहीन, चिन्तनहीन र बेथितिको अवस्थामा पुगेको छ। यस बेथितिले नेपालको भारत र चीनबीच बेलाबेलामा राजनीतिक र कूटनीतिक असहज अवस्था आइरहने कुरा अब नौलो रहेन। भौगोलिक समानता र खुला सिमानासहितको सामाजिक–सांस्कृतिक निकटताले बाँधेको अवस्था हुँदाहुँदै पनि निकै गहिरो अविश्वास र अप्ठेरा नेपाल–भारतबीच पटकपटक निस्कने गरेको छ। झण्डै एकै किसिमको धार्मिक–सामाजिक इतिहास र वर्तमान भएका यी दुई स्वतन्त्र छिमेकी देशबीच बिछट्टै नौलो किसिमको विशेष सम्बन्ध हुँदाहुँदै पनि राजनीतिक र कूटनीतिक क्षेत्रमा बेलाबेलामा उतारचडाव र तनावको स्थिति सिर्जना हुने गरेको छ। हिजोआज यसमा अनपेक्षित तीव्र गतिको स्थिति देखिँदै गरेको छ। यस सन्दर्भमा भारतको नेतृत्ववर्ग र प्रसाशनिक यन्त्र अनुदार र संकुचित भएको आरोप पनि लाग्ने गरको छ। वर्तमान भारत सरकार धार्मिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा नेपालमा भैरहेको बढ्दो इसाइकरण र युरोपियन युनियनको प्रभाव तथा नेपालको त्यसतर्फको ढल्काइप्रति पनि असन्तुष्ट रहेको देखिन्छ। त्यसैगरी, पूर्ववर्ती सरकारको चीनसँग अप्रत्यासितरूपमा लहसिने क्रियाकलापबाट पनि भारत त्यत्तिकै असन्तुष्ट रह्यो। राजनीतिक खिचातानी र छिमेकीसँगको सम्बन्धमा रहेको दिशाहीनताको यस अवस्थामा नेपालको नेतृत्ववर्ग दलीय, गुटगत तथा व्यक्तिगत स्वार्थका निम्ति महाअवसरवादी बन्दै उतारचढावको नीति अपनाउन व्यस्त देखिएका छन्। भारत र नेपालबीच भैरहेको यस्तो दिशाहीन र नीतिहिन कूटनीतिक अव्यवस्थाको आजको बेथितिमा यस किसिमको साझा महत्व र क्षेत्रीय मानवीय सांस्कृतिक सम्बन्धका गोष्ठी र छलफलले जनताजनताबीच थप सचेतना ल्याउने र दुवै देशका नेतृत्वलाई उचित बाटो पहिल्याउन सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ। नेपालले आफ्नो ऐतिहासिक, सामाजिक र सांस्कृतिक परिवेशलाई गहनरूपमा स्वीकार गर्दै छिमेकीसँगको सम्बन्धमा स्पष्ट र दृढ कूटनीति अँगाल्नु आवश्यक छ। र, भारतले पनि एक अनुदार, संकुचित व्यवहार र आकारको उच्चताको अहंकार त्याग गरी साझा संस्कृतिको जिम्मेवारीको प्राचीनतम् ऐतिहासिक युगदेखिको सम्मानित आदर्शको नीतिमा लाग्नु आवश्यक देखिएको छ। यस्तै साझा अवधारणा यस गोष्ठीमा निकै दह्रो ढंगले उठेका थिए।

नेपालको तर्फबाट बेलाबेलामा निस्कने 'ग्रेटर नेपाल'को अवधारणा र मुद्दाले नेपाल–भारत सम्बन्धमा केही मात्रामा 'बार्गेनिङ' बुँदाको काम त गर्ला, तर यस्ता विवाद चर्काउने र असम्भव लक्ष्य बोकेका आभियानले क्षेत्रीय साझा र विशाल सांस्कृतिक एकताको बाटोमा अप्ठेरा, शंका र अनावश्यक सतर्कताको नीति बढाएको देखिन्छ। त्यसैगरी, नेपालमा राजनीतिक परिवर्तनपछिको राज्यसंरचनाको काममा नेपाल–भारतबीचका साझा सांस्कृतिक यथार्थलाई अझ सुदृढ गर्नुपर्ने आवश्यकता छ। त्यसलाई अगाडि बढाउँदै लैजान भारतले नेपालमा पूर्व–पश्चिम (होराइजेन्टल) नभएर उत्तर–दक्षिण नदी सभ्यताको आधारको (भर्टिकल) संरचना कायम होस् भन्ने असल र व्यावहारिक चाहना तथा आवश्यक भए त्यसैअनुरूपको सल्लाह दिने दृष्टिकोण लिनु आवश्यक देखिन्छ। यसको दूरगामी उपादेयता नेपाललाई जति हुन्छ भारतका निम्ति पनि कुनै पनि दृष्टिले कम हुँदैन। यस सन्दर्भमा नेपालले इतिहासको 'ग्रेटर नेपाल'को र झण्डै ७ र ८ सय वर्षअघिको खस साम्राज्यको अवस्थालाई पहिल्याएर पूर्व–पश्चिमतर्फका भूखण्ड दाबा गर्न दार्जीलिङ, सिक्किम र कुमाउगढवालतिर आँखा लाउँदै रडाँको मच्चाउने सोच अहिले यी दुवै देशका निम्ति प्रत्युत्पादक मात्र नभई घातकसिद्ध हुने निश्चित छ। अहिले नेपालमा मेचीदेखि महाकालीसम्मै तराईतर्फ बढ्दो इसाइकरण र अनेक किसिमका पश्चिमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था क्रियाशील छन्। इसाइ धार्मिक संस्था तथा तिनको सहयोगमा चल्ने देशकै गैरसरकारी संघसंस्था र केही राजनीतिक दल तथा व्यक्तिसमेतका क्रियाकलापले तराईमा, खासगरी गरिब र दलितको बसोबास भएका स्थानमा स्थानीय परम्परागत धार्मिक–सांस्कृतिक क्षेत्रमा व्यापक किसिमले प्रतिकूल प्रभाव पारिरहेका छन्। यसतर्फ भारतका नेतृत्व र सम्बद्ध अधिकारीवर्गले यथाशीघ्र ध्यान पुर्‍याउनु आवश्यक छ। नेपालको नेतृत्ववर्ग अहिलेसम्म त यस विषयमा चेतानाशून्य जस्तो भई उल्टो बाटो समातेर हिँडेको देखिनाले भारतको सकारात्मक सोच यसतर्फ आवश्यक देखिएको हो।

यस्तो विषयमा ध्यान नपुर्‍याई भारत आफ्नै राष्ट्रिय चिनारीको संकटमा परेका गोर्खा नामले चिनिने डेढ करोडभन्दा अधिक जनसंख्याको नेपालीभाषी समुदायका पिरोलिएका आवाजको आवश्यक चाँजो मिलाउनमा भन्दा नेपालको तराईतर्फको उल्टो किसिमको चासोमा फसेको देखिएको छ। भारतमा नेपालीभाषी गोर्खा समुदायको स्थानीयवासीसरहको मान्यताको माग र संघर्षलाई त्यहाँको सरकारले व्यवस्थित गर्न सकिरहेको छैन। यो समस्या मेचीपूर्वमा पर्ने सारा उत्तरपूर्व भारतका दार्जीलिङ, सिक्किम, नागाल्यान्ड, मणिपुर आदि इलाकामा व्याप्त छ। उता खस, कत्युरीका पालादेखि र पछि नेपालको एकीकरण तथा राज्यविस्तार भन्दा पछिसम्म नेपालअन्तर्गत वा नेपालको प्रभावका महाकाली पश्चिमका कुमाउ, गढवालतर्फ पनि खस वा नेपालीभाषीको अवस्था दयनीय भएका कुरा आइरहेका छन्। कतिपय अवस्थामा नेपालीभाषी भारतीयलाई 'विदेशी' वा बाहिरियाको रूपमा हेर्ने, व्यवहार गर्ने र अनेक आरोपमा आक्रमण, अपहरण, लूट, फिरौती असुली तथा हत्यासम्म भएका घटना प्रकाशमा आइरहेको छन्। नेपालीभाषीलाई भारतमा राष्ट्रिय मान्यता र चिनारीको सन्दर्भमा धेरैजसो ठाउँमा पछाडि नै पारेर राखिएको छ भन्ने आवाज बेलाबेलामा सुनिन्छ। भनिन्छ, भारतमा पनि 'अति भारतीय', 'ठीकै भारतीय', 'कम भारतीय' र 'बाहिरिया भारतीय' गरेर चार समूहमा नागरिकलाई कठोर विभेदकारी व्यवहार गरिन्छ। यसरी राष्ट्रिय चिनारीको मुद्दा बोकेर रहेका त्यत्रो ठूलो संख्याका नेपालीभाषीको पिरलो भन्दा नेपालका तराईका मैथिली, भोजपुरी आदि भाषीको मात्र चासो भारतले लिइरहनु दुई देशबीचको प्राचीनकालदेखिको साझा संस्कृति र परम्पराप्रति संवेदनशील हुन नसक्नु हो।  

नेपालीले बाध्यताको अवस्थाबाहेक चीनतर्फ अनुहार फर्काउने र लहसिने गरेका घटना इतिहासमा छैन भन्ने ऐतिहासिक यथार्थलाई राम्रोसँग बु‰न अलिकति पनि ढिला गर्नु हुन्न। प्राचीनकालमा भारततर्फको सहयोगमा आभीर गुप्तहरूले नेपाल दरवारभित्र थिचोमिचो गर्दा र शासनमा दख्खल दिँदा नेपालको मूल लिच्छवी शासक उदयदेव र तिनका सहयोगीले भोटमा शरण लिएका र पछि लिच्छवी महाराज नरेन्द्रदेवले भोटकै सहयोगमा आफ्नो राज्य फिर्ता लिएका थिए। त्यसैबेला तिब्बत र नेपाल मिलेर भारतको कन्नौज राज्यमाथि आक्रमणसमेत भएको थियो। दक्षिणबाट राजनीतिक र सांस्कृतिक आक्रमण हुँदा उत्तरतर्फ आफ्नो लेनदेन र संसर्ग बढाउने नेपालको नयाँ परिपाटी होइन। यो परिपाटी मुसलमानी आक्रमणका बेला दक्षिणतर्फ स्थानीय क्षेत्रीय धर्म–संस्कृति नष्ट भई स्रोत सुकेका बेला र पछि अंग्रेजले आक्रमण गरेको समयमा समेत नेपालले अपनाएको थियो। यतिसम्म कि डोय अर्थात् कर्णाटको आक्रमण हुँदा समेत याचे वा खस तथा भोटबाट गुहार लिने परम्परा भएकोले नेपालको इतिहासमा मध्यकालमा एउटा युगलाई नै 'गुहार युग' को रूपमा इतिहासकारहरूले चित्रित गरेका छन्। भारतले यो कुरा धैर्यका साथ बु‰नु जरुरी छ।

नेपालले जति भारतीय सभ्यताबाट पाएको छ, त्यत्तिकै महŒवपूर्ण भूमिका राजकीय र जनस्तरमा समेत भारतको हितका निम्ति नेपाललले निर्वाह गरेको छ भन्ने कुरा पनि बु‰नुपर्छ। नेपालको वर्तमान भूमिले सिद्धार्थ जन्मायो र उनलाई मानवकल्याणका निम्ति बुद्ध धर्मको रूपमा बाटो पहिल्याउन आवश्यक छ भन्ने गहन विषयको खाँचोबोध गरायो। भारतले तिनै सिद्धार्थका माध्यमबाट बुद्धधर्मको प्रादुर्भाव गरायो र त्यसलाई लालनपालन गर्‍यो, हुर्कायो र फैलायो। वैदिक सनातन धर्मको विकास र प्रचारप्रसार पनि पहिले भारतमै भयो। कालान्तरमा सारा बौद्ध र वैदिक सनातनीमाथि चर्को बाह्य आक्रमणका कारण दुवै धर्म परम्परालाई व्युत्पत्तिको भूमिमा नै तहसनहस पारियो। हजारौँहजार अनुयायी, भिक्षु, पुरोहित–पण्डित, आचार्य आदिका ज्यान गए। मठमन्दिर, विहार–महाविहार, विश्वविद्यालय, पुस्तकालय आदि भष्म पारियो। कति अनुयायी तथा भिक्षु, पण्डित, आचार्यले बचाउन सकेका र उठाउन–बोक्न सक्नेजति आआफ्ना शास्त्रका ठेली बोकेर भारतीय मैदान छाडेर भाग्नुपर्‍यो। नेपालले त्यो संकटको घडीमा त्यस्ता बाँचेका शास्त्र, विद्वान् र अनुयायीलाई आश्रय दियो र धर्म परम्पराका शास्त्रको पनि संरक्षणको काम गर्‍यो। तिनै शास्त्र र पण्डित, आचार्य, भिक्षु तथा सम्बन्धित धर्म परम्परा अनुयायीका चलन र शास्त्रीय पुस्तकका आधारमा पछि १९औँ शताब्दीमा फ्रेन्च विद्वान् बुर्नोफ् र ब्रायन हज्सनजस्ताले बुद्ध धर्मको पुनर्खोजी गरेको दाबा गरे। भारतमा भष्म पारिएका विहार र मठमन्दिरहरू यहाँ बनाइए।  विक्रमशिला, फर्पिङ आदि क्षेत्रका विहारका साथै स्वयम्भूलगायत अनकौँ बौद्ध धरोहर तथा तुलजा भवानीदेखि दत्तात्रय, जगन्नाथजस्ता मन्दिरका इतिहास यस सन्दर्भमा सम्झन लायक छन्। आखिर भारतीय भूमिमा नै प्रादुर्भाव भएको बुद्धधर्म पूरै त्यसै भूमिमा विलिन भयो, तर नेपालले भने भारतलाई परेको त्यस अत्यासलाग्दो दुःखद घडीमा काँधै थापेर जोगायो। अहिले पनि नेपालमा लगभग १० प्रतिशत बौद्ध छन् भने भारतमा ३ प्रतिशतमात्रै।

कुनै बेला एसियाको अधिकांश भूभाग सोग्पो भनिने तुर्करमंगोल, तुगलक, मुगल आदिको कब्जामा पुग्दा वा कब्जा गर्ने क्रममा भारतमा वैदिक सनातनी (हिन्दू) र भारतलगायत अनेकौँ देशमा बुद्धधर्म र बौद्ध अनुयायीमाथि भयानक आक्रमण गरी तिनका धर्म, सभ्यता, संस्कृति, चालचलन र धार्मिकस्थल गोन्पा ध्वस्त पार्ने क्रियाकलाप बढे। कति धर्मभिरु मारिए, कति विस्थापित भए, कतिका जहान, बालबच्चा र स्त्रीसमेतलाई जबर्जस्ती गर्दै कि मारियो कि हातपात गरियो। बोधगया र लुम्बिनी कपिलवस्तुजस्ता बौद्ध तीर्थस्थल भएका ठाउँमा समेत सोग्पो अर्थात् मुसलमान आक्रमणकारीले कब्जा गरे। त्यसबखत उत्तर–पश्चिम नेपालको सिन्जा राजधानी गरी पूर्वमा काठमाडौँ उपत्यकासम्म र पश्चिममा कुमाउगढवाल तथा उत्तर–पश्चिममा पश्चिम तिब्बतको गुगे–पुराङ इलाकासम्म शासन गर्ने नागराज वंशका खस याचे सम्राटले सोग्पोसँग युद्ध गर्दै वा सुनचाँदी दिएर भए पनि त्यस्ता धार्मिकस्थल गोन्पा, मठ, विहार सम्बन्धित धार्मिक समुदायलाई फिर्ता गरिदिने महान् काम गरेका थिए। क्राचाल्ल, अशोक चल्ल, जितारी मल्ल, आदित्य मल्ल, रिपु मल्ल, पुण्य मल्ल, पृथ्वी मल्लजस्ता खस शासकका यस्ता महान् कृतिबारे ऐतिहासिक उल्लेख नेपाल, भारत र तिब्बतमा पाइएका छन्। सेन्ट्रल एसिया, तिब्बत, चीन, भारत आदि देशमा यस्ता आक्रमण भएका थिए र उद्धारका काम पनि भएका प्रमाण पाइएका छन्। त्यसबेला खस र उपत्यकाका मल्लबाहेक यस्ता क्षेत्रीय धार्मिक–संस्कृतिक धरोहर जोगाउन सक्ने एसियामा कुनै शक्ति थिएन।

यसै समयताका दक्षिण नेपालको तराईमा सिमरावनगढ (सिम्रोनगढ) राजधानी भएको तिरहुत एउटा बलियो राज्य थियो। तर, यसमाथि पनि सोग्पो मुसलमानले आक्रमण गरी ध्वस्त बनाए। त्यसैले खसपछि हिन्दूपति बनेर स्थानीय परम्पराको रक्षा गर्ने काममा पाल्पा, मकवानपुर, चौदण्डी र विजयपुरका सेन राजाहरूको उल्लेखनीय देन रह्यो। सेन महाराजाहरूले अंग्रेज–मुसलमानको आक्रमणको चपेटोमा परेको वैदिक धर्म र परम्परालाई बचाउने शक्तिको रूपमा आफूलाई उभ्याउने सफल प्रयास गरे। सोग्पो वा मुसलमान र अंग्रेजलाई समेत हाँक दिएर यस भेकका धर्म–परम्पराको रक्षा गर्ने र भारतका बाँकी रहेका राजा तथा जनताको गिरेको साखलाई समेत उठाउने प्रयासमा लाग्ने काम आधुनिक नेपालका संस्थापक राजा पृथ्वीनारायण शाहले गरे। उनले सारा हिन्दुस्तानीको राज्य, तिनको इज्जत र टाउको अंग्रेजको पन्जामा परी जमिनमा लत्रिएको छ भन्दै स्वाभिमान र स्वाधीनताका निम्ति महाद्विपीय जागरणको शंखनाद गरेका थिए। उनी भन्थे– हिन्दुस्थानलाई अंग्रेजले दबाएर राखेको छ, त्यहाँ यस भेकका सभ्यता, संस्कृति, परम्परा बिलखबन्दमा परेका छन्, संरक्षित हुन सकेका छैनन्। तर, नेपालमा यस भेकका सांस्कृतिक परम्परा बचाउन सकिने भएकोले असली हिन्दुस्थानचाहिँ अब नेपाल पो भएछ र यहाँ त्यस्ता आफ्ना महाद्विपीय संस्कृतिको संरक्षण गर्ने र स्वाधीनताका निम्ति साझा जागरण अभियानजस्तै चलाउने काम गर्नुपर्छ भन्ने धारणा पृथ्वीनारायणको रहेको बुझिएको छ। यसरी हिन्दुस्थानमा हुन नसकेका अनेक स्थानीय धर्म, परम्पराको जीवन्त चलन र लिखत इतिहासलाई समेत नेपालले मर्न दिएन। त्यसै हुनाले पृथ्वीनारायणजस्ता व्यक्तिलाई भारतले समेत महाद्विपिय धर्म–संस्कृतिका संरक्षक महाराजका रूपमा सम्मान गर्नुपर्छ भन्ने हाम्रो आह्वानलाई भारतका तरुण विजयलगायत विद्वत् र राजनीतिक व्यक्तित्वले नेपाल–भारतको संयुक्त प्रयासमा त्यस्तो घोषणा गराउने अभियान चलाउने उद्घोष पनि गोष्ठीमा गरे। यसका साथै, पछिल्लो समयमा भारत स्वतन्त्रताका निम्ति जनस्तरीय सम्बन्धका आधारमा नेपालमा प्रजातन्त्र स्थापनाका लागि कटिबद्ध बीपी कोइराला, गणेशमान सिंहलगायत त्यसबेलाका जागरुक युवाको देन पनि उल्लेखनीय छ।

दिल्ली–काठमाडौँको शासकीय र राजनीतिक धारणा र भारतीय तथा नेपाली जनस्तरीय सम्बन्धको अवस्थाबीच ठूलो अन्तर देखिएको छ। त्यस अन्तरबीच सन्तुलन र समन्वय आजको आवश्यकता भएको छ। जनस्तरको व्यापक संवाद र साझा समझदारीलाई नेतृत्व र कर्मचारीतन्त्रले बु‰न सकेको छैन। जनताको अनवरत खबरदारी र निरन्तरको साझा सांस्कृतिक आदानप्रदानका कारण मात्र नेपाल–भारत सम्बन्ध टिकेको हो। यस्तो प्रयास र यथार्थको अभावमा यी दुवै देशका राजनीतिक नेतृत्व र शासकवर्गले त एक–दुई वर्ष पनि टिकाउन सक्दैनन्। यस्तो विशेष सम्बन्धलाई लिएर 'ठूलो दाजु (बडे भाइ) र भाइ (छोटे भाइ)' को चर्चा चल्नु स्वाभाविक थियो, तापनि यसले आवश्यकता भन्दा अधिक महत्व पायो गोष्ठीमा।

यस सन्दर्भमा पाकिस्तानलाई एक्ल्याउने र सार्कलाई असान्दर्भिक तथा लो प्रोफाइलमा राखेर, बंगलादेश, भुटान, इन्डिया र नेपाल सदस्य रहने गरी बीबीआईएन नामक उपक्षेत्रीय संगठनको अनौपचारिक प्रस्ताव गर्नेजस्ता भारतका क्षेत्रीय स्वार्थका नीतिले चीनलाई समेत सशंकित बनाएको छ। उता, पछिल्ला केही वर्षदेखि चीनले नेपालमा गर्दै गरेका गतिविधि र नेपाल भएर तीन देश जोड्ने 'एक बेल्ट एक सम्पर्क सडक'को प्रस्तावले भारत सशंकित र चिन्तित भएको देखिन्छ। वास्तवमा यस्ता कुरामा तीनै देशले गहनताका साथ सोचेर साझा र शंकारहित वातावरण बनाउनुपर्ने आवश्यकताका विषयमा पनि छलफल भयो।  

चीनको खास नीति नेपाललाई खुल्लारूपमा नजिक राख्ने त हुनै सक्दैन। खुलेको कोदारी राजमार्ग त वर्षौंदेखि बन्द छ र त्यत्रो अभावको अवस्थादेखि अहिलेसम्म खुलेको छैन। व्यापारिक स्वार्थ बोकेका चिनियाँहरूलाई नेपालीका घरघर पुर्‍याउनचाहिँ योजनाबद्धरूपले थालिसकेको छ चीनले। नेपाली नागरिक भने पूरा सरकारी निगरानी र औपचारिक कार्यक्रममा मात्र चीन भ्रमणमा जान पाउँछन्। आखिर पारवहनमा सहज स्थिति नबनाएसम्म चीनसँगको सम्बन्ध सु„ने सम्भावना छैन। चीनको नेपाल र नेपालीप्रति हेर्ने दृष्टिकोण प्राचीनतम युगदेखि अहिलेसम्म एउटै छ। अनेक वादशाह वा प्रजातान्त्रिक युगका सनयात सेन र कम्युनिस्ट माओ तथा अहिलेको औद्योगिक र व्यापारी कम्युनिस्ट युगसम्म पनि वास्तविक नीति एकै छ, त्यो हो– वरिपरिका देश चीनका शासकको संरक्षण र सुदृष्टिमा मात्र टिक्न सक्ने ससाना छोराछोरीजस्ता हुन्। यसको अर्थ, चीनलाई नेपाल र यस्तो अवस्थितिका देशले उचित सम्मान र आदर गर्नुपर्छ अनि चीनका शासकले कोसेलीसहित स्याबासी दिन्छन्। तिब्बतको यार्लुङ सम्राटहरूले हेर्ने दृष्टिकोण पनि त्यस्तै नै थियो। अहिले तिब्बतमा यार्लुङजस्ता सम्राट भएका भए स्थिति त्यस्तै नै हुने थियो। त्यसैले यस विषयमा पनि भारतले गहिरो गरी ध्यान दिनु अनिवार्य छ।

प्रकाशित: ४ फाल्गुन २०७३ ०५:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App