१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

नव शीतयुद्ध कि अर्को ग्रेट गेमको सुरुवात

विश्व परिवेश

तत्कालीन इङ्ग्ल्यान्डले रुसको विस्तारलाई मध्य एसियासम्म आउन नदिनका लागि वा रुसलाई आफ्नो साम्राज्यको सीमाबाट टाढा राख्नका लागि कुटनीतिक, राजनीतिक र सैन्य कदमहरू चालेको थियो। अफगानिस्तानलाई बफर स्टेटका रूपमा रुस र इङ्ग्ल्यान्डबीच राख्नका लागि अफगानिस्तानलाई समेत आफ्नो प्रभावमा राख्न जरुरी थियो। इङ्ग्ल्यान्ड र अफगानिस्तानबीच भएको प्रथम युद्ध (१८३८–१८४२), द्वितीय युद्ध (१८७८–१८८०) र तेस्रो एंग्लो–अफगान युद्ध मे १९१९ मा सुरु भएको थियो, जुन एक महिनासम्म लडिएको थियो, यसपछिको परिणाम स्वरूप इङ्ग्ल्यान्डले अफगानिस्तानको परराष्ट्र मामिलामा आफ्नो भूमिका गुमाउनु परेको थियो। अफगानिस्तानको अन्त्यहीन राजनीतिक अस्थिरता र गृहयुद्ध इतिहासमा वर्णित छ। महत्वपूर्ण भौगोलिक अवस्थितिमा रहेको हुँदा इसापूर्व ३३० मा अलेक्जेन्डरको बाटोमा पर्‍यो, तेह्रौं शताब्दीमा चंगेज खानले धुलोपिठो पार्‍यो। पर्सियन शासक नादिर शाह जसले गरेको दिल्लीको कत्लेआम कहिले नबिर्सने खालको छ, ले पनि १७३६ मा अफगानिस्तानलाई कब्जा गर्‍यो।

आधुनिक इतिहासमा इङ्ग्ल्यान्ड र रुसबीच १८३० मा सुरु भएको ग्रेट गेमको असर अफगानिस्तानका लागि साँढेको जुधाइ र बाछाको मिचाइजस्तै थियो। मध्यएसियाका मुलुकलाई इङ्ग्ल्यान्ड र रुसबीच बफर स्टेट कायम गर्नका लागि दुई शक्तिबीच चलेको प्रतिद्वन्द्वितालाई इतिहासकारले ग्रेट गेम भनी उल्लेख गरेका छन्, जुन पूरै शताब्दीसम्म चल्यो। महत्वपूर्ण भूराजनीतिक अवस्थिति, प्रचुर प्राकृतिक सम्पदा नालायक र भ्रष्ट राजनीतिक नेतृत्व भएका मुलुकका लागि अभिशाप हुन्छ। संसारभरि भएको द्वन्द्वग्रस्त मुलुकको दुर्गति र राजनीतिक अवस्था हेरे पुग्छ।

 आज नेपालको भूराजनीतिक महत्व एकाएक बढेको अवस्था छ किनकि चीन अमेरिकाका लागि सबैभन्दा ठुलो प्रतिद्वन्द्वी राष्ट्रका रूपमा उदाएको छ। अमेरिकाले चीनलाई रोक्नका लागि अनेकौं राजनीतिक, कुटनीतिक, आर्थिक र सैन्य कदम चालेको छ। ताइवान र प्रशान्त महासागरीय क्षेत्रको अवस्था तनावग्रस्त छ, २०१८ देखि चीनविरुद्ध व्यापारिक युद्ध सुरु गरेको छ, भारत–चीनबीच तनाव गराउन सफल भएको छ, जापान, आस्ट्रेलिया, दक्षिण कोरिया, फिलिपिन्ससँग सैन्य गठबन्धन बढाएको छ। सैन्य उपस्थिति एसियामा बढाउँदै लगेको छ। यसको जवाफमा वर्तमान परिस्थितिको परिणामस्वरूप चीन, रुस र इरानबीच निकटता बढेको छ। मध्य एसियाका अरेबियन राष्ट्रहरू, लेटिन अमेरिकन राष्ट्रहरू र अफ्रिकन राष्ट्रहरूमा चीनको प्रभाव बढेको छ। युवान पेट्रो डलरलाई विस्थापित गर्ने नयाँ माध्यमका रूपमा उदाएको छ।

चीनको बेल्ट एन्ड रोडलाई अमेरिकाले आफ्नो आधिपत्यलाई चुनौती दिने चिनी रणनीतिका रूपमा ठानेको छ, ब्रिक्ससँग झस्केको छ। आज विश्व पुनः अर्को ग्रेट गेमको चरणमा प्रवेश गरेको छ। एक मात्र महाशक्ति भई एकछत्र शासन गरेको अमेरिका यथास्थिति परिवर्तन भएको स्वीकार गर्ने मनस्थितिमा छैन।

इराक आक्रमणको दुई दशक

२० मार्च, २००३ मा अमेरिकाले नेतृत्व गरेको सेनासहितको शक्तिशाली समूहले सद्दाम हुसैनलाई दण्डित गर्नका लागि इराकमाथि आक्रमण गरेको थियो। तत्कालीन सोभियत संघको विघटनसँगै शीत युद्धको समाप्ति र अमेरिका चुनौतीविहीन एक मात्र विश्वशक्तिका रूपमा उदाएको थियो। अमेरिकाको दादागिरीलाई चुनौती दिने वा यस्तो हिम्मत गर्ने कुनै अर्को शक्ति थिएन। आफ्नो सामथ्र्य र बलको प्रदर्शन गर्ने एवम् आफ्ना हतियारको परीक्षण गर्ने यो मौका थियो अमेरिकाका लागि। इराक सजिलै पराजित भयो, सद्दाम हुसैनलाई उसैको घरमा पसेर पक्राउ गरियो। अदालती कारबाहीको नौटंकी मञ्चन गरियो र जुन फैसला अमेरिकाले चाहेको थियो, त्यहीअनुसारको कारबाही गरियो। अमेरिकन राष्ट्रपति जर्ज डब्ल्यु बुसको भनाइ थियो–‘यो आक्रमण इराकी जनताको मुक्तिका लागि हो। यो संसारलाई खतरामुक्त गर्नका लागि गरिएको हो किनभने इराकसँग खतरनाक हतियार छ र मानवजातिलाई यस खतराबाट मुक्त गरिनुपर्छ।’

अमेरिका र उसका आक्रमणकारी मित्र राष्ट्रहरूले त्यो खतरनाक हतियार आजसम्म पनि देखाउन सकेनन्। त्यो आक्रमणमा दुई लाखभन्दा बढी इराकी नागरिक र ४,५०० अमेरिकी सैनिक मारिए। एउटा समृद्ध इराकमा त्यसपछि आजसम्म शान्ति र स्थिरता भएन। त्यो युद्ध जायज थिएन र किन गरियो प्रत्येक वर्ष सोधिन्छ। त्यसको निर्देशकमाथि उसैको देशमा आलोचना गरिन्छ। प्रथम विश्वका तथाकथित मानव अधिकारवादीहरू यति जिम्मेवारी पूरा गरिसकेपछि आफ्नो कर्तव्य पूरा भएको ठान्छन्। महान् प्रजातान्त्रिक राष्ट्रका छद्मभेषी बुद्धिजीवीहरू आफ्नो राष्ट्रको आलोचना गर्छन्, आफ्नो पूर्व राष्ट्रपतिलाई दोषी ठहर्‍याउने र पश्चातापको नौटंकी गर्छन्। यसमा कुनै शंका थिएन कि सदाम हुसैन एउटा तानाशाह थियो र कुवेतमाथि आक्रमण गर्ने गल्ती गरेको थियो तर उसमाथि लगाइएको आरोपको पुष्टियाइँ भएन। २००५ मा बुझाइएको प्रतिवेदनअनुसार इराकसँग भएको रासायनिक, पारमाणविक वा जैविक हतियार भएको भन्ने अमेरिकन जासुसी संस्थाले दिएको जानकारी फर्जी र झुटो साबित भयो। डिसेम्बर ३०, २००६ मा मुस्लिमहरूको पर्व इद उल अधाको पहिलो दिन सद्दाम हुसैनलाई फाँसी दिइयो। यो पनि एउटा गलत कदम थियो।

अर्को झुट

अमेरिकन आर्मीका कर्णल डगलस मेकग्रेगर युद्ध विश्लेषक र लेखक हुन्। उनले इराक युद्ध र १९९९ मा युगोस्लाभियामा नाटोद्वारा हवाई आक्रमण लगायतको क्रियाकलापमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। युक्रेन र रुसको युद्ध सन्दर्भमा भन्छन्, ‘युक्रेनले महाभुल गरेको छ र यो मेटिन्छ,’ उनले थप्छन्, ‘अमेरिकाले युक्रेनलाई मूर्ख बनायो र अमेरिका कहिल्यै पनि रुससँग सिधै टक्कर लिने गल्ती गर्दैन।’ कर्णल थप्छन्, ‘युक्रेनको वास्तविक हालत अकल्पनीय रूपमा खराब छ। युक्रेनको सेनाको गाडी आउँछ र बाटा, रेस्टुरेन्ट, घरमा बसेको युवा र अधेडहरूलाई जबर्जस्ती गाडीमा हालेर लगिन्छ र केही तालिम दिएर जबर्जस्ती युद्ध मैदानमा पठाउने गरिन्छ। किस्मत ठिक छ भने एक महिनाको तालिम पाउँछ नत्र सानो तालिम दिएर सिधै बलिको बोको बन्न पठाइन्छ।’ उनी भन्छन्, ‘जेलेन्स्की कोलामोइस्की नाम गरेका एउटा कुख्यात नवधनाढ्यले उत्पादन गरेको प्राणी हो, जसले विगत र वर्तमान विवादित छ।’ आज पनि युक्रेनमा जसले जेलेन्स्कीलाई समर्थन गर्दैन, उसलाई धम्काउने र हत्यासम्म गर्ने काम गरिँदै छ। कर्णल मेक्ग्रेगर भन्छन्, ‘यस युद्धको गम्भीर परिणाम युक्रेनले भोग्दै छ, हाल बखमुतमा लडाइँ जारी छ। युक्रेनियन सेना र रुसी सेनाबीच माल–असबाब, हातहतियार र संख्याका सन्दर्भमा कुनै तुलना छैन। बखमुतलाई इतिहासले युक्रेनी सेनाको चिहानका रूपमा चिन्ने छ। यो लडाइँपछाडिको अर्को पाटो पनि छ। त्यो के भने भ्रष्टाचार चरम बिन्दुमा पुगेको छ। अमेरिकन र नाटो राष्ट्रहरूबाट सहयोगको खोला बगेको छ, आउने सहयोगको ३० देखि ५० प्रतिशतसम्म भ्रष्टाचारीहरूको विदेशी बैंकमा जम्मा हुन्छ।

यसैगरि हतियारको कालाबजारी हुन्छ। करिब तेत्तीस प्रतिशत हतियार मात्र युद्ध मैदानमा पुग्छ। बाँकी तस्करहरूको हातमा जान्छ। त्यहाँबाट त्यो हतियार सिरिया र अन्य अफ्रिकनलगायत द्वन्द्वग्रस्त मुलुकको युद्ध अपराधीहरूको हातमा पुग्ने गर्छ। फ्रान्सले दिएको सिजर तोपमध्येबाट पनि केही तोप युक्रेनीहरूले रुसी सेनालाई नै बेचेको जानकारी प्राप्त भएको छ भन्ने पनि उनको भनाइ थियो। कर्णल मेक्ग्रेगर भन्छन्, ‘जेलेन्स्की र उसको भित्री राजदार साथीहरूको साइप्रसमा बैंक एकाउन्ट छ र पश्चिममा अथाह सम्पत्ति राखिएको छ। जुन दिन युद्ध अन्त्य हुन्छ, जेलेन्स्की अमेरिका वा अन्य सुरक्षित ठाउँमा पुगिसकेको हुनेछ।’ अफगानिस्तानको करजाईका भाइहरूको मेरिल्यान्डमा २३ कमरा र सानदार बाथरुम भएको विशाल भवनजस्तै यिनीहरूको पनि विभिन्न सम्पन्न मुलुकहरूमा सम्पत्ति छ।

इहोर कोलोमोइस्की को हुन्?

युद्धका माध्यमबाट धन सम्पत्ति आर्जन गर्ने इहोर कोलोमोइस्की सोभियत संघको विघटनपछि अवैध तरिकाले अमेरिकामा मनि लानडरिङमार्फत धन ओसार्ने र पर्दापछाडि अवैध क्रियाकलापद्वारा आफ्नो व्यापार उद्योगको विस्तार गर्ने नवधनाढ्य हुन्। सोभियत संघको विघटनपछि तत्कालीन परिस्थितिको फाइदा लिँदै अनेक नवधनाढ्यहरूको उदय भयो। त्यस्तै भर्खरै स्वतन्त्र भएको युक्रेनमा पनि यस व्यक्तिको उदय भयो र त्यहाँका स्टिल र ग्यास प्लान्टलगायत अनेकौं ठाउँ घुस, प्रभाव, धम्की, आतंक र हत्यामार्फत आफ्नो कारोबार स्थापित गर्न र फैलाउन सफल हुँदै गए। पश्चिमी समाचार मिडियाको स्रोतअनुसार हलिउड फिल्ममा जस्तै यिनीले अपराधिक ग्याङ परिचालन गरेर आफूले चाहेको ठाउँ कब्जा गर्थे।

सन् २०१० सम्म यिनी युक्रेनको सबैभन्दा प्रभावशाली र शक्तिशाली व्यक्तिका रूपमा रूपान्तरण भए। सन् २०१४ ताका रुसी दखलको खिलाफ यिनले स्वतन्त्र युक्रेनको पक्षमा उभिएर आफूलाई बढो राष्ट्रवादीका रूपमा युक्रेनियन जनतासामु उभ्याउन सफल पनि भए। त्यसपछिका दिनमा यिनी धेरै काण्डमा संलग्न हुँदै झनझन धनी र प्रभावशाली हुँदै गए। युक्रेनबाट अवैध तरिकाले धन सम्पत्ति अमेरिका ओसार्न सफल भए। सन् २०२१ ताका यिनलाई अमेरिकाले प्रतिबन्धित पनि गर्‍यो। अमेरिका र पश्चिमा राष्ट्रहरू यस्तो नौटंकी गर्नमा खप्पिस छन्।

पश्चिमा मिडियाअनुसार भ्लादिमिर जेलेन्स्की, वर्तमान युक्रेनका राष्ट्रपति जसले युक्रेनलाई यस युद्धमा धकेलेको छ। कोलोमोइस्कीको सहयोगबिना कहिल्यै पनि त्यहाँ पुग्न सक्दैन थिए, जहाँ उनी आज छन्। जेलेन्स्कीले कोलोमोइस्कीको मिडिया नेटवर्कका लागि पनि काम गरेका थिए र चुनावको दौरान जेलेन्स्कीलाई कोलोमोइस्कीले हर प्रकारको सहयोग दिए। भनिन्छ विगत कोभिडको समयमा पनि जेलेन्स्की सबै नियम कानुनको उल्लंघन गर्दै कोलोमोइस्कीको बर्थडे पार्टीमा पुगेका थिए। यस्ता व्यक्तिको मतियार र फिल्मी जोकरले आज युक्रेनलाई कता पुर्‍याए, यसबाट आम युक्रेनी जनताले के पाए, ठुलो पाठको विषय हो।

पर्दा पछाडिका खेलाडी र वास्तविकता

कर्णल मेकग्रेगर भन्छन्, ‘अमेरिका बाइडेनले भन्दा अरू शक्तिहरूले चलाएको छ।’ उनी एउटा प्रसिद्ध किताब ‘कन्फेसन अफ एन इकोनोमिक हिटमेन’ को पनि उदाहरण दिन्छन् कि कसरी अमेरिकाको विश्वनीति पर्दापछाडिका खेलाडीको हातमा हुन्छ। अमेरिकन र पश्चिमी राष्ट्रहरूको समृद्धि तेस्रो विश्वको राष्ट्रहरूबाट खोसिएको समृद्धि हो भन्ने कुरामा कुनै शंका छैन र संसारभरि भइरहेको अशान्ति अमेरिकाको नेतृत्वमा र पश्चिमी झोले राष्ट्रहरूको सहयोगमा भइरहेको छ। आज अमेरिका आफ्नो शक्तिको सर्वोच्च शिखरमा पुगिसकेपछि त्यहाँबाट झर्ने क्रममा छ। यो संसारभर भइरहेको घटनाक्रमले बुझाउँछ। अमेरिकीलगायत पश्चिमी विद्वानहरूको पनि यसमा मतैक्य छ। अमेरिका अत्यन्त पीडाको अवस्थाबाट गुज्रिरहेको छ र यस कुरालाई स्वीकार गर्न चाहन्न। अमेरिका स्टेट अफ डिनायल वा वास्तविकतालाई स्वीकार नगर्ने अवस्थामा छ।

रिचार्ड डेभिड उल्फ भन्ने अमेरिकन अर्थशास्त्रीको विश्लेषण छ, ‘यतिबेला युरोपमा आर्थिक संकटको अवस्था छ। अमेरिका पनि यसको चपेटमा परेको छ। सरकार र महत्वपूर्ण ठाउँमा भएकाहरूको यसलाई नियन्त्रण गर्नेतर्फ ध्यान हुनुपर्ने हो तर किन हो यसतर्फ खासै महत्व दिइएको देखिँदैन र यो अत्यन्त खतरनाक संकेत हो। अमेरिका संसारकै सबैभन्दा बढी ऋण लिने र तिर्न नसक्ने देशका रूपमा देखिएको छ। अमेरिका र यसको साथी युरोपले युक्रेनमाथि गरेको आक्रमणलाई लिएर रुसमाथि आर्थिक प्रतिबन्ध लगायो र यसको तेल र ग्यास आयातलाई रोक्ने प्रयास गर्‍यो तर यसबाट रुसलाई खासै असर पार्न सकेन, बरु चीन र भारतले ठुलो परिमाणमा रुसबाट तेल आयात गर्न लागे। जवाफमा रुसले पनि प्रतिबन्धको जवाफ आफ्नै तरिकाले दियो। परिणामस्वरूप पश्चिमा युरोपमा तेल र ग्यासको मूल्य अत्यन्त बढ्न गयो र जर्मनीजस्तो औद्योगिक राष्ट्रमाथि स्पष्ट रूपमा नकारात्मक असर परेको देखियो।

युक्रेन–रुस युद्धको कारण अमेरिका: अमेरिकन विज्ञ  

सन् १९८९ मा बर्लिन पर्खाल ढालियो, जसले पूर्वी र पश्चिमी जर्मनीलाई द्वितीय विश्व युद्ध पछि विभाजित गरेको थियो र सोभियत ब्लकका कम्युनिस्ट सरकारहरू पोल्यान्ड, हंगरी, चेकोस्लोभाकिया, पूर्वजर्मनी, रुमानिया र बुल्गेरियामा एकपछि अर्को गर्दै ढल्न सुरु भयो। मिखाइल गोर्भाचोभको राजनीतिक र सामाजिक सुधारको नाममा ल्याइएको नीति ‘ग्लास्नोस्त र पेरेस्त्रोइका’ सोभियत कम्युनिस्ट सरकारको विघटनको कारण बन्यो। लामो समयसम्म अफगानिस्तान युद्धमा लागेर असफल हुनु पनि सोभियत विघटनको अर्को कारण थियो। सोभियतको विघटन र वार्सा समूहको अवसानसँगै अमेरिकाले नेतृत्व गरेको नाटो र पश्चिमा जगत्को विजय भयो र दुई ग्रेट पावरबीचको शीत युद्ध समाप्तिको सुरुवात भयो। कुनै बेला वार्सा समूहको देशहरू पोल्यान्ड, चेकोस्लोभाकिया र हंगरी १९९० मा अमेरिकाको नेतृत्वमा पहिलो गल्फ वार (इराकमाथिको युद्ध) मा सहभागी भए।

जुलाई १, १९९१ चेकोस्लोभाकियाको राष्ट्रपति भेक्लाव हवेलले ३६ वर्षसम्म आफू संलग्न रहेको वार्सा समूहबाट अलग भएको घोषणा गरे र १९९१ मा सोभियत संघ विघटन हुनुका साथै आजको रुसमा परिवर्तन भयो। वार्साको विघटनपछि अमेरिकाले नेतृत्व गरेको नाटो समूहको पनि औचित्य समाप्त हुनुपर्ने कुरामा सुरुमा महाशक्ति राष्ट्रबीचको सहमति पनि थियो तर चेक रिपब्लिक, हंगरी र पोल्यान्ड १९९९ मा नाटो समूहका सदस्य राष्ट्र भए। १९९९, वासिङ्टन समिटमा अरू राष्ट्रलाई समेत यसमा समावेश गर्दै जाने कार्यनीतिक योजना बनाइयो। २००४ मा इस्टोनिया, लात्भिया, लिथुवानिया, रुमानिया, स्लोभाकिया र स्लोभानियाहरूले नाटो अंगीकार गर्न पुगे।

यी घटनाहरू रुसलाई होच्याउने र लघुताभास गराउने खालका थिए। सन् २००८, अमेरिकाले भन्यो–अब जोर्जिया र युक्रेनको पालो हो। अमेरिकाको नीति रुसलाई भित्तासम्मै पुर्‍याउने खालको थियो। तर यसपालि रुसले भन्यो– यो हामी हुन दिने छैनौं र यसो गरिएमा युक्रेन ध्वस्त हुने छ। युक्रेनलाई युरोपियन राष्ट्रमा समाहित गर्नु र नाटोको सदस्यता दिनु रुसका लागि सर्वथा अमान्य थियो र यसलाई रुसले आफ्नो अस्तित्वमाथिका लागि खतरा ठान्थ्यो। यसलाई कुनै पनि हालतमा रोक्नुपर्छ भन्ने रुसको बुझाइ थियो, जसलाई तत्कालीन रुसका लागि अमेरिकी राजदूत बिल बरन्सले राम्ररी बुझेका र आफ्नो देशलाई अवगत गराएका पनि थिए। अमेरिकाको प्रसिद्ध राजनीतिक विज्ञ र अन्तर्राष्ट्रिय राजनीतिको ज्ञाता जोन जोसेफ मियरसिमर तथ्यमा र वास्तविकतामा आधारित राजनीतिक विश्लेषण गर्ने इमान्दार बौद्धिक व्यक्ति तब हुन्। प्रोफेसर जोन भन्छन्, ‘अमेरिकाले ठुलो गल्ती गर्दै छ र विश्व सामु झुट पस्केको छ। पुटिन वा रुसलाई आधारहीन तरिकाले साम्राज्यवादीका रूपमा चिनाउने प्रयास गरेको छ। रुस यति बेला कुनै पनि तरिकाले साम्राज्यवादी बाटोमा हिँडेको छ भनी देखाउने कुनै प्रमाण छैन। रुससँग यस्तो क्षमता पनि छैन। मात्र दुई लाख जति सेनाको भरमा युक्रेनजस्तो देशलाई कब्जा गर्न सकिन्न भन्ने रुसलाई थाहा छ।

उनी भन्छन्–सन् १९३९ मा द्वितीय युद्धको सुरुवातको समयमा जर्मनीको हिटलरले पोल्यान्डमाथि कब्जा गर्नका लागि १५ लाख सेना परिचालन गरेको थियो। प्रोफेसर जोन जोसेफ भन्छन्–यदि रुसलाई धकेल्दै उसको सीमानजिक पुर्‍याउन नाटो सेनाले सक्यो भने त्यो ठुलो संकटको कारण बन्ने छ र त्यस अवसरमा रुसले आफ्नो परमाणु हतियारको प्रयोग गर्ने छ, जुन कुरा युरोप र समग्र विश्वका लागि अनिष्टकारी हुने छ। रुस यो लडाइँलाई कुनै पनि हालतमा हार्न सक्दैन। त्यसकारण यथाशीघ्र यो लडाइँ तत्काल रोकिनुपर्छ तर अमेरिका यसमा आगोमा घिउ हाल्ने काम गर्दै छ।

ओरालो लाग्दै गरेको महाशक्ति: अमेरिका

अमेरिकन अर्थशास्त्री रिचर्ड उल्फको भनाइ छ–अमेरिका अब ओरालो लागेको महाशक्ति हो र चीन अमेरिकालाई प्रत्येक कुरामा उछिन्दै छ। कुनै पनि महाशक्ति एकचोटि उचाइमा पुग्ने गर्छ र त्यहाँ सय–दुईसय वर्षसम्म टिकेपछि ओरालो लाग्ने गर्छ। यो प्रकृतिको नियम हो। इतिहास यसको साक्षी हो। चीन मात्र यस्तो देश हो जुन इतिहासमा तिनचार पटकसम्म विश्वको नम्बर एक भएको छ। यस्तो अरू कुनै उदाहरण छैन। द्वितीय विश्व युद्धभन्दा पहिलाको महाशक्ति ग्रेट ब्रिटेनले पुनः पहिलाको स्थान लिन सक्दैन। विगतका कुनै पनि साम्राज्यले पुनः त्यो स्थान हासिल गरेको छैन तर चीनसँग त्यो सामर्थ्य छ।

विगत शीत युद्धको समाप्तिसँगै अमेरिका एक्लो महाशक्तिका रूपमा उदाएको थियो र उसले चाहेको भए विश्वलाई समृद्धि पथमा अग्रसर गराउन सक्ने हैसियत ऊसँग थियो तर अमेरिकाले यस्तो गरेन। आज युक्रेनको तबाही अमेरिकाको कारण भएको भन्ने बुझाइ संसारभर छ। रिचर्ड उल्फको तथ्यांकअनुसार रुसको कुल ग्राहस्थ उत्पादन १.५ ट्रिलियन डलरको छ भने अमेरिकाको २१ ट्रिलियन डलर। रुस सैनिक क्षमता भएको र परमाणु हतियार भएको देश हो तर युद्ध जित्नका लागि आर्थिक सम्पन्नता चाहिन्छ। रुस अमेरिकाको प्रतिद्वन्द्वी होइन, दुवैबीच ठुलो अन्तर छ। अमेरिकाको असली प्रतिद्वन्द्वी चीन हो, जसको कुल ग्राहस्थ उत्पादन १७.५ ट्रिलियन डलर छ र यो दशकको अन्त्यसम्म चीनले अमेरिकालाई पछाडि पार्ने छ। आज संसारभर कुटनीतिक, राजनीतिक, आर्थिक, सैन्य, प्राविधिक र प्रभावका दृष्टिकोणले अमेरिकालाई चुनौती दिने एक मात्र राष्ट्र चीन हो र जोसँग अपार क्षमता छ ꓲ प्रोफेसर जोनजस्तै अन्य विज्ञहरूको पनि यसमा मतैक्य छ।

अधिपत्य गुमाउँदै पेट्रोडलर

असीको दशकको सुरुवातसँगै अमेरिकाले साउदी अरबसँग गरेको सम्झौताबमोजिम पेट्रोलियम तेलको कारोबार अमेरिकन डलरमा मात्र गरिने तय भयो र मध्यपूर्वका अन्य राष्ट्रसँगै अन्य तेल उत्पादक राष्ट्रको र यसका उपभोक्ता राष्ट्रहरूको कारोबार अमेरिकन डलरमा गरिन थालियो। यसबाट अमेरिकन डलर पेट्रो डलरका रूपमा बलियो भयो। संसारभरका देशको आयात–निर्यातको यो माध्यम बन्यो। अमेरिका विश्वशक्ति बन्नुमा र अन्य राष्ट्रहरू अमेरिकामाथि परनिर्भर बन्दै जानुमा पेट्रोडलरको सबैभन्दा महत्वपूर्ण भूमिका छ।

अमेरिकाले यसको माध्यमबाट आफूले चाहेका मुलुकमा आर्थिक नाकाबन्दी लगाउने र कष्ट दिने काम धेरै पटक गर्‍यो। संसारभरका राष्ट्रहरूमा आफूले चाहेको नीति समर्थन र लागु गराउने, मानव अधिकार, प्रजातन्त्रका नाममा हस्तक्षेप गर्ने काम गर्‍यो। अमेरिकाले आफ्नो खुट्टामा आफै बन्चरो हान्ने काम पनि गर्‍यो। हालकै रुस–युक्रेन युद्धपछि रुसको अमेरिका र पश्चिमी राष्ट्रहरूमा भएको सम्पत्ति कब्जा गर्ने नीति जुन कुनै हालतमा ठिक थिएन र गैरकानुनी थियो। चीन र साउदी अरबबीच भएको हालकै ऐतिहासिक सम्झौतामा अब पेट्रोडलरलाई विस्थापित गरिने सम्भावना देखियो, रुस र चीन बीच पनि आफ्नै करेन्सीमा कारोबार गर्ने सहमति भएको छ। ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र साउथ अफ्रिका) समूहका राष्ट्रहरूका पनि आफ्नै मौद्रिक नीति र माध्यम हुने छ र यस समूहमा अन्य देश पनि थपिने संख्या बढ्दै गएको छ। युवान डलरका लागि चुनौतीका रूपमा उदाएको छ।

अमेरिकाको पेट्रोडलरको घट्दो साखले अमेरिकन साम्राज्यको निब हल्लाइदिएको छ। विज्ञहरूको भनाइ छ– ताइवान त मात्र देखावटी मुद्दा हो। यदि अमेरिका र चीनबीच युद्ध हुन्छ भने यही पेट्रोडलरको विषय सबैभन्दा ठुलो कारण बन्न सक्छ। अमेरिकन सैन्य विज्ञहरूको अनुमान छ कि यतिबेला चीन अत्यन्त बलियो अवस्थामा छ। द्वितीय विश्व युद्धको उन्नत अवस्थाको बेला अमेरिकाले जति गोला बारुद वा युद्ध सामग्री तयार गर्ने गथ्र्यो, हाल चीन त्यसको दुई गुणा बढी तयार गर्न सक्ने सामर्थ्य राख्छ।

उपसंहार

हामी विश्व उथलपुथल भइरहेको समयमा जीवित छौं। विश्व पर्यावरणको समस्याबाट गुज्रिदै छ। आर्थिक मन्दीको चपेटामा संसार छ र हाम्रो नेपाल पनि। अमेरिका र चीनको टकरावको असर नेपालमा र यस क्षेत्रमा नै देखिन थालेको छ। राजनीतिक अस्थिरता र राजनीतिक भ्रष्टाचार वा दलाली यी कारणहरूको पनि उपज हो। नेपालको भूराजनीतिक महत्व बढ्न गएको छ र यससँगै खतरा पनि बढ्न गएको छ। यो खतरासँग जुध्न सक्ने भरपर्दो नेतृत्व देखिँदैन। चुनौतीले भरिएको यस समयमा राजनीतिक पार्टी र यसका नेतृत्वहरूको प्राथमिकता कुर्सी जोगाउने खेलमा सीमित छ। यो देशलाई संकटमोचक बनेर पार लगाउन सक्ने हैसियतको कुनै पनि नेता नदेखिनु अत्यन्त चिन्ताजनक विषय हो र जनता सजग बन्नुको विकल्प छैन।

प्रकाशित: १८ चैत्र २०७९ ०२:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App