‘सहिद’ शब्द सुन्नासाथ हामी सबैको शीर श्रद्धाले निहुरिन्छ । तिनले आफ्नो जीवनको पर्वाह नगरी मुलुकवासीलाई निरंकुशताबाट मुक्त पार्नुका साथै हकअधिकार स्थापित गर्न संघर्ष गरेका हुन्छन् । तिनकै बलिदानीपूर्ण संघर्षका कारण आज हामी नेपाली स्वतन्त्रता र समानताको उपभोग निर्धक्क गर्न पाइरहेका छौँ । चाहे त्यो २००७ साल, ०४६ वा ६२÷३ नै किन नहोस्, वीर–विरांगनाको त्याग र तपस्या तथा संघर्षले मुलुकलाई निकास दिएको छ । आज माघ १६ गते देश सहिद दिवस मनाइरहेको छ । सारा जनता सहिदको स्मरण गरिरहेका छन्, सबै सहिदप्रति सम्मानभाव प्रकट गरिरहेका छन् । नेपालमा पटकपटक राजनीतिक परिवर्तन र जनतालाई सार्वभौम बनाउन आन्दोलन भएका छन् । त्यस्ता आन्दोलन सफल पार्न अहम् भूमिका खेल्ने थुप्रै हुन्छन्,, तर जीवन आहुति गर्ने केही हुन्छन् । २००७ सालको परिवर्तनले जनतालाई निरंकुश राणाशासनको चंगुलबाट मुक्त ग¥यो । मौखिक नियमकानुन तथा शासनबाट देशले फरक गति लियो । तर, त्यो त्यति लामो समय टिक्न सकेन । तत्कालीन राजा महेन्द्रले जनतामा आइसकेको राज्यसञ्चालनको जिम्मा हठात् खोसेर आफ्नो हातमा लिए । जनता पुनः अर्कै नामको निरंकुशता खप्न बाध्य भए । एकदलीय निरंकुश पञ्चायतले झन्डै ३० वर्ष शासन ग¥यो ।
नेपाली जनतालाई निरंकुशता कुनै पनि मूल्यमा सह्य थिएन । बहुदलको माग गर्दै स्वस्फूर्त जनआन्दोलनको हुरी चल्न थाल्यो । जनताको एकताको अगाडि राजाको शासन टिक्न सकेन र २०४६ को आन्दोलनले मुलुकमा पुनः बहुदलीय शासन स्थापित ग¥यो । जनता र जनमत बलियो बन्यो । उक्त परिवर्तनपछि जनताले फेरि पनि कुनै राजनीतिक परिवर्तनका लागि आन्दोलन गर्नु नपर्ने र मुलुक समुन्नतिको मार्गमा हिँड्ने अपेक्षा गरेका थिए । दुर्भाग्य परिवर्तनको आधा दशक नहुँदै माओवादीले सशस्त्र युद्धको थालनी ग¥यो । जनताको हक अधिकार बहाली गर्ने उद्देश्य रहेको भनिएको उक्त द्वन्द्वमा १५ हजारभन्दा बढीले ज्यान गुमाए । देशमा एक दशक विकास निर्माणको गति अवरुद्ध भयो, जनआन्दोलनबाट प्राप्त उपलब्धि गुम्दै गए । जनता असुरक्षित महसुस गर्न थाले, राज्य खुम्चिएर राजधानीमा सीमित हुन थाल्यो । मुलुकको आकाशमा पुनः कालो बादल मडारिन थाल्यो । राजनीतिक दलहरू अलमलमा परे भने जनता राज्यविहीनताका असर भोग्न बाध्य हुन थाले । तत्कालीन राजा थप निरंकुश बन्दै राज्यसंयन्त्रका सारा औजार आफूमातहत चलाउने असफल प्रयास गरे । समयले पुनः अर्को आन्दोलन जन्मायो । सशस्त्र क्रान्तिलाई नै एकमात्र सफलताको बाटो ठान्दै आएको माओवादी शान्तिपूर्ण परिवर्तनका पक्षपाती राजनीतिक दलहरूसँग एकता गर्न आइपुग्यो । १९ दिने आन्दोलनले देशको राजनीतिक ‘कोर्स’मै व्यापक परिवर्तन गरिदियो । राजा गद्दीच्युत हुन पुगे भने संविधानसभाका माध्यमबाट मुलुकमा नयाँ संविधान बन्ने अवस्था बन्यो । दोस्रो जनआन्दोलनका समयमा प्राण आहुति दिने सहिदको पनि उत्तिकै योगदान छ, जति यसअघिका आन्दोलनमा बलिदान हुनेको । पटकपटकका आन्दोलन, त्यसका बलमा भएको परिवर्तन, जनतालाई प्राप्त हकअधिकारजस्ता सवाललाई संस्थागत गर्न सक्दामात्र सहिदप्रति सच्चा सम्मान हुन्छ । तर, राजनीतिक दल तथा तिनका नेतृत्वमा दृढ इच्छाशक्ति नहुँदा मुलुकको राजनीति सङ्लन पाएको छैन । सहिदको त्यागबाट प्राप्त नयाँ संविधान कार्यान्वयन हुन सकिरहेको छैन । जनताको समुन्नतिको चाहना अपूरै छ ।
हामीले आफू, आफ्नो वर्ग–क्षेत्र, समूहको अधिकार माग्न जान्यौँ, तर देशप्रतिको कर्तव्य निर्वाह गर्नमा उतिसारो ध्यान दिएनौँ । अहिले हामी सम्प्रभु छौँ, अखण्ड पनि छौँ, जनतामा एकता पनि छ तर भविष्यबारे सोच्न सकिरहेका छैनौँ । विगतप्रति गर्व गर्दै भविष्यबारे तत्काल नसोच्ने हो भने विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने निश्चित छ । हामी अतीतमुखी भएर त्यसैमा रमाउने होइन, अब हाम्रो सम्बन्ध भविष्यसँग गाँसिनुपर्छ । उन्मादी राजनीतिले देशलाई कहीँ पनि पु¥याउँदैन, व्यावहारिक मार्गमा हिँड्ने कसरत हरेक राजनीति दलले गर्नैपर्छ । केही समय लोकप्रिय हुने नारा अब आवश्यक छैन, दीर्घकालीन चिन्तनसहितको समुन्नतिको सोच आवश्यक छ । यही सोच र चिन्तनले नै मुलुकले अग्रगमनको बाटो पक्रने छ र सहिदको आत्मालाई शान्ति दिनेछ । यसैमा सहिद दिवस मनाउनुको सार्थकता झल्कन्छ, सहिदको सपना साकार पार्नु भनेको पनि यही हो ।
प्रकाशित: १६ माघ २०७३ ०३:४१ आइतबार