७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

मजदूर नै बेखबर मजदूर दिवस

रामेछापका ६७ वर्षीय गोमान तामाङ काठमाडौँ आएको ३२ वर्ष भयो। पातलो बस्तीमा आएका गोमान अहिलेका बाक्लो र अग्लाअग्ला घरका बस्ती देख्दा निधार खुम्चाउँदै इतिहास सम्झन्छन्– २०६२/०६३ को आन्दोलनमा दिनहँु चावहिल चोकमा नारा जुलुस गर्न कपनबाट हिँड्दै आउँथेँ। कतिपल्ट प्रहरीको लाठी खाएँ, कति पानीका फोहोरा। गणतन्त्र आएको दिन पूरै चक्रपथ परिक्रमा गरेको थिएँ विजय जुलुससँगै। अब त ज्याला मजदूरी गरेर खानेका पनि दिन आयो भनेर खुसीको सीमा नै थिएन।  

एक हप्तासम्म कामै छाडेर उनी कहिले भक्तपुर, कहिले टँुडिखेल त कहिले कीर्तिपुरका आमसभाहरूमा नेताहरूले हाम्रा लागि के बोल्दारहेछन् भनेर सहभागी भइरहे। आखिरमा काम नगरी नहुनेरहेछ भनेर ज्याला÷मजदूरीमै फर्के। उनलाई मजदूर दिवस थाहा छैन। सावाँ अक्षर चिनेका उनले अहिले इन्टरनेट चल्ने मोबाइल किनेका छन्, त्यही घरमा बस्ने भाइले त्यसमा नेट जोडिदिएका छन्। बेलुका काम सकेर कोठामा आएपछि रमाइला हँसाउने भिडियो, लोकगीत, तामाङगीत, इन्दे्रणी हेरेर रमाउँछने।  

राजनीतिक दल र नेताप्रति आक्रोशित छन्। नेतालाई तथानाम गाली गर्छन्। ३२ वर्ष श्रम गरेका उनले ३२ हजार रुपियाँ एकैपल्ट अहिलेसम्म देखेका छैनन्। घर बनाउने काममा अहिले त निकै सिपालु भइसके तर अब बूढो भए। शरीर कमजोर भयो भनेर चिन्तित छन्। उनी कुनै मजदूर संगठनमा आबद्ध छैनन्। संगठनप्रति विश्वास पनि छैन।  

सल्यानका ५१ वर्षीय मोती बस्नेत १८ वर्ष भयो भोटाहिटी क्षेत्रमा नाम्लो लिएर यताउति गर्न थालेका। उनी पनि मजदूर दिवससँग अनभिज्ञ नै छन्। आठ कक्षा पढेका उनी पत्रपत्रिका पढ्ने, मोबाइल चलाएर समाचारहरू भने पढ्छन्। यिनी त झन राजनीतिक दल र नेतालाई धारे हात नै लगाएर सत्तोसराप गर्छन्। यिनी पनि मजदूर संगठनमा आबद्ध छैनन्। गोरखाका भक्तबहादुर कुमाल १२ वर्षको उमेरमा घर छाडेर श्रमका लागि बाहिरिए। अहिले ५० वर्षका भए। दुई दशकदेखि राजधानीमा कहिले बैंकको सुरक्षा गार्ड त कहिले घरेलु श्रमिक बन्दै आएका छन्। कोभिडको बेला झण्डै बितेका थिए तर भगवानले बचाउनुभयो भनेर खिस्स हाँस्छन्। उनलाई मजदुर दिवस भनेको रत्नपार्कमा भाषण गर्ने दिन भन्नेसम्म थाहा रहेछ। त्यो भन्दा पर उनलाई केही थाहा छैन।

६९ वर्षीय भगवती छत्याल म्याग्दीबाट राजधानी आएको ४० वर्ष हुन लाग्यो। १९ वर्षमा बिहे गरेर श्रीमान्सँगै आएकी उनी ५ सन्तानकी आमा हुन्। श्रीमान् लगनखेल क्षेत्रमा ज्यामीको काम गर्छन् भने उनी ३० वर्षदेखि सुत्केरी स्याहार्ने र तेल लगाउने काम गर्छिन्। बडो फुर्तीसाथ उनले स्याहारेका बच्चा धेरै पढिसके,जागिर खान्छन्, कति त विदेश पनि गएका छन्। नेपाल आउँदा उनलाई भेट्न आउँछन् भनेर अनुहार नै उज्यालो बनाउँछिन्। उनीसँग बच्चा राख्ने डे केयरका मेमहरूको भन्दा धेरै ज्ञान छ। त्यही वरिपरिका डे केयरले त उनलाई जागिर पनि दिएका थिए तर उनलाई मन लागेन। स्कुल पनि नगएकी उनी सुनेको भरमा अलिअलि अंग्रेजी पनि बोल्छिन्।  

त्यति मात्र हैन, अक्षर नचिने पनि बच्चालाई प्रयोग गर्ने सम्पूर्ण कुराको ज्ञान उनलाई छ। कुन डाइपर, सेम्पु, लोसन, पाउडर, तेल, सेरेलेक्स, दूधदेखि लिएर कपडा, खेलौना कहाँ कस्तो पाइन्छ भनेर फरर भन्छिन्। यतिसम्म कि बच्चाको कुन डाक्टर राम्रो अनि कहाँ भनेर पनि थाहा छ भने सानातिना बिरामी हुँदा के औषधि खुवाउनेदेखि खोपको बारेमा पनि कन्ठस्थ छ। यति धेरै कुरा थाहा भएर पनि यिनका श्रीमान्÷श्रीमती नै न मजदूर दिवससँग परिचित छन् न त मजदूर संगठनमा नै आबद्ध छन्।  

खोटाङ राखाबाङ्गदेलक ६८ वर्षीय धिरराम पुरी २६ वर्षदेखि विदेशीको भारी बोकी लुक्लादेखि महिनौँ दिनसम्म कहिले सगरमाथा बेसक्याम्प त कहिले कालापत्थरलाई फेरो मारिरहेका हुन्छन्। यिनलाई अंगे्रजी नयाँ वर्ष, थ्याङ्कस गिभिङ, प्रेम दिवस, समर, विन्टर थाहा भए पनि मजदूर दिवस र मजदूर संगठनबारेचाहिँ थाहा छैन। यिनलाई विदेशी घुम्न आउने समयमा दसैँ आएको जस्तो लाग्छ भने अमेरिकाका धेरै राज्यको नाम भने कन्ठस्थ नै छ। अफसिजनमा कमाइ नहुने हँुदा गाउँमै गएर मेलापात गर्छन्। जति श्रम गरे पनि बिहान बेलुकाको छाक टार्न भने मुस्किलै छ।  

यी माथिका पात्रहरू जस्तै अनौपचारिक क्षेत्रमा श्रम गरेर जीवन यापन गर्ने श्रमिकहरूले सुरु गरेका आन्दोलनले मूर्त रूप पाएको दिन नै श्रमिक वा मे दिवस भनेर संसारभर मनाइँदै आएको छ। सन् १८८६ देखि आधिकारिक मान्यता पाएर संसारभर मनाउन थालिए तापनि नेपालमा भने प्रजातन्त्र स्थापना भएपछि बि.पी.कोइरालाको पालामा वि.सं. २००७ सालदेखि मनाउन थालिएको इतिहास छ।  

नेपालमा औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको आआफ्नै विभिन्न नामका श्रमिक संगठनहरू वर्खामा पलाउने च्याउजत्तिकै छन्। त्यसैगरी राजनीतिक दलका पुच्छ«े संगठनहरू पनि दलैपिच्छे फरक फरक छन्। यी सबैको काम भनेको ‘जसोजसो गुरुजी उसै उसै स्वाहा’ भने जस्तै हो। जनउत्तरदायी बन्न नसकेको लोकतन्त्रमा अहिलेसम्म आमनागरिकले पाएका भनेको झुटा आश्वासन, कुशासन, विभेद, असुरक्षा, वञ्चितीकरण र दुःखसिवाय केही छैन। तीन दशक भन्दा अघिदेखि आर्थिक उन्नति र सुशासनको सुगा रटाइ गर्ने हाम्रा असफल नेताहरूबाट श्रमिकको हकहितका लागि अब पनि केही होला भनी सोच्नु केवल दिवास्वप्न मात्र होला।  

३२ वर्षदेखि एक दर्जन टाउका वरिपरि मात्र घुमेको सत्ताबाट आश गर्ने ठाउँ कतै देखिन्न। देखिन्छ त मात्र सत्ता र शक्तिका लागि यिनीहरूको भागबन्डा र लुछाचुँडीको अनवरत नाट्यशृंखला। चेत, विवेक र मानवीयतासमेत गुमाइसकेका यिनीहरूलाई अब तह लगाउने पालो साँच्चै मजदूर वर्गकै हुन आउँछ। २०४६ को आन्दोलन होस् वा २०६२/२०६३ को, यसमा श्रमिक÷मजदूरहरूले साथ नदिएका भए शायदै सफल हुन्थ्यो होला। सत्ता हातमा पारेपछि उनीहरू नै राज्यबाट उपेक्षित हुनुपर्ने? कस्तो संस्कारको थालनी गरे लोकतन्त्रमा हाम्रा देश बनाउने कालीगढहरूले?

राजनीतिक दल, दलको नेतृत्व पंक्ति र यिनीहरूका पुच्छ«े संगठनहरूले श्रमिकका लागि ४६ सालदेखि ८० सालसम्म आइपुग्दा के/कति कारणले जीवनमा ताŒिवक फरक ल्याए त? हातमा औजार हुनेहरू औजार लिएर उठ भन्दै सिधासाधा जनताका छोराछोरीलाई मैदानमा उतारेर फाइदाचाहिँ सीमित वर्ग र तप्काका मानिसलाई भएको यथार्थ हामीले राम्रोसँग देखिरहेका छौँ। ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भनेर गाउँदै गरिबको आवाज बन्ने तन्त्र ल्याएको हैन र सबै मिलेर? अहिले आएर सीमित स्वार्थका पछि लागेर श्रमिकको पसिनामाथि यति ठूलो खेलबाड !  

प्रत्येक घरबाट युवा सन्तानलाई वैदेशिक रोजगारीमा धकेल्नु अनि तातो घाममा गरेको श्रमको मूल्यले सत्तामा हुनेले मोजमस्ती गर्ने तन्त्र नै लोकतन्त्र हो? २०७० देखि २०७९ सम्मको ९ वर्षको अवधिमा करिव ३५ लाखको हाराहारीमा युवाशक्ति वैदेशिक रोजगारमा गएका छन् भने यो ९ वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाउनेको संख्या ८४४९ पुगेको छ। त्यसैगरी अङ्गभङ्ग भएर फर्कनेको संख्या पनि उल्लेख्य छ। वैदेशिक रोजगारीको सिलसिलामा आफन्त गुमाएका परिवार र अङ्गभङ्ग भई फर्केका नागरिकको सामाजिक सुरक्षाको जिम्मेवारी कसको हो? यी विषयमा संवेदनशील भएर दायित्व निर्वाह गर्ने जिम्मेवारी पक्कै पनि राज्यको नै हो। युवा जनशक्ति कौडीको भाउमा बेचेर उनीहरूको रगत, पसिना र लासबाट रेमिट्यान्सका रूपमा भित्रिएको राजस्वको परनिर्भर अर्थतन्त्रको जगमा देशले सुख र समृद्धिको सपना देख्नु देखाउनु कि त नेतृत्व वर्गको आत्मरति हो कि त नागरिकलाई भुलभुलैयामा राखी आफ्नो अभीष्ट पूरा गर्ने खेल हो। 

प्रकाशित: २१ वैशाख २०८० ०१:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App