खाना खाँदा आउने र श्वास लिँदा सुनिने आवाज सुनेर केही मानिसलाई किन रिस उठ्छ ? यसबारेमा केही जिज्ञासु वैज्ञानिकले मस्तिष्कको स्क्यानिङ गरी पत्ता लगाएका छन्।
आवाज सुनेर हुने चिडचिढाहटलाई मिसोफोनिया भनिन्छ । चकले ब्ल्याकबोर्ड रगड्दा आउने आवाजबाट चिढिनुलाई पनि यही कोटीमा राखिन्छ।
बेलायतको केन्टस्थित २९ वर्षीया ओलना टेन्सले ह्याकक यही मिसोफोनियाबाट ग्रस्त छिन् । उनी भन्छिन्, ‘कुनै आवाज आउँदा डर लाग्दो रहेछ।’
बेलायती वैज्ञानिकले एउटा अध्ययन गरी केही मानिसको दिमागले किन बढी भावनात्मक प्रतिक्रिया दिन थाल्छ र केहीले किन दिँदैन भनी देखाएका छन् । ओलनालाई आठ वर्षको उमेरदेखि नै विभिन्न किसिमका आवाज सुन्नेबित्तिकै चिढ्चिढाहट हुन थालेको थियो । चिकित्सकहरुले उनलाई ‘आवाजको संवेदनशीलता’ बढी भएको पहिल्यै जनाइसकेका थिए । उनी खाँदा, श्वास लिँदा र सरसराहटको आवाज सुनिँदा निकै चिढिन्थिन् । ‘कसैले चाँच्चाँडो खाना खायो भने पनि मलाई तनाव हुन्छ । कसैले प्याकेटको सामान निकाल्न खोज्दा निस्कने आवाजले त बौलाहा नै बनाउला जस्तो पारिदिन्छ,’ उनले भनिन्।
यो कुनै सामान्य चिढचिढाहट भने होइन । यस्ता आवाजबाट उनी टाढै बस्न चाहन्छिन् । यही चिढचिढाहटका कारण सिनेमा हलमा फिल्म हेर्न जान्नथिइन् । आधा घण्टाको रेल यात्राका क्रममा पनि आफूलाई चिढयाउने किसिमका आवाजबाट बच्नका लागि सात आठ पटक डिब्बाभरि घुमिरहन्छिन् । उनले एउटा जागिर त साथीसंगीको तनावै दिने किसिमका आवाज सुन्नु परेकामा आधाभन्दा बढी समय रुन्थिन्। र, यही तनावका कारण तीन महिनामा नै जागिर छाडिन् ।
एउटा अध्ययनका क्रममा बेलायती वैज्ञानिकहरुले विभिन्न केन्द्रमा २० मिसोफोनिक र २२ जना सामान्य मानिसको मस्तिष्कलाई स्क्यान गरे, जाँचे । जाँचका क्रममा तिनलाई एमआरआई मेसिनमा राखिँदा वर्षाजस्ता प्राकृतिक आवाज र चिच्याहटजस्ता केही आवाज हुँदा उनीहरूको मस्तिष्कले प्रतिक्रिया जनाएको थियो ।
यस अध्ययनको परिणाम विज्ञान पत्रिका ‘करेन्ट बायोलजी’ले हालै प्रकाशन गरेको छ ।
यस परीक्षणबाट के पत्ता लाग्यो भने हाम्रो मस्तिष्कको एउटा अंशले हाम्रो संवेदनालाई हाम्रो भावनासँग जोड्ने गर्छ । मस्तिष्कमा हुने इन्टेरियर इस्युलर कर्टेक्स नामक यो अंश मिसोफोनियाका बेला अत्यधिक सक्रिय हुने गर्छ ।
न्युक्यासल विश्वविद्यालयका चिकित्सक सुखविन्दर कुमारले भने, ‘मिसोफोनिया भएका मानिसले जसै कुनै आवाज सुन्छन्, त्यो बेला मस्तिष्कको त्यो भाग निकै सक्रिय हुन्छ तर ‘ट्रिगर्ड साउन्ड’मा भने हुने प्रतिक्रिया चाहिँ व्यक्तिअनुसार फरक फरक हुन्छ ।’
उनका अनुसार ध्वनिप्रति हुने प्रतिक्रियामा अधिकतम त रिसका रुपमा बाहिर निस्कन्छ । हुन त यो सामान्य व्यवहारजस्तै प्रतिक्रिया हुने गर्छ तर पछि यो प्रतिक्रिया तीव्र हुन पुग्छ ।
यसको कुनै उपचार छैन तर ओलनाले यस किसिमको आवाजलाई रोक्न इयर प्लगजस्ता वस्तुहरु प्रयोग गर्ने गर्छिन् । चिकित्सकहरूका अनुसार यस किसिमको समस्या भएका मानिसले कफीजन्य पदार्थ, खासगरी क्याफिन उत्पन्न गर्छन् र रक्सीजस्ता पदार्थले अवस्थालाई झनै खराब बनाउन मद्दत गर्छन् ।
उनी भन्छिन्, ‘मेरो अवस्था तुलनात्मक रुपमा मध्यमस्तरको छ । म जागिर खान सक्षम छु । तर म केही यस्ता व्यक्तिलाई पनि चिन्छु, जो यही रोगका कारण अक्षम छन् । त्यसैले म तिनीहरुभन्दा भाग्यमानी छु।’
उनी भन्छिन्, ‘यस किसिमको विकार सामान्य अवस्थामा कति मानिसमा पाइन्छ भन्ने मलाई ठ्याक्कै थाहा छैन तर यसलाई निर्मूलै गर्ने कुनै पनि ओखती अहिलेसम्म बनेको छैन । त्यसैले कम्तीमा मैले आफूलाई चिढ्याउने कुनै पनि किसिमका आवाजबाट बच्नु नै श्रेयस्कर हुन्छ ।’
शोधकर्ताहरुले भने मिसोफोनियाग्रस्त दिमागमा देखिने प्रतिक्रिया र अन्तर बुझ्न सक्षम हुनेबित्तिकै यसको उपचार खोज्न सहयोग पुग्ने आशा गरेका छन् ।
जेम्स गालाघर, बिबिसी
प्रकाशित: २४ माघ २०७३ ०२:५० सोमबार