सिंगो मुलुक यतिखेर चाडबाडको मानसिकतामा छ । मिश्रित समाज र मिश्रित नै सांस्कृतिकता हुँदाहुँदै पनि परापूर्वकालदेखि दसैँप्रति सारा नेपाली अपनत्वभाव राख्छन् । दसैँजस्ता ‘सबैको पर्व’ सामूहिक तवरमा मनाउने प्रचलनका कारण नेपाली सहिष्णुता संसारमै अनुकरणीय मानिन्छ । देशमा बहुदल–लोकतन्त्रबहालीपश्चात् अन्य समुदायका चाडबाडमा पनि सरोकार तथा चासोवृद्धि हुन पुगेको छ । निश्चय नै यो राम्रो पक्ष हो, यसले हाम्रो जब्बर सहिष्णुतालाई झन् चट्टानी बनाउँछ । भलै राजनीतिक दुनो सोझ्याउन पल्केका केही दल वा समूहका परपीडक मान्छे सनातनदेखि चलिआएको सुन्दर सहिष्णुतालाई भत्काउने प्रयास गर्दै रहन्छन् । दसैँलाई कुनै एक जाति वा समूह विशेषको चाड भनी संकुचित बनाउने प्रयत्न बेलाबखत हुँदै आएको छ । यसको बहिष्कारसम्मका कुरा पनि नआएका होइनन् । सांस्कृतिक बहुलताले सिँगारिएको यो मुलुकका भुइँमान्छे आफूइतरका चाडबाडमा पनि उत्तिकै आनन्दित हुन्छन् । बधाई तथा शुभकामना साटासाट मात्र होइन, एकअर्काका पर्वमा सक्रिय ढंगमा सहभागी पनि हुन्छन् । जनजाति, मुस्लिम, बौद्धमार्गी तथा अन्य धर्मावलम्बीले समेत दसैँको शुभकामना व्यक्त गर्दै सामाजिक सञ्जालका भित्ता अहिले रंगाएका छन् । निश्चय पनि नेपालजस्तो सानो तर विविधतायुक्त मुलुकका निम्ति यस्तो उदारता सम्मानजनक छ ।
हिजोको थिचोमिचो, धर्म–संस्कृति र जातका नाममा मच्चाइने छुवाछुत तथा उच–निचलाई मुलुकको नयाँ संविधानले निमिट्यान्नै पारेको छ । पञ्चायतकालमा जनताको चेतनाको एकातिर कमजोर अवस्था थियो भने अर्कोतिर निरंकुश राज्यव्यवस्थाका कारण सांस्कृतिक बहुलतालाई जनस्तरमा बुझाउने काम हुन सकिरहेको थिएन । अहिले अवस्था फेरिएको छ, क्रमशः सांस्कृतिक बहुलता देशको गहनाका रूपमा परिभाषित हुन र बुझिन पनि थालेको छ । जनस्तरमै एकअर्काको सांस्कृतिकता, चालचलन, रीतिरिवाजको सम्मान गर्ने असल परम्परा आरम्भ भएको छ । क्षेत्रीय, लिंगीय, जातीय तथा आर्थिक उच–निचको सवाल तथा हेपाइका शृंखला अब मधुरो भइसकेको छ । त्यसलाई कानुनले नै वर्जित गरिसकेको छ । कानुनीरूपमा प्रतिबन्धित काम गर्नु सजायको भागिदार हुनु हो । कहीँकतै छोइछिटो बाँकी छ भने यसलाई निमिट्यान्न पार्नु त पर्छ नै, त्यसो गर्नका निम्ति हाम्रो सहिष्णुताको स्तर थप कसिलो हुनु जरुरी छ । दसैँ–तिहार तथा यसलगत्तै पर्ने र विशेषगरी तराई–मधेसमा मनाइने छठ, उधौली–उभौली, बुद्धपूर्णिमा, रमजान–इद, क्रिसमसलगायतका पर्व हाम्रा अमूल्य निधि हुन् । यी सबै राष्ट्रिय पर्व हुन् । यही कारण पनि सरकारले सबै पर्वमा बिदा दिने व्यवस्था गरिसकेको छ । कुनै पर्व लामा होलान्, कुनै छोटा । तर, सबैको महŒव उच्च छ । सनातनदेखि नै तिनको घोषित अवधि प्रचलित छ । नेपालमा मनाइने जेजति चाडपर्व छन्, सबैको सन्देश उस्तै छन्– तिनले भाइचारा अभिवृद्धि गर्छन्, सहिष्णुता बलियो पार्छन् । यही कारण पनि अब जनस्तरबाटै सबैखाले पर्वमा आफ्नो सम्मान घनीभूत ढंगमा व्यक्त हुनु जरुरी छ । यसले जात, वर्ग, क्षेत्र तथा संस्कृतिका नाममा विभाजन ल्याएर राजनीतिक गर्न खोज्ने कुत्सित मनसायलाई निस्तेज पारिदिन्छ । र, मुलुकको एकताभाव मजबुत पारिदिन्छ ।
प्राकृतिक प्रकोप, मानवीय कमजोरी र गाह्रोसाह्रोमा एक हुने चलन नेपालमा नयाँ होइन । परापूर्वकालदेखि यसले संस्कारका रूपमा जरो गाडिसकेको छ । दुःखका बेला एकजुट हुन सक्ने वर्ग सुखमा पनि मिल्न सक्छ । यो दसैँले यस दिशामा हामीलाई अघि बढाउन सक्ने अपेक्षा सबैको रहेको छ । हाम्रो राष्ट्रिय गीतमा उल्लेख भएझैँ ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली’ को भावलाई यो दसैँले थप बलियो र सार्थक पार्न सक्नुपर्छ । एउटा सुन्दर माला तयार हुन भिन्नभिन्न रंग, आकार, प्रकारका फूल आवश्यक पर्छ । एउटैखालको फूलबाट बनेको माला कुनै पनि हालतमा सुन्दर हुन सक्दैन । हामीसँग थरिथरिका फूल उपलब्ध छन्, यी फूलहरूलाई सुन्दर मालामा उन्ने काममा हाम्रा विभिन्न चाडबाडले मद्दत पु¥याएका छन् । दसैँ २०७३ शुभ रहोस्, राष्ट्रिय दैनिक नागरिक सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।
प्रकाशित: २१ आश्विन २०७३ ०३:०९ शुक्रबार