२६ मंसिर २०८२ शुक्रबार
image/svg+xml
विचार

बहुपक्षीय बैंक र जलवायु परिवर्तन

हामी संकट, युद्ध, रोग र आर्थिक कठिनाइ झेलिरहेको विश्वमा बाँचिरहेका छौँ र यसले पछिल्ला वर्षहरूमा मानव कल्याणलाई प्रभावित गरेको छ। सबै भन्दा खतरनाक र चुनौतीपूर्ण जलवायु परिवर्तन देखिएको छ जसले मानिससहित लाखौँ जीवजन्तुको अस्तित्व संकटमा परेको छ।  

यो समस्याको समाधान गर्ने समय घर्किँदैछ। जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी निकायले हालै जनाएअनुसार आगामी एक दशकभित्रै पृथ्वीको तापक्रम औद्योगिक क्रान्ति सुरु हुनुअघिको अवधि भन्दा १.५ डिग्री सेन्टिग्रेडले बढ्ने देखिएको छ। तत्काल र बृहत्रूपमा कार्बन उत्सर्जन कटौती नगरिएमा पेरिस सम्झौताले निर्धारण गरेको तापक्रम वृद्धिका सीमारेखा तोके भन्दा धेरै अघि पार हुने देखिएको छ। जलवायु परिवर्तनका प्रभावहरू बढ्दै जाँदा जलवायु परिवर्तनका कारक तत्वहरूलाई सम्बोधन गर्न आवश्यक संसाधनको अभाव हुन गई हालसम्म हासिल गरिएका प्रगति झन संकटमा पर्न सक्छन्। यो संकट समाधान गर्न अर्बाै डलरको लगानी भैरहेको छ तर यसका लागि खर्बाँै डलर आवश्यक पर्ने देखिएको छ।  

यो पैसा कहाँबाट आउँछ ? उच्च सार्वजनिक ऋणको स्तरले धेरै देशका नीतिगत विकल्पलाई साँघुरो पार्छ र हाल आवश्यक निजी लगानी आकर्षित गर्न पर्याप्त बैंक–योग्य परियोजनाहरू छैनन्। म आफू अध्यक्ष रहेको एसियाली विकास बैंक जस्तो बहुपक्षीय विकास बैंकले जलवायु वित्त र विज्ञता उपलब्ध गराएर यो संकट समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर हामीले हाम्रो बैंकिङ अपरेसनमा बृहत् परिवर्तन नगरी साहसिक निर्णय लिन सक्दैनौँ। बहुपक्षीय विकास बैंकले आफ्ना संसाधानहरूमार्फत अझ धेरै र तीव्र गतिमा काम गर्न आवश्यक छ। विकास अजेन्डाको प्रमुख प्राथमिकतामा जलवायु कार्यलाई राखेर मात्र पर्याप्त हँुदैन। विकास पेसेवारका रूपमा हामीले हाम्रो मानसिकतामा नाटकीय परिवर्तन गर्न आवश्यक छ।  

एसिया र प्रशान्त क्षेत्रमा यो चुनौती झन धेरै छ। विश्वको हरितगृह ग्यास उत्सर्जनमा आधा भन्दा बढी हिस्सा लिएको यो क्षेत्र विश्वका अन्य क्षेत्र भन्दा तीव्र गतिमा तात्दैछ भने समुन्द्र सतह वृद्धि, विषम मौसमी घटना तथा जैविक विविधता ह्रासका हिसाबले पनि यो क्षेत्र जोखिममा छ। आफ्ना काम गर्ने तौरतरिकालाई बहुपक्षीय विकास बैंकले यथावत राखेमा यो संकटको प्रवृत्ति निरन्तर जारी रहनेछ। त्यसैले जलवायु परिवर्तनविरुद्ध मानवताको लडाइँमा बहुपक्षीय विकास बैंकले तीन हिसाबले आफूलाई परिवर्तन गर्नुपर्दछ। पहिलो, यी बैंकले परपरम्परागत हिसाबले गर्दैै आएको देशकेन्द्रित अवधारणा बदल्न आवश्यक छ। जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा गरिने लगानीको फाइदा कुनै पनि देशका सीमाभित्रै सीमित नरहने भएकाले यस्ता लागनीमा क्षेत्रीय र विश्वव्यापी अवधारणा आवश्यक छ।  

यो पैसा कहाँबाट आउँछ ? उच्च सार्वजनिक ऋणको स्तरले धेरै देशका नीतिगत विकल्पलाई साँघुरो पार्छ र हाल आवश्यक निजी लगानी आकर्षित गर्न पर्याप्त बैंक–योग्य परियोजनाहरू छैनन्। म आफू अध्यक्ष रहेको एसियाली विकास बैंक जस्तो बहुपक्षीय विकास बैंकले जलवायु वित्त र विज्ञता उपलब्ध गराएर यो संकट समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ।

राजनीतिक क्षेत्राधिकार भन्दा बाहिर र सबैलाई एकै ठाउँमा ल्याउन तथा समन्वयात्मकरूपमा काम गर्ने अनुभव र क्षमता बहुपक्षीय विकास बैंकहरूको छ। कोइलामा आधारित पावरप्लान्ट बिस्थापन गर्ने उद्धेश्यले यो क्षेत्रमा सुरु गरिएको इनर्जी ट्रान्जिसन मेकानिज्म एक समयसापेक्ष परियोजना हो र यसले ऊर्जा रूपान्तरणमा साझेदारितालाई जोड दिएको छ। एसियाली विकास बैंकले नेतृत्व गरेको यो परियोजनामा अन्य दातृ निकायले समेत सहुलियतपूर्ण वित्तीय सहयोग गरेका छन्। अन्य दाता, विकास वित्तसँग संम्बद्ध निकाय र व्यावसायिक लगानीकर्ताहरूको समेत यो परियोजनामा सहयोग रहेको छ।

तर, धेरै काम गर्न बाँकी छ। व्यापार नीति तथा सम्झौतालाई हरित पार्न सकेमा यसले वातावरणमा पार्ने नकारात्मक प्रभावलाई घटाउनेछ। यसैगरी विकासोन्मुख देशहरूमा हाल भैरहेको फोहोर तथा प्लास्टिक निर्यातमा समेत कमी आउनेछ। व्यापारिक सम्झौतामा उत्सर्जन उत्पादन गर्ने सरसामानको सही मूल्य निर्धारण गर्न सकेमा कमजोर वातावरणीय नियम भएका गरिब देशमा उद्योगहरू स्थापना गर्ने प्रचलनमा रोक लगाउन सकिन्छ। हरित उत्पादन र ऊर्जा विकासलाई प्रोत्साहन गर्न तथा सीमापार कार्बन मूल्य निर्धारण संयन्त्र लागु गर्न बृहत्रूपमा समन्वयको आवश्यकता रहन्छ।  

दोस्रो, बहुपक्षीय विकास बैंकले जलवायु लगानीलाई उल्लेख्य हिसाबले बढाउनुपर्छ। जि–२० सदस्य राष्ट्रहरूले पुँजी व्यवस्थापनमा सुधार गर्न सकेमा क्रेडिट रेटिङमा कुनै प्रभाव नपर्ने गरी अर्बाै डलर लगानी गर्न सकिने दाबी गरेका छन्। हामीले अझै यो दिशामा थप पहल लिनुपर्ने म ठान्छु। एडिबीले जोखिम सहिष्णुतालाई थप परिभाषित गर्न र लगानी बढाउने उद्देश्यले आफ्नो पुँजी पर्याप्तता ढाँचा (क्यापिटल एडेक्योसी फ्रेमवर्क) लाई पुनर्विचार गरी समयसापेक्ष बनाउन लागेको छ। यो महत्वपूर्ण पाइला हो तर जलवायु कार्यलाई थप सशक्त पार्न तथा स्रोत-साधन आकर्षित गर्न नवीनताको आवश्यकता छ।  

यो उद्देश्य परिपूर्ति गर्न बहुपक्षीय विकास बैंकले निजी लगानी परिचालन गर्ने क्षमता बढाउन आवश्यक छ। त्यसका लागि विश्वव्यापीरूपमा वित्तीय नवीनता, सीमापार तथा सार्वजनिक–निजी क्षेत्रको सहकार्यलाई जोड दिन आवश्यक छ। जलवायु लगानीका लागि थप पुँजी जोहो गर्न दातृ निकायले वित्तीय जोखिमलाई साझेदारी गर्न आवश्यक छ। लगानीलाई विश्वसनीय पार्न बहुपक्षीय विकास बैंकले परियोजना अनुदानसहित सहुलियतपूर्ण वित्तमा जोड आवश्यक छ। विशेषगरी मध्य आय भएका राष्ट्रको सहुलियतपूर्ण ऋणमा पहुँच कम हुने भएकाले उनीहरूलाई यसप्रकारको सहयोग अत्यावश्यक छ।  

तेस्रो तथा अन्तिम पक्ष भनेको हाम्रा निकाय अझ बढी दक्ष र प्रभावकारी हुनुपर्छ। हाम्रो बिजनेस मोडलमा विश्वव्यापी तथा क्षेत्रीय प्राथमिकतालाई आत्मसात गर्न र सीमापार क्षेत्रमा परिचालन गर्न जलवायुको विषयविज्ञता आवश्यक छ। निजी तथा सार्वजनिक क्षेत्रका विशेषज्ञहरूको सहभागितामा नवीकरणीय ऊर्जालगायतका अन्य क्षेत्रमा लगानीमा रहेका बाधा व्यवधान हटाउने उपाय खोजी गरिनुपर्छ। एसियाली विकास बैंकले आगामी दिनमा आफ्नो सञ्चालन विधि (मोडल)लाई परिमार्जन गरेर जलवायुसँग सम्बन्धित लगानीमा बढोत्तरी गर्ने सोच लिएको छ। यसले विश्वको तापमान थप बढ्न नदिन महत्वपूर्ण सहयोग पुग्नेछ।  

हाल देखिएको जलवायु संकटको स्तरले हामीलाई असहाय पार्न सक्छ तर हामीले समयमै साहसिक निर्णय गर्न सकेमा यो दुश्चक्रबाट पार पाउन सक्छौँ। विश्वका अन्य संकटबाट पार पाउन यसअघि सफल रहेका बहुपक्षीय विकास बैंकले यो चुनौती सामना गर्न सक्ने मेरो विश्वास छ। यसप्रकारको संकट थेग्न चानचुने प्रयास पर्याप्त हुदैनन्।  

(आसाकावा एसियाली विकास बैंकका अध्यक्ष हुन। प्रोजेक्ट सिन्डिकेटबाट।) 

प्रकाशित: १ वैशाख २०८० ००:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App