११ आश्विन २०७७ आइतबार
विचार

प्रकाश पर्वः तिहार

‘तमसोमा ज्योतिर्गमय’ अर्थात् अँध्यारोबाट उज्यालोतिर भन्ने देववाणी  आत्मसात् गर्दै औंसीको कालिमालाई चुनौती दिन  घरघरमा दीपावली, दीपमाला, दीपमालिका गरी उज्यालो पर्वको उत्सव भरेर समाजलाई ऊर्जा  प्रदान गर्ने तिहार पावन पर्वको विशेष महत्व छ । हाम्रा देवपूजन र  पितृपूजनमा सबभन्दा पहिले दीप प्रज्ज्वलन गर्नू  भन्ने  शास्त्रीय निर्देश  छ । वास्तवमा उज्ज्यालोमै हाम्रा सम्पूर्ण  इन्द्रीयका मयावीर सक्रिय  हुन  सक्छन् । त्यसैले  त हाम्रा आचार्यहरुले बत्तीमा कुनकुन तत्व निवास गर्छन् भनी दिग्दर्शन  कति  घतलाग्दो   ढङ्गले गराएका छन्— ‘प्रदोषे दीपकश्चन्द्रः, प्रभाते दीपको  रविः ।

त्रैलोक्येदीपको  धर्मः, सुपुत्र ः कुलदीपकः ।।’ यसको आसय के हो भने— रातको समयको बत्ती चन्द्रमा हो भने  बिहानीको दीप सूर्य  हो । तीनै  लोक (स्वर्ग, मत्र्य र पाताल) का दीपक धर्म हो भने कुल वा वंशको बत्ती सुपुत्र हुन् । यसरी बत्तीको  विराट स्वरूपलाई औंल्याउँदै सूर्य, चन्द्रमा, धर्म र असल सन्तानको  बिम्ब बनाएर मनीषिहरुले यसको  वैज्ञानिक रहस्यसमेत खुला पारेका  छन् ।

तिहार अँध्यारोबाट उज्यालोतिर, स्वार्थबाट परमार्थतिर, मृत्युबाट अमरत्वको बाटो अनुशरण    गर्ने  शुभयाम हो । यस्ता  पर्वलाई गर्वपूर्ण  बनाउन हामी मितव्ययी, संयमी, आध्यात्मिक र  मानवतावादी बनेर दम्भ र अभिमान  चकनाचुर पार्न  सक्नुपर्छ ।

यमपञ्चकको   पहिलो  दिन यमदूतको  सशक्त सञ्चार  प्रतिनिधि कागको पूजा गरिन्छ । पञ्चतन्त्र भन्ने  ग्रन्थमा विद्यार्थीका पाँच लक्षणमध्ये ‘काकचेष्टा’ लाई महत्वपूर्ण गुणले हेरिएको छ । त्यसैगरी हाम्रो परम्परामा ‘काकन्याय’ भनेर उसको  समदृष्टिलाई सङ्केत गरिएको छ । वास्तवमा काग हामीलाई शुभ÷अशुभ सन्देश  सुनाउने प्राणी हो । घरमा आएर कहिलेकाहीँं एक्कासी  कराएर  यसले  साङ्केतिक भाषामा केही न केही एकछिनपछि सुनिने समाचारको जानाकारी दिन्छ ।

त्यसैले ऊ  कराउँदा हामी ‘शुभबोल् शुभबोल्’ भनेर  अनुरोध  गर्छौं । कागले एकातिर अन्नबालीको सुरक्षा गर्न विभिन्न विषादि कीराहरुको संहार गरेर उपकार गर्छ भने अर्कातिर  विभिन्नखालका तत्काल  हुन  सक्ने  प्राकृतिक प्रकोपहरुको  पनि बुझिने  गरी  सूचना प्रवाह गर्छ । आफ्नो वर्गमा अत्यन्त मधुर  प्रेम  गर्ने काग जातिको एकता  मान्छेका  लागि  अनुकरणीय  छ अनि कुनै  खाने  कुरा पाउँदा  साथीहरुलाई  समेत  खबर  गरेरमात्र  खान्छ पनि । त्यसैले रामायणका एक पात्र काक भुशुण्डी  आफू मान्छे  हुनुभन्दा कागै  बन्न रुचाएको  रोचक  प्रसङ्ग  पनि छ । यही काग तिहारको  दिन आयुर्वेद चिकित्सा विज्ञानका प्रणेता धन्वन्तरी  समुद्र मन्थनबाट  उत्पन्न भएको  हुँदा उनको  जन्मोत्सव मनाउने प्रचलन  छ ।

तिहारको दोस्रो  दिन कुकुर तिहार जसलाई ‘नरक चतुर्दशी’ पनि  भनिन्छ । मिथकीय भाषामा भन्नु पर्दा भगवान्  श्रीकृष्णले कामरूपको राजा नरकासुरलाई संहार गरेका दिन भएकैले यो दिनलाई ‘नर्के नुहाउने’ भन्ने चलन चलेको  हो । कुकुर  यमराजको  ढोकामा  रहेर पक्का खबरदारी गर्ने पाले हो र भैरवको बाहन पनि हो ।  त्यसैले त ‘श्वान निद्रा’ विद्यार्थीको लक्षण हुनुपर्छ भनिएको छ । कुकुरमा  सुँघ्ने  शक्ति अपूर्व  हुन्छ । त्यसै भएर  आजभोलि अपराधी पत्ता लगाउन, विस्फोटक पदार्थ खोज्न, डाँका समात्न र विशिष्ट व्यक्ति सम्मिलित हुने  कार्यक्रममा यसको  भरपुर  उपयोग  गरिएको छ ।

तिहारको  तेस्रो  दिन  ऐश्वर्य  र श्रीसम्पत्तिकी  देवी लक्ष्मीको पूजा हुन्छ । पहिला कुवेर र इन्द्रको पूजा गरेपछि  षोडषोपचारले महालक्ष्मीको पूजा गर्ने विधान छ । यो  दिनलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मीको सम्मान गर्दै  यी स्तवनमार्फत प्रार्थनाका वचन बोल्नु हाम्रा लागि श्रेयस्कर हुन्छ । जस्तै– विश्वरूपस्यभार्याऽसि, पद्मे पद्मालये  शुभः । महालक्ष्मीनमस्तुभ्यं सुखरात्रं कुरुष्व मे ।। वर्षाकाले महाधारे, यन्मयादुष्कृतं कृतम् । सुखरात्रप्रभावेण, तन्मेऽल—क्ष्मीव्र्यपोहतु ।। आदि स्तवनले लक्ष्मीलाई  दण्डवत्  प्रणाम  गर्नु  अनिवार्य छ । स्वर्गका राजा इन्द्रले महालक्ष्मीको आराधना यसरी गरेका थिए— ‘नमस्तेऽस्तु महामाये, श्रीपीठे सुर पूजिते । शङ्खचक्र गदा हस्ते  महालक्ष्मीनमस्तु  ते ।। नमस्ते गरुडारुढे, कोलासुर भयङ्करी । सर्व पाप हरे देवी, महालक्ष्मीनमोस्तु ते ।। यस दिन लक्ष्मीलाई  आमन्त्रणा गर्न र  घरभित्र प्रवेश  गराउन लक्ष्मीको पाइला बनाएर  घरलाई लिपपोत गर्ने चलन छ । मानसिक र शारीरिक निर्मलता नभएको ठाउँमा लक्ष्मी नबस्ने हुँदा यो पावन दिन उपवास बस्ने र कतै पनि  कैलोमैलो  नराख्ने  यत्न मानिस  गर्छन् । किनकि धनधान्यकी महादेवी लक्ष्मीलाई कसिङ्गर भएको अशुद्ध ठाउँ  मन पर्दैन । भैलिनीहरु यही दिन राजा बलिको सम्झना गर्दै ‘भैलो’ खेल्छन् । भद्र  वा  कल्याण  होस्  भन्ने  आसयमा भैलो गान गाइएको  हो ।

चौथो  दिन गोमाता गोरु, गोबर्धन पर्वत र बलि राजाको पूजा गरिन्छ । अघिल्लो रात नै यी सबैलाई  भोलिका  लागि निमन्त्रणा  भनेर बत्ती बाली सूचना दिने चलन छ । गाईलाई लक्ष्मीको अर्को अवतार भनेर सम्मान गरिन्छ । गाईकै अङ्गमा ३३  कोटी देवता बास गर्छन् भन्ने शास्त्रीय बोली पनि छ । गाईका दूध, दही, घिउ, गहुँत र गोबर हाम्रा देवकार्य तथा पितृकार्यका अनिवार्य पदार्थ  हुन् । गोरु  हाम्रो जस्तो कृषिप्रधान देशको लघु भारबाहनको यातायात साधन र खेतबारी मलिलो  बनाएर  जोत्ने इमानदार प्राणी  हो । त्यसैले  यसको रक्षा र जतन गर्नु पूजाको रहस्य हो ।

तिहारको पाँचौँ दिन आ—आफ्ना दिदीबहिनी भएका ठाउँमा गएर टीकाटाला गर्ने परम्परा छ । कात्तिक  महात्म्यमा  सविस्तार यसको उल्लेख छ । यसरी  दाजुभाइ  र दिदीबहिनीबीचको  सम्बन्धलाई  सुमधुर  बनाउने यो पर्व प्रेम, सद्भाव, सहृदयता र आत्मीयतालाई  उन्नयन गर्दै पशुपक्षीहरुमा  समेत  समभाव जनाउने महान् तिथिवार हो । यो दिन आआफ्ना टोली बनाई द्यौसी रे अर्थात् ‘देवश्री’ खेल्ने प्रचलन पनि छ ।

 

प्रकाशित: १४ कार्तिक २०७३ ११:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App