५ आश्विन २०८१ शनिबार
image/svg+xml
विचार

चितवन २: फेल खायो प्रमुख राजनितिक दलको अनुमान र विश्लेषण

प्रतिनिधि सभा सदस्य पदका लागि उपनिर्वाचन भएको चितवन क्षेत्र नम्बर २मा निर्वाचन हुनु अघि नै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने विजयी हुने अधिकांशको अनुमान थियो। मात्र मंसिर ४ गतेको निर्वाचनको भन्दा मत कति अन्तर हुन्छ भन्नेमा नै यहाँ बहस हुन्थ्यो। इच्छा कामना गाउँपालिका र भरतपुर महानगरपालिकामा रहेका १० वटा वडाको मत गणना गर्दा रवि लामिछानेको लोकप्रियता विगतको भन्दा बढेको छ। एमाले र कांग्रेस यस क्षेत्रमा खुम्चिएका छन्। 

केही समय अगाडि लामिछानेको मत केही घट्ने अनुमान अन्य दलहरूले गरेका थिए। तर, रास्वपाले भने बढ्ने अनुमान गरेको थियो। हालसम्म नतिजा आइरहँदा रास्वापाले गरेको अनुमान अनुसार नै मत बढिरहेको छ। कालिका नगरपालिकाको मतगणना हुन बाँकी छदै लामिछाने विजयी भएका छन्। तर, मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले घोषणा गर्न बाँकी छ।  

लामिछानले यसअघि नेकपा एमाले र नेपाली कांग्रेसलेभन्दा कम मत ल्याएको इच्छा कामना गाउँपालिकाबाट नै आफू अग्र स्थानमा रहे। इच्छा कामना गाउँपालिकामा मंसिर ४मा भएको आम निर्वाचनमा लामिछानले तेस्रो स्थानमा थिए। त्यतिखेर २ हजार ९७५ मत ल्याएका लामिछानले हाल ४ हजार ३५८ मत ल्याउन सफल भए। विगतभन्दा उनले १ हजार ३८३ मत बढी ल्याए। छोटो अवधिमा रास्वपाले काम गरेर जनताको मत जितेको रुपमा लामिछाने अर्थाउँछन्। ‘दुर्गम गाउँ इच्छा कामनाबाट काम गछौँ भनेका थियौँ। छोटो अवधिमा हामीले त्यहाँ केही काम पनि गरेका थियौँ। त्यहाँका मतदाताले बुझ्नु भएजस्तो लाग्यो’–उनले भने ।  

इच्छा कामना गाउँपालिकामा यसअघि एमालेले आफुलाई लिड गर्न सफल भएको थियो। तर, यसपटक उसलाई १ हजार ३८ मत घाटा लागेको छ। अघिल्लो निर्वाचनमा ३ हजार ६२३  मत ल्याउँदा हाल २ हजार ५८५ मतमा खुम्चिन प¥यो। त्यस्तै कांग्रेसको मत मत सोही रुपमा घटेको छ। ५ महिनाकै बिचमा १ हजार ११ मत कांग्रेसले गुमाएको छ। अघिल्लो निर्वाचनमा ३ हजार २१६ मत पाएको कांग्रेसले हाल २ हजार २०५ मात्र पाएको छ।  

इच्छा कामना गाउँपालिकामा मात्र होइन कांग्रेस र एमालेले सहरी क्षेत्रमा पनि मत गुमाएका छन्। भरतपुर महानगरपालिकामा पनि विगतमा भन्दा १ हजार ५ सयको हाराहारीमा दुवै दलले मत गुमाएका छन्। तर, लामिछानेले भने मत बढाई रहेका छन्। पाँच महिनाकै बिचमा भरतपुर महानगरपालिकाका १० वटा वडामा उनले १ हजार ८८४ मत बढी ल्याएका छन्। यी वडामा मंसिरमा भएको निर्वाचनमा ३३ हजार ८२७ मत ल्याएका लामिछानलेले हाल ३५ हजार ७११ मत ल्याएका छन्। उनले भन्दा कांग्रेस र एमालेका उम्मेदवारले यी वडामा निकै कम प्राप्त गरेका छन्। अघिल्लो निर्वाचनमा ६ हजार १६२ मत ल्याएका एमालेले अहिले ४ हजार ६८२ भोट पाएको छ। उसले यी वडामा १ हजार ४८० मत गुमायो।  

यहाँ एमालेले मात्रै होइन कांग्रेसले झन् बढी मत गुमाएको छ। बजार क्षेत्रमा कांग्रेसले मंसिरमा मात्र १ हजार ९१० मत गुमाएको छ। अघिल्लो निर्वाचनमा ७ हजार १६३ मत ल्याएको कांग्रेसले उपनिर्वाचनमा ५ हजार २५३ मतमा खुम्चन प¥यो।  

५६ हजार ५०७ मत गणना हुँदा लामामिछानेले ४० हजार ६९ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ बीचको मतान्तर मतान्तर ३२ हजार ६११ रहेको छ। श्रेष्ठले मत  ७ हजार ४५८ छ पाएका छन्।  ७८ हजार २७७ मत खसेकोमा अब  २१ हजार ७७७ मत गणना हुन बाँकी छ।  नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत ल्याएका छन्। मसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा लामिछाने ४९ हजार ३०० मत ल्याएर विजयी भएका थिए। 

उनका प्रतिस्पर्धी उमेश श्रेष्ठले १४ हजार ९८८ मत ल्याएका थिए। अहिलेसम्म भरतपुर महानगरपालिकाका १० वटा वडा र इच्छा कामना गाउँपालिकाको मतगणना सकिएको छ। अब कालिका नगरपालिकाको मतगणना सुरु हुँदैछ। लामिछानेले भरतपुर र इच्छा कामना दुवै ठाउँमा आम निर्वाचनमा भन्दा बढाएका छन्।

प्रकाशित: १२ वैशाख २०८० ०२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App