१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

‘विश्व वित्तीय सप्ताह’ को सान्दर्भिकता

यो वर्ष मार्च महिनाको २० देखि २६ तारिखसम्म ‘विश्व वित्तीय सप्ताह’ मनाइँदै छ। यस वर्षको ‘विश्व वित्तीय सप्ताह’को नारा ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ रहेको छ। यसको अर्थ हो–पैसाको योजना गर र सम्पन्न भविष्यको सुरुआत गर। यसको स्थायी नारा भने लर्न, सेभ, अर्न (सिक, बचाउ र कमाउ) भन्ने रहेको छ।

अंग्रेजीमा यसलाई ग्लोबल मनी विक (जिएमडब्लु) भनिन्छ। यो हरेक मुलुकका किशोर-किशारीहरूमा वित्तीय शिक्षाको महत्त्वका बारेमा जागरण ल्याउने ध्येयले वार्षिक रूपमा मनाइने एक साप्ताहिक अभियान हो। विश्व वित्तीय सप्ताह (ग्लोबल मनी विक) का अनुसार यो अभियानलाई सन् २०१२ मा चाइल्ड युथ फाइनान्स इन्टरनेसनल (सिवाइएफआई)ले संयोजन गरेको थियो। पछिल्ला दिनहरूमा भने अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओइसिडी) को संयोजनमा सञ्चालन हुँदै आएको देखिन्छ। यो सप्ताहव्यापी अभियान हरेक वर्षको मार्च महिनाको अन्तिम साता (सामान्यतया २० देखि २८ गतेसम्म) मनाइने गरिएको छ।

मूलतः किशोर–किशोरी र युवा–युवतीहरूको वित्तीय ज्ञान, सिप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धि गरी वित्तीय निर्णय लिन सघाउने र यसका माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यस अभियानको मुख्य उद्देश्य हो।

विशेष गरी किशोर–किशोरी र युवा–युवतीहरूमा पैसा (वित्त) का बारेमा जनचेतना विस्तार गर्नकै लागि यो कार्यक्रम मनाइने गरेको छ। यो अभियानमा अहिले विश्वका १७५ भन्दा बढी देशका पाँच करोड बढी किशोर–किशोरीहरूले सहभागिता जनाइसकेका छन्।

नेपालले सन् २०१३ देखि नै विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी यो अभियान सञ्चालन गर्दै आएको छ। गत वर्ष नेपाल राष्ट्र बैंकको संयोजकत्वमा अन्य बैंक तथा वित्तीय संस्थाहरू, धितोपत्र बोर्ड, बिमा संस्थान, सहकारी विभाग, राष्ट्रिय बैंकिङ प्रतिष्ठान आदिले विभिन्न कार्यक्रम सञ्चालन गरेर यो सप्ताह मनाएका थिए। उक्त सप्ताहमा अन्तरक्रियात्मक गोष्ठी तथा सेमिनार, विद्यालय तथा कलेजमा वित्तीय सचेतना कार्यक्रम, सचेतनामूलक र्‍याली आदि सञ्चालन गरिएका थिए। जसबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा एक लाखभन्दा बढी मानिसहरू लाभान्वित भएको विश्वास गरिएको छ।

यस वर्ष पनि विश्व वित्तीय सप्ताह नजिकिइसकेको छ। यही २०७९ चैत महिनाको ६ गतेदेखि यो सुरु हुँदै छ। यसका लागि नेपाल राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरूले र वित्तीय क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरूले आ–आफ्ना कार्यक्रमहरू बनाएर त्यसको तयारी गरेका छन्।

पैसा हरेक मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको र अतिआवश्यक सर्वप्रिय वस्तु हो। त्यसैले यसको योजना र सही प्रयोगको विषयलाई बैंक तथा वित्तीय संस्थाहरूले मात्र होइन, विद्यालय तथा कलेज, गैरसरकारी संघसंस्थाहरूले पनि यसको नारालाई आधार मानी आफ्नो स्रोत, साधान र अवस्थाका आधारमा ‘विश्व वित्तीय सप्ताह’ मनाउनु उपयोगी हुन्छ।

विश्व वित्तीय सप्ताहमा जनचेतनामूलक र सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्न सकिन्छ। यस्ता जनचेतनामूलक कार्यक्रमहरूमा बचत, कर्जा, बिमा, विप्रेषण, उद्यमशीलता, आयआर्जन, डिजिटल बैंकिङजस्ता विषयहरू समेट्नु उपयोगी हुनसक्छ। यस्ता कार्यक्रमका लागि र्‍याली, विषयवस्तु केन्द्रित प्रस्तुति, अन्तरक्रिया, भिडियो प्रदर्शनी आदि प्रभावकारी हुन सक्छन्।

चित्र तथा पोस्टरहरूको निर्माण, वक्तृत्वकला, निबन्ध, कथा र कविता लेखन, हाजिरीजवाफजस्ता प्रतियोगितात्मक कार्यक्रमहरूले मानिसको ध्यान आकृष्ट गर्न सक्छन्। यसले जनचेतना वृद्धि गर्नुका साथै सिर्जनात्मक क्षमताको विकास गर्न पनि सहयोग पुर्‍याउँछ।

विद्यालयहरूले बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वय गरी विद्यार्थीलाई बैंकिङ प्रणालीको स्थलगत अवलोकन भ्रमण गराउन सक्छन्। यसले विद्यार्थीहरूलाई बचत, ऋणलगायतका सेवा र ती सेवा लिने प्रक्रियाहरूबारे बुझ्न सघाउ पुग्नेछ।

विश्व वित्तीय सप्ताहलाई अब किशोर–किशोरीहरूमा मात्र सीमित राख्नुहुँदैन। आम नागरिकलाई लक्षित गरी कार्यक्रमको योजना र कार्यान्वयन गर्नुपर्छ। बचत, कर्जा, बिमा, विप्रेषण, उद्यमशीलता, आयआर्जन, डिजिटल बैंकिङजस्ता विषयहरूको जानकारी सम्पन्न, विपन्न सबैका लागि अति आवश्यक हुन्छ। हाम्रोजस्तो कमजोर आर्थिक अवस्था भएका मुलुकका लागि त वित्तीय सचेतनाको विस्तारको महत्त्व अझै बढी हुन्छ।

जीविकोपार्जनलाई सजिलो बनाउन, जीवनस्तर माथि उकास्न, बालबालिकाको शिक्षाका लागि पैसाको जोहो गर्न, औषधोपचार तथा आकस्मिक अवस्थाका लागि खर्चको व्यवस्था गर्न, वित्तीय सचेतना अति आवश्यक भएको हुनाले विश्व वित्तीय सप्ताहलाई नेपालले वित्तीय सचेतना पर्वका रूपमा मनाउनु जरुरी छ। यसले वित्तीय समावेशीता र वित्तीय पहुँच वृद्धिमा सहयोग पुग्छ।

बैंक तथा वित्तीय संस्थाले प्रकाशन गर्ने आफ्ना क्यालेन्डरमा विश्व वित्तीय सप्ताहको विषयलाई पनि समावेश गर्नुपर्छ। यसले यस्ता कार्यक्रमको योजना र सञ्चालन गर्न सजिलो हुन्छ। अहिले वित्तीय क्षेत्रमा काम गर्ने कतिपय कर्मचारी मात्र नभई मुख्य जिम्मेवार व्यक्ति पनि विश्व वित्तीय सप्ताहको बारेमा जानकार छैनन्। यस्तो अवस्थाले कार्यक्रममा उत्प्रेरणा र उत्साह पनि हुँदैन। त्यसैले पहिले यस क्षेत्रमा काम गर्ने व्यक्तिलाई यसप्रति चासो जगाउन आवश्यक छ।

वित्तीय चेतनाको अभावले गर्दा बालबालिका र किशोर किशारीहरूमा बचत गर्ने बानीको विकास खासै छैन। बैंक तथा वित्तीय क्षेत्रमा बचत, कर्जा, लगानी आदिका क्षेत्रमा धेरै समस्याहरू देखिएका छन्। सकेसम्म धेरै बचत गर्ने, कर्जा लिने र त्यसलाई उत्पादनमूलक काममा लगाउने, बिमा गर्नेजस्ता अत्यन्त महत्त्वपूर्ण कार्यमा पनि मानिसको उल्लेख्य सहभागिता देखिँदैन। कर्जाको दुरूपयोग र समयमा कर्जा–ऋण भुक्तानी नगर्ने समस्याले बैंक तथा वित्तीय क्षेत्रमा दिनानुदिन समस्या थपिँदै गएका छन्। त्यसैले पनि विश्व वित्तीय सप्ताहलाई प्रभावकारी रूपमा मनाउनु जरुरी भएको छ।

सम्बद्ध सबै सरोकारवाला संस्थाहरू मिलेर संयुक्त रूपमा कार्यक्रमहरू सञ्चालन गर्दा विश्व वित्तीय सप्ताह अभियान बढी प्रभावकारी हुन्छ र यसको लक्ष्य प्राप्तिमा पनि अझ बढी टेवा पुग्छ। त्यसैले सबै मिलेर यो सप्ताहव्यापी वित्तीय सचेतना अभियानलाई प्रभावकारी र सफल बनाऔं ।

प्रकाशित: १९ फाल्गुन २०७९ ००:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App