२७ आश्विन २०८१ आइतबार
image/svg+xml
विचार

सिंहदरवार नै अन्योलमा!

नेपाल सरकारका विभिन्न मन्त्रालय र सरकारी कार्यालय रहेको सिंहदरबार बेलाबखत संकटमा पर्ने गरेको छ। राजनीतिक, प्रशासनिकरूपले त बेलाबेलामा परेकै हो। प्राकृतिक संकटले पनि सिंहदरवारलाई त्यति नै सताउने गरेको छ। १९६० सालताका राणा प्रधान मन्त्री चन्›शमशेरले आफ्नो निजी निवासका रूपमा बनाएको दरवार वेलायत भ्रमणपश्चात् उताको देखासिकीमा नियो क्लासिक शैलीमा बनाएका हुन्। कुमारनरसिंह र केदारनरसिंह राणाको इन्जिनियरिङ रेखदेखमा बनेको सिंहदरवार कुनै बखत एशियाकै भव्य दरवारका रूपमा गनिन्थ्यो। झण्डै ८८८ रोपनी जग्गामा फैलिएको सिंहदरवारमा सत्र सयभन्दा बढी कोठा एवं त्यहाँ भएका चोक र बगैंचाको आआफ्नै महत्व थियो। बेलायती बैठक, स्टेट हल आदिको परख त्यतिखेर उल्लेख्य थियो। निर्माण भएको झण्डै बीस वर्षपछि आएको नब्बे सालको महाभूकम्पले यो दरवारका विभिन्न खण्ड क्षतिग्रस्त भएका थिए। पछि तिनको पुनर्निर्माण गरियो।

अमेरिकी वास्तुविद् इरिक जी. थियोफिले र जर्मनको हाइडलवर्ग विश्वविद्यालयका प्रोफेसर निल्स गुत्चोले नेपाली वास्तुकलाको क्षेत्रमा आर्जेको लामो विज्ञता सिंहदरवारको मुख्य भवनको विषयमा प्रभावकारी हुने देखिन्छ।

पश्चिमपट्टिको मूलढोका नै पनि धराशायी भएको थियो नब्बे सालको महाभूकम्पले। पुनर्निर्माणका क्रममा पुरानो द्वारलाई यथावत् राख्न नसकेको देखिन्छ। २०३० सालमा लागेको आगोले पनि सिंहदरवारलाई नराम्ररी विकृत तुल्यायो। २०७२ वैशाख १२, १३ र २९ गते आएको भूकम्प र अनुकम्पहरूले पनि सिंहदरवारलाई थिलोथिलो बनायो। सिंहदरवारको सबैभन्दा ठूलो र मुख्य भवन, जुन २०३० सालको आगलागीबाट बचाइएको थियो, त्यो मूल दरवारको अवशेष अहिले विनाशकारी भूकम्पको कारण बाहिरैबाट ठाउँठाउँमा चिरा परेको, धाँजा फाटेको देखिन्छ। विनाशकारी भूकम्पको झण्डै बीस महिना बितिसक्दा पनि सिंहदरवारको मुख्य खण्डलाई के गर्ने भन्ने टुङ्गो नलागेका समाचार बेलाबेलामा पढ्न पाइन्छ।

यसै दरवारको पूर्वी भाग (जुन २०३० सालको आगलागीपछि पुनर्निर्माण गरिएको हो) मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, आपूर्ति मन्त्रालय र कर्णाली आयोगको कार्यालय छ। भूकम्पले पश्चिम भागमा बढी क्षति पुगे पनि यो भवनको अन्य भागमा पनि ठाउँठाउँमा चिरा परेको छ। भवन भत्काउनुपर्ने हो वा रेक्ट्रोफिटिङ गर्ने भन्नेमा अझै पनि अध्ययनका चरणमा रहेको समाचार आइरहेका छन्। मुख्य भवन, जहाँ प्रधान मन्त्रीको कार्यालय थियो, त्यस्तो भवनमा त अन्योल छ भने अरूको के दशा होला? यो भवनसँगै भूकम्पले क्षति पुर्‍याएका सिंहदरबारका अन्य भवनको पुनर्निमार्णको काम पनि अझै अन्यौलमै छन्। सिंहदरवारको पश्चिमी खण्ड, जुन मुख्य भवनका रूपमा छ, त्यसलाई रेक्ट्रोफिटिङ गर्ने वा भत्काएर पुनर्निर्माण गर्नेबारे जापानबाट विशेषज्ञ बोलाएर अध्ययन गर्ने तयारी भएको कुरा पनि बाहिर आएको छ। सिंहदरवारभित्र भूकम्पले क्षति पुर्‍याएको अर्को भवन हो ग्यालरी बैठक हल। पुरानो संसद् भवनको नामले समेत परिचित यो भवनमा पनि भूकम्पले क्षति पुर्‍याएको छ। यी भवनको मर्मत वा पुनर्निर्माण गर्ने जिम्मा केन्›ीय आयोजना कार्यान्वयन एकाइले लिएको पनि बुझिन आएको छ।

सिंहदरबारको पश्चिम गेट र दायाँ/बायाँको भाग, रेडियो नेपालको भवनको रेक्ट्रोफिटिङका लागि डिजाइन भइरहेको पनि चर्चामा छ। यो महिनाभित्र अध्ययनकार्य सकेर रेक्ट्रोफिटिङ तथा पुनर्निर्माणको काम अघि बढाइने विषयले अहिले चर्चा पाएको छ। २०७२ सालमा आएको विनाशकारी भूकम्प काठमाडौँ खाल्डोका सम्पदाहरू र गोरखालगायत झण्डै उन्नाइस जिल्लालाई तहसनहस गर्नै आएको जस्तो भयो। धेरै घर/भवनका साथै कैयौँ मठ/मन्दिर, स्तूप/बिहार, सत्तल/पाटी/पौवा धराशायी बने। दुई वर्ष बित्न लागिसक्दा पनि तिनको मर्मतसम्भार र पुनर्निर्माण हुने कुनै साइतै नआएको जस्तोगरी जता हेर्‍यो उतै सम्पदाहरू असरल्ल छन्। सरकारी नीतिनियम समयमा नआउनु र रणनीति बन्न नसक्नु नै यसको मुख्य कारण हो।

अर्को कुरा भत्के/बिग्रेका सम्पदा बनाउन सक्ने कालिगढहरूकै नितान्त अभाव रहेको छ। मठमन्दिर जस्ता सम्पदाहरूले भरिएको देशमा ती सम्पदा बनाउन सक्ने दक्ष जनशक्ति उत्पादनका लागि न विद्यालयमा पढाइ हुन्छ न कुनै इन्जिनियरिङ कलेजमा त्यससम्बन्धी पठनपाठनकै व्यवस्था छ। मल्लकालिक एवं राणाकालिक मठमन्दिर र दरवारहरू भूकम्पले धेरै प्रभावित भएका छन्। तिनको संरक्षण/सम्बर्द्धन कसरी गर्ने भन्नेमा अहिलेसम्म टुङ्गो नलाग्नु दुःखद् छ। केन्›ीय सचिवालय रहेको सिंहदरवारैसमेत पुनर्निर्माण गर्ने कि मर्मतसम्भार गर्ने भन्नेमा विलखबन्दमा पर्नु कति दुर्भाग्य छ! सिंहदरवारलाई जस्ताको तस्तै गरी बनाउन अब एकातिर जनशक्ति छैन अर्कोतिर त्यसलाई गर्नुपर्ने लगानी ठूलो हुन सक्छ।

जहाँसम्म सिंहदरवारको मुख्य भागलाई के/कसरी संरक्षण/सम्बर्द्धन गर्नु उपयुक्त होला भन्ने जिज्ञासा उठेको अवस्था छ, यसका लागि राणाकालिक दरवारहरूलाई संरक्षण, सम्बर्द्धन गरेको अनुभव संगालेका विज्ञहरू अझै छन्। बबरमहल रिभिजिटेड एवं केशरमहलको संरक्षण एवं पुनर्निर्माणमा अग्रणी भूमिका निर्वाह गर्ने अमेरिकी वास्तुविद् इरिक जी. थियोफिले, नेपालको पुरानो वास्तुकलाको क्षेत्रमा अनगिन्ती कृति लेखी विश्व समुदायमा उल्लेख्य ख्याति कमाएका जर्मनको हाइडलवर्ग विश्वविद्यालयका प्रोफेसर निल्स गुत्चो (सम्भवतः अहिले नेपालमै छन्) ले नेपालको वास्तुकलाको क्षेत्रमा आर्जेको लामो विज्ञताको फाइदा लिन सके सिंहदरवारको मुख्य भवनको विषयमा प्रभावकारी हुने देखिन्छ। उनीहरूले नेपालमै विज्ञ समूह तयार पारेका छन्। उनीहरूको राय/सल्लाह यससम्बन्धमा उपयुक्त हुन सक्छ।

बाहिरी संरचनामा चिरा परेको देखिँदैमा भत्काइहाल्नुपर्ने अवस्था हुँदैन। भत्काउन जति सजिलो छ, त्यसलाई त्यहीरूपमा पुनर्निर्माण गर्न गाह्रो छ। कैयन् सिप र प्रविधि आज हामीसँग छैनन्। २०३० सालको अग्निकाण्डका क्रममा कमसेकम पुरानो सिंहदरवारको एक टुक्रा त जोगाउनै पर्छ भन्ने मान्यताले ब्लास्टिङ गरेर जोगाएको सिंहदरवारको मुख्य भाग भत्काएर पुनर्निर्माण गर्नुभन्दा ग्राउटिङलगायतका अत्याधुनिक प्रविधि अपनाएर जस्तातस्तै गरी संरक्षण गर्न सकिन्छ भन्ने कुराको अनुभव १९२८ सालमा बनेको बत्तीसपुतलीस्थित श्रीरामचन्›को मन्दिर, जुन राजकीय गुम्वज शैलीमा निर्माण गरिएको थियो, त्यो मन्दिर पनि हालैको भूकम्पले जताततै चिराचिरा परेको अवस्था थियो। जति इन्जिनियरहरूलाई देखायो सबैले कुनै पनि बेला भत्कन सक्ने भन्ने सल्लाह दिएपछि मन्दिरको चारैतिर डोरी बाँधेर 'खतरा' भनेर सूचना नै टाँसियो।

नेपाल सरकारको सम्बन्धित निकायमा मर्मतसम्भारका लागि अनुरोध गर्दा कहिले नीति बन्ने? कहिले मन्दिरले सहयोग पाउने? अलमल देखेकाले समितिसँग भएको थोरै रकमले भए पनि काम सुरु गरिहाल्ने निर्णयअनुसार मन्दिरका गुम्बजहरू भत्काउन प्रारम्भ गरियो। मन्दिर भत्काउन नेपाली सेनाका विपद् व्यवस्थापनका अधिकृत र जवानहरूले उल्लेख्य सहयोग पुर्‍याए। बाहिरबाट चिराचिरा परेको एउटा गुम्बज भत्काउन बाइस जनालाई धौ/धौ परेको देखेपछि यस्तो बलियो मन्दिरलाई भत्काउनु कतै गलत त भएन भन्ने भयो। हुन पनि भत्काउन थालेपछि थाहा भयो कि जहाँजहाँ बाहिरबाट हेर्दा चिरा परेका थिए, त्यो त बाहिरपट्टिको बाक्लो प्लास्टरमा परेको चिरा रहेछ। भित्रपट्टिको इँटामा सामान्य दखल भएको देखियो, जुन मिलाउँदा मिलाउन सकिने अवस्था रहेकाले नवीन प्रविधि ग्राउटिङ गरेर माथिल्लो तलाको चार गुम्बजबाहेक अरू नभत्काई अहिले मर्मतसम्भार गर्नु बुद्धिमानी हुने ठानियो र त्यसै गरियो। मर्मतसम्भारको कार्यलाई सघाउन सक्ने कालीगढहरूको खोजी गर्दै जाँदा भक्तपुरमा अझै केही कालीगढ रहेछन् र तिनैको श्रम/पसिनाले मन्दिर पहिलेजस्तै गरी मर्मतसम्भार गरियो।

ग्राउटिङका लागि दक्ष प्राविधिकहरूले काम गरे। यस प्रकार २०७३ सालको श्रीरामनवमीमा सम्पूर्ण मर्मतसम्भारको कार्य सम्पन्न गरेर भव्यसँग श्रीरामनवमी पर्व सकिएपछि समीक्षा गर्दा चिरा परेको भन्दैमा मन्दिर नभत्काइ ग्राउटिङ गरेर संरक्षण/सम्बर्द्धन गर्ने जुन कार्य गरियो त्यो बुध्दिमत्तापूर्ण भएको महसुस भएको छ। भूकम्पपछि सरकारी सहयोगबिनै यत्रो विशाल मन्दिरको मर्मतसम्भार भएको सम्पदाहरूमा श्रीरामचन्› मन्दिर पहिलो बन्न पुग्यो। सिंहदरवारमा देखिएका चिरा पनि बाक्लो प्लास्टरमा परेको धाजा हुन सक्छ। ग्राउटिङ र इन्जेक्टिङ गरेर जोगाउन सके ठूलो मूल्य चुकाउनबाट बच्न सकिन्छ। बत्तीसपुतलीको चिराचिरा परेको रामचन्› मन्दिरलाई सम्पूर्णरूपमा भत्काएको भए दुई करोड रुपियाँले पनि नपुग्ने इस्टिमेट आएको थियो जबकि ग्राउटिङ एवं सामान्य पुनर्निर्माणका कार्य गर्दा करिव ४० लाखले सम्पूर्ण कार्य सकियो। त्यसभन्दा पनि महत्वपूर्ण कुरा पूरै भत्काएर बनाएको भए मन्दिरभित्रका भित्तेचित्रहरूलाई जोगाउन सक्ने अवस्था रहने थिएन।

सिंहदरवारको मुख्य भागले गएको वर्षको वर्षासम्मलाई त सह्यो अब सहन सक्ने अवस्था देखिँदैन। पानी छिरेको भागमा हरियो लेउ पर्न थालिसकेको छ। गारोको जोर्नीजोर्नीमा धाजा बढ्दै गइरहेको देखिन्छ। सिंहदरवारको मुख्य भवनकै नाजुक अवस्थाले सबैलाई गिज्याइरहेको जस्तो देखिनु कुनै पनि हालतमा उपयुक्त होइन। जसरी हुन्छ चाँडोभन्दा चाँडो नीतिगत निर्णय गरी यसलाई जोगाउनेतिर लाग्नु बुद्धिमानी हुन्छ। यसले समाजमा कमसेकम सकारात्मक सन्देश जाने थियो।

प्रकाशित: ३ पुस २०७३ ०५:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App